काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझ ७ बजेपछि सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आजै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ ।
यसका लागि अहिले साँझ ५ बजे बोर्ड सदस्यहरूलाई डेमो देखाउने तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए । ‘हामीले बोर्ड बैठक साँझ ५ बजे बोलाएका छौं, जहाँ डेमो दोखाउने कार्यक्रम छ, डेमो देखाउने कार्यक्रम सफल भएको एक दुइ घण्टापछि नतिजा सार्वजनिक गर्छौ,’ परीक्षा नियन्त्रक अधिकारीले विकासन्युजसँग भने ।
उनले साँझ ७ बजे नतिजा सार्वजनिकका लागि पत्रकारलाई बोलाउने तयारी भइरहेको बताए । यस वर्ष पहिलोपटक परीक्षा सकिएको एक महिनाभित्रै एसईईको नतिजा सार्वजनिक हुन लागेको हो ।
गत चैत १९ देखि २९ सम्म सञ्चालन भएको यस वर्षको एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए ।
नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईको नतिजा एसएमएस गरेर, आईभीआर वा सिधै वेबसाइटमा गएर हेर्न सकिनेछ ।