९० प्रतिशत शैक्षिक परामर्श संस्थाहरुको अनुमतिपत्र छैन, कारबाही गर्छौं : महानिर्देशक दाहाल

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपालमा सञ्चालनमा रहेका धेरै शैक्षिक परामर्श संस्थाले अनुमतिपत्र नलिई अवैधानिक रूपमा सेवा दिइरहेको बताएका छन् ।  ‘शैक्षिक परामर्श क्षेत्रमा सुधारका लागि चुनौति र अवसरहरू’ विषयक नेपाल शैक्षिक परामर्श संघ (इक्यान) द्वारा आयोजित अन्तरक्रियामा उनले देशभर करिव १० हजार शैक्षिक परामर्श केन्द्रमध्ये आधाभन्दा बढी संस्था अनुमति बिनै सञ्चालनमा रहेका र यस्ता संस्थामाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताएका हुन् ।  दाहालले अवैधानिक रुपमा सञ्चालित संस्थाहरु कि दर्ता हुनुपर्ने नत्र बन्द गरिने बताए । उनका अनुसार अवैधानिक रुपमा सञ्चालित संस्थाहरुका बारेमा सरकार निर्मम रुपमा लाग्नेछ । ९० प्रतिशत संस्थाहरु अवैध रुपमा सञ्चालनमा रहेको उनको भनाइ छ ।  वाणिज्य विभागका महानिर्देशक दाहालले भने, ‘हामीले प्रारम्भिक जानकारी दिएका छौँ, त्यसमा ९० प्रतिशत संस्था अवैध रूपमा सञ्चालनमा रहेको विवरण छ । यस विषयमा गम्भीर छलफल र आवश्यक अध्ययन गरी कारबाही प्रक्रिया अगाडि बढाउनेछौँ । त्यसका लागि योजना बनाइरहेका छौँ ।’ शिक्षा मन्त्रालयअन्तर्गत शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख सेमन्त कोइरालाले नियमानुसार सञ्चालनमा रहेका संस्थाहरू डराउनुपर्ने कुनै कारण नरहेको बताउँदै सहकार्य र संवादमार्फत अघि बढ्नुपर्ने धारणा राखे । उनले नवीकरणका लागि निवेदन दिइसकेका तर प्रक्रियामा रहेका संस्थाहरूलाई मन्त्रालयले चाँडै निकास दिने जानकारी दिए ।  उनकाअनुसार शैक्षिक परामर्श केन्द्रहरूले राजस्वमा समेत योगदान गर्ने गरेकाले उनीहरुलाई वैधानिक तवरले काम गर्ने वातावरण राज्यले प्रदान गर्नेछ । कार्यक्रममा प्रहरी उपरीक्षक कवित कटुवालले अहिले पछिल्लो समयमा हेर्दा संस्थाहरू अर्काकै नागरिकताबाट प्रयोग हुने गरेको बताए । उनकाअनुसार बैंक खातामा पनि त्यही नागरिकता प्रयोग हुने गरेको पाइएको छ ।  कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले वाणिज्य विभागले धेरै अनुगमन गरेर व्यवसायीहरुलाई दुःख दिन नहुने बताए । 

