यी हुन् पढाइसँगै काम दिलाउने काठमाडौंका कलेज

काठमाडौं । पढाइ केवल डिग्रीका लागि होइन, जीवनलाई दिशा दिने एउटा महत्वपूर्ण यात्रा हो । धेरै विद्यार्थीको उद्देश्य स्पष्ट छ- पढेर राम्रो जागिर पाउने । कक्षा १२ सम्म पुस्तकमै सीमित हुने धेरै विद्यार्थीहरू, प्लसटु सकेपछि भने भविष्यको करियर र आम्दानीतर्फ ध्यान दिन थाल्छन् । ‘आफ्नो खर्च आफैं कमाउने’ सपना बोकेर हिँड्नेहरूको संख्या बढ्दो छ, तर अवसर भने सजिलै हात लाग्दैन ।  नेपालमा अझै पनि स्नातकोत्तरसम्म पढेर मात्र काम खोज्ने प्रवृत्ति प्रबल छ । तर, पछिल्ला वर्षमा यो सोच बदलिँदै गएको छ । अब विद्यार्थीहरू पढाइसँगै काम गर्ने मौका दिने कलेज खोज्न थालेका छन् । यसैले स्नातक तहको पढाइका लागि कलेज छनोट गर्दा, गुणस्तरीय शिक्षासँगै ‘जब प्लेसमेन्ट’को सुविधा दिने शैक्षिक संस्थाहरू पहिलो रोजाइमा परिरहेका छन् ।  विद्यार्थीको यस्तै आवश्यकतालाई ध्यानमा राख्दै, काठमाडौं उपत्यकाका केही कलेजहरूले पढाइसँगै रोजगारको अवसर उपलब्ध गराइरहेका छन् । हामी आज पढाइसँगै काम खोजी दिने कलेजको विषयमा चर्चा गरेका छौं ।  आईएसएमटी कलेज काठमाडौंको तीनकुने स्थित गैरीधारामा रहेको आईएसएमटी कलेज उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको रुचिमा पर्ने कलेज हो । लण्डनको सन्डरल्याण्ड विश्वविद्यालयबाट मान्यता प्राप्त यस कलेजले १४ वर्षदेखि नेपालको उच्च शिक्षामा योगदान पुर्याउँदै आएको छ । शैक्षिक क्षेत्र र उद्योगीबीचको खाडल पूरा गर्ने जनशक्ति उत्पादन गर्नु यसको मुख्य उद्देश्य हो ।  ब्याचलर अफ साइन्स इन इन्फरमेसन टेक्नोलोजी (बिएसआइटी), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) , ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) र साइबर सेक्युरेटीका कार्यक्रमहरू यहाँ सञ्चालन भइरहेका छन् । काठमाडौं बाहिर चितवन पोखरा विराटनगरमा पनि यो कलेज सञ्चालनमा छ । जहाँ मास्टर्समा एमबीए पनि पढाइ हुन्छ ।  आफ्नो करिकुलम एकदमै उत्कृष्ट भएको दाबी गर्दै आएको यो कलेजले विद्यार्थीलाई पढाउनेमात्र नभई काम गर्ने अवसर समेत प्रदान गरिरहेको छ । उद्योगमा आधारित पाठ्यक्रमले तीन वर्ष पढेर विद्यार्थी ग्य्राजुएट हुने बित्तिकै त्यो उद्योगको बजारलाई आत्मसात् गर्न सक्ने दाबी कलेजको छ । ‘मध्यम, निम्न मध्यमसँगै सबै वर्गले पढ्न मिल्ने गरी शुल्क निर्धारण गरिएको छ’ कलेजका बिजनेस डेभलपमेन्ट हेड वासुदेव वस्ती भन्छन्, ‘यहाँ अध्ययनरत विद्यार्थीले कतिपय काम गर्न सुरु गरिसकेका हुन्छन्, कतिपयले पढ्दा पढ्दै काम कसरी गर्ने भन्ने कुरा सबै थाहा पाइसकेको हुन्छन्, यो कलेजको फोकस भनेको विद्यार्थीले पढ्दै गर्दा र पढिसकेपछि काम पाउन भन्ने नै हो ।’ यो कलेजले वर्षमा दुई पटक ‘जब फेयर’ कार्यक्रम गर्छ । जहाँ नेपालका टप ४०/४५ कम्पनीहरू कलेजमै आउँछन् । ती कम्पनीले विद्यार्थी छनोट गरेर जागिरको अफर गर्छन् ।  ‘यसो हुँदा विद्यार्थीलाई पढाइ सकेर काम खोज्न कहाँ जाने होला कुन कम्पनी कस्तो छ भन्ने विद्यार्थीलाई थाहा हुन्छ,’ उनी भन्छन्, ‘कम्पनी कलेजमै आउँदा सबै विद्यार्थीलाई जान्ने अवसर हुन्छ । कम्पनीको प्रोफाइल हेर्छ, कुन कम्पनीमा आफ्नो भविष्य देख्छ, वित्तीयसँगै त्यहाँको वातावरण सबै कस्तो छ भन्ने थाहा हुन्छ ।  यसैले पनि हामी विद्यार्थीको प्लेसमेन्टमा हामी बढी फोकस छौं ।’  सफ्टवेरिका कलेज  डिल्ली बजारमा रहेको सफ्टवेरिका कलेज पनि विद्यार्थीलाई पढाउनेमात्र नभई रोजगारीको अवसर दिने कलेजमा पर्छ । आधुनिक र प्रयोगमुखी सिकाइको दृष्टिकोण अपनाउँदै विद्यार्थीलाई उद्यमी बन्न तयार गराइरहेको यो कलेजले विद्यार्थीको व्यक्तित्व विकास र सफ्ट स्किल्स शिक्षालाई पनि प्राथमिकता दिएको छ । सफ्टवेरिकामा स्नातक तहमा कम्पयुटर साइन्स विथ आर्टिफिसिएल इन्टेलिजेन्स (एआइ), कम्पयुटिङ, इथिकल ह्याकिङ एण्ड साइवर सेक्युरेटी कोर्षहरू पढाइ हुन्छन् ।  यसका लागि अत्यधुनिक कम्प्युटर प्रयोगशाला, प्राविधिक तथा नेटवर्किङशाला प्रयाप्त रहेको कलेजले दाबी गर्दै आएको छ ।  कलेजका प्राचार्य प्रमोद पौडेल कलेजले स्नातक तहमा इन्फर्मेसन टेक्नोलोजी आइटीलाई जोड दिँदै आएको बताउँछन् ।  उनी भन्छन्, ‘हाम्रा पूर्व विद्यार्थीहरू देशमा मात्र होइन विदेशका ठूला कम्पनीमा काम गरिरहनुभएको छ, कतिपय भाइबहिनीहरूले आफै कम्पनी खोलेर अरूलाई काम दिइरहेका छन्, धेरैजसो अहिले पनि काम गर्दै हुनुहुन्छ, यसमा कलेजको ठूलो भूमिका छ ।’ कलेजले वर्षमा दुई पटक ठूलो कार्यक्रम गर्छ । जुन वार्षिक कार्यक्रमको रुपमा क्यालेण्डरमै राखिएको छ । सफ्टवेरिकामा अध्ययनरत एक विद्यार्थी भन्छन्, ‘वर्षमा दुर्ई पटक ठूला कार्यक्रम हुन्छन्, जहाँ हामीले आफ्नो प्रोजेक्टहरू प्रदशर्नी गर्छौ, हामीलाई कम्पनीको विषयमा जानकारी लिन सहज हुन्छ ।’ उनी पढाइसँगै ती कम्पनीमा इन्टर्नसिप गर्ने अवसर पनि पाइरहेको बताउँछन् । उनले सातामा एक पटक विभिन्न कम्पनीसँग काम गर्ने अवसर पनि कलेजमै पाएको बताए ।    टेक्सास इन्टरनेशनल कलेज चाबहिलमा रहेको टेक्सास इन्टरनेश्नल कलेज पनि विद्यार्थीको रोजाइमा पर्ने कलेज मध्येमा पर्छ । यो कलेजले पनि विद्यार्थीलाई पढाइमामात्र केन्द्रित नभई पढिसकेका विद्यार्थीलाई इन्टर्नसिपको अवसर पनि सिर्जना गर्दै आएको छ । टेक्सासले स्नातक अन्तर्गत ब्याचलर अफ साइन्स इन कम्पयुटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी (सिएसआइटी), व्याचलर अफ कम्पयुटर एपिलकेसन (बिसीए), ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ सोसियल वर्क, व्याचलर अफ बिजनेस स्टडी कार्यक्रम सञ्चालन गरिरहेको छ ।  कलेजका बिजनेस डेभलपमेन्ट डिरेक्टर नारायण पोख्रेल कलेजलका विद्यार्थीलाई पढ्दा पढ्दै करियर सुरु गर्ने बनाइरहेकोे दाबी गर्छन् । उनका अनुसार अहिले टेक्सासमा स्नातक तहको छैटौं सेमेष्टरमाथिका अधिकांश विद्यार्थी काम गर्दे पढ्दै गरेका छन् ।  ‘विद्यार्थीले जे पढ्छ आफ्नो रुचिअनुसारको कोर्स छान्न हामी दिन्छौ,’ उनी भन्छन्, ‘विद्यार्थीले कोर्स पढिसक्दा दीर्घकालिन पेशा छनोट गरिसक्नुपर्छ भन्ने कुरालाई कक्षा कोठामा जोडिएर पढाउँछौं ।’ टेक्सासले वर्षमा दुई पटक करिअर काउन्सिलका कार्यक्रमको आयोजना गर्छ । जहाँ विभिन्न विषयका विज्ञहरू कलेजमा आएर विद्यार्थीलाई ओरेन्टेसन दिने गर्छन् । यसका लागि कलेजले विभिन्न आइटी कम्पनीदेखि अन्य विज्ञ कम्पनीसँग सहकार्य गरी काम सुरु गरिरहेको छ ।  ‘हाम्रो उद्देश्य भनेको विद्यार्थीले पढ्दा पढ्दै आफ्नो रुचि अनुसारको काम सुरु गर्नुपर्छ भन्ने हो, यसका लागि कलेजले सहकार्य गरिरहेको छ,’ पोख्रेलले भने ।  द ब्रिटिस कलेज नेपालमा अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आएको कलेज हो द ब्र्रिटिस कलेज । जसले विद्यार्थीलाई बेलायती डिग्री र हालको रोजगार बजारसँग सम्बन्धित कोर्सहरू सञ्चालन गर्दै आएको छ । करिब १५ वर्षदेखि विद्यार्थीलाई विश्वव्यापी सिकाइको अनुभव र अन्तराष्ट्रिय अवसरहरू प्रदान गर्ने उदेश्यले सञ्चालन भइरहेको छ ।  यो कलेजले ब्याचलर तहमा बिबीएस, बिबीएससी, बिएससी कम्प्युटिङ, साइबर सेक्युरेटी, एआइ,  डेटा साइन्स, कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । कलेजको इन्र्टनसिप प्लेसमेन्ट सिवानी अधिकारी कलेजले एमओयू गरेका कम्पनीसँग सहकार्य गरेर विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्था गरिरहेको बताउँछिन् ।  ‘हामीले विभिन्न कम्पनीसँग सहकार्य गरेका छौं, उहाँहरूलाई आवश्यक परेको जनशक्ति हामीलाई पठाउनुहुन्छ, हामी विद्यार्थीलाई जानकारी गराउँछौं इच्छुक विद्यार्थीले आवेदन दिनुहुन्छ,’ उनले भनिन् ।  ब्रिटिस कलेजले वर्षमा एक पटक जब फेयर पनि गर्छ । कलेजले बिहान कार्यक्रम सञ्चालन गर्दा दिउँसो विद्यार्थीलाई काम गर्ने समय पनि मिल्ने भएकाले अधिकांश विद्यार्थी काम गर्दै पढिरहेको उनको भनाइ छ ।   ग्लोबल कलेज इन्टरनेशनल  ग्लोबल कलेज इन्टरनेशनल काठमाडौंको मध्यबानेश्वरमा छ । कलेजले व्यापारिक केन्द्र र कर्पोरेट संस्थाहरूको सहकार्यमा विद्यार्थीलाई अध्ययन अवधिभर इन्टर्नसिपको अवसर प्रदान गर्छ । यहाँ स्नातक र स्नातकोत्तर तहका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यो कलेजले स्नातक तह अन्तर्गत  बीबीए, बीएचएम, बिटीटीएम कार्यक्रम सञ्चालन गरिरहेको छ  ।  विद्यार्थीले आफूलाई मन लागेको विषय रोज्न सक्नेछन् भने स्नातकोत्तरका एमबीए कार्यक्रम पनि सञ्चालन भइरहेको छ । त्यस्तै, ग्लोबल कलेजले ग्लोबल कलेज अफ सोसल साइन्स एण्ड टेक्नोलोजी बिटेक इन एआइ यो वर्षदेखि सञ्चालनमा ल्याएको छ  ।  विज्ञान विषय लिएर कक्षा ११ र १२ मा क्यामेस्ट्री र म्याथम्याटिक्स विषय लिएर अध्ययन गरेका विद्यार्थीले मात्रै यस कोर्ष पढ्न भर्ना पाउने छन् । यही कलेजमा बिएएलएलबी पाँच वर्षको कोर्स पनि सञ्चालन भएको छ । यस्तै, ग्लोबल कलेज अफ म्यानेजमेन्टले  त्रिभुवन विश्वविद्यालयको कार्यक्रम बिबीएस पनि पढाइ हुने पनेरु बताउँछन् । ​​​​​​ लिबर्टी कलेज यो कलेजले होटेल म्यानेजमेन्ट पढेका ८ जना विद्यार्थीलाई शून्य लागतमा इन्र्टनसिपका लागि जापान पठाएको छ । कलेजमै जापनिज भाषा समेत पढाउँदै आएको कलेजले स्वदेशमात्र नभई विदेशमा पनि विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्था गर्दै आएको छ ।  