बैंकास्योरेन्सबाट २ अर्ब १५ करोड बीमा शुल्क आर्जन

काठमाडौ । गत आर्थिक वर्षमा बैंकास्योरेन्सबाट बैंकहरूले दुई अर्ब १५ करोड बीमा शुल्क आर्जन गरेका छन् । समग्र बीमा बजारको पहुँच १७ प्रतिशत पुग्दै गर्दा बैंकास्योरेन्समार्फत बीमा गराउनेको हिस्सा ३ प्रतिशत पुगेको हो । चालु आर्थिक बर्षमा बीमा कम्पनीहरुले ७१ अर्ब ७४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार प्रथम बीमा शुल्कबाट ३० अर्ब ४१ करोड रुपैयाँ आर्जन भएको छ । नवीकरण बीमा शुल्क भने ३९ अर्ब २६ करोड रुपैयाँ रहेको बीमा समितिको तथ्याङ्ले देखाएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने ‘नेपाल राष्ट्र बैकले बैंकहरुलाई बीमामा सहभागी हुने अवसर दिएको थियो, त्यसमा हामी सकारात्मक नै थियौ ।’ यस आवको मौद्रिक नीतिले केही कडाइ गरेको छ ।’ बीमा बजारमा ३ प्रतिशत पहुँच वृद्धिमा बैकको सहयोग सहयोग रहेको छ । यस्तो अवस्थामा हामीले बीमा कम्पनीकै अभिकर्ता मार्फत ७ प्रदेशमै बीमा सेवा दिने लक्ष्य राखेका छौँ । पौडेलले अहिलेको समयमा बैक र बीमा एक सिक्काको दुई पाटा भएकोले दुबै महत्व उत्तिकै रहेको बताए । आर्थिक वर्ष २०७६\७७ को मौद्रिक नीतिमा बैक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयम्ले छनोट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने र कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था उल्लेख गरिएको छ । सो व्यवस्थाले बैकले बीमा नै नगर्ने चाहि भनेको होइन बीमा समितिका एक अधिकारी बताए । बीमा समितिले नियामक भएको नाताले नेपाल राष्ट्र बैकलाई नीति ल्याउने अधिकार हुने र सो कुरालाई आफूहरुले सकारात्मक रुपमा हेरेको बताएको छ । बैकहरुले समेत बीमाको महत्वलाई बुझेर आत्मसाथ गर्न चाहेको बीमा समितिको बुझाइ रहेको छ ।

पोखरामा महालक्ष्मी लाइफको शाखा सम्मेलन, ‘प्रथम बीमा शुल्कको अर्ब क्लबमा पुग्ने लक्ष्य’

काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो प्रथम वार्षिक शाखा सम्मेलन साउन १२ र १३ गते पोखरामा सम्पन्न गरेको छ । स्ट्राट्रेजिक बिजनेश मिट २०१९ नाम दिइएको सम्मेलनको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) रमेशकुमार भट्टराईले गरेका थिए । सम्मेलनमा नायव प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख र देशभर रहेका ४७ वटा शाखाका प्रमुखहरू समेत ६५ जनाको सहभागिता रहेको थियो । लर्न, पर्फम, लिड नारा सहित २ दिन सञ्चालित उक्त सम्मेलनको पहिलो दिन आव २०७६/७७ को लक्ष्य, रणनीति र कार्यक्रम बारेमा बृहत छलफल भएको थियो । दोस्रो दिन सम्पस्र्ण शाखा र उपशाखा प्रमुखलाई लेखा, अण्डरराइटिङ, एजेन्सी लगायत विविध विषयमा प्रधान कार्यालयका अधिकृतहरूबाट तालिम दिइएको थियो । कार्यक्रमको अन्तमा संचालक सुरेश सापकोटाबाट लक्ष्य पूरा गर्नेलाई नगद पुरस्कार र विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सम्मान गरिएको थियो । २०७५ माघ २७ बाट कम्पनी संचालन भएता पनि विभिन्न तयारीको कारण ४ महिनाको छोटो समयावधिमा महालक्ष्मी लाइफले ५० जिल्ला भन्दा बढीमा तालिम तथा जनचेतना कार्यक्रम संचालन गरेको, ४७ वटा कार्यालय खोलेको, ५ वटा प्रोडक्ट प्रचलनमा ल्याएको तथा २५ करोड प्रिमियम संकलन गर्न सफल भएको जनाएको छ । कम्पनीले चालु आवमा थप ५० वटा शाखा र उपशाखा स्वीकृती लिई १०० भन्दा बढी कार्यालय संचालनमा ल्याउने तथा प्रथम बीमा शुल्कको अर्ब क्लबमा पुग्ने लक्ष्य लिएको सिईओ भट्टराईले बताए ।

