विश्वविद्यालय भन्दै ट्रेनिङ सेन्टरमा भर्ना, ठगिए ६५ जना विद्यार्थी
काठमाडौं । प्लस टुपछि कमाउँदै पढ्न पाइने आशामा कपिलवस्तुका सुलभ पोखरेल दुबई पुगे । तर जुन सपना बुनेर उनी दुबई गए, त्यो पुरा हुन सकेन । बरु पढ्न गएका उनी अहिले मानसिक तनावमा छन् । उनको ठूलो धनराशि र समय बर्बाद भयो । दुई वर्ष दुबईमा पढिसकेपछि त्यहीँबाट युरोप अमेरिका छिर्ने सपना बुनेर त्रिभुवन विमानस्थलबाट उडेका सुलभ आठ महिना नपुग्दै नेपाल फर्किए । कारण थियो शैक्षिक ठगी । विदेशको राम्रो विश्वविद्यालयमा पढाइदिने भन्दै कन्सल्टेन्सीले विश्वविद्यालयमा नभइ ट्रेनिङ इन्स्टिच्युटमा पठाएको भन्दै अहिले उनी नेपाल आएर न्याय खोजिरहेका छन् । कहिले शिक्षा मन्त्रालय, कहिले प्रहरी कार्यालय त कहिले कन्सल्टेन्सी धाउँदै सुलभका दिन बितिरहेका छन् । उनी भन्छन्, ‘विदेशमा पढ्ने, राम्रो पैसा कमाउने मेरो सपनाले मलाई मात्र नभइ परिवारलाई समेत मानसिक तनाव दिएको छ ।’ सुलभले प्लस टु बुटवलमा पढे । साथीभाइ धमाधम पढ्न विदेश जान थालेपछि उनलाई पनि जान मन लाग्यो । उनले कुन देशमा विद्यार्थीका लागि कस्तो सहज छ भन्नेबारे बुझे । साथीभाइ, कन्सल्टेन्सीमा बुझ्दा होटल म्यानेजमेन्ट (बीएचएम)का लागि दुबई उपयुक्त हुने सल्लाह पाए । सुलभले दुबई पढ्न जाने योजना घरमा आमाबुवासँग राखे । नेपाल बसेर चार वर्ष ब्याचलर्स गर्नुभन्दा विदेश गएर काम गर्दै पढ्ने र पढिसकेपछि राम्रो काम पाउने भन्दै अभिभावकलाई मनाए । आमाबुवा पनि तयार भए । सुलभ विदेश पढ्न जाने तयारीका लागि कपिलवस्तुबाट काठमाडौं आए । काठमाडौंमा रहेको एस्पाएर ग्लोबल एजुकेसन कन्सल्टेन्सी पुगे । कन्सल्टेन्सीले उनले देखेको सपनामा फुलबुट्टा भरिदिए । त्यसपछि उनले एस्पाएर ग्लोबल एजुकेशन कन्सल्टेन्सीबाट दुबईको एस्टी एकेडेमीका लागि तयारी गरे । कन्सल्टेन्सीले दुई वर्षमा ब्याच्लर्स सकिन्छ, इन्टर्नसिप पनि पाइन्छ, कलेजले नै राम्रो होटेलमा काम लगाइदिन्छ भन्ने आश्वासन देखाएपछि सुलभले कन्सल्टेन्सीलाई मोटो रकम बुझाए । त्यसपछि उनी गएको जनवरीमा पढाइको लागि दुबई पुगे । दुबई पुग्दा उनले सोचेको र कन्सल्टेन्सीले भनेको दुवै कुरा थिएन । ‘न पढ्ने कलेजमा डेस्क बेञ्च थियो, न कुनै ठूलो कलेज जस्तो, न कन्सल्टेन्सीले भनेजस्तो सेवासुविधा । त्यसपछि बल्ल ठगिएको शंका लाग्यो, बुझ्दै जाँदा कुनै कलेज नभइ ट्रेनिङ सेन्टर रहेको थाहा भयो,’ सुलभले भने । ‘घरबाट १५/२० लाख लगानी गरेर गएँ । न भनेजस्तो पढ्न पाइयो, न पैसा फिर्ता आयो, यत्रो डेढ वर्ष समय पनि बर्बाद भयो, पैसा पनि सकियो,’ उनले थपे । ठगिएको थाहा भएपछि नेपाली विद्यार्थी एकजुट भइ इन्स्टिच्युटसँग आफ्ना गुनासा पोखे तर उनीहरूले सुनेनन् । हामीले गर्ने काम भनेको शैक्षिक परामर्श र तालिम हो, कलेज जस्तो पढाइ गरेर सर्टिफिकेट नदिने भनिसकेपछि सुलभसँगै धेरै विद्यार्थी नेपाल फर्किन बाध्य भए। अहिले सुलभ नेपाल फर्केर कन्सल्टेन्सीसँग र न्यायिक निकाय धाइरहेका छन् । उनी भन्छन्, ‘यताउता धाउँदा थाक्यौं, कहिले शिक्षा मन्त्रालय, कहिले कन्सल्टेन्सी । गएको समय त फिर्ता आउँदैन अब लगानी फिर्ता आइदिए हुथ्यो । म शारीरिक मात्र होइन मानसिक रुपमा पनि निकै थाकिसकेँ ।’ सुलभमात्र होइनन्, अहिले युएईका विभिन्न कलेजमा नेपाली विद्यार्थी यसरी नै ठगीमा पर्ने गरेका छन् । काठमाडौंकी निकिता भुजेल पनि अहिले सुलभजस्तै न्याय खोजिरहेकी छिन् । काठमाडोंमै रहेको हार्वर एजुकेसन कन्सल्टेन्सीले उनलाई पनि एस्टीमा पठाएको थियो । उनको सपना पनि सुलभकै जस्तो थियो । अहिले नेपाल पुगेर न्याय खोजिरहेकी उनी प्रहरीमा उजुरी दिन जाँदा समेत प्रहरीले लिन नमानेको बताउँछिन् । ‘कन्सल्टेन्सीले कुरा गर्न नमान्दा काठमाडौं जिल्ला प्रहरीमा परिसरमा उजुरी दिन गयौ तर प्रहरीले लिन मानेन,’ उनी भन्छिन्, ‘तिमीहरूको काम मात्र गर्न बसेको हो हामी भन्दै प्रहरीले फाइल नै फालिदियो । प्रहरीले नै यसो गर्न मिल्छ त ? हामी त पीडित विद्यार्थी हौं, एकातिर आफ्नो पैसा, समय सबै सकिएको छ, अर्कोतिर प्रहरीले गरेको यस्तो व्यवहारले थप खिन्न बनायो ।’ उनी प्रहरीले गर्ने व्यवहारले कन्सल्टेन्सी र प्रहरीसँग साठगाँठ भएको हुन सक्ने शंका गर्छिन् । ६५ जना विद्यार्थीको उजुरी दर्ता युएईमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरूले ठगीमा परेको भन्दै दूतावास र शिक्षा मन्त्रालयमा उजुरी दिएका छन् । दुबईस्थित दूतावास र नेपालमा गरी ६५ जना विद्यार्थीले ठगीमा परेको भन्दै उजुरी दिएका हुन् । शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखाका अनुसार नेपाल र दूतावासमार्फत ६५ जना विद्यार्थीको उजुरी दर्ता भएको छ । उच्च शिक्षा शाखाका प्रमुख सेवन्त कोइरालाले उजुरी परेका विषयमा छानबिनको काम अगाडि बढिसकेको बताउँछन् । उनले भने, ‘हामीलाई सबै दर्ता भएका उजुरीलाई कारवाहीको लागि गृह मन्त्रालय पठाइसकेका छौं, सम्भवतः गृह मन्त्रालयले काम सुरु गरिसकेको छ ।’ कोइरालाले विद्यार्थी ठगीको उजुरी बढ्न थालेपछि विद्यार्थीलाई विदेश पढ्न जाँदा दिइने नो अब्जेक्सन लेटर (एनओसी)को काम पनि रोकेको बताए । उनले विद्यार्थी ठगिएका भनी उजुरी भएका कन्सल्टेन्सीलाई एनओसी दिन रोकेकाले मन्त्रालयले आफ्नो तर्फबाट गर्ने काम गरिरहेको पनि बताए । शिक्षा मन्त्रालयले फ्री जोनका इन्स्टिच्युटले युनिभर्सिटी भनेर भ्रामक दाबी गर्दै रकम लिइरहेको र पछि विद्यार्थी जाँदा भनेजस्तो नपाइएको बताएको छ । विद्यार्थी ठग्ने कन्सल्टेन्सी विद्यार्थीहरूले दिएको विवरणअनुसार १८ कन्सल्टेन्सी नाम सार्वजनिक भएको छ । ती कन्सल्टेन्सीले यूएईका नक्कली इन्स्टिच्युटमा विद्यार्थी पठाउने काम गरिरहेका छन् । प्रो एभिएसन, सटक्शी एजुकेशन फाउण्डेशन, एडुपोर्ट एजुकेशन कन्सल्टेन्सी, शिव ह्युम एजुकेशन, अक्सब्रिज इन्टरनेश्नल कन्सल्टेन्सी रहेका छन् । यस्तै, मेरिट्स, ब्राइटपथ, सिटीहब, एस्पायर ग्लोबल, कान्तिपुर अब्रोड, सिटी पार्क, मेनटोरा, एक्सेल इन्टरनेशनल, सरम आई, एनटीइआर, ए.एस. एजुकेशन, सकुरा नेपाल र एजुगेट कन्सल्टेन्सी रहेका छन् । दुबईमा रहेका महावाणिज्यदूत हरिप्रसाद ओडारीले विद्यार्थी ठगीका उजुरी आउने क्रम बढ्दै गइरहेको बताए । विकासन्युजसँगको कुराकानीमा उनले भने, ‘विद्यार्थी ठगिएको भन्ने सुनिएपछि हामीले ठगिएका विद्यार्थीलाई उजुरी दिन सूचना नै जारी गर्यौं, कतिपय विद्यार्थी उजुरी दिन आइरहनुभएको छ, हामी उहाँको उजुरी परराष्ट्र मन्त्रालयमा पठाइरहेका छौं ।’ उनले नेपाली विद्यार्थी ठगीमा पर्ने क्रम बढेकाले पढ्न आउनुभन्दा अगाडि कलेजको बारेमा राम्रो अध्ययन र जानकारी लिएर मात्र आउन सुझाव दिएका छन् । ‘विदेश जानु अगाडि म कहाँ जाँदैछु, म जाने कलेज कस्तो हो, विश्वविद्यालयबाट मान्यता लिएको कलेज हो वा होइन, सबै कुरा अध्ययन गरेर मात्र विदेश आउनुपर्छ,’ भण्डारीले भने । कन्सल्टेन्सी पनि सबै भरपर्दा नहुने भएकाले कन्सल्टेन्सी छनोट गर्दा पनि विद्यार्थीहरूले ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् । ग्लोबल कलेज अन्तर्गतको लिबर्टी कलेजका प्राचार्य देवराज पनेरु नेपाली विद्यार्थीलाई विदेशभन्दा स्वदेशमै पढ्न आग्रह गर्छन् । प्लस टु सकेर विदेश जाने विद्यार्थीलाई काम र पढाइको तनावले मानसिक समस्या सिर्जना गर्ने बताउँदै उनी नेपालमै पनि राम्रा विषयहरू पढ्न पाइने भएकाले कम खर्चमा नेपालमै पढ्न सकिने औंल्याउँछन् । विदेश अध्ययनका लागि जाने विद्यार्थी र अभिभावक दुवैलाई मनोविमर्श आवश्यक रहेको उनको भनाइ छ । उनी विदेशमा काम गर्दै पढ्न भने जस्तो सजिलो नहुने भन्दै कलिला मष्तिस्कले विदेशमा दुःख पाइरहेको पनि बताए । ‘विदेशमा भनेजस्तो सजिलो हुँदैन, धेरैले दुःख पाइरहेका छन् । पढ्दै काम गर्न निकै गाह्रो हुन्छ । आर्थिक पाटोमा बढी ध्यान जाने