पानी नभएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पढाइ स्थगित

काठमाडौं । पिउने तथा प्रयोग गर्ने पानीको अभाव भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पढाइ स्थगित भएको छ । प्रतिष्ठानले मंगलबार एक सूचना जारी गर्दै पानीको अभाव भएको कारणले दन्त चिकित्सा दोस्रो वर्ष बाहेक सबै कक्षाहरु जेठ ३० गते सम्म स्थगित भएको जनाएको हो । प्रतिष्ठानका एकेडेमिक एसिस्टेन्ट डिन डा. भिम्मी सिंहका अनुसार पूर्व तालिकमा रहेका सबै कक्षाहरु स्थगित गरिएको छ । पानीको समस्या भएपछि केही दिन अगाडि देखि विद्यार्थीहरुले आवाज उठाउँदै आएका थिए, तर प्रतिष्ठानले पानीको आवश्यक आपूर्ति गर्न सकेन । दैनिक हजारौं लिटर पानी चाहिने प्रतिष्ठानमा पानीको अभावले उपचार समेत प्रभावित हुन सक्ने देखिएको छ ।

गण्डकीमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम

पोखरा । गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सहयोग गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ । प्रदेशभित्रका शैक्षिक संस्थाबाट सञ्चालन हुने प्राविधिक शिक्षाको विषय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट कार्यान्वयन भएका विषय र निजी शैक्षिक संस्थाबाट सञ्चालन गरिने विषयमा एकद्वार प्रणालीमार्फत प्राविधिक शिक्षालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न छाता ऐन बनाइने भएको छ । अतिविपन्न, दलित, अपाङ्गता भएका व्यक्ति, जेहेन्दार, द्वन्द्वपीडित र सहिद परिवारका सन्तति लक्षित समूहका विद्यार्थीको उच्च शिक्षामा पहुँच विस्तार र तह पूरा गर्ने दर वृद्धि गर्नका लागि छात्रवृत्ति कार्यविधि तयार गरी कार्यान्वयन गर्ने योजना छ । गुरुकुल, गुम्बा, मदरसा, आश्रमलगायतका धार्मिक प्रकृतिका विद्यालय र वैकल्पिक विद्यालयलाई मूल प्रवाहमा ल्याउन आवश्यक व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ । विद्यालयको पाठ्यक्रममा नैतिक शिक्षा, कला, भाषा, संस्कृति, संस्कार, वेशभूषा, जातजाति, इतिहास, प्राकृतिक, धार्मिक, पौराणिक, साहित्यिक, ऐतिहासिक, लैङ्गिक मूल प्रवाहीकरण र विपद् जोखिम व्यवस्थापनका विषयवस्तुलाई समावेश गर्न स्थानीय तहसँग समन्वय गर्ने सरकारको योजना छ । ‘सामुदायिक क्याम्पससँग प्रदेश सरकार’ कार्यक्रमअन्तर्गत प्रदेशमा रहेका सबै सामुदायिक क्याम्पसलाई क्षमता तथा कार्यसम्पादनका आधारमा अनुदान दिने व्यवस्था मिलाइने भएको छ । बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षासम्बन्धी अधिकार सुनिश्चितताका लागि सङ्घीय सरकार र स्थानीय तहसँगको साझेदारीमा सुविधा सम्पन्न आवासीय विद्यालय निर्माण एवं सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।  रासस

महेन्द्र बहुमुखी क्याम्पसमा पढाउने एक शिक्षक मृत फेला

जानकी । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा प्राध्यापन गर्ने एक शिक्षक मृतावस्थामा फेला परेका छन् । अर्थशास्त्र विषयमा आंशिक प्राध्यापन गर्ने रवीन्द्र रेग्मी मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१८ का मृतक रेग्मीको शव राप्तीसोनारी गाउँपालिकास्थित ढेकेरीको जङ्गलमा जलेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए । प्रहरीका अनुसार रेग्मी सोमबार बिहान १० बजेदेखि परिवारबाट सम्पर्कविहीन थिए । उनी परिवारको सम्पर्कमा नआएपछि प्रहरीलाई गरेको खबरअनुसार खोजीकार्य जारी राख्दा उक्त जङ्गलमा आज बिहान ९ बजे जलेको अवस्थामा मृत भेटिएका हुन् । रेग्मीको शवलाई परीक्षणका लागि भेरी अस्पताल लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । रासस