सेञ्चुरी बैंकले सगरमाथा फाइनान्स एक्वाएर गर्ने, पूँजी ५ अर्ब १८ करोड रुपैयाँ पुग्ने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ललितपुरको सगरमाथा फाइनान्सलाई प्राप्ती (एक्वाएर) गर्ने सम्झौता भएको छ । बिहीबार दुई संस्थाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । हाल सेञ्चुरी बैंककोे चुक्ता पूँजी ३ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । बैंकले यस अघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न सैद्धान्तिक सहमति प्राप्त गरिसकेकोे छ । सेञ्चुरी बैंकले तीन संस्था प्राप्तीबाट करिब १ अर्ब ५० करोड रुपैयाँ पूँजी प्राप्त गर्ने बैंकले जनाएको छ । त्यस पश्चात बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ । त्यस्तै, सगरमाथा फाइनान्सको हकप्रद तथा अघिल्लो आ.व.को मुनाफा समेतबाट ७८ करोड रुपैयाँ पूँजी रहने छ । हाल सगरमाथा फाइनान्सको १४ वटा शाखा कार्यालयहरु रहेका छन् । त्यसैगरी सो संस्थाले २०७३ पुस मसान्तमा ५ करोड ६१ लाख रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ ।
एलआइसी नेपालले २५ प्रतिशत लाभांश दिने
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले लगानी कर्तालाई २४ दशमलब ८० प्रतिशत बोनस सेयर र एक दशमलब ३०५२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । बीमा समितिको स्विकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि एलआइसी नेपालका लगानी कर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।
लुम्विनी जनरल इन्स्योरेन्सले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, बिक्रि प्रबन्धकमा सिबिआईएल नियुक्त
काठमाडौं । लुम्विनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत (१ बराबर १ को अनुपातमा) अर्थात ३९ लाख किता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो मात्राको सेयर निष्कासन गर्न कम्पनीले विक्रि प्रबन्धकको रुपमा सि.बि.आई.एल.क्यपिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार लुम्विनी जनरल इन्स्योरेन्स कम्पनी र सि.बि.आई.एल क्यापिटलबीच हकप्रद शेयर निष्कासन गर्ने सम्वन्धमा दुई पक्षिय सम्झौता भएको छ । उक्त सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधान र सि.बि आई.एल क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत समिरप्रसाद दहालले हस्ताक्षर गरेका छन् ।