नेपालमा काम गर्दै आइरहेका विभिन्न कम्पनीहरूसँग साझेदारी गर्दै विद्यार्थीका लागि काम गर्ने वातावरण दिँदै आएको छ । कलेजका प्राचार्य डा.देवराज पनेरुका अनुसार पोखरा विश्वविद्यालयबाट मान्यताप्राप्त कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।  कलेजले बीसीएस आइटी, बीएचएम, बीबीए र बीबीए फाइनान्सका कार्यक्रमहरू छन् । कलेजको उद्देश्य भनेकै पढ्दै कमाउँदै हो । बैंक तथा वित्तीय संस्थाहरुदेखि विभिन्न कम्पनीसँग सहकार्य गर्दै पेड इन्टर्नसीप गराउँदै आएको उनको दाबी छ ।  लिबर्टी कलेजमा सिक्दै काम गरेर कमाउने अवसर रहेको पनि जानकारी दिए ।  कान्तिपुर इन्टरनेश्नल कलेज रोजगारी सुनिश्चित गर्न दिगो व्यावसायिक उद्यमशिलता र गुणस्तरिय शिक्षा दिने उद्देश्यले सञ्चालित भइरहेको छ कान्तिपुर इन्टरनेश्नल कलेजले बिएएलएलबी, बिबीए, बीएचसिएम, बिएचएम लगायतका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।  पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त यो कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ विद्यार्थीहरूलाई दक्ष, सक्षम, समर्पित र योग्य पेशेवरका रूपमा तयार गर्दै होटल तथा पर्यटन उद्योग, बैंकिङ क्षेत्र, कर्पोरेट हाउस, कन्सल्टेन्सी, इन्जिनियरिङ जस्ता विभिन्न क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गरिरहेको दाबी गर्दै आइरहेको छ ।  एशियन इन्स्टिच्युट  एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (एआइटीएम) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र्कायक्रमहरू सञ्चालन गर्दै आएको छ । सन् २०१२ देखि ललितपरको खुमलटारमा रहेको यो कलेजले बेलायतमा रहेका विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै नेपाली विद्यार्थीलाई उच्च शिक्षामा सेवा दिँदै आइरहेको छ ।  यहाँ हस्पिटालिटी म्यानेजमेन्ट (बीए), बिजनेस म्यानेजमेन्ट (बीए), कम्प्युटिङ एण्ड इन्फर्मेसन टेक्नोलोजी (बीएससी) का कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । यो कलेजले पनि विद्यार्थीलाई पढाइसँगै बाह्य ज्ञान, सीप अनुभव सिक्ने अवसर विद्यार्थीलाई दिँदै आएको छ । यो कलेजले पनि विद्यार्थीलाई पढाइमा मात्र नभई जब प्लेसमेन्टको अवसर पनि दिइरहेको छ । किंग्स कलेज उद्यमशिलतमा आधारित शिक्षा सिक्न चाहने विद्यार्थीका लागि सबैभन्दा राम्रो कलेज हो किंग्स कलेज । काठमाडौंको बबरमहलमा सञ्चालित यो कलेजले व्यवसाय सुरु गरिरहेका र गरिसकेका विद्यार्थीहरूलाई उद्यमशिलताका विषयमा सिकाउने काम गरिरहेको छ । यहाँ स्नातक तहमा अध्ययन गर्ने विद्यार्थी नै प्रोफेशनल हुन्छ ।  