नेपाल चेम्वर अफ कमर्सद्धारा ५ छात्रालाई छात्रवृत्ति प्रदान

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले विभिन्न प्रदेशबाट ५ जना छात्रालाई स्नातक तहका लागि छात्रवृत्ति प्रदान गरेको छ । यो छात्रवृत्ति प्राप्त गरेका छात्राहरुले एपियुसँग आबद्ध एलबिइएफ(लर्डबुद्ध)क्याम्पस मैतिदेबीमा ३ वर्षे बिए बिजनेस म्यानेजमेन्ट स्नातक तह पढ्न पाएका पाउने भएका हुन् । १०ं२ पास वा सो सरह अध्ययन गरेका विद्यार्थीले यो छात्रवृत्तिको लागि आवेदन दिएका थिए । योजनाबाट महिला विद्यार्थीहरुले ३ वर्षका लागि लाभ लिने भएका छन् । छात्रवृत्तिमा परेका विद्यार्थीले ३ वर्षको अवधिभर रु.६ लाख ६५ हजार रुपैयाँ बराबरको अध्ययन शुल्कको छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् । छात्रवृत्तिमा पाउने छात्राहरुमा अनु पौडेल (संखुवासभा प्रदेश न. १) मेनुका गुरुङ (इटहरी, प्रदेश न. १) सुप्रया ठाकुर (रौतहट प्रदेश २) अन्वेषा खड्का (दोलखा, प्रदेश न. ३) र कृटिना श्रेष्ठ (काठमाडौं, प्रदेश ३) रहेका छन् । आगामी वर्षदेखी सबै प्रदेशको प्रतिनिधित्व हुने गरी छनौट गर्ने व्यवस्था गरिएको चेम्बर अफ कमर्सको शिक्षा तथा खेलकुद समितिका अध्यक्ष दीपककाजी तुलाधरले जानकारी दिए ।

नेत्रज्योति सङ्घद्वारा दुई सय विद्यार्थीलाई निःशुल्क चश्मा

गलकोट । नेत्रज्योति सङ्घ बागलुङले यस वर्ष २०० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरेको छ । चालीसौँ राष्ट्रिय सामाजिक सेवा दिवसका अवसरमा सोमबार सङ्घले जिल्लाका २०० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरेको जानकारी दिएको हो । सङ्घले वार्षिक रूपमा गर्दै आएको निःशुल्क आँखा शिविरका क्रममा आँखाको दृष्टि कमजोर भई चश्मा लगाउनुपर्ने विद्यार्थीलाई एकमुष्टरूपमा चश्मा वितरण गरेको हो । नेपाल नेत्रज्योति सङ्घ केन्द्रीय कार्यालयको सहयोगमा वार्षिक रुपमा विद्यालयमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । यसरी, एक वर्षमा जिल्लाका ३५ निजी तथा सामुदायिक विद्यालयका झण्डै १५ हजार विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको नेत्रज्योति सङ्घका जिल्ला सभापति भरत पुरीले बताएका छन् । उनका अनुसार १०० विद्यार्थीको आँखा परीक्षण गर्दा औषत रूपमा तीन विद्यार्थीलाई दृष्टिमा समस्या हुने गरेको पाइएको छ । सङ्घले प्राविधिक रुपमा शिविरमै चश्मा उपलब्ध गराउन समस्या हुने भएकाले एकमुष्ट चश्मा वितरण गर्दै आएको छ । सङ्घले ५० वर्ष नाघेका वृद्धवृद्धालाई समेत आँखा शिविरमार्फत निःशुल्क चश्मा वितरण गर्दै आएको छ । यो वर्षमात्रै २०० वृद्धवृद्धालाई निःशुल्क चश्मा वितरण गरिएको छ । वृद्धवृद्धालाई वितरण गरिने चश्मा पहिल्यै निर्माण गरिने भएका कारण आँखा शिविरमै हस्तान्तरण गर्दै आइएको सङ्घका सचिव बालकृष्ण शर्माले बताए । गत वर्ष १५० विद्यार्थीलाई चश्मा वितरण गरिएको थियो भने यस वर्ष विद्यार्थीको सङ्ख्यामा वृद्धि भएर २०० पुगेको छ । आँखाको नियमित परीक्षण अभावमा धेरै विद्यार्थीको दृष्टि कमजोर हुँदै गइरहेको भन्दै नेत्रज्योति सङ्घले विद्यालयमै पुगेर आँखा शिविर सञ्चालन गर्दै आएको छ । रासस

नेपालगञ्जमा आर्थिक विकास परियोजना शुरू हुँदै, चार क्षेत्रमा विशेष प्राथमिकता

राँझा । नेपालगञ्ज उपमहानगरपालिकामा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना शुरू हुने भएको छ । जर्मन विकास नियोग (जिआइजेड)ले उपमहानगरपालिकामा सो परियोजना सञ्चालन गर्न लागेको नगरप्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिएका छन् । उनका अनुसार, उद्योग व्यापार, शिक्षा, स्वास्थ्य र पर्यटन गरी चार क्षेत्रमा परियोजनाले विशेष प्राथमिकता दिएको छ । कार्यक्रमले गाउँ र शहरलाई जोड्ने उनको दाबी छ । उनले भने, “यसले गाउँनगरलाई जोड्दै व्यवसाय पनि प्रोत्साहन पनि गर्नेछ ।” सन् २०१९ को जुन १ देखि कार्यान्वयन प्रक्रियामा रहेको परियोजना २०२२ को मे १ सम्म सञ्चालन हुनेछ । प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेका अध्यक्ष आइपी खरेलले सरकार र जनताको आवश्यकताअनुसार दातृ निकायका कार्यक्रम सञ्चालन हुनुपर्ने बताएका हुन् । जिआइजेडका प्रमुख प्राविधिक सल्लाहकार भोल्केव स्टाइजरवडले उक्त कार्यक्रमले उपमहानगरपालिकाले लाभ लिनसक्ने बताए । उनका अनुसार, उपमहानगरपालिकाले कार्यक्रम सञ्चालनका लागि प्राथमिकता तोकेपछि जिआइजेडले कार्यक्रम र बजेटको निर्णय गर्नेछ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्य, जिल्ला सहकारी सङ्घ बाँकेका अध्यक्ष प्रेम सुवेदी, होटल व्यवसायी सङ्घ नेपालगञ्जका अध्यक्ष भीमलाल कँडेलले परियोजना कार्यान्वयनका लागि आवश्यक सहयोग र समन्वय गर्ने जानकारी दिएका छन् । रासस