बालुवा छानेर विद्यालय खर्च जुटाउँदै कन्चनपुरका विद्यार्थी
बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवकी रेश्मा दमाईं कक्षा ६ मा अध्ययन गर्छिन् । प्रत्येक दिन दिउँसोको समयबाहेक महाकाली नदीमा बालुवा छानिरहेको भेटिन्छिन्, उनी । विद्यालय समयबाहेक महाकालीमा बालुवा, गिट्टी छानेर पढाइको खर्च जोहो गर्ने गरेको रेश्माले बताइन् । ‘परिवारको आर्थिक अवस्था कमजोर छ, त्यसैले लेखपढका लागि कापी, किताब किन्न पैसा होस् भनेर बालुवा छान्ने काम गर्छु’, उनले भनिन्, ‘विद्यालयबाट फर्किएर दिउँसोदेखि बेलुकासम्म बालुवा छान्छु ।’ रेश्माका अनुसार बुबा कामको सिलसिलामा भारतमा छन् । आमा महाकालीमै बालुवा छान्ने काम गर्छिन् । आमासँगै महाकालीमा बालुवा छानेर विद्यालयको खर्च जुटाउनुका साथै बिहान–बेलुकाको खानाको जोहो समेत गर्ने गरेको उनको भनाइ थियो । ब्रह्मदेवकै करिष्मा दमाईंले यसपटक कक्षा १० को परीक्षा दिइन् । उनी एसइई दिएर फुर्सदको समयमा बालुवा, गिट्टी छान्ने काम गर्छिन् । ‘उच्च शिक्षा पढ्न पैसा छैन, परीक्षा दिएपछि फुर्सदको समयमा बालुवा छान्ने गर्नु । त्यसबाट आएको पैसा बचत गरेर राख्छु’, उनले भनिन् । बालुवा छानेर पाएको पैसाले उच्च शिक्षा पढ्ने सपना पूरा हुने र घरपरिवारलाई आर्थिक सहायता हुने करिष्माको भनाइ छ । भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली नदीमा गिट्टी, बालुवा छान्नेको आजभोलि ताँती देखिन्छ । आमाबुवासँगै विद्यालय पढ्ने उमेरका बालबालिका पनि बालुवा, गिट्टी छान्ने काममा जुटेका देखिन्छन् । आर्थिक अवस्था कमजोर भएका तटीय क्षेत्रका बासिन्दा तराईको उखरमाउलो गर्मीकै बीच असिनपसिन भएर नदीजन्य पदार्थ उत्खनन गरेर जीविकोपार्जन गर्ने गर्दछन् । ‘घरपरिवारको सबै खर्च बालुवा छानेरै चलेको छ, अरू केही काम पाइँदैन’, ब्रह्मदेवकी कलावती पालले भनिन्, ‘बालुवा नछाने भोकै बस्नुपर्ने अवस्था छ ।’ उनका अनुसार विद्यालयको समयबाहेक अन्य समयमा बालबालिका पनि बालुवा, गिट्टी छान्ने काम सघाउनका लागि आउने गरेका छन् । कलावतीका श्रीमान् मानसिंह पनि महाकालीमै बालुवा छान्ने काम गर्छन् । उनका चार छोराछोरी छन् । ‘खेतीपाती गर्न पर्याप्त जमिन छैन, बस्नलाई छाप्रो मात्रै छ, घरका सबै सदस्य यो काममा जुट्छौँ’, मानसिंहले भने, ‘महाकालीकै भरमा जीवन चलेको छ, गहुँ, चामल किनेरै खानुपर्छ ।’ सातरआठ महिना बालुवा छानेर कमाएको पैसाले विद्यालय खर्च जोहो गर्ने गरेको कक्षा ९ मा अध्ययनरत विद्यार्थी माया भुलले बताए । उनका अनुसार कार्तिक सुरुआतदेखि नदी तटीय क्षेत्रका आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्य बालुवा छान्ने काममा जुट्ने गर्दछन् । गिट्टी बालुवा बेचेर मासिक १५ हजारसम्म आम्दानी गर्ने गरेको मायाले बताइन् । बालुवा प्रतिट्रली एक हजार पाँच सय र गिट्टी दुई हजार सात सयमा बिक्री गर्ने गरेको दुरा भुलले बताइन् । ‘एक मान्छेलाई ट्रली बनाउन हप्तादिनभन्दा बढी लाग्छ । दुईरतीनजना मिलेर दुईरतीन दिनमा एक ट्रली तयार हुन्छ’, उनले भनिन्, ‘ट्र्याक्टर धनी यहीँ आएर गिट्टी, बालुवा किन्छन् ।’ रासस
कान्तिपुर हिसान एडुफेयर बिहीबारदेखि
काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, (हिसान) र कान्तिपुर पब्लिकेशनको संयुक्त आयोजनामा जेठ ३२ गतेदेखि आठौं कान्तिपुर हिसान एडुफेयर २०२३ हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारेमा जानकारी गराएको हो । मेला जेठ ३२ गतेबाट शुरु भइ असार ३ गतेसम्म ४ दिन काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै कान्तिपुर हिसान एडुफेयर २०२३ का संयोजक टंकराज आचार्यले नेपालमै सञ्चालित शिक्षलयहरुले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्य, तथ्य र यथार्थ जानकारी गराउने र विद्यार्थी तथा अभिभावकहलाई नेपालमै पनि उत्कृष्ट शिक्षा पाइन्छ भन्ने विषयमा विविध परामर्श दिने उद्देश्यले मेला आयोजना गरिएको बताए । यस वर्षको मेलालाई प्ल्स टु मेलाको रुपमा प्रश्तुत गरिएको आयोजकले जनाएको छ । चार दिनसम्म चल्ने शैक्षिक मेलाले शिक्षा क्षेत्रसँग सम्बन्धित विद्यार्थी र अभिभावकलाई एकै छानामुनि गुणस्तरीय शिक्षाका बारेमा विस्तृत जानकारी दिने आयोजकको लक्ष्य रहेको बताइएको छ । मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाहरुको सहभागिता रहने बताइएको छ । मेलालाई २ बढीले अवलोकन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ । मेलामा विद्यार्थी, अभिभावक तथा इच्छुकहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
पाठ्यपुस्तक छपाइको आयव्यय सार्वजनिक गर्न माग
काठमाडौं । जनक शिक्षा कर्मचारी सङ्गठनले शैक्षिक सत्र २०७९/८० को पाठ्यपुस्तक छपाइको आयव्यय हिसाब श्वेतपत्रमार्फत यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ । सङ्गठनका संयोजक जनखलाल भारतीले केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई ज्ञापनपत्र दिँदै शैक्षिक सत्र २०८० का लागि पाँच हजार मेट्रिक टन कागज आपूर्तिको जिम्मा लिएको नेपा हिमा प्रालिले हालसम्म आपूर्ति पूरा नगरी अन्य व्यवस्थाबाट पाठ्यपुस्तक छाप्नुपरेको र कक्षा १० को कोर्ष आउट भइसकेको पुस्तक बढी छापिएको विषयमा पनि ध्यानाकर्षण गराएको छ । सङ्गठनले कर्मचारी सेवा शर्त विनियमावली सम्बन्धित निकायबाट ल्याई कर्मचारीको वृत्ति विकासका कार्य नियमित गर्न, केन्द्रका फाजिल दरबन्दीमा रहेका हाल तीन तहमा कार्यरत कर्मचारीलाई विनियमावलीको व्यवस्था अनुसार विनाशर्त चार तहमा बढुवा गर्न समेत माग गरेको छ । प्रादेशिक कार्यालयका जीर्ण भवनमध्ये आगामी आवको बजेटमा कम्तीमा प्रादेशिक कार्यालय, भरतपुर र कैलालीको धनगढी कार्यालयका भवन निर्माणका लागि बजेटमा व्यवस्था गर्नुपर्ने सङ्गठनको भनाइ छ । विगत लामो समयदेखि पाठ्यपुस्तकको मूल्यवृद्धि नभएको र कच्चापदार्थको भाउ दोब्बर भएकाले तत्काल पाठ्यपुस्तकको मूल्यवृद्धिको पहल गर्न, केन्द्रमा बिग्रिएर थन्किएका मेसिनलाई तत्काल लिलाम प्रक्रिया अगाडि बढाउन, कागज लोड–अनलोड गर्दा लापरबाहीका कारण नोक्सान हुने अवस्था कम गर्न, केन्द्रमा अर्को पाठ्यपुस्तक भण्डारण बनाउन माग गरिएको छ । ज्ञापनपत्र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, सञ्चालक समितिका अध्यक्ष एवं शिक्षा मन्त्रालयका सचिव, र सार्वजनिक संस्था कर्मचारी सङ्गठन, नेपालका अध्यक्षलाई बोधार्थ दिइएको छ ।