भोटेकोशी बाढी : १९ विद्यालयमा क्षति, १० हजार बढी बालबालिकाको पढाइ प्रभावित
काठमाडौं । भदौ १० गते आएको विनाशकारी भोटेकोशीको बाढीले मानवीय र भौतिक रूपमा ठूलो क्षति भयो । बाढीले घर, बस्ती र सडक मात्रै बगाएन, सयौं बालबालिकाको पढाइको बाटोसमेत अवरुद्ध गरिदिएको छ । बाढीको चपेटामा परेका धादिङ, नुवाकोट र रसुवाका विद्यालयमा पुगेको क्षतिको प्रारम्भिक विवरण आउँदा शिक्षा क्षेत्रमा ठूलो क्षति भएको देखिएको छ । शिक्षा मन्त्रालयको प्रारम्भिक विवरणअनुसार बाढीबाट प्रभावित तीन जिल्लाका १९ वटा विद्यालयमा प्रत्यक्ष क्षति पुगेको छ । त्यसमध्ये १० वटा विद्यालय पूर्ण रूपमा र ९ वटा विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । पूर्ण रूपमा क्षति भएका विद्यालयमध्ये ८ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालय छन् । त्यस्तै, आंशिक क्षति भएका विद्यालयमा ४ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालय छन् । तर यो प्रारम्भिक विवरण मात्रै हो । शिक्षा मन्त्रालयको टोली अहिले प्रभावित क्षेत्रमा पुगेर क्षतिको वास्तविक अवस्था र अभिलेख रुजु गरिरहेको छ । स्थलगत अनुगमनपछि विद्यालय, विद्यार्थी र शिक्षकसँग सम्बन्धित तथ्यांकसमेत यकिन हुने मन्त्रालयले जनाएको छ । बाढीबाट ३२ विद्यालयमा पढाइ प्रभावित बाढीले क्षति पुर्याएका कतिपय विद्यालय अब तत्काल सञ्चालन गर्न सकिने अवस्थामा छैनन् । कतिपय विद्यालयको संरचना नै बाढीले बगाएको छ भने कतिपय ठाउँमा विद्यालयको भग्नावशेष मात्रै बाँकी रहेको शिक्षा मन्त्रालयका सूचना अधिकारी वीरबहादुर धामीले जानकारी दिए । उनले भने, ‘विद्यालय भवन जोगिएका ठाउँमा पनि पढाइ सुरु गर्न सकिने अवस्था छैन । बाढीबाट जोगिएका ८ वटा विद्यालयमा अहिले आश्रयस्थल तथा होल्डिङ सेन्टर सञ्चालन भइरहेका छन् ।’ यसरी प्रत्यक्ष क्षति भएका १९ र आश्रयस्थलका रूपमा प्रयोग भइरहेका ८ तथा मनोपरामर्शका कार्यहरू सञ्चालन गरेका, हेल्थडेस्क गरी कम्तीमा ३२ वटा विद्यालय प्रभावित भएका मन्त्रालयले जनाएको छ । २ सय ५० बालबालिका र २० जना शिक्षक सम्पर्कविहिन बाढीले विद्यालयका भौतिक संरचना मात्रै ध्वस्त पारेको छैन, बालबालिकाको सिकाइमा पनि ठूलो असर पारेको छ । मन्त्रालयलाई प्राप्त प्रारम्भिक विवरणअनुसार करिब २ सय ५० बालबालिका सम्पर्कविहीन अवस्थामा छन् । १९ देखि २० जना शिक्षकसमेत सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ । यी तथ्यांकले बाढीपछि शिक्षा क्षेत्रले सामना गरिरहेको संकटको गहिराइ देखाउँछ । विद्यालयमा फर्कने वातावरण नबनेसम्म बालबालिकाको पढाइ नियमित हुने अवस्था छैन । त्यसमाथि बाढीबाट बचेका बालबालिकाको मानसिक अवस्था अर्को चुनौती बनेको छ । शारीरिक रूपमा ठूलो चोट नलागेका बालबालिकासमेत मानसिक रूपमा गम्भीर असरमा परेको मन्त्रालयको आँकलन छ । त्यसैले अब विद्यालय खोल्नु मात्रै पर्याप्त नहुने शिक्षा मन्त्रालयको बुझाइ छ । प्रभावित बालबालिकालाई सामान्य अवस्थामा फर्काउन मनोसामाजिक परामर्शसँगै सिकाइलाई पुनः जोड्ने योजना अघि सारिएको छ । १० हजार बालबालिकाको सिकाइ प्रभावित प्रारम्भिक विवरणअनुसार रसुवामा मात्रै करिब २ सयदेखि २ सय ५० बालबालिकाको सिकाइ पूर्ण रूपमा प्रभावित भएको छ भने नुवाकोटमा विद्यालय र कलेजहरूमा क्षति भएकोमा ठुलो मात्रामा बालबालिकाको पढाइ प्रभावित भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी धामीले भने तीनवटै जिल्लाका विद्यालयमा गरी करिब १० हजार बढी बालबालिकाको पढाइ प्रभावित भएको छ । विद्यालयहरू तत्काल सञ्चालन गर्न सकिने अवस्थामा नरहेपछि सुरक्षित रहेका विद्यालयलाई आवासीय विद्यालय अर्थात् होस्टेलका रूपमा सञ्चालन गर्ने विकल्पबारे छलफल भइरहेको उनले बताए । यसरी प्रभावित बालबालिकालाई सुरक्षित विद्यालयमा राखेर पढाइलाई निरन्तरता दिन सकिने मन्त्रालयको बुझाइ छ । विपद्पछि बालबालिकाको शिक्षा नरोकिने गरी वैकल्पिक व्यवस्था गर्ने प्रयास भइरहेको छ । अब उद्धारपछि ‘सिकाइ’ प्राथमिकतामा बाढीपछि पहिलो प्राथमिकता जीवन जोगाउनु थियो । अहिले उद्धारको काम करिब टुंगिन लागेको अवस्थामा शिक्षा मन्त्रालयको ध्यान प्रभावित बालबालिकाको सिकाइतर्फ केन्द्रित हुन थालेको छ । शिक्षा विभागको नेतृत्वमा धादिङ, नुवाकोट र रसुवामा निर्देशकसहितको प्राविधिक टोली परिचालन गरिएको छ । गैरसरकारी संस्था, विकास साझेदार तथा अन्य सहयोगी संस्थाका प्रतिनिधिसमेत टोलीसँग समन्वयमा खटिएका छन् । स्थलगत टोलीले विद्यालयको भौतिक क्षतिसँगै विद्यार्थी, शिक्षक र शैक्षिक अभिलेखको अवस्था पनि रुजु गर्नेछ । त्यसपछि कुन विद्यालय तत्काल सञ्चालन गर्न सकिन्छ, कहाँ वैकल्पिक सिकाइ केन्द्र आवश्यक छ र कहाँ आवासीय व्यवस्थामार्फत पढाइ अघि बढाउन सकिन्छ भन्ने टुंगो लाग्नेछ । शिक्षा मन्त्रालयका सूचना अधिकारी धामीका अनुसार अबको प्राथमिकता उद्धारबाट सामान्यीकरण र सामान्यीकरणबाट सिकाइतर्फ अघि बढ्नु हो । बाढीले विद्यालयका भवन भत्काए पनि बालबालिकाको पढाइ रोकिराख्ने अवस्था नबनाउने मन्त्रालयको लक्ष्य छ । त्यसका लागि सुरक्षित विद्यालयको उपयोगदेखि आवासीय व्यवस्थासम्मका विकल्प अघि सारिँदैछन् । ‘किनकि विपद्पछि विद्यालयको भवन पुनर्निर्माण गर्न समय लाग्न सक्छ, तर बालबालिकाको सिकाइमा आएको लामो अवरोधले उनीहरूको भविष्यमा अर्को ठूलो क्षति पुर्याउन सक्छ,’ उनले भने ।
रसुवाको बाढीमा घाइते ७२ जनाको अझै उपचार हुँदै, कुन अस्पतालमा कति घाइते ?
काठमाडौं । भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा परी घाइते भएका ७२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (एचइओसी) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार बाढीमा परी कुल ३१६ जना घाइते भई विभिन्न अस्पतालहरूमा उपचारका लागि पुगेका थिए । जसमध्ये २१० जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ७२ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। उपचारका क्रममा विभिन्न अस्पतालमा ४ जनाको मृत्यु भएको छ भने ३० जनालाई अन्यत्र रिफर गरिएको छ । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तथा रोग निगरानीलाई तीव्र बनाइएको छ। विभिन्न १५ वटा होल्डिङ सेन्टरहरूमार्फत कुल २,६८९ जना प्रभावितहरूले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । नुवाकोटको बकुलहर रत्ननगर अस्पताल, सशस्त्र प्रहरी बल र आयुर्वेद टोली सम्मिलित केन्द्रबाट १ हजार २९ जना तथा चौतारा अस्पताल र सीएमसी नेपालको टोलीबाट ४५३ जनाले सेवा पाएका छन् । कुन अस्पतालमा कति घाइते ? हाल विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २९ जना, रसुवा अस्पताल गोसाईकुण्ड, धुन्चेमा २७ जना र राष्ट्रिय ट्रमा सेन्टर, महाबौद्धमा १२ जना रहेका छन् । त्यस्तै, श्री वीरेन्द्र अस्पताल, छाउनीमा ३ जना तथा त्रिशूली अस्पताल, नुवाकोट, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट, नेपाल एपीएफ अस्पताल, बलम्बु, ग्रिनसिटी अस्पताल, टोखा, चिरायु राष्ट्रिय अस्पताल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, बी एण्ड बी अस्पताल, ग्वार्को र आदमघाट अस्पतालमा १–१ जना उपचाररत छन् । १३ आकस्मिक चिकित्सकीय टोली परिचालन प्रभावित क्षेत्रमा १३ वटा सक्रिय आकस्मिक चिकित्सकीय टोलीका १७० जना सदस्य परिचालन गरिएका छन् । ती टोलीले हालसम्म ४ हजार २४१ भन्दा बढी बिरामीको उपचार गरिसकेका छन् । बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन तथा पहिचान हुन नसकेका व्यक्तिहरूको पहिचानमा सहयोग पुर्याउन रसुवामा डीएनए नमुना संकलनका लागि टेन्ट स्थापना गरी तयारी पूरा गरिएको छ। रोग निगरानीमा ज्वरो, खोकी र झाडापखालाका केस रोग निगरानी प्रणालीमार्फत पछिल्लो २४ घण्टामा ९ वटा ज्वरो तथा खोकी, ३ वटा झाडापखाला र ९ वटा साधारण ज्वरोका केसहरू दर्ता भएका छन् । बाढीपछि दूषित पानी र फोहोरका कारण विभिन्न सरुवा रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानीलाई प्राथमिकता दिइएको छ । ६ हजारभन्दा बढीमा मनोसामाजिक परामर्शको पहुँच बाढी प्रभावित क्षेत्रमा हालसम्म ६ हजार २६८ जनासम्म मनोसामाजिक परामर्शको पहुँच पुगेको छ। जसमध्ये ३ हजार ८१३ जनाले प्रत्यक्ष सेवा पाएका छन्। यस कार्यमा २ मनोचिकित्सक, २ साइकोलोजिस्ट र १२१ परामर्शदातासहित १२५ जनाको जनशक्ति खटाइएको छ । स्वास्थ्य सेवा विभाग र वान हर्ट वर्ल्डवाइडको सहयोगमा २२ हजारभन्दा बढी ट्याब्लेट क्याप्सुल, ३ हजारभन्दा बढी ट्रमा तथा ड्रेसिङ सेट, र २ हजार २ सयभन्दा बढी ओआरएस तथा फ्लुइड बोतल प्रभावित जिल्लाहरूमा पठाइएको छ। ५ स्वास्थ्य संस्था पूर्णरुपमा क्षति बाढीका कारण स्याफ्रुबेशी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क रसुवागढी र मैलूङ्ग सामुदायिक स्वास्थ्य इकाई पूर्ण रूपमा क्षति भएका छन् । त्यस्तै, धादिङ र त्रिशुली अस्पतालमा पहुँच अवरुद्ध भएको छ भने बैरेनी अस्पताल र चरौदी आ।स्वा।के। मा आंशिक क्षति पुगेको छ । मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा दूषित पानी र फोहोरका कारण झाडापखाला, हैजा, डेङ्गु तथा मलेरिया जस्ता रोगको जोखिम बढेकाले उमालेको पानी पिउन र सरसफाइमा ध्यान दिन अपिल गरेको छ। स्वास्थ्य सम्बन्धी जानकारी वा आपतकालीन सेवाका लागि निःशुल्क हटलाइन १११५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
जेनजी आन्दोलनमा क्षतिग्रस्त युलेन्सको आम्दानी १३.३३ प्रतिशत घट्यो, कमायो ६७.६० करोड
काठमाडौं । युलेन्स एजुकेशन फाउण्डेसनले गत आर्थिक वर्ष २०८२/८३ मा ६७ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १३.३३ प्रतिशत अर्थात् १० करोड ४० लाख रुपैयाँ कम हो । आर्थिक वर्ष २०८१/८२ मा युलेन्सले ७८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत भदौमा भएको जेनजी आन्दोलनका कारण आम्दानीमा कमी आएको कम्पनीले जनाएको छ । मासिक शिक्षण शुल्क तथा अन्य सहायक शुल्कबाट प्राप्त रकम घट्नुका साथै यातायात सेवाबाट हुने आम्दानीमा आएको कमीका कारण पनि आम्दानी घटेको हो । विद्यार्थीलाई प्रदान गरिएको छात्रवृत्ति तथा शुल्क छुटले पनि संस्थाको आम्दानीमा दबाब परेको जनाएको छ । युलेन्सले आर्थिक वर्ष २०८०/८१ मा ७६ करोड ५० लाख रुपैयाँ, आव २०७९/८० मा ७५ करोड ४० लाख रुपैयाँ र आव २०७८/७९ मा ६३ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । युलेन्स एजुकेशन फाउण्डेसन नेपालमा विश्वस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको गैरनाफामूलक संस्था हो । २०६२ पुसमा स्थापना भएको फाउण्डेसनले शिक्षालाई गैरनाफामूलक क्षेत्रमा विकास गर्दै उच्चस्तरको सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ । फाउण्डेसनले युलेन्स स्कुल सञ्चालन गर्दै आएको छ । युलेन्सले बालकक्षादेखि कक्षा १२ सम्मको शिक्षा प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय स्नातक तहको कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । विद्यालयको कक्षा ११ र १२ को कार्यक्रम नेपाल सरकारअन्तर्गतको राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त छ भने अन्तर्राष्ट्रिय स्नातक तहको कार्यक्रम स्विट्जरल्यान्डस्थित अन्तर्राष्ट्रिय स्नातक संस्थासँग आबद्ध छ । करिब दुई दशकदेखि शैक्षिक सेवा प्रदान गर्दै आएको युलेन्सको सञ्चालक समितिमा ६ सदस्य छन् । समितिको अध्यक्षमा बेलायतको नर्विचस्थित इस्ट एङ्ग्लिया विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय बाल कल्याण विषयमा स्नातकोत्तर गरेका सोमप्रसाद पनेरु छन् । पनेरुले नेपालका केन्द्रीय बाल कल्याण बोर्डको सञ्चालक सदस्यका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् । सञ्चालक समितिमा लगानी तथा पूर्वाधार वित्त विज्ञ मनीष थापा, संस्थासँग लामो समयदेखि आबद्ध संस्थापक सञ्चालक सदस्य सजनी अमात्य, अर्थशास्त्री तथा विकास विशेषज्ञ अनिता महत, शैक्षिक तथा संरक्षण क्षेत्रका विज्ञ डा. हेमसागर बराल र नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशक प्रद्युम्नकुमार खनाल रहेका छन् । गत आर्थिक वर्षमा युलेन्सको सञ्चालन नाफा तथा ब्याज, कर, ह्रासकट्टीअघिको नाफा अनुपात २१.५० प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ३४.५० प्रतिशत थियो । आम्दानी घट्नुका साथै चुनौतीपूर्ण परिस्थितिमा पनि शिक्षक तथा सहयोगी कर्मचारीको संख्या यथावत् राखिएकाले खर्च बढ्दा नाफा अनुपातमा दबाब परेको कम्पनीले जनाएको छ । करपछिको नाफा अनुपातसमेत १६.५५ प्रतिशतबाट घटेर २.