गरिमा विकास बैंकद्वारा १० जना विधार्थीलाई ५० हजार छात्रबृत्ति प्रदान

काठमाठौँ । गरिमा विकास बैंक लिमिटेडले मोरङ्ग जिल्लाको सुन्दरहरैचामा स्थित सुकुना बहुमुखी क्याम्पसमा कक्षा १२, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत १० जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । मंगलबार विद्यालयम आयोजित कार्यक्रममा ५० हजार रुपैयाँ छात्रबृत्ति प्रदान गरिएको हो । बैंकको धरान क्लष्टरका कर्मचारी सुदीप आचार्यले विद्यार्थीहरुलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सङ्घीयता अनुकूल नयाँ पाठ्यक्रमकाे छनाेट, १०३ विद्यालयमा नमूना परीक्षण

काठमाडाैं । मुलुकको सङ्घीय संरचना अनुकूल निर्मित नयाँ पाठ्यक्रम विद्यालय तहमा परीक्षण शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको पाठ्यक्रम विकास केन्द्रले चालू शैक्षिक सत्रमा सातै प्रदेशमा दुई जिल्लाका दरले १८ जिल्लाका १०३ विद्यालयमा नमूना परीक्षण शुरु गरेको हो । प्रदेश नं ३ अन्तर्गत काठमाडौँ उपत्यकाका थप तीन जिल्लालाई परीक्षणमा समावेश गरिएको छ । केन्द्रले प्रारुपअनुसार कक्षा १ को गणित, नेपाली, अङ्ग्रेजी, मेरो सेरोफेरोलगायत विषयम एकीकृत पाठ्यक्रमको कार्यपुस्तक र मार्गदर्शन विद्यालयमा पठाएको छ । नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तु तथा विश्वव्यापीकरणको प्रभावलाई प्रारुपले आत्मसात् गरेको छ । त्यसैगरी, सरकारले नेपालको संविधान, सङ्घीय संरचना र समृद्ध नेपालको परिकल्पना अनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरी कार्यान्वयनमा ल्याउन निर्णय गरेपछि केन्द्रले यो वर्षबाट नमूना परीक्षण आरम्भ गरेको हो । केन्द्रका महानिर्देशक डा लेखनाथ पौडेलले परीक्षणबाट प्राप्त सुझावका आधारमा त्यसलाई परिमार्जन गरी आगामी शैक्षिक सत्रदेखि सो कक्षाको नयाँ पाठ्यक्रम पूर्ण कार्यान्वयनमा ल्याइने बताएका छन् । संविधानअनुसार स्थानीय तहले स्वीकृत गरी स्थानीय पाठ्यक्रम कार्यान्वयनको क्रम पनि शुरु भइसकेको छ । विसं २०६३ मा लागू गरेको सो प्रारुप यसअघि २०७१ मा परिवर्तन भएको थियो । नयाँ व्यवस्थाले कक्षा ११ र १२ लाई एकल पथीय बनाउँदै कक्षा ९ र १० मा पाँच अनिवार्य र दुई वटा व्यावसायिक ऐच्छिक विषय राखेको छ । यी तहका नमूना पाठ्यक्रम बन्ने प्रक्रियामा छन् । यसरी, नयाँ प्रारुपले संविधानको मौलिक हक, सङ्घीय, प्रदेश र स्थानीय तहको संरचना, आर्थिक सामाजिक रुपान्तरणका सवाल, विद्यालय क्षेत्र विकास कार्यक्रम, मुलुकको दीर्घकालीन विकासमा शिक्षाको योगदानका पक्षमा ध्यान दिई सक्षमता र बाल मनोवैज्ञानिकलगायत सिद्धान्तलाई आधार बनाएको छ । केन्द्रका निर्देशक गणेश भट्टराईले तोकिएका १८ मध्ये मुस्ताङ जिल्लामा गत फागुनमै नयाँ शैक्षिक सत्र शुरु भएकाले यो सत्रमा परीक्षण गर्न नसकिएको बताउँदै