जनता बहुमुखी क्याम्पसलाई जुट्यो ९ बिघाभन्दा बढी जग्गा

महोत्तरी । महोत्तरीको बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरीको उच्च शिक्षाको गन्तव्य हो । यहाँ बर्सेनि विद्यार्थी थपिँदै गएका छन्, तर पर्याप्त जग्गा अभावमा क्याम्पसले समस्या खेप्दै आएको छ । पछिल्लो समय भने यहाँ क्याम्पसलाई स्रोतसाधन जुट्दै गएको छ । क्याम्पस प्रशासनले हालै नौ बिघाभन्दा बढी जग्गा प्राप्त भएको जनाएको छ । विसं २०६४ मा बर्दिबास–२ स्थित जनता माध्यमिक विद्यालयमा सञ्चालन हुँदै आएको क्याम्पस पाँच/छ वर्षपछि बर्दिबास–१४ मा छ कट्ठा जग्गामा भवन बनाएर सञ्चालन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस रहेको यहाँ हाल एक हजार २०० विद्यार्थी छन् । बर्सेनि विद्यार्थी सङ्ख्या बढ्दै गएको पनि क्याम्पसलाई थप भवन बनाउन ठाउँ अभाव भइरहेका बेला यसपालि नौ बिघा एक कट्ठा नौ धुर जग्गा प्राप्त भएका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर हमालले जानकारी दिए । उनकाअनुसार साबिक २५ नं बहादुरगञ्ज–२ (ङ) को कित्तानम्बर १७ र १८ बाट जग्गा प्राप्त भएको र अब यहाँ थप भवन, खेलमैदान, उद्यान र छात्रावास बनाइने छ । 'आवश्यक जग्गा प्राप्त भएको छ, अब स्रोतसाधन र सहयोग जुटाएर थप संरचना बनाउँछौँ । त्यसका लागि समन्वय गरिरहेका छौँ', अध्यक्ष हमालले भने । क्याम्पसलाई बर्दिबास नगरपालिकाको सिफारिसमा जिल्लास्थित प्रमुख जिल्ला अधिकारी नेतृत्वको जग्गा प्राप्ति सिफारिस समितिको निर्णयले पर्ति जग्गा प्राप्त भएको जनाइएको छ । महोत्तरीका बर्दिबास, भङ्गाहा, औरही र गौशाला नगरपालिका एवं धनुषाको मिथिला नगरपालिकाका क्षेत्रबाट यहाँ अध्ययन गर्न आउने गरेका छन् । क्याम्पसमा छात्रभन्दा छात्राको संख्या बढी छ । क्याम्पस प्रमुख सीताराम खड्काले हाल यहाँ कुल विद्यार्थीको ६० प्रतिशत हाराहारी छात्रा रहेको बताए । क्याम्पसमा हाल वाणिज्य र शिक्षा सङ्कायमा स्नातक तथा शिक्षा सङ्कायमा स्वास्थ्य र नेपाली विषयमा स्नातकोत्तर तहसम्मको पठनपाठन भइरहेको छ । स्नातक तहमा मानविकी सङ्काय र स्नातकोत्तर तहमा वाणिज्यको पठनपाठन स्वीकृतिका लागि पहल भइरहेको क्याम्पस प्रशासनले जनाएको छ । रासस