हुँदा पढाइ पनि हुँदैन,’ पनेरुले भने । उनी विदेशको राम्रो विश्वविद्यालयमा छोराछोरीलाई काम नगराइ पढाउनमात्र पठाउनसक्ने आर्थिक हैसियत भएका परिवारले मात्र छोराछोरी विदेश पठाउनु पर्नेमा जोड दिन्छन् । के भन्छ इक्यान ? विदेश जाने नेपाली विद्यार्थी बढेसँगै नेपालमा कन्सल्टेन्सीको संख्या पनि बढेको पाइएको छ । कतिपय कन्सल्टेन्सी कानुनी रूपमा दर्ता भएर सञ्चालन भएपनि कतिपय बिना दर्ता नै सञ्चालन भइरहेका छन् । आज एक ठाउँमा एक नाम गरेर सञ्चालनमा आउने कन्सल्टेन्सी केही दिनपछि अर्कै ठाउँमा अर्कै नाममा सर्ने गरेको र कतिपय पैसा खाएर भाग्ने गरेको गुनासो पनि उत्तिकै बढ्न थालेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा खोलिएका धेरैजसो कन्सल्टेन्सी ठग र दर्ता नभएको पाएको बताएको छ । विभागले उपत्यका गर्दै आएको अनुगमनका क्रममा धेरैजसो शैक्षिक कन्सल्टेन्सी दर्ताविहीन अवस्थामा सञ्चालन भइरहेको छ । विभागले दर्ता नभएका करिब सय कन्सल्टेन्सीलाई कारवाही गरिसकेको जनाएको छ । यस्ता कन्सल्टेन्सीको काम विद्यार्थीलाई ठगी गर्ने र विदेशमा नभएका कलेजमा पठाउने गरेको गुनासोसमेत विभागमा विद्यार्थीले गर्ने गरेको छन् । विभागका अनुसार तीन हजार बढी कन्सल्टेन्सी दर्ता बिना सञ्चालनमा आएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले नेपाली विद्यार्थीलाई विदेशमा अलपत्र पार्ने कदमप्रति खेद प्रकट गरेको छ । नेपालकै कन्सल्टेन्सीले नेपाली विद्यार्थी ठग्नु दुःखद भएको भन्दै अवैध रूपमा सञ्चालन आएका कन्सल्टेन्सी बन्द गरिनुपर्ने प्रतिक्रिया दिएको छ । इक्यानका महासचिव दीपकराज भुसालले विद्यार्थीलाई झुटा आश्वसान दिई विदेशमा लिएर अलपत्र पार्ने जोसुकै कन्सिलटेन्सीलाई कारवाही गरिनुपर्ने बताए । उनले यस्ता कन्सल्टेन्सीको विषयमा इक्यानले समेत अनुशासन समिति बनाएर जानकारी लिरहेको बताए । उनी भन्छन्, ‘विद्यार्थीलाई ठग्ने कुनैपनि कन्सल्टेन्सी बन्द गरिनुपर्छ, केही कन्सल्टेन्सीले गरिएको अवैध कामले राम्रा काम गरिरहेका कन्सल्टेन्सीलाई समेत विश्वास नगर्ने क्रम बढेको छ । यो कदापि राम्रो होइन । ’ उनले अहिले एनओसी दिने काम पनि बन्द भइरहेकाले यो विषयमा व्यापक छलफल र खोज हुन आवश्यक रहेको बताए । दर्तामा ७ सय २० कन्सल्टेन्सी मात्र नेपालमा बर्सेनि विदेश पढ्न जाने विद्यार्थीको संख्या बढ्दै गइरहेको छ । एक लाख बढी विद्यार्थी अध्ययनकै लागि विदेशिने गरेको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा मात्र १ लाख २३ हजार ५८९ विद्यार्थीले एनओसी लिएका थिए । जसमा संयुक्त