चिकित्सा शिक्षा आयोगका परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीको शुल्क फिर्ता हुने

काठमाडौ । चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरूको शुल्क फिर्ता हुने भएकाे छ । विज्ञान, प्रविधि तथा शिक्षामन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरूको शुल्क फिर्ता हुने बताएकी छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री भट्टराईले कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि फारम भरेका तर नतिजामा नन ग्रेड (अनुत्तीर्ण) मा परेका विद्यार्थीहरूको शुल्क फिर्ता हुने बताएकी हुन् । ‘चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेडमा परेका विद्यार्थीले फारम भर्दा तिरेको शुल्क आयोगबाट फिर्ता दिइने कुरा जानकारी गराउँदछु,’ उनले भनेकी छिन् ।

काठमाडौं विश्वविद्यलाय र धुलिखेल अस्पतालबीचको सहकार्य कायम राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचमा भएको सहकार्यलाई आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको काठमाडौं विश्वविद्यालयको ९७औं सभामा कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले विश्वविद्यालय र अस्पतालबीच देखिएको असमझदारी र समस्या छलफल गरी समाधान गर्न निर्देशन दिएका हुन् । धुलिखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको स्वीकृति लिन लागेको र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने तयारी गरेको सन्दर्भमा दुई संस्थाबीच विवाद र अन्योल उत्पन्न भएको थियो । ‘विश्वविद्यालयले तत्काल नयाँ अस्पताल खोल्न र त्यसका लागि सरकारले लगानी गर्न नसक्ने भएकाले धुलिखेल अस्पतालसँगको सम्बन्ध र सहकार्यलाई कम्तीमा पाँच राखिनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस अवधिभित्र विश्वविद्यलायले आफ्नै अस्पताल खोल्ने गरी तयारी गर्नेछ, साथै नीतिगत विषयमा आगामी भदौभित्र विश्वविद्यालयको अर्को बैठक गरेर निर्णय गर्नेछौँ, सोही बैठकमा अन्य चुनौती र कठिनाइका विषयवस्तुबारे पनि छलफल गर्नेछौँ ।’ सभामा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जूले विश्वविद्यालयले अस्पतालसँगको सम्बन्ध एकाएक तोड्न नमिल्ने विचार राखेपछि प्रधानमन्त्री ओलीले यस विषयमा उपकुलपति डा भोला थापालाई स्पष्ट पार्न समय दिएका थिए । पूर्वउपकुलपति डा. सुरेशराज शर्मासहितको राय लिएर कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले हाल दुवै संस्थाको सम्बन्ध कायम राख्न आवश्यक ठानिएकाले सहकार्यलाई निरन्तरता दिन निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले सिट क्षमताअनुसार विश्वविद्यलायमा विद्यार्थी भर्ना हुने अवस्था ल्याउन पनि सुझाव दिए । नेपाल सरकारको गत आर्थिक वर्षमा अनुमानभन्दा २४ प्रतिशतले राजस्व कम उठेको र खर्च बढेकाले चाहेर पनि सरकारले विश्वविद्यालयलाई थप अनुदान दिन नसक्ने प्रधानमन्त्री ओलीले स्पष्ट पारे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईको उपस्थितिमा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा. अच्युतप्रसाद वाग्लेबाट प्रस्तुत ४ अर्ब ३० करोड ९० लाख बजेट पारित भएको छ । त्यस्तै, सभाले आगामी २९औं दीक्षान्त समारोहकाका लागि विभिन्न संकायबाट दीक्षित हुने २ हजार ३ सय १४ विद्यार्थीको ‘ग्रेसलिष्ट’ पारित गरेको छ ।