८२ प्रतिशतमा सीमित भएको छ । त्यस्तै, कुल नगद सञ्चिति आम्दानी अघिल्लो वर्षको १९ करोड ५० लाख रुपैयाँबाट घटेर ५ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ । आम्दानीमा आएको कमीका साथै अशान्तिपछि सम्पत्ति पुनःस्थापनाका लागि गरिएको एकपटकको मर्मत तथा सम्भार खर्चले पनि संस्थाको नाफामा दबाब सिर्जना गरेको जनाएको छ । तर, विद्यार्थी भर्नाको सन्तोषजनक अवस्था, समयअनुसार शिक्षण शुल्कमा हुने परिमार्जन तथा सञ्चालन अवस्था सामान्य बन्दै गएकाले आगामी वर्ष आम्दानीमा सुधार हुने अपेक्षा कम्पनीको छ । कम्पनीका अनुसार नेपालमा गुणस्तरीय शैक्षिक सेवाको माग निरन्तर बढ्दैछ । आम्दानी तथा रोजगारी सिर्जनाका दृष्टिले शिक्षा क्षेत्र नेपालका प्रमुख क्षेत्रमध्ये एकका रूपमा विकसित हुँदै गएको छ । बढ्दो आम्दानी, शिक्षाप्रतिको जनचेतनामा वृद्धि, जीवनशैलीमा आएको सुधार तथा शैक्षिक सेवामा सहज पहुँचले आगामी दिनमा शिक्षा क्षेत्रको विस्तारमा थप योगदान पु¥याउने कम्पनीको अपेक्षा छ । यद्यपि, शिक्षा क्षेत्र अत्यधिक प्रतिस्पर्धात्मक रहेकाले विद्यार्थी आकर्षित गर्न शैक्षिक संस्थाबीच उच्च प्रतिस्पर्धा रहेको छ । शिक्षाको गुणस्तर, शिक्षकको योग्यता तथा अनुभव, प्रदान गरिने सेवाको दायरा र आधुनिक शिक्षण पद्धति विद्यार्थी आकर्षित गर्ने महत्वपूर्ण आधार बन्ने जनाएको छ । पछिल्ला वर्षमा निजी शैक्षिक संस्थाको संख्या बढ्दै गएपछि दक्ष तथा अनुभवी शिक्षक र अन्य शैक्षिक जनशक्तिलाई संस्थामा टिकाइराख्नु पनि क्षेत्रका लागि चुनौती बनेको कम्पनीले जनाएको छ । कक्षा १२ सम्मको माध्यमिक शिक्षामा प्रतिस्पर्धा अत्यधिक रहे पनि अन्तर्राष्ट्रिय स्नातक तहको कार्यक्रममा तुलनात्मक रूपमा कम प्रतिस्पर्धा रहेको युलेन्स एजुकेशन फाउण्डेशनले जनाएको छ । नेपालमा हाल यस्ता कार्यक्रम सञ्चालन गर्ने संस्थाको संख्या सीमित रहेकाले प्रतिस्पर्धा कम देखिएको हो । यद्यपि, अन्तर्राष्ट्रिय स्नातक तहको कार्यक्रमले विदेशी शैक्षिक संस्था तथा विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने समकक्षी कार्यक्रमबाट प्रतिस्पर्धा व्यहोर्नुपरेको छ । विशेषगरी बेलायतको क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने उच्च तहको सामान्य शैक्षिक प्रमाणपत्र कार्यक्रमलगायत वैकल्पिक शैक्षिक कार्यक्रम यसका प्रतिस्पर्धीका रूपमा रहेका छन् । कम्पनीका अनुसार युलेन्स शैक्षिक संस्थासँग सम्बन्धित नियामकीय जोखिमबाट समेत प्रभावित हुन सक्ने देखिएको छ । युलेन्सअन्तर्गत सञ्चालनमा रहेको विद्यालय सरकारका विभिन्न निकाय तथा संस्थाबाट नियमन हुने भएकाले शिक्षा क्षेत्रमा हुने नीतिगत तथा कानुनी परिवर्तनले संस्थाको सञ्चालन र आम्दानीमा प्रभाव पार्न सक्ने जनाएको छ । प्रतिकूल निगरानीबाट हटाइयो युलेन्सले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६५ करोड रुपैयाँ ऋण लिएको छ । त्यसमध्ये ५१ करोड रुपैयाँ दीर्घकालीन र १३ करोड ९४ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । गत वर्षको भदौमा भएको जेनजी आन्दोलनका कारण उत्पन्न अनिश्चितता कम हुँदै गएपछि युलेन्सको बैंकिङ सुविधासम्बन्धी ऋण मूल्याङ्कनलाई नकारात्मक प्रभावसहितको प्रतिकूल निगरानीबाट हटाएको केयरएज रेटिङ्ग्स नेपालले जनाएको छ । आन्दोलनका क्रममा ललितपुरस्थित युलेन्स स्कुलको मुख्य परिसरसमेत प्रभावित भएको थियो । विद्यालयका भवन, सवारीसाधन तथा शैक्षिक सामग्रीमा ठूलो क्षति पुगेपछि कम्पनीले उल्लेख्य आर्थिक नोक्सानी बेहोर्नुका साथै केही समय सञ्चालनमा अवरोध व्यहोरेको थियो । तर, फाउण्डेसनले छिटो पुनरुत्थान गर्न सक्ने क्षमता देखाउँदै शैक्षिक गतिविधि शीघ्र सञ्चालनमा ल्याएको हो । अशान्तिपछि विद्यालयले तत्काल विद्युतीय माध्यमबाट पठनपाठन सञ्चालनमा ल्याएको थियो । त्यसपछि अस्थायी रूपमा भाडामा लिइएका स्थानबाट शैक्षिक गतिविधि सञ्चालन गरिएको थियो । क्षतिग्रस्त पूर्वाधारको मर्मत तथा पुनःस्थापना र बीमा दाबीमार्फत नोक्सानीको केही हिस्सा प्राप्त गर्न सफल भएको थियो ।