उपकुलपति नेपालमाथि अनेरास्वियू क्रान्तिकारीको दुर्व्यवहार, आर्थिक अनियमितता गरेको आरोप

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि आइतबार बिहान दुर्व्यवहार भएको छ । अनियमितता गरेको आरोप लगाउँदै नेकपा बहुमत निकट अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थी नेताहरूले मोसो दल्दै दुर्व्यवहार गरेको विश्वविद्यालयका एक प्राध्यापकले जानकारी दिए । उनका अनुसार आइतबार बिहान ८ बजेतिर ६ जनाको समूहमा पुगेका अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थीहरूले बेलझुण्डीस्थित उपकुलपति नेपालको क्वाटरमै पुगेर मोसो दल्नुका साथै अभद्र व्यवहार गरेका थिए ।  दाङ प्रहरीका सूचना अधिकारी दीपक चक्र बहादुर शाहले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी खोजीकार्य भइरहेको जानकारी दिए ।  घटनापछि तत्काल प्रहरी टोली परिचालन गरिएको छ । संलग्नहरूलाई नियन्त्रणमा लिने प्रयास भइरहेको शाहले बताए । उपकुलपति नेपालमाथि दुव्र्यवहार भएको जानकारी पाएलगत्तै जिल्ला प्रहरी प्रमुखसहित इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली विश्वविद्यालय परिसर पुगेको थियो । हाल बेलझुण्डी आसपासका क्षेत्रमा प्रहरी परिचालन गरी घटनामा संलग्नको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । बेलझुण्डीस्थित विश्वविद्यालय परिसरमै प्रहरी चौकी रहे पनि दुव्र्यवहार गर्ने समूह उपकुलपतिको कार्यकक्ष होइन, निजी क्वाटरसम्म पुगेर मोसो दल्नुले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको प्राध्यापकहरुले दाबी गरेका छन् ।  यस घटनापछि विश्वविद्यालय परिसरमा सुरक्षा सतर्कता बढाइएको शाहले जानकारी दिए । यसैबीच घटनाको जिम्मेवारी अनेरास्ववियू क्रान्तिकारीका लुम्बिनी प्रदेश समिति इञ्चार्ज प्रेमप्रशान्त बोहराले विज्ञप्तिमार्फत लिएका छन् । जारी विज्ञप्तिमा उपकुलपति धनेश्वर नेपालमाथि विभिन्न आरोप लगाइएको छ । विज्ञप्तिमा विश्वविद्यालयमा आर्थिक तथा प्रशासनिक अनियमितता, नियुक्ति प्रक्रियामा पक्षपात, विद्यार्थी हितविपरीत निर्णयलगायतका विषय उल्लेख गरिएको छ । आन्दोलनात्मक कार्यक्रमअन्तर्गत उक्त कदम चालिएको दाबी छ ।  तर, आरोपबारे उपकुलपति नेपाल वा विश्वविद्यालय प्रशासनको औपचारिक धारणा भने सार्वजनिक भइसकेको छैन ।

सामाजिक विषयका पाठ्यपुस्तक परिमार्जन हुँदै

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले कक्षा ५, ८ र १० को सामाजिक विषयको पाठ्यपुस्तक परिमार्जन गर्ने काम सुरु भइसकेको जानकारी दिएका छन् । सेभ द चिल्ड्रेन र शिक्षा पत्रकार समूहले राजधानीमा आयोजना गरेको बालबालिका, पाठ्यक्रम र पाठ्यपुस्तकबीचको तादात्म्य विषयक अन्तरक्रियामा बोल्दै उनले परिमार्जन भएका यी पाठ्यपुस्तकहरू २०८४ सालदेखि कार्यान्वयनमा ल्याइने जानकारी दिए । उनका अनुसार पाठ्यपुस्तक लेखनका क्रममा सरोकारवालासँग छलफल गरिनुका साथै लेखकहरूलाई अभिमुखीकरण गरिने गरिएको छ र विविधताभित्र एकता खोज्ने प्रयास गरिन्छ । पाठ्यपुस्तक लेख्दा राष्ट्रियताको भावनाको अभिवृद्धि, नागरिकको भूमिका तथा असल समाज निर्माणजस्ता विषयमा विशेष ध्यान दिइने उनले बताए । कार्यक्रममा शिक्षा पत्रकार समूहका तर्फबाट हाल विद्यार्थीले अध्ययन गरिरहेका पाठ्यपुस्तकहरूको अध्ययन गरी ती बालबालिकामैत्री छन् कि छैनन्, पाठ्यपुस्तकमा समावेश विषयवस्तुहरू लैङ्गिकमैत्री छन् कि छैनन्, अपाङ्गता भएका व्यक्ति तथा यौनिक अल्पसंख्यक समुदायलाई कसरी सम्बोधन गरिएको छ, साथै भाषाको प्रयोग कस्तो छ भन्ने विषयमा सूक्ष्म अध्ययन गरी प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक हरि निरौलाले नेपाली समाज बहुलवादी भएकाले समाजको प्रतिनिधित्व कक्षा–कोठामार्फत हुने गरेको बताए । उनले पाठ्यसामग्री दक्षता र विज्ञता भएका व्यक्तिबाट विभिन्न चरण पार गर्दै निर्माण गरिने जानकारी दिँदै पाठ्यपुस्तकका हरेक पाठलाई समावेशी बनाउने प्रयास गरिएको धारणा व्यक्त गरे । सेभ द चिल्ड्रेनका सिनियर प्रोग्राम डेभलपमेन्ट एन्ड क्वालिटी एडभाइजर डा. लक्ष्मी पौडेलले पाठ्यक्रम र पाठ्यपुस्तकबीच रहेको खाडलको चर्चा गर्दै कार्यान्वयन तहमा पनि समस्या रहेको बताइन् । साथै पाठ्यपुस्तकले विद्यालय र घरलाई जोड्न नसकेको तर्क गर्दै पाठ्यपुस्तकका कमजोरी पूर्ति गर्न परिपूरक पाठ्यसामग्री निर्माण गर्न सकिने धारणा राखिन्। शिक्षाविद् डा. विद्यानाथ कोइरालाले पाठ्यक्रम र पाठ्यपुस्तक दुवै परिवर्तन गर्न सकिने भएकाले पाठ्यपुस्तक निर्माण गर्नुअघि समाजमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरूको सूची तयार पार्नुपर्ने बताए । शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपतिले समूहगत छलफलबाट प्राप्त सुझावहरू पाठ्यसामग्री निर्माणमा उपयोगी हुने उल्लेख गर्दै सहभागीहरूको सुझावसहितको प्रतिवेदन पाठ्यक्रम विकास केन्द्र तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बुझाइने प्रतिबद्धता व्यक्त गरिन् ।

पुस १० गते त्रिविको ५१औँ दीक्षान्त, करिब ४२ हजारको सहभागिता हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी पुस १० गते ५१औँ दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत त्रिविले गत शैक्षिक सत्रमा स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि (पीएचडी) तह उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि दीक्षान्त समारोह आयोजना गर्न लागिएको जानकारी दिएको हो । त्रिविका अनुसार २०८१ असार १ गतेदेखि २०८२ जेठ ३१ गतेसम्मको एक शैक्षिक सत्रमा विभिन्न तह उत्तीर्ण गर्ने विद्यार्थीको संख्या ८९ हजार १९९ रहेको छ । तीमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन औपचारिक रूपमा आवेदन दिएका छन् । आवेदक विद्यार्थीमध्ये स्नातक तहमा ११ हजार २३४ जना, अधिस्नातक तहमा १४ जना, स्नातकोत्तर तहमा ४ हजार ८६० जना, दर्शनाचार्य तहमा १२० जना तथा विद्यावारिधि (पीएचडी) तहमा १५२ जना रहेका छन् । यसैगरी, २३ हजार ९८० जना अभिभावक तथा संरक्षकले पनि सहभागिताका लागि आवेदन दिएका छन् । आमन्त्रित अतिथि तथा अन्य सहभागीहरू समेत गरी करिब ४२ हजार जनाको उपस्थिति रहने अनुमान गरिएको त्रिविका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले जानकारी दिए । रजिस्ट्रार रिजालका अनुसार त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले आयोजना गर्न लागेको यो दीक्षान्त समारोह अनुमानित संख्यामा सम्पन्न भए त्रिविको इतिहासकै सबैभन्दा ठूलो दीक्षान्त समारोह हुनेछ । दीक्षान्त समारोहका अवसरमा करिब २५ प्रकारका दीक्षान्त पदक तथा पुरस्कारहरू वितरण गर्ने तालिका रहेको पनि उनले बताए । समारोहमा ५२ जना सिनेट सदस्यहरू गाउनसहित औपचारिक पोशाकमा सहभागी हुनेछन् ।