जारी परीक्षणबारे आगामी असारको अन्तिममा पहिलो र मङ्सिरमा दोस्रो अनुगमन गरी सबै सुझाव सङ्कलन गरिसक्ने बताएका हुन् । कर्णालीका केही जिल्ला र हिमाली जिल्लामा फागुनमा नयाँ शैक्षिक सत्र शुरु हुने भएकाले त्यसअघि परीक्षित पाठ्यक्रमअनुसार नयाँ सत्रका लागि पाठ्यपुस्तक तयार हुने र आगामी शैक्षिक सत्रमा कक्षा २, ३ र ६ को परीक्षण हुने भट्टराईले जानकारी  दिएका छन् । केन्द्रले कूल पाँच वर्षमा नयाँ प्रारुपबमोजिम कक्षा १० सम्मका नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइसक्नेछ । सामान्यतः हरेक पाँच वर्षमा विषयगत र तहगत पाठ्यक्रम परिमार्जन हुने प्रणाली छ । हाल मुलुक ३५ हजार ५५ मध्ये २७ हजार ७२८ सामुदायिक विद्यालय छन् । परीक्षणका लागि सम्बन्धित विद्यालयका प्रधानाध्यापकसहित चार शिक्षकलाई तालिम  दिइएको छ भने सम्बन्धित जिल्ला शिक्षा तथा समन्वय एकाइमा एक फोकल पर्सनको प्रबन्ध गरिएको छ । साथै तत्काल बुझ्नुपर्ने कुरा भएमा केन्द्रमा सिधै सम्पर्क गर्न समन्वय तथा प्रकाशन शाखामा संयन्त्र खडा गरिएको छ । समाजवादोन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम नागरिक विकासको दूरदृष्टिसहित पाठ्यघण्टा (क्रेडिट आवर) को संरचना र व्यावसायिक शिक्षाको धारलाई प्राथमिकता दिई शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले एकल पथीय नयाँ प्रारुप सिफारिस गरेको थियो । यो प्रारुप शिशु कक्षादेखि कक्षा १२ सम्मका लागि लागू हुनेछ । केन्द्रले चालू सत्रका लागि पाठ्यपुस्तकको मूल्यसूचीमा परिवर्तन गरेको छैन भने आगामी तीन वर्षसम्मका लागि विभिन्न प्रकाशनका ११९ अतिरिक्त पाठ्य सामग्रीलाई स्वीकृत गरेको छ । रासस

शैक्षिक सम्मेलनको निष्कर्ष,‘व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुसन्धान जरुरी’

ललितपुर । व्यवस्थापन र प्रविधि क्षेत्रको उन्नयनका लागि समयसापेक्ष खोज अनुसन्धानको आवश्यकता बढेर गएको विज्ञहरुले बताएका छन् । आईतबार ललितपुरमा सम्पन्न २ दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनका सहभागिहरुले व्यवस्थापन र प्रविधि शैक्षिक प्रमाणपत्रका लागि मात्रै नभई राष्ट्रकै लागि आवश्यक रहेकोमा जोड दिए । कुमारीपाटीस्थित मेगा नेशनल कलेजले आयोजना गरेको व्यवस्थापन र प्रविधिका सम्भावना र चुनौती विषय अन्तर्राष्ट्रिय सम्मेलनमा भारत, चीन,बेलायत, अमेरिका, फ्रान्स,जर्मनी लगायत राष्ट्रका प्राध्यापकहरुको उपस्थिति थियो । सम्मेलनका दौरान व्यवस्थापन शिक्षा, प्रविधि शिक्षा, जनशक्ति व्यवस्थापन, अर्थतन्त्र, सेयर बजार , प्रविधि व्यवस्थापन लगायतका विषयमा केन्द्रीत रहेर ४० भन्दा बढी कार्यपत्रहरु पेश भएको थियो । आयोजक मेगा नेशनल कलेजका प्रिन्सिपल डा. घनश्यामप्रसाद साहले सम्मेलनले नेपालभित्र व्यवस्थापन र प्रविधि क्षेत्रमा रहेका सम्भावना उजागर गर्न र