भ्याली पब्लिकका विद्यार्थीलाई क्याम्ब्रिजको प्रमाणपत्र

काठमाडौं । भ्याली पब्लिक स्कुलका विद्यार्थीलाई विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयले दिने प्रमाणपत्र प्रदान गरिएको छ । शनिबार भ्याली पब्लिक स्कुलमा आयोजित एक कार्यक्रमबीच क्याम्ब्रिज कोर्स पूरा गरेका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको हो । भ्याली पब्लिक स्कुलले विगत एक वर्षदेखि आफ्ना कक्षा १ देखि ७ कक्षासम्मका विद्यार्थीलाई बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयमा आधारित एनसीसीआई बेलायतको कोर्सको अङ्ग्रेजी र डीजी कम्प्युटर गरी दुईवटा विषय अध्यापन गराउँदै आएको छ । विद्यालयले आफ्ना बालबालिकाको उज्ज्वल भविष्यका निम्ति गत वर्षदेखि कक्षा १ देखि ६ सम्मका ३८३ जना बालबालिकालाई सो विषय अध्यापन गराउँदै आएको भ्याली पब्लिक स्कुलका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीको भनाइ छ । ती विद्यार्थीमध्ये ६५ प्रतिशत विद्यार्थी पाँच सिल्ड अर्थात् उत्कृष्ट नतिजा ल्याउन सफल भएको अधिकारीको भनाइ छ । क्याम्ब्रिजबाटै डिजाइन भएको सो विषय विद्यार्थीको दैनिकीसँग मेल खाने, विद्यार्थीले क्याम्ब्रिजबाटै प्रमाणपत्र पाउने भएकाले बेलायती नागरिकका छोरीछोरीले पाउने अन्तर्राष्ट्रियस्तरको शिक्षा भ्याली पब्लिकले आफ्ना विद्यार्थीलाई प्रदान गरेको अधिकारीको दाबी छ । भ्याली पब्लिक स्कुलका विद्यार्थीलाई विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयले दिने प्रमाणपत्र प्रदान गरिएको छ । शनिबार भ्याली पब्लिक स्कुलमा आयोजित एक कार्यक्रमबीच क्याम्ब्रिज कोर्स पूरा गरेका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको हो । भ्याली पब्लिक स्कुलले विगत एक वर्षदेखि आफ्ना कक्षा १ देखि ७ कक्षासम्मका विद्यार्थीलाई बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयमा आधारित एनसीसीआई बेलायतको कोर्सको अङ्ग्रेजी र डीजी कम्प्युटर गरी दुईवटा विषय अध्यापन गराउँदै आएको छ । विद्यालयले आफ्ना बालबालिकाको उज्ज्वल भविष्यका निम्ति गत वर्षदेखि कक्षा १ देखि ६ सम्मका ३८३ जना बालबालिकालाई सो विषय अध्यापन गराउँदै आएको भ्याली पब्लिक स्कुलका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीको भनाइ छ । ती विद्यार्थीमध्ये ६५ प्रतिशत विद्यार्थी पाँच सिल्ड अर्थात् उत्कृष्ट नतिजा ल्याउन सफल भएको अधिकारीको भनाइ छ । क्याम्ब्रिजबाटै डिजाइन भएको सो विषय विद्यार्थीको दैनिकीसँग मेल खाने, विद्यार्थीले क्याम्ब्रिजबाटै प्रमाणपत्र पाउने भएकाले बेलायती नागरिकका छोरीछोरीले पाउने अन्तर्राष्ट्रियस्तरको शिक्षा भ्याली पब्लिकले आफ्ना विद्यार्थीलाई प्रदान गरेको अधिकारीको दाबी छ । अन्य विद्यालयको तुलनामा फरक र परिस्कृत शिक्षा प्रदान गर्ने अभियान भ्याली पब्लिक रहेको र त्यसकै नतिजास्वरूप आफ्ना ३ सय ८३ जना विद्यार्थीले क्याम्ब्रिजबाट शैक्षिक प्रमाणपत्र प्राप्त गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलबहादुर गुरुङको भनाइ थियो । क्याब्रिजले नै बनाएको पाठ्यक्रम भएकाले यो विषय बालबालिकाका लागि निकै सजिलो, व्यावहारिक, बालबालिका निम्ति प्रयोगात्मक तथा उनीहरूको लेखाइमा, बोलाइमा, पढाइमा यस विषयले ठूलो सहयोग पुग्नुका साथै भविष्यमा यो सर्टिफिकेटको सहयोगमा विद्यार्थी विश्वभरका विश्वविद्यालयबाट छात्रवृत्ति उपलब्ध हुनुका साथै विदेश जाँदा अङ्ग्रेजी भाषा परीक्षासमेत दिनु नपर्ने अधिकारीको भनाइ छ ।