कक्षा १२ को नतिजामा सुधार, मौका परीक्षा भदौ २८ र २९ मा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजा गत वर्षभन्दा सुधार  भएको छ । सोमबार साँझ बसेको बोर्ड बैठकले सार्वजनिक गरेको नतिजामा गत वर्षभन्दा करिब नौ प्रतिशतले नतिजामा सुधार भएको पाइएको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले गत वर्षभन्दा नौ प्रतिशतले वृद्धि गर्दै यस वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थीले ‘ग्रेड’ (उत्तीर्ण) प्राप्त गरेको जानकारी दिए । गत वर्षको नतिजामा ५२ दशमलव ९१  प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । सार्वजनिक नतिजाअनुसार नियमिततर्फ तीन लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएकामा दुई लाख ४२ हजार ४६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी भएकामा ४१ हजार ८४० विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ ११ र आंशिकतर्फ छ गरी १७ विद्यार्थीको परीक्षा रद्द गरिएको जानकारी दिँदै अध्यक्ष डा शर्माले सबै विषयमा ग्रेड प्राप्त विद्यार्थीको सङ्ख्या दुई लाख ८४ हजार ३०५ विद्यार्थी रहेको बताए । नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजाअनुसार परीक्षामा सहभागी भएकाहरूमध्ये १३ हजार ५०२ जनाले तीन दशमलव ६१ देखि चार जिपिए, ५५ हजार  ८९६ विद्यार्थीले तीन दशमलव २१ देखि तीन दशमलव ६० जिपिए र ९४ हजार २६८ विद्यार्थीले दुई दशमलव ८१ देखि तीन दशमलव २० जिपिए प्राप्त गरेको बोर्डका अध्यक्ष डा शर्माले जानकारी दिए । यसैगरी ६९ हजार ८१२ विद्यार्थीले दुई दशमलव ४१ देखि दुई दशमलव ८० र आठ हजार ९६४ विद्यार्थीले दुई दशमलव ०१ देखि दुई दशमलव ४० जिपिए ल्याएका छन् । २३ जनाले भने एक दशमलव ६१ देखि दुई जिपिए ल्याएको उनले बताए । यसको वर्ष  वैशाख ११ गतेदेखि निर्धारण गरिएको परीक्षा नेपाल शिक्षक महासङ्घले गरेको शैक्षिक हडतालका कारण १० दिनपछि २१ गतेदेखि सुरु भएको थियो । जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख १० हजार ९८७  परीक्षार्थी सहभागी भएका थिए । शिक्षकको २९ दिने सडक आन्दोलनका कारण १० दिन ढिलो गरी परीक्षा भए पनि नतिजा भने पोहोरभन्दा एक दिन मात्रै ढिलो गरी सार्वजनिक गरिएको छ । यसैगरी, ‘ननग्रेड’ पाएका विद्यार्थीका लागि भदौ २८ र २९ गते पूरक अर्थात् मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । दुई विषयमा ‘ननग्रेड’ पाएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित रहेका परीक्षार्थीले मौका परीक्षा दिन पाउने गरी व्यवस्था गरिएको अध्यक्ष डा. शर्माले जानकारी दिए ।

‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’

म्याग्दी । धवलागिरि गाउँपालिका–२ मुनाको धवलागिरि माविका शिक्षक र विद्यार्थीले तरकारीखेती गरेका छन् । मुनामा वार्षिक रु पाँच हजार भाडा तिर्नेगरी दुई रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरेका हुन् । एक रोपनीमा बन्दा, काउली, रायोसाग, मुला, गाजर र दुईवटा पलास्टिक टनेलमा गोलभेँडाका बिरुवा रोपिएको प्रधानाध्यापक रुपेश सुवेदीले जानकारी दिए । 'गत हप्ता कक्षा ८, ९ र १० का विद्यार्थीका साथै शिक्षकले खाली समयमा श्रमदान गरेर जग्गा तयार गरेर तरकारीका बिरुवा लगाएका छौँ', उनले भने, 'बाँकी एक रोपनी जमिनमा प्याजका बिरुवा उत्पादन गरेर बिक्री गर्ने योजना छ ।' विद्यार्थीलाई तरकारीखेतीसम्बन्धी व्यावहारिक र व्यावसायिक ज्ञान, सीप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफैँ उत्पादन गर्ने र तरकारी बिक्री गरेर विद्यालयको कोष वृद्धि गर्ने उद्देश्यले तरकारीखेती थालिएको प्रअ सुवेदीले बताए । तरकारीखेतीका लागि धवलागिरि गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ भन्ने कार्यक्रममार्फत सहयोग गरेको थियो । गाउँपालिकाले उपलब्ध गराएको रु एक लाख ५० हजारबाट मल, बीउ, टनेल खरिद, जग्गा भाडा तिरेको छ । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने सीप सिकाउने उद्देश्यले हेम नमूना आवासीय मावि र धवलागिरि माध्यमिक विद्यालयमा ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ कार्यक्रम सञ्चालन गरेको बताए । हेम नमूना आवासीय माविको झिनडाँडास्थित छात्रावासमा बस्ने ५० विद्यार्थीले छ रोपनी पाखोको झाडी फाडेर तरकारीखेती गरेर हराभरा बनाएका छन् । गत वर्ष रु तीन लाख बजेट विनियोजन भएको कार्यक्रम प्रभावकारी बनेकाले आगामी वर्षलाई पनि निरन्तरता दिएको उनले बताए । रासस