चुनौती सामना गर्ने उपाय खोज्न मद्दत गरेको बताउनुभयो । ‘देशविदेशका प्रतिष्ठित प्राध्यापकहरुको कार्यपत्र र त्यसमाथिको छलफलका क्रममा नेपालभित्र व्यवस्थापन र प्रविधि क्षेत्रमा सरकारी र नीजि दुवैक्षेत्रबाट पर्याप्त लगानी आवश्यक रहेको प्रसंग उठ्यो । शैक्षिक क्षेत्रसंगै सरकारी क्षेत्रबाट पनि व्यवस्थापन र प्रविधिको अनुसन्धानमा पहल हुनुपर्ने देखियो’, साहले भने । सम्मेलनमा प्राध्यापक तथा विद्यार्थीहरुले गरेका अनुसन्धानमूलक कार्यपत्रहरुमाथि छलफल भएको थियो । सम्मेलनमा सहभागि युनिभर्सिटी अफ लण्डनका प्राध्यापक जोए फोस्टरले नेपाल र बेलायतबीच कतिपय समानता रहेको भन्दै व्यवस्थापन र प्रविधिका क्षेत्रमा आपसी सहकार्य हुन आवश्यक रहेको बताए । ‘नेपाल र बेलायतले व्यवस्थापन र प्रविधिका क्षेत्रमा आपसी सहयोग बढाउनुपर्छ । विद्यार्थी र प्राध्यापकहरुले मात्रै होइन दुई देशका सरकारले पनि पहल गर्नुपर्छ’, फोस्टरले भने । आधुनिक विश्वमा व्यवस्थापन जटिल बन्दै गएको र प्रविधिको समुचित प्रयोग बिना कुनैपनि प्रतिष्ठान वा राष्ट्रसमेत सही ढंगले परिचालन हुन नसक्ने उनको भनाई छ । त्यस्तै भारतको मेवार विश्वविद्यालयका प्राध्यापक राजेश भट्टले व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्तिको नेपाल र भारतजस्ता राष्ट्रले सधैं अभाव व्यहोर्नुपरेको भन्दै दुवै देशमा दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक सहकार्य बढाउनु पर्ने बताए । नेपाल खुला विश्वविद्यालयका डीन प्राध्यापक डा.रामचन्द्र पौडेलले नेपालमा शैक्षिक अनुसन्धानको क्षेत्रमा शिक्षण संस्थाहरुले लगानी बढाउनु पर्ने बताए । सरकारले पनि शैक्षिक अनुसन्धानका लागि उपयुक्त वातावरण र अवसर दिनुपर्ने भन्दै उहाँले व्यवस्थापन र प्रविधिको क्षेत्रमा हुने शैक्षिक अध्ययनको प्रतिफल राष्ट्रले नै पाउने बताए । नेपालका विश्वविद्यालयहरुको अनुसन्धान क्षमतालाई बढाउन आवश्यक रहेको पौडेलको भनाई थियो । खुला विश्वविद्यालयका सल्लाहकार प्राध्यापक डा. वेद गिरिले विश्वभर व्यवस्थापन र प्रविधि एक गतिशील विषयका रुपमा रहेको भन्दै नेपालमा ढिलै भएपनि यस विषयमा खोजी अनुसन्धान थालिनु सकरात्मक विषय भएको बताए । ‘विश्वभर यस विषयमा शैक्षिक अनुसन्धान निकै प्राथमिकतामा छ । नेपालमा पनि यस अन्तर्राष्ट्रिय सम्मेलनले शैक्षिक अनुसन्धान र खोजका लागि मार्गप्रशस्त गरेको छ । यसमा शिक्षाक्षेत्रका सबैले सहयोग गर्नुपर्छ ।’, गिरिले भने । दुई दिनसम्म चलेको अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न विश्वविद्यालयका प्रतिनिधि, व्यवस्थापन र प्रविधि विषयका २ हजार बढी विद्यार्थी तथा अनुसन्धानकर्ताहरुको सहभागिता रहेको थियो । आयोजक मेगा नेशनल कलेजले शैक्षिक विषयमा अनुसन्धानमुलक सम्मेलनहरुलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएको छ ।