उद्यमी सोच भएका विद्यार्थीहरूका लागि यो कलेज छनोट गर्न राम्रो हुने कलेजका प्रीन्सिपल बिक्रम प्रजापती बताउँछन् । यो कलेजले जब प्लेसमेन्टका लागि छुट्टै प्रोफेशनल डेभलपमेन्ट एण्ड करियर विभाग नै गठन गरेको छ । जहाँ सीप अनुभव र सहयोग प्रदान गरिरहेको छ । जहाँ विद्यार्थीले गरिरहेको काम नयाँ तरिकाले राम्रो बनाउने भन्नेमा ध्यान दिने गरेको उनी बताउँछन् । ‘प्रजापती भन्छन्, ‘कूनै संघ संस्थाले हामीलाई यस्तो जनशक्ति चाहिएको छ भने हामीसँग भएका विद्यार्थीको प्रोफाइल हेर्छौ त्यो प्रोफाइल अनुसार मेल खाने अफर आयो भने विद्यार्थीलाई पठाइदिन्छौं ।’ हिमालयन ह्वाइट हाउस  इन्जिनियरिङ, व्यवस्थापन र प्रविधि शिक्षामा उत्कृष्ट शिक्षा प्रदान गरिरहेको अर्को कलेज हो हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज । पुतलीसडकमा रहेको यो कलेजले विद्यार्थीहरूलाई अत्याधुनिक प्रविधिसहितको शिक्षण, सिकाइ र अनुसन्धान वातावरणमा आधारित व्यावहारिक शिक्षा प्रदान गरिरहेको छ । कलेजका प्राचार्य तोयानारायण पौडेल विद्यार्थीलाई पढाइसँगै विभिन्न संघ संस्थामा इन्र्टनशीपको व्यवस्था कलेजले गरिरहेको बताउँछन् । ‘कलेजले वर्षमा जब फेयर लगायतका विभिन्न कार्यक्रमहरू वर्सेनि गर्छ, विभिन्न संघसस्थाहरू आफै आएर आफ्नो संस्थाको लागि योग्य विद्यार्थी छनोट गर्छन्,’ उनी भन्छन्, ‘यसबाट विद्यार्थीलार्य पनि काम खोज्न बाहिर जान पर्दैन, संस्थाले पनि आफूलाई योग्य जनशक्ति पाउँछ ।’  तोय नारायण पौडेल यस्ता कार्यक्रमले गैरप्राविधिक विषय लिएर पढिरहेका विद्यार्थीलाई सहयोग गरिरहेको बताउँछन् । तर, प्राविधिक विषय पढिरहेका विद्यार्थीलाई भने पढ्दै काम गर्दै गर्न समस्या हुने उनको भनाइ छ । पढाइको लागि नै समय अपुग भइरहेको बेला स्नातक तह चार वर्षमा यस्ता विषय लिएर पढिरहेका विद्यार्थीलाई  पढ्दै कमाउँदै गर्दा समस्या हुने उनी बताउँछन् ।  प्राविधिक विषयका विद्यार्थीलाई पढिसकेपछि बाहिर काम खोज्दै जान नपरोस् भन्ने उद्देश्यले विभिन्न कम्पनीहरू कलेजले नै सहकार्य गरिदिने गरेको पौडेल बताउँछन् ।   

निजी विद्यालय सञ्चालकले गरे आन्दोलन घोषणा, विद्यालय बन्द गर्नेसम्मको चेतावनी

काठमाडौं । निजी विद्यालयका विषमा विद्यालय शिक्षा विद्येयकमा लेखिएका केही बुँदाप्रति आपत्ती जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलन घोषणा गरेका छन् । तीन दिनभित्र विद्येयकमा लेखिएका कुरा संसोधन गर्न माग गरेपनि सुनुवाइ नभएको भन्दै प्याब्सन र ऐन प्याब्सनले संयुक्त रुपमा आन्दोलन घोषणा गरेको हो । घोषणा कार्यक्रममा भदौ ७ सम्म बौद्धिक रुपमा ज्ञापनपत्र बुझाउँदै आन्दोलन गर्ने जनाएको छ । असार १३ गते बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले निजी विद्यालयलाई सेवा मुलक, लोक कल्याणकारी,र क्रमशः नाफामुलक गर्ने भन्दै विधेयक पारित गरेको थियो । निजी विद्यालय सञ्चालकहरूले यसमा आपत्ती जनाउँदै यि बुँदा हटाउन तीन दिनको समय दिएको थियो । उनीहरूले विज्ञप्ति निकाल्दै विधेयकमा लेखिएको निजी विद्यालयलाई क्रमशः गैर नाफामुलक बनाइनेछ भन्ने वाक्यंश हटाइनुपर्ने, पूर्ण छात्रवृति दिने शब्द हटाइनुपर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने छाज्ञवृति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने भनेका थिए । ति बुँदामा समिति मौन हुँदा प्याब्सन, ऐन प्याब्सनले आन्दोलन घोषणा गरेको हो ।  बिहीबार पालिका प्रमुख र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाउने जनाएको छ । निजि विद्यालय सञ्चालकहरूले शुक्रबार भोलि जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापनपत्र बुझाउने, भदौ १ गते प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको छ । यस्तै भदौ २ गते आफ्ना क्षेत्रका सांसदहरूलाई ज्ञापनपत्र बुझाउने भदौ तीन, चार र पाँच प्रदेश स्तरिय आन्दोलन तयारी बैठक बस्ने र ६, ७ गते केन्द्र र प्रदेशस्तरमा अन्तक्रिया गर्ने उल्लेख छ । यति गर्दा पनि यि कुरा हटाइएन भने विद्यालय बन्दसम्म गर्ने चेतावनी दिएको छ ।  

अल्फा बिटा इन्स्टिच्युटले अन्तर-कलेज फुटसल प्रतियोगिता आयोजना गर्दै, १६ कलेजले भाग लिने

काठमाडौं । अल्फा बिटा इन्स्टिच्युटले भदौ ४ र ५ गते धुम्बाराहीस्थित सूर्य फुटसलमा अन्तर–कलेज फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलप्रेमी विद्यार्थीलाई प्रोत्साहन दिने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा १६ कलेजका विद्यार्थी टोलीहरूको सहभागिता रहनेछ । आयोजकले विजेता टोलीलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्ने जनाएको छ । अल्फा बिटाका मार्केटिङ म्यानेजर स्वरुप तिम्सिनाका अनुसार प्रथम हुने टोलीलाई रु। ६० हजार र द्वितीय हुने टोलीलाई ३० हजार नगद पुरस्कार दिइनेछ । साथै, उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । तिम्सिनाले खेलकुद विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने बताए । उनले यसपटकको प्रतियोगिता भव्य र व्यवस्थित हुने उल्लेख गर्दै खेल तालिका तथा सहभागी विद्यालयहरूको सूची सार्वजनिक भइसकेको जानकारी दिए । प्रतियोगिताको प्राविधिक पक्ष व्यवस्थित गर्न अनुभवी प्रशिक्षक, निर्णायक र रेफ्रीहरूको टोली खटाइनेछ । अल्फा बिटाको विश्वास छ कि यस्ता प्रतियोगिताले युवा पुस्तामा खेलप्रतिको रुचि बढाउने मात्र नभई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्नेछ । साथै, अन्तर–कलेज फुटसल प्रतियोगिता विद्यालयहरूबीच आपसी समझदारी, सहकार्य, मित्रता, सम्मान र प्रतिस्पर्धात्मक भावना निर्माण गर्ने उत्कृष्ट अवसर पनि हो । यस प्रतियोगितामा सहभागी १६ कलेजमा डीएभी कलेज, युनिग्लोब कलेज, बुढानीलकण्ठ स्कुल, युलेन्स स्कुल, द ब्रिटिश इन्टरनेशनल कलेज, डियरवाक कलेज, स्वस्तीश्री गुरुकुल, कान्जिरोवा कलेज, काष्ठमण्डप स्कुल, प्रिमियर इन्टरनेशनल आईबी वर्ल्ड स्कुल, काठमाडौं वर्ल्ड स्कुल, लिटिल एन्जल्स कलेज, ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ट्रिनिटी इन्टरनेशनल कलेज, जेभियर इन्टरनेशनल कलेज र सीसीआरसी रहेका छन् ।