अरब इमिरेट्स युएईका लागि २ हजार ९२ जना विद्यार्थीले एनओसी लिएका छन् । शिक्षा मन्त्रालयका अनुसार नेपालमा ७ सय २० वटा कन्सल्टेन्सीमात्र दर्ता भएर सञ्चालनमा आइरहेका छन् । तर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा करिब १० हजार कन्सल्टेन्सी रहेको जनाएको छ । नेपालमा सञ्चालन भइरहेको ९० प्रतिशत कन्सल्टेन्सी अवैध रूपमा सञ्चालनमा आएको विभागको भनाइ छ ।
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छ : मन्त्री पुन
ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा शनिबार यहाँ आयोजित ४३औँ वार्षिकोत्सव विशेष पुरस्कार वितरण समारोहमा उनले विज्ञान र प्रविधिका क्षेत्रमा पर्याप्त लगानी नहुनु, अर्थतन्त्रबाट अलग हुनुलगायत कारणले यो क्षेत्र कमजोरी बनेको बताए । विज्ञान र प्रविधि पछाडि परेसँगै अर्थतन्त्र कमजोर बन्दा नेपाली समाज पिछडिएको धारणा राखे । मन्त्री पुनका अनुसार वैज्ञानिक सोच र प्रविधि विकासको गति सुस्त हुनुको कारण विगतदेखि वर्तमानसम्मका संरचनागत समस्याको परिणाम हो । उनले भने, 'आर्थिक अभावका कारण नेपालीले दुःख भोगिरहेका छन् । पहिलोदेखि तेस्रो औद्योगिक क्रान्तिसम्म हामी पछि पर्नुको कारण विज्ञान र प्रविधिप्रति बेवास्ता हो ।' उनले विज्ञान तथा प्रविधिसँग सम्बन्धित शैक्षिक तथा अनुसन्धानमूलक काम गर्ने संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिए । मन्त्री पुनले सीमित स्रोतसाधनमा पनि नास्टले प्रभावकारी नतिजा दिनसक्ने विश्वास व्यक्त गरे । 'विज्ञानको प्रभावकारी प्रयोग गर्दै अनुसन्धानलाई व्यावहारिक रूपान्तरण गर्नुपर्छ',उनले भने, 'अनुसन्धान र आविष्कारका क्षेत्रमा कञ्जुस्याइँ नगरी सरकारले योजनाबद्ध विकासमा जोड दिनुपर्छ ।' आफूलाई जिम्मेवारी आएमा कम्तीमा रु तीन अर्ब बजेट अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा विनियोजन गर्ने योजना मन्त्री पुनले सार्वजनिक गरे । नेपालमा व्यक्तिगतस्तरमा नवप्रवर्तन केन्द्र सञ्चालन गर्ने परम्परा न्यून रहेकामा चिन्ता व्यक्त गर्दै नास्टले गरिरहेको प्रयास प्रशंसनीय रहेको उनले बताए । कार्यक्रममा नास्टले विभिन्न अनुसन्धानमूलक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका १३ जना वैज्ञानिकलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । साथै नास्टले आजीवन विज्ञान तथा प्रविधि अनुसन्धानमा समर्पित पाँच जना वरिष्ठ वैज्ञानिकलाई कदरपत्रसमेत हस्तान्तरण गरेको छ ।
सुनकोशीमा बाढीले पुल बगाएपछि विद्यालय पुग्न ‘रबरबोट’को भर
ओखलढुंगा। ओखलढुंगाको ढेबुवाका स-साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन् । ओखलढुंगाको सुनकोशी गाउँपालिका-१ र सिन्धुलीको फिक्कल गाउँपालिका-६ जोड्ने झोलुंगे पुल गत वर्ष असोजको बाढीले बगाएपछि ढेबुकाका २६ जना विद्यार्थी रबरबोट चढेर जोखिम मोल्दै सुनकोशी नदी पार गरेर पढ्न जान बाध्य भएका हुन् । गाउँमा राम्रो पढाइ हुने विद्यालय नभएका कारण ढेबुवा र जेरुङघाटका विद्यार्थीहरू छिमेकी जिल्ला सिन्धुलीको फिक्कल गाउँपालिकाका रत्न गंगा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन्। बाढीले पुल बगाएपछि विद्यार्थीहरू लामो समय पढाइबाट वञ्चित भएका थिए । केही समय अगाडि गृहमन्त्रालयबाट बोट ल्याएर पालिकाको व्यवस्थापनमा सञ्चालन गरेर विद्यार्थीलाई सुनकोशी तार्ने गरिएको रत्न गंगा माविका विव्यस अध्यक्ष रोशन भण्डारीले बताए । बोटबाट विद्यार्थी तार्ने काम जोखिमपूर्ण र अस्थायी भएकाले स्थायी समाधानका लागि पुल निर्माणको माग गरिएको उनको भनाइ छ । ओखलढुंगाका जनप्रतिनिधिले आफ्ना क्षेत्रका विद्यार्थीको समस्या समाधानमा पहल नगरेको उनको भनाइ छ । 'अर्को जिल्ला, अर्को प्रदेशका विद्यार्थी भए पनि हाम्रो विद्यालयमा पढ्ने बालबालिका गत असोजको बाढीले पुल बगाएपछि पढाइबाट वञ्चित भए । लामो समयसम्म त्यो जिल्लाका सांसद रामहरि खतिवडा र सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङसँग समन्वय गर्न खोजियो तर उहाँहरूले वास्ता नगरेपछि गृहमन्त्रालयबाट रबरबोट ल्याइयो, फिक्कल गाउँपालिको व्यवस्थापनमा बोट सञ्चालन गरेर विद्यार्थीलाई विद्यालय ल्याउने लैजाने गरिएको छ', विव्यस अध्यक्ष भण्डारीले भने, 'जोखिमपूर्ण अवस्था छ तर विकल्प छैन, त्यसैले दिगो समाधान भनेकै ढेबुवा र तीनखण्डे जोड्ने पुल निर्माण हो त्यसका लागि पनि हामीले माग गरिरहेकका छौं ।' उनका अनुसार सुनकोशी पारिका विद्यार्थीलाई मौसम हेरेर नदीमा बाढी आउने–नआउने आकलन गरेर विद्यालय ल्याउनुपर्ने र दिउँसो बाढी आए त्यो बेलुका सिन्धुलीमै बसोबासको प्रबन्ध मिलाउने गरिएको छ । विद्यार्थी ओसारपसारका लागि सुनकोशीमा बोट चलाउन फिक्कल गाउँपालिकाले सुरुदेखिनै एक जना कर्मचारी राखेको थियो। सुनकोशी गाउँपालिकाले पनि एक जना कर्मचारी राखेर तलब दिने आश्वासन दिएको छ । बाढीले पुल बगाएपछि विद्यार्थीलाई विद्यालय ल्याउन अस्थायी विकल्पका रूपमा रबरबोट सञ्चालन गरिए पनि तीनखण्डेमा पुल निर्माणको पहल भइरहेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताए । तालिमप्राप्त कर्मचारी राखेर रबरबोट सञ्चालन गरी छिमेकी जिल्लाका विद्यार्थीलाई विद्यालय जाने र त्यस क्षेत्रका स्थानीय नागरिकलाई समेत नदी पार गर्न सहयोग गरिएको उपाध्यक्ष बरालको भनाइ छ । 