काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१ औं सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।
शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा मङ्गलवार सम्पन्न बैठकले उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।
गठित समितिको संयोजकमा सहकुलपति मन्त्री पोखरेल रहनुभएको छ । समितिको सदस्यमा रेशु अर्याल ढुंगाना र प्रा.डा. सुरेशराज शर्मा रहेका छन् ।
ढुंगाना राष्ट्रिय योजना आयोगको सदस्य छन् भने शर्मा काठमाडौं विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष तथा विश्वविद्यालयका संस्थापक उपकुलपति छन् ।
समितिले उपकुलपति पदका लागि योग्य उम्मेदवारहरूको छनोट गरी सिफारिस गर्नेछ ।
यससँगै विश्वविद्यालयमा नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ ।
काठमाडौं विश्वविद्यालयले शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।
नयाँ उपकुलपति नियुक्तिसँगै विश्वविद्यालयको भावी शैक्षिक तथा संस्थागत विकासको दिशाबारे थप अपेक्षा गरिएको छ ।