दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा सुनिलकुमार र रजिस्ट्रारमा खेमराज नियुक्त
काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. सुनिलकुमार जोशी नियुक्त भएका छन् । उपकुलपति नियुक्तिका लागि मापदण्ड कडा भएकाले उम्मेदवारी नपरेको भन्दै पहिलो पटक सूचना जारी गर्दा आवेदन नपरेपछि पुनः दरखास्त आह्वान गरिएको थियो । दोस्रो पटक सूचना जारी गर्दा पनि उम्मेदवारी नपरेपछि तेस्रो पटक सूचना प्रकाशित गरिएको थियो । तेस्रो पटकको सूचनामा दुई जनाको मात्र नामावली दर्ता भएको थियो । तीमध्ये एक जनाको योग्यता मापदण्डअनुसार नपुगेकाले उपकुलपति पदमा प्रा.डा. सुनिलकुमार जोशी नियुक्त भएका हुन् । यस्तै, सोही विश्वविद्यालयको रजिस्ट्रार पदमा डा. खेमराज जोशी नियुक्त भएका छन् । रजिस्ट्रार पदका लागि भने १० जनाको आवेदन परेको थियो । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको अध्यक्षतामा बसेको विश्वविद्यालयको सिनेट बैठकले प्रा.डा. जोशीलाई उपकुलपति र डा. जोशीलाई रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो । उपकुलपतिमा नियुक्त जोशी काठमाडौं मेडिकल कलेजमा कम्युनिटी मेडिसिन विषयका प्राध्यापक हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन २०८२ असार ४ गते प्रमाणीकरण गरेसँगै उपकुलपति, रजिस्ट्रारलगायत पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गरिएको हो ।
ईक्यानको नयाँ अध्यक्षका लागि पौडेल र भुसाल भिड्ने, १८ पदका लागि ३४ जनाको उम्मेदवारी
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को नयाँ नेतृत्वका लागि दौडधुप सुरु भएको छ । यही पुस २८ गते हुने २०औँ साधारणसभा तथा महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने भएपछि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेको हो । ईक्यानका अनुसार अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । हालका प्रथम उपाध्यक्ष एन्ड्र्यु पौडेल (लक्ष्मण) र महासचिव दीपकराज भुसाल अध्यक्ष पदका प्रत्याशी बनेका हुन् । यसअघि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी गीता शिवाकोटी (गीताञ्जली) पछि हटेपछि अध्यक्ष पदमा दुई जनाबीच प्रतिस्पर्धा हुने भएको हो । यस्तै, छ उपाध्यक्ष पदका लागि सात जनाको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्ष पदका उम्मेदवारमा रत्नबहादुर भट्टराई, विकल्पराज पाख्रेल, फिलिपकुमार डाँगी क्षेत्री, मञ्जित ढकाल, पुष्पराज भट्टराई, बासुदेव दाहल र गीता शिवाकोटी (गीताञ्जली) रहेका छन् । महासचिव पदका लागि भवननाथ हुमागाईं र नवराज केसी खत्रीको उम्मेदवारी परेको छ भने दुई सचिव पदका लागि चार जनाले उम्मेदवारी दिएका छन् । सचिव पदका उम्मेदवारमा लालबहादुर तामाङ, भूपाल केसी, आशिष कार्की र सुरज सिलवाल छन् । कोषाध्यक्ष पदका लागि उमा खड्का पाठक र साधना पुडासैनी उम्मेदवार बनेका छन् भने सह–कोषाध्यक्ष पदका लागि भीमबहादुर थापा र गोविन्द खनालले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, नौ सदस्य पदका लागि १४ जनाको उम्मेदवारी परेको छ । सदस्य पदका उम्मेदवारमा अशोककुमार हाथी, प्रकाश रिजाल, अनन्तराज घिमिरे, विवेक बस्नेत, दामोदर शर्मा, सञ्जीव पाण्डे, नवराज नेपाल, उद्धव वन, कमलप्रसाद तिमल्सिना, बसन्त पाण्डे, प्रभात पौडेल, भेषराज राय, दिनेश पौडेल र शिवप्रसाद अर्याल रहेका छन् । पुस २८ गते हुने साधारणसभा तथा महाधिवेशनबाट अध्यक्षसहित १८ पदका लागि ३४ जनाको उम्मेदवारी परेको ईक्यानले जनाएको छ। अध्यक्षका उम्मेदवार एन्ड्र्यु पौडेलले ईक्यानलाई थप व्यावसायिक, पारदर्शी र सदस्यकेन्द्रित संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले शैक्षिक परामर्श व्यवसायमा देखिएका नीतिगत चुनौती समाधान, सरकारी निकायसँग प्रभावकारी संवाद तथा सदस्यहरूको हकहित संरक्षणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् । निर्वाचनका लागि दुवै पक्षले तयारी तीव्र पारेका छन् । भुसाल प्यानलतर्फ उपाध्यक्ष पदका उम्मेदवारमा फिलिप डीसी, मञ्जित ढकाल, विकल्पराज पाख्रेल र रत्न भट्टराई रहेका छन् । भुसाललाई पूर्वअध्यक्ष प्रकाश पाण्डे र वर्तमान अध्यक्ष शेषराज भट्टराईको समर्थन रहेको छ । भुसालका प्रस्तावक स्वयं पाण्डे र समर्थक भट्टराई रहेका छन् ।
शीतलहरका कारण चिसो बढेपछि विद्यालयमा पठनपाठन स्थगित
सुदूरपश्चिम । लगातारको शीतलहरका कारण चिसो बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिका कार्यालयले एक हप्ताका लागि नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । नगरपालिका कार्यालयले जारी गरेको सूचनामा केही दिनदेखि अत्यधिक चिसो भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै विद्यालयको दैनिक पठनपाठन पनि प्रभावित भएकाले यही पुस २४ देखि आगामी माघ २ गतेसम्मका लागि बिदा दिइएको उल्लेख छ । बाक्लो हुस्सु र कुहिरोसँगै दिनहुँ चल्ने गरेको शीतलहरका कारण बढेको कठ्याङ्ग्रिने चिसोले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । जाडोको सामना गरिरहेका अधिकांश सर्वसाधारणलाई आगो ताप्ने व्यवस्थाका लागि धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकासहितका पालिका तहहरूले केही दिनअघि दाउरा उपलब्ध गराएको थियो । शीतलहरका कारण धनगढीको अधिकतम तापक्रम र न्यूनतम तापक्रम घट्दै गएको छ । पहाडी क्षेत्रमा पारिलो घाम लाग्दा यतिबेला तराईका जिल्लालाई भने कुहिरो र हुस्सुले ढाकेको छ । शीतलहरले बढ्ने चिसोका कारण आलु, तोरीलगायतको हिँउदे बालीमा डढुवा रोगको समस्या देखिएको किसानले बताएका छन् ।