'हाम्रो बाध्यता र कार्यक्षेत्रभित्रको समस्या होइन यद्यपी छिमेकी जिल्ला भएपछि र विगतदेखि हाम्रै विद्यालयका विद्यार्थी भएकाले ती अबोध बालबालिका लामो समय पढाइबाट वञ्चित भएको देखेर वैकल्पिक व्यवस्था गरी विद्यालय ल्याउने र घर फर्काउने गरिएको छ', उपाध्यक्ष बरालले भने, 'तीनखण्डेमा पुल निर्माणको पहल गरिरहेका छौँ । सबैको काम पनि भइसकेको छ तर सरकार परिवर्तन भएसँगै यो योजना ओझेलमा परेको छ ।' पुल निर्माणका लागि निरन्तर पहल गरिरहेको उनको भनाइ छ। सुनकोशी नदी किनारमा बिहान ५ः०० बजेदेखि नै विद्यार्थीहरू भेला हुन्छन् । बालकक्षादेखि १२ कक्षासम्म पढ्ने विद्यार्थी भएकाले एसइईको तयारीमा रहेका विद्यार्थीहरू बिहान कोचिङ पढ्न आउने र अन्य विद्यार्थी ९ः०० बजे सुनकोशी किनारमा आउने गरेका छन् । विद्यार्थी तार्न तीन वटा बोट राखिएको छ। जोखिमपूर्ण हुने भएकाले उमेर समूह अनुसार पालैपालो बोटमा राखेर सुरुमै अनुशासनमा बस्न, नहल्लीन, नचल्न निर्देशन दिएर नदी तारिन्छ। बाढीले पुल बगाएपछि १० मिनेटको बाटो दुई घण्टा लगाएर छिमेकी जिल्ला विद्यार्थीहरू घुमेर विद्यालय आउनुपर्ने बाध्यता अन्त्य गर्न बोट सञ्चालनपछि सहज भएको फिक्कल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जानकारी दिए । बोटमा आउने कोशीपारिका विद्यार्थीलाई विशेष प्राथमिकतामा राखेर दिवाखाजा, छात्रवृत्तिजस्ता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको उनको भनाइ छ । रबर बोट (डुंगा) सञ्चालन भए पनि बर्सातको समयमा भने जोखिम हुने भएकाले तत्काल पुल निर्माण गर्न स्थानीयले माग गरिरहेका छन् । छोराछोरी विद्यालय पठाउन सुनकोशी नदी किनारसम्म आएका अभिभावक विद्यार्थी बोटचढेपछि पारी नपुग्दासम्म र साँझ फर्किने बेला वारी नआउँदासम्म पिरमा बस्ने गरेका छन् । 'नानीबाबुलाई खोलामा हेलाएर टुलुटुलु हेर्नुपर्छ आधा भाग कटेर पारि पुगेपछि ढुक्क हुन्छ फेरि बेलुका फर्किने बेला उस्तै पिरलो हुन्छ', जेरोङघाटकी चन्द्रकुमारी माझीले भनिन् । 'ढुंगामा बोट ठोकिँदा पनि नानीहरू डराएर चिच्याउँछन् कराउँछन् त्यो बेला भक्कानु छुटेर आउँछ। भगवान् पुकार्दै छोेराछोरी पढाउन पठाउँछौं ।' पुल नहुँदा यस क्षेत्रका नागरिकको दैनिकी पनि प्रभावित भएको छ । घरायसी सामान किन्न डेढ घण्टा पैदल हिँडेर घुर्मी पुग्नुपर्ने बाध्यता छ । सिन्धुली क्षेत्र सुगम र नजिकै सुनकोशी नदीपारि रहेको ओखलढुंगा क्षेत्र दुर्गम छ । रासस