कर्मचारीको स्वास्थ्य र दुर्घटना बीमामा कम्पनीले भ्याट छुट पाउने कि नपाउने ? यस्ताे छ विवाद

काठमाडौं । कुनै पनि कम्पनीले आफ्ना कर्मचारीको स्वास्थ्य तथा दुर्घटना बीमा गर्दा बीमा शुल्कमा अभिवृद्धि कर (भ्याट) छुट हुने वा नहुनेमा अन्यौलता छाएको छ । यसअघि १०० रुपैयाँ बीमा शुल्क लाग्थ्यो भने सरकारले दिएको भ्याट छुट सुविधा प्रयोग गर्दा ८८ रुपैयाँ ४८ पैसा मात्र तिरे पुग्छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत स्वास्थ्य बीमा, दुर्घटना बीमा र पुर्नबीमा शुल्कमा भ्याट छुट दिने जनाएको छ । यो व्यवस्था यहि साउन १ गतेदेखि बीमा कम्पनीहरुलाई लागू भएको छ । स्वास्थ्य बीमा र दुर्घटना बीमा शुल्कमा भ्याट लाग्ने व्यवस्था व्यक्तिको हकमा मात्र लागू हुने हो कि कम्पनीको हदमा पनि लागू हुने भन्ने द्विविधा भएको एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलवल्लभ पन्तले बताए । सरकारले दिएको भ्याट छुट सुविधा व्यक्तिलाई मात्र हुन सक्ने, कम्पनीलाई नहुन सक्ने पन्तको बुझाइछ । तर, बीमा कम्पनीहरुले व्यक्तिलाई मात्र नभई संस्थालाई पनि भ्याट छुट दिएर बीमा लेख तथा बिल जारी गरिरहेको सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल बीमक संघका महासचिव चंकी कुँवर क्षेत्रीले बताए । ‘संस्थाको नाममा जारी हुने स्वास्थ्य तथा दुर्घटना बीमा पोलिसीमा भ्याट छुट नहुने भनेर सरकारको नीतिमा प्रष्ट छैन । तर, कम्पनीहरुले कर्मचारीको सामूहिक बीमा गराउँदा पनि भ्याट छुट दिएर पोलिसी जारी गरेका छन्’ उनले भने–‘पछि कर कार्यालयले समाउँछ कि, कम्पनीको नाममा जारी गरेको पोलिसीमा भ्याट लाग्छ भन्ने हो कि भन्ने चिन्ता बीमा कम्पनीहरुलाई छ ।’ यस विषयमा कर कार्यालयका अधिकारीहरु पनि प्रष्ट देखिएनन् । आन्तरिक राजश्व विभागका उपमहानर्देशक यज्ञप्रसाद ढुंगेलले यस विषयमा आन्तरिक छलफल गरेपछि प्रष्ट पारिने बताए । ‘स्वास्थ्य बीमा र दुर्घटना बीमामा भ्याट छुट व्यक्तिलाई मात्र कि कम्पनीलाई पनि भन्ने तपाईको प्रश्नको ठ्याक्कै जवाफ दिन मिलेन । आर्थिक ऐनमा जे लेखिएको छ त्यहि लागू हुन्छ । त्यसको कार्यान्वयनको क्रममा केही द्विविधा देखिए भने हामी आन्तरिक रुपमा पनि छलफल गर्छौ । सरोकारवालासँग पनि छलफल गर्छौ र त्