सन नेपाल र सिभिल बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाण्डौ । सन नेपाल लाइफइन्स्योरेन्स र सिभिल बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र सिभिल बैंकको तर्फबाट सिबिओ सुजितकुमार शाक्यले हस्ताक्षर गरे । सम्झौता पछि सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफइन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु सिभिल बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।
राष्ट्रिय बीमा र नेपाल पुनर्बीमा कम्पनीबीच ५०प्रतिशत पुनर्बीमा सम्झौता
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनीबीच भएको ५० प्रतिशत पुनर्बीमा सम्झौता भएको छ । कम्पनीको केन्द्रीय कार्यालय रामशाहपथ काठमाडौंमा राष्ट्रिय बीमा कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बीरविक्रम रायमाझी र नेपाल पुनर्बीमा कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले यस सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौतामा बीमा शुल्क तथा बीमा दाबीमा दुबै कम्पनीको समान सहभागिता रहेको छ । उक्त सम्झौता पश्चात कम्पनीले जारी गरेको कर्मचारी संचयकोषका ६ लाख संचयकर्ताहरुको वार्षिक १ लाख रुपैयासम्मको औषधोपचार र १० लाख रुपैयासम्मको घातक रोगको उपचारको लागि पुनर्बीमा ब्यवस्था भएको छ ।
नेपाल लाइफको उप कार्यकारी अधिकृतमा सन्तोष प्रसाईँ चयन
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सको उप प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई चयन भएका छन् । यही पुस ६ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले उनलाई उप प्रमुख कार्यकारी अधिकृतमा चयन गर्ने निर्णय गरेको हो । पुस ८ गतेदेखि लागू हुने गरी प्रसाईँलाई उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको कम्पनीका वित्त, लेखा तथा मानव संसाधन विभाग प्रमुख रोशन दवाडीले जानकारी दिए ।