घोकेर होइन, बुझेर पढ्दा टपर बनेका शाक्य र घिमिरे

काठमाडौं । पास धेरै विद्यार्थी हुन्छन् तर, टपर तिनैमध्येको सबैभन्दा उति उत्तम विद्यार्थी बन्छन् । हरेक विद्यार्थीले टपरको स्तरमा मिहिनेत गर्दैनन् । कमैले मिहिनेत गर्छन् तर तिनैमध्ये पनि जो सर्वोत्कृष्ट बन्छ उसले घोकेर पढ्दैन, बुझेर पढेको हुन्छ ।  काठमाडौंको किलागलका साहस शाक्य मल्टिमिडिया टेक्नोलोजी विषयमा सर्वोत्कृष्ट नम्बरसहित टपर बने । मंगलबार ललितपुरमा रहेको द प्लाजामा भएको इस्लिङ्टन कलेजको १६ औं दीक्षान्त समारोहमा टपरको रूपमा दीक्षित हुँदा निकै खुसी थिए ।  साहस शाक्य कक्षा १ देखि १२ सम्म काठमाडौंको सेन्ट जेभियर्समा पढेका उनी पढाइमा राम्रा विद्यार्थी हुन् । प्लस टु कम्प्युटर साइन्स लिएर पढेका उनले ब्याचलर्समा भने  मल्टिमिडिया टेक्नोलोजी रोजे । जहाँ ग्राफिक डिजाइन, भिडियो एडेटिङ, एनिमेसन, टेक्नोलोजीहरू पढाइ हुन्छ ।  सानैदेखि आर्टमा रुचि राख्ने शाक्य  सिक्ने अवसर र ठाउँको खोजीमा थिए । उनले यो विषयमा पढाइ हुने ठाउँ खोज्दा इस्लिङ्टन कलेज भेटे ।   ‘मलाई आर्ट गर्न, पेन्टिङ, ड्रइङ गर्न मन पर्थ्यो,’ उनी भन्छन्, ‘ठाउँ खोज्दै जाँदा यो कलेज भेटेँ अनि निकै मिहिनेत गरेँ र आज राम्रो परिणाम हात पारेको छु । म निकै खुसी छु,’ उनले भने । टपर हुनुभयो टपर बन्न कति मिहिनेत गर्नुभयो भयो भन्ने प्रश्नमा शाक्य भन्छन्, ‘टपर हुन्छु भनेर कहिल्यै पढिनँ तर, पढाइमा खुब मिहिनेत गर्छु । त्यसैको फलस्वरूप टपर भएको हुँ । ’  शाक्य हरेक विद्यार्थीले आफूले आफैलाई मूल्याङ्कन गर्नुपर्ने बताउँछन् । ‘म कसरी पढिरहेको छुँ, के यो पढाइले म आफ्नो विषयमा दक्ष हुन सक्छु ? यति कुरा विद्यार्थीले बुझ्नुपर्छ, विद्यार्थीले यो कुरा आफै बुझ्नुभयो र आफैलाई सुधार्ने प्रयास गर्नुभयो भने टपर अवश्य भइन्छ,’ उनले भने ।  उनलाई पढ्न, कलेज जान रमाइलो लाग्छ । बिहान ७ बजे उनी कलेज जान्छन् । १२ देखि १ बजेसम्म कलेज चल्छ । उनलाई पहिला मल्टिमिडियाको विषयमा केही थाहा थिएन । यसमा कलेजले पनि धेरै सहयोग गरेको बताउँछन् शाक्य ।  ‘कलेजले पनि सहयोग गर्यो, मैले पनि मिहिनेत गरेँ र टप गरेँ,’ उनले भने ।  इस्लिङ्टन कलेजको १६ औं दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरू शाक्यले ब्याचलर्सपछि मास्टर कहाँ गर्ने भन्ने योजना बनाइसकेका छैनन् तर यसका लागि राम्रो अवसर र कलेजको खोजी भने गरिरहेका छन् । सके नेपालमै नभए विदेशमा गएर पनि उनलाई यो विषयमा मा स्नातकोत्तर गर्न मन छ । उनी जहाँ पढे पनि काम भने नेपालमै अलिक फरक तरिकाले योजना बनाएको बताउँछन् ।  नेवारी समुदायमा बाहिर ल्याउन सक्ने थुप्रै विषय भएकाले उनी ती विषयलाई प्रोजेक्टका रूपमा बाहिर ल्याउने बताउँछन् ।  शाक्य नेपाली विद्यार्थी विदेशबाट नफर्किनुको कारण नै अवसर नहुनु रहेको औंल्याउँछन् । यो फिल्डमा राम्रो काम गरिरहेकाहरू पनि भएकाले नेपालमा काम गर्ने अवसर नभएको उनी बताउँछन् ।   *** भक्तपुरको कौशलटार बस्ने अम्स घिमिरेलाई पनि टपर हुन्छु भन्ने लागेको थिएन । तर उनले पढाइमा मिहिनेत भने जहिले गर्थे । मंगलबार इस्लिङ्टनको दीक्षान्त समारोहमा उनी टप भए । कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी विषयमा कलेजकै सर्वोत्कृष्ट भए । ‘म टप हुन्छु, सबैभन्दा सर्वोत्कृष्ट नम्बर ल्याउँछु भने कहिल्यै पढ्दिनँ,’ उनी भन्छन्, ‘म पढेको कुरालाई कत्तिको व्यवहारमा ल्याउन सक्छु भन्ने तरिकाले पढ्छु, मिहिनेत पनि गर्छु, आज टपर हुँदा निकै खुसी लागेको छ । साथै नर्भस पनि भएको छु ।’ अम्स घिमिरे  टपर हुन कसरी पढ्नुपर्छ भन्ने प्रश्नमा घिमिरे भन्छन्, ‘पढ्ने हरेक व्यक्तिको आफ्नो तरिका हुन्छ । कसैलाई लेखेर पढ्दा याद हुन्छ भने कसैलाई बोलेर पढ्दा त कसैलाई मनमनै पढ्दा । अब ठ्याक्कै यही तरिका हुन्छ भन्ने त हुँदैन नि ।’ घिमिरे हरेक दिन आफूले पढेको अनि कलेजमा पढाइएका कुरा घरमा आएर गहिरिएर हेर्छन् । तर परीक्षाको लागि भने परीक्षा आउनुभन्दा एक हप्ता अगाडि वा केही दिन अगाडिमात्र तयारी गर्छन् ।  अघिपछि किताब नहेर्ने तर परीक्षाको समयमा घोक्दा याद नहुने घिमिरे बताउँछन् । हरेक दिन समय निकालेर कलेजमा पढाएका कुरालाई घरमा गएर हेर्नेमात्र हो भने पनि धेरै कुराहरू बुझिने र परीक्षामा पनि लेख्न सजिलो हुने उनको भनाइ छ ।   ‘म परीक्षा पास गर्न मात्र नभइ यो पढेको कुरा कसरी व्यवहारमा उतार्न सक्छु भन्ने हिसाबले पढ्छु,’ उनी भन्छन्, ‘म परीक्षाको बेलामा धेरै पढ्ने मान्छे होइन, अगिपछि पढिएन भने परीक्षाको बेलामा जति घोटिए पनि केही हुँदैन।’ घिमिरेले नर्सरीदेखि कक्षा एकसम्म धुम्बारहीमा रहेको युनिभर्सल एकेडेमीमा पढे । कक्षा दुईदेखि १० सम्म प्यारागन पब्लिक स्कुलमा पढे । कक्षा ११ र १२ मा जेभिएर एकेडेमी लैनचौरमा अध्ययन गरे । प्लस टुमा विज्ञान विषय लिएर पढेका उनी कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी विषय लिएर इस्लिङ्टनमा अध्ययन गरे । उनी अहिले आइटीमा  आवश्यक्ता र राम्रो अवसर हुँदा यो विषय रोजेको बताउँछन् ।  ‘अहिले डेटा इज पावर भनेजस्तै आफूसँग डेटा छ भने बलियो हुने भन्ने हुन्छ,’ घिमिरे भन्छन्, ‘अहिले ठूलाठूला राष्ट्रले साइबर सेक्युरिटीमा धेरै लगानी गरिरहेका छन्, मेरो रुचि पनि यसैमा थियो, त्यसैले पनि यो विषय रोजेको हुँ।’  घिमिरे नेपालमा पढ्न र यही केही गर्न चाहने विद्यार्थीका लागि राम्रो अवसर नरहेको गुनासो गर्छन् ।  उनी विदेश गए पनि स्वदेशमै फर्किएर केही गर्नुपर्नेमा जोड दिन्छन् । ‘देश-विदेशको अनुभव लिनुपर्छ, अवसर पाए मलाई पनि जान मन छ तर, काम भने आफ्नै देशमा गर्ने हो,’ उनले भने । 

प्याब्सन अन्तर्राष्ट्रिय नेतृत्व र विकास सम्मेलन जेठ १० देखि १९ गतेसम्म क्यानाडामा हुँदै

काठमाडौं । ग्लोबल हेल्प फाउन्डेसनको आयोजना तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल  (प्याब्सन)को संयोजनमा क्यानाडामा अन्तर्राष्ट्रिय नेतृत्व र विकास सम्मेलन आगामी वर्ष २०८३ जेठ १० गतेदेखि १९ गतेसम्म आयोजना हुँदैछ । सम्मेलनमा प्रधानाध्यापक, सदस्य र व्यवस्थापन तहका शिक्षकहरूले सहभागी भई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने अवसर पाउने प्याब्सनका महासचिव आरबी कटवालले जानकारी दिए । कार्यक्रममा सहभागीहरूले क्यानाडाका विद्यालयहरू भ्रमण गर्दै आधुनिक शिक्षण प्रणाली, प्रविधिको प्रयोग र प्रभावकारी कक्षाको सञ्चालन प्रत्यक्ष अवलोकन गर्नेछन् । यसले नेपाली शिक्षकहरूको पेशागत क्षमता बढाउने र शिक्षाको गुणस्तर सुधार्न योगदान पुग्ने प्याब्सनको विश्वास छ । सम्मेलनमा मुख्य सत्र, कार्यशाला र प्यानल छलफल आयोजना हुनेछन् । सहभागीहरूले आधुनिक पाठशिक्षा पद्धति, प्रविधिको समावेशीकरण र कक्षाको सञ्चालनबारे विस्तृत प्रशिक्षण पाउनेछन् । साथै, क्यानाडेली शिक्षकहरूसँग विचार साटासाट गर्ने अवसरले अन्तर्राष्ट्रिय समझदारी र नेटवर्किङमा पनि सहयोग पुग्ने प्याब्सनका महासचिव कटवालले बताए । प्याब्सनका अनुसार अधिकांश सहभागीताका सिट भरिसकेको र केही सिमित सिटहरू अझै उपलब्ध रहेका छन् ।  प्याब्सनले यस सम्मेलनलाई नेपाली शिक्षकहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्ने अवसरको रूपमा प्रस्तुत गरेको छ । सहभागीहरूले व्यावहारिक शिक्षण रणनीति सिक्ने, नेतृत्व क्षमता विकास गर्ने र अन्तर्राष्ट्रिय नेटवर्क विस्तार गर्ने अवसर पाउने अपेक्षा राखिएको छ ।  

प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–२ दुहवीस्थित शङ्कर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७८/७९ मा आइसिटी ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९/८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयमा आईटी ल्याब स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा रकम हिनामिना गरेको दाबीसहित सोमबार मुद्दा दायर गरेको हो ।      प्रधानाध्यापक ठाकुरसँगै तत्कालीन लेखापाल अरूणकुमार कुशियैतविरूद्ध जनही रु आठ लाख ६२ हजार १५२ बिगो रकमसहित विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ । अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आव २०७८/७९ को आइसिटी ल्याब व्यवस्थापनका लागि खरिद गरिएको रु ८७ हजार ५००  बराबरको प्रोजेक्टर तथा आव २०७९/८० मा आइटी ल्याब व्यवस्थापनका लागि खरिद गरिएको रु एक करोड, २४ लाख ६ सय ५२ बराबरको स्कस्ल सफ्ट्वयर र स्टान्ड हाल विद्यालयको अभिलेखमा नदिखिएको हुँदा सजायको माग दाबीसहित आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।' ठाकुर र कुशियैतले आपसी मिलेमतो तथा योजनामा सरकारी सार्वजनिक सम्पत्ति हिनामिना, हानीनोक्सानी तथा दुरूपयोग गरेको हुँदा निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर भएकाले निज प्रतिवादीलाई सजायको मागसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।