इम्बार्क कलेजलाई दिल्लीमा उदाउँदो बी–स्कूल को उपाधी

काठमाडौं । इम्बार्क कलेजले अन्तर्राष्ट्रिय स्तरमा अर्को ठूलो सफलता हात पारेको छ । अगस्ट १९–२०, २०२५ मा भारतको नयाँ दिल्लीस्थित इरोस होटलमा आयोजित 'इलेट्स वर्ल्ड एजुकेशन समिट २०२५' मा इम्बार्क कलेजलाई 'इमर्जिङ बी–स्कूल' उपाधिबाट सम्मान गरिएको हो । उक्त सम्मानले इम्बार्क कलेजले व्यवसायिक शिक्षा क्षेत्रमा पुर्याएको योगदान, नवीन शैक्षिक दृष्टिकोण, र छोटो अवधिमा प्राप्त उल्लेखनीय प्रगतिको उच्च मूल्यांकन गरेको छ। अन्तर्राष्ट्रिय मञ्चमा इम्बार्क कलेजको पहिचान 'यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित हुन पाउँदा हामी अत्यन्त गौरवान्वित छौं,' इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरले बताए । 'यो सम्मानले व्यवसायिक शिक्षाको क्षेत्रमा हाम्रो दृष्टिकोण, प्रतिबद्धता र नवाचारको प्रमाण प्रस्तुत गर्दछ । हामी विद्यार्थीहरुलाई विश्वस्तरको शिक्षा प्रदान गर्दै जिम्मेवार व्यवसायिक नेतृत्व विकास गर्न प्रतिबद्ध छौं,' ठाकुरले थपे । इम्बार्क कलेजः नवीन शिक्षा र व्यावसायिक अभ्यासको संगम, इम्बार्क कलेजले कठोर शैक्षिक मापदण्ड र व्यावहारिक औद्योगिक अनुभवलाई समेट्दै व्यवसायिक शिक्षामा नयाँ उचाइ हासिल गरेको छ । कलेजको पाठ्यक्रमले नवीनतम सोच, नैतिक नेतृत्व, र विश्वव्यापी व्यवसायिक क्षमताको विकासमा विशेष ध्यान केन्द्रित गरेको छ । यस सम्मानले कलेजलाई थप प्रेरित गर्दै शैक्षिक कार्यक्रमहरूलाई विस्तार गर्न, अग्रणी उद्योगहरू सँग सहकार्य बढाउन र विद्यार्थीहरूलाई अझ सशक्त बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।   इलेट्स वर्ल्ड एजुकेशन समिटः शैक्षिक उत्कृष्टताको अन्तर्राष्ट्रिय मञ्च, वर्ल्ड एजुकेशन समित एक वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन हो, जसले शिक्षा क्षेत्रका नीति निर्माता, शैक्षिक नेता तथा उद्योग विशेषज्ञहरुलाई एउटै मञ्चमा ल्याएर शिक्षा सम्बन्धी समसामयिक विषयहरूमा छलफल गर्छ । यस सम्मेलनले शैक्षिक उत्कृष्टतामा योगदान पुर्याउने संस्थाहरूलाई विभिन्न श्रेणीमा सम्मानित गर्ने गर्दछ ।  

‘पूर्ण छात्रवृत्ति’ लगायतका प्रावधान हटाउन माग गर्दै निजी स्कुलका सञ्चालक सडकमा आउने

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले बिहीबारदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । निजि विद्यालयका सञ्चालकको संस्था प्याब्सन, ऐन प्याब्सन, हिसान र अपेनले बुधबार कार्यक्रम गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।  विद्यालय शिक्षा विधेयकमा उल्लेख गरिएका केही बुँदाप्रति आपत्ति जनाउँदै आन्दोलन गर्दै आइरहेका शिक्षकहरूले भोलिदेखि सडक आन्दोलन गर्ने घोषणा गरेका हुन् ।  शान्तिपूर्ण आन्दोलन गर्दा माग सम्बोधन नभएको भन्दै सञ्चालकहरू भाद्र पाँच गते बिहान ११ बजे देखि १ बजेसम्म माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताएको छ । घोषणा कार्यक्रममा निजी स्कुलका प्रधानाध्यापकहरू ब्यानरसहित नयाँ बानेश्वर चोकसम्म र्‍याली निकाली फेरि माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने बताइएको छ ।  यस्तै, भाद्र ६ गते बिहान ११ बजे देशैभरिका स्कुल बसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।  काठमाडौं उपत्यकामा २७ किमी चक्रपथ वरिपरि कालो झण्डारब्यानरसहित स्कुलबसको र्‍याली निकालिने छ भने दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीय संसद घेराउ गर्ने जनाएका छन् ।  यति गर्दा पनि माग पुरा नभए ८ गते निर्णायक आन्दोलन गर्ने शिक्षकहरूले बताएका छन् ।  केके छन् माग ? ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनु पर्ने । विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने । कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई “गैर नाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने । छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने । छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १० (क) मा ४५ प्रतिशत आरक्षण छात्रवृत्ति सम्बन्धी व्यवस्था तथा केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७७ ले ११ वटा विश्वविद्यालयमा कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले मात्र उच्च शिक्षा तथा सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्था भएको विभेदकारी उल्लेखित ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने ।