सामसङ इनोभेसन क्याम्पस नेपालको ‘एआई र बिग डेटा’ तालिम सम्पन्न
काठमाडौं । सामसङ इनोभेसन क्याम्पस नेपालले नेपाली विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरेको ‘एआई तथा बिग डेटा’ तालिम सफलतापूर्वक सम्पन्न भएको छ । गत जुन २७ देखि ६ महिनासम्म सञ्चालन भएको उक्त तालिमको समापनसँगै कम्पनीले सोमबार नयाँ ‘कोडिङ तथा प्रोग्रामिङ’ ब्याच सुरु गरेको जानकारी दिएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजित कार्यक्रममा तालिममा सहभागी ६० विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरियो । तालिममार्फत विद्यार्थीहरूलाई व्यवहारिक सिकाइ, उद्योगसँग सान्दर्भिक ज्ञान र अत्याधुनिक प्रविधिमा प्रत्यक्ष अनुभव प्रदान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा सम्बोधन गर्दै सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले भने, 'युवाहरूलाई भविष्यमुखी सीपले सुसज्जित गर्नु देशको दीर्घकालीन प्रगतिमा गरिएको लगानी हो । सामसङ इनोभेसन क्याम्पसमार्फत हामी नेपालको बढ्दो डिजिटल अर्थतन्त्रमा नेतृत्व गर्न युवाहरूलाई सशक्त बनाउन प्रतिबद्ध छौँ ।' प्रमाणपत्र वितरण समारोहमा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसी, इन्स्टिच्युट अफ इन्जिनियरिङका डिन डा. सुशील बी. बज्राचार्य, पुल्चोक क्याम्पसका प्रमुख डा. सञ्जय उप्रेती लगायत उपस्थित थिए । सामसङले सन् २०२२ देखि आफ्नो विश्वव्यापी दृष्टिकोण अन्तर्गत युवालाई भविष्य सुहाउँदो सीप प्रदान गर्दै आएको छ । यसअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानसँग सहकार्य गरी नेपालमा विभिन्न पाठ्यक्रममा आधारित तालिम आयोजना गरिएको छ । तालिमका क्रममा विद्यार्थीहरूले एआई, बिग डेटा, इन्टरनेट अफ थिङ्स, कोडिङजस्ता प्रविधि प्रयोग गरी वास्तविक जीवनका चुनौती समाधान गर्ने परियोजनामा काम गरेका थिए । नयाँ सुरु भएको कोडिङ तथा प्रोग्रामिङ पाठ्यक्रममा सहभागी हुनका लागि एल्गोरिदम, डेटा स्ट्रक्चर र प्रोग्रामिङको आधारभूत ज्ञान आवश्यक पर्ने बताइएको छ । पाठ्यक्रम व्यवहारिक सीपमा केन्द्रित रहेको र विद्यार्थीलाई सिकेका सीप प्रयोग गरी समस्या समाधान गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ । सामसङ इनोभेसन क्याम्पस नेपालका कार्यक्रममा सहभागी हुन पुल्चोक इन्जिनियरिङ क्याम्पसमा, कम्प्युटर विज्ञान लगायतका विद्यार्थीहरूले आवेदन दिन सक्छन् । त्यसपछि क्याम्पसले विद्यार्थी छनोट गर्छ । छनोट हुने विद्यार्थीलाई सामसङले तयार पारेको पाठ्यक्रममा आधारित तालिम प्रदान गर्ने छ । ६ महिनामा कुल ३५० घण्टाको कोर्स विद्यार्थीहरूले लिने गर्छन् ।
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
सप्तरी । शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन पालिकाले विद्यालयमा बिदा दिएका छन् । राजविराज नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा आज यहाँ जारी सूचनाअनुसार अगामी तीन दिनका लागि राजविराज नगरपालिकाभरिका सम्पूर्ण विद्यालय बिदा दिइएको छ । यही पुस १६ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द रहने जनाइएको छ । त्यस्तै जिल्लाको महादेवा र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाले पनि पुस १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयमा बिदा दिएको जनाइएको छ । महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले एक सूचना जारी गर्दै चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुनाले बिदा दिइएको उल्लेख छ । त्यसैगरी अग्निसाइर कृष्णासवरण गाउँपालिकाका कार्यवाहक अध्यक्ष कल्पनाकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादवद्वारा हस्ताक्षरित सूचनामा पालिकाअन्तर्गतका सामुदायिक, धार्मिक तथा संस्थागत सबै विद्यालयमा तीन दिनका लागि बिदा दिएको जारी सूचनामा उल्लेख छ । यसअघि जिल्लाको डाक्नेश्वरी नगरपालिकाका र राजगढ गाउँपालिकाले पालिकाअन्तर्गतका सबै निजी तथा सामुदायिक विद्यालयमा पाँच दिनका लागि बिदा दिइसकेको छ । ती दुवै पालिकाले पुस १८ गते शुक्रबारसम्म पाँच दिनको बिदा दिएको छ । साथै बोदेवरसाइन नगरपालिकाले पनि जाडो बिदा दिएर त्यहाँका सबै बिद्यालय बन्द गराइएको थियो । बढ्दो चिसोलाई कारण देखाउँदै पुस ९ देखि १३ गतेसम्म्म विद्यालय बन्द गरेको थियो । सप्तरीमा शीतलहरले जनजीवन प्रभावित बन्दै गएको छ । बिहान बेलुका हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने गरेका कारण बालबालिका, वृद्ध, पशु चौपायासमेत प्रभावित भएका छन् । अहिले चिसोका कारण विभिन्न अस्पतालमा बिरामीको चाप बढेको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दैनिक बिरामी आउने क्रम बढेको जनाइएको छ । खासगरी रुघाखोकी, ज्वरो तथा दमका बिरामी यहाँ उपचारका लागि आउने गरेका अस्पताल प्रशासनले जनाएको छ । जिल्लाको अन्य स्वास्थ्यचौकीमा बिरामीको चाप बढेको छ । रासस
टेलिकमले विद्यार्थीका लागि एनटी फाइबर अफर सुरू गर्यो, माघ २२ सम्म आवेदन खुला
काठमाडौं । नेपाल टेलिकमले विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एनटी फाइबर विद्यार्थी अफर’ उपलब्ध गराइरहेको छ । यो अफर आगामी माघ २२ गतेसम्म आवेदन गर्न सकिनेछ र विशेष गरी विद्यार्थीहरूका लागि मात्र मान्य छ । एनटी फाइबर विद्यार्थी अफर अन्तर्गत विद्यार्थीहरूले ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा एक वर्षसम्म पाउनेछन् । यसको मूल्य ४ हजार ९९९ रुपैयाँ मात्र रहेको छ । प्रतिदिन २५ जीबी डाटा उपलब्ध हुनेछ र यसको सीमाभन्दा बढी डाटा प्रयोग भएमा स्पिड ५ एमबीपीएस हुने व्यवस्था गरिएको छ । जडान शुल्क ५०० रुपैयाँ लाग्नेछ भने प्रत्येक विद्यार्थीले ड्युअल ब्यान्ड सीपीई र १०० मिटरसम्म ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् । अफर लिनका लागि विद्यार्थीहरूले १९८ नम्बरमा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकम कार्यालयमा गएर आवेदन दिनुपर्नेछ । यसका लागि जन्म दर्ता वा नागरिकता प्रमाणपत्र, विद्यार्थी परिचय पत्र अनिवार्य पेश गर्नुपर्छ । नाबालिगका हकमा अभिभावकको नागरिकता वा पासपोर्टको प्रतिलिपि पनि आवश्यक छ । यो अफरको समयावधि सकिएपछि पुनः नवीकरण गर्न मिल्ने छैन । सेवा निरन्तरता चाहने विद्यार्थीले साविकका प्याकेजहरूबाट विकल्प छनोट गर्नु पर्नेछ वा उपलब्ध गराइएको सीपीई फिर्ता गर्नुपर्नेछ । प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार यो अफर विद्यार्थीहरूका लागि उपयोगी रहेको छ र समयमै आवेदन दिन सबै विद्यार्थीहरूलाई आग्रह गरिएको छ ।