पोखरा विश्वविद्यालयका पदाधिकारी र कर्मचारीले बाढीपीडितलाई तलबबाट सहयोग गर्ने

काठमाडौं ।  रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा आएको भीषण बाढी तथा प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ७० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।  पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को भदौ १३ गते बसेको बैठकले विश्वविद्यालयमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीबाट तहअनुसार निश्चित रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।  निर्णयअनुसार उपकुलपतिबाट एक महिनाको तलब बराबरको रकम तथा प्राध्यापक, प्रशासक, सहप्राध्यापक, सहप्रशासक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिन बराबरको रकम योगदान गरिनेछ ।  त्यस्तै, उपप्राध्यापक, उपप्रशासक, प्रशिक्षक, सहायक प्रशासक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट ७ दिनको, उपप्रशिक्षक, सहायक प्रशिक्षक, मुख्य सहायक, सहायक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट ५ दिनको र श्रेणीविहीन कर्मचारीबाट २ दिनको सुरु तलब बराबरको रकम कोषमा जम्मा गरिने विश्वविद्यालयले जनाएको छ ।  विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले विश्वविद्यालयले उक्त निर्णय गरेको हो । विश्वविद्यालयबाट संकलित रकम करिब ७० लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयका कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।  त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को भदौ १२ गते बसेको बैठकको निर्णय नं. अनुसार विश्वविद्यालयअन्तर्गत कार्यरत विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी कोषमा जम्मा गरिने भएको हो ।  निर्णयअनुसार उपकुलपति, रजिस्टार र रेक्टरको   एक महिनाको पारिश्रमिक, प्राध्यापक तथा प्रशासनतर्फका सो सरहका कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिन बराबर, उपप्राध्यापक तथा उपप्रशासक र शाखा अधिकृत तथा प्रशिक्षक वा सो सरहका शिक्षक र कर्मचारीबाट ७ दिन बराबर, मुख्य कार्यालय सहायक तथा कार्यालय सहायक वा सो सरहका कर्मचारीबाट ५ दिन बराबर र श्रेणीविहीन कर्मचारीबाट २ दिन बराबरको पारिश्रमिक कट्टा गरी कोषमा जम्मा गरिनेछ।  विश्वविद्यालयले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनर्स्थापना कार्यमा योगदान पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरेको जनाएको छ ।

भोटेकोशी बाढीपीडितका लागि नमुना कलेजको ५ लाखभन्दा बढी सहयोग

काठमाडौं । इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । देशमा राष्ट्रिय विपत्ति आइपरेका बेला शैक्षिक संस्थाका तर्फबाट पनि पीडित नागरिकका लागि योगदान हुनुपर्छ भन्ने उद्देश्यले कलेजले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको कलेज सञ्चालक समितिको बैठकले बाढीपीडितलाई राहत पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको कलेज सञ्चालक समिति अध्यक्ष केशव खड्काले बताए । खड्काका अनुसार कलेजले घोषणा गरेको ५ लाख ५ हजार ५५ रुपैयाँ शनिबार नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । ‘राष्ट्रिय विपत्तिको यो अवस्थामा कलेजको तर्फबाट सानो भए पनि योगदान होस् भन्ने उद्देश्यले सहयोग गर्ने निर्णय गरेका हौँ,’ अध्यक्ष खड्काले भने । उनका अनुसार शिक्षा क्षेत्र केवल पठनपाठनमा मात्र सीमित नभई समाजमा आइपर्ने विपत्ति र संकटका बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि अग्रसर हुनुपर्छ भन्ने सन्देश दिन कलेजले सहयोगको निर्णय गरेको हो । नमुना कलेजले कोशी प्रदेशको शिक्षा क्षेत्रबाट राष्ट्रिय विपत्तिमा संस्थागत रूपमा सहयोग गर्ने पहिलोपटक पहल गरेको जनाएको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने कैयौँ नागरिक बेपत्ता भएका छन् । बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि यतिबेला सरकारी निकाय, सुरक्षा निकाय, निजी क्षेत्र, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थाले आ-आफ्नो स्तरबाट सहयोग गरिरहेका छन् । यही क्रममा नमुना कलेजले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत राहत कोषमा रकम प्रदान गर्ने निर्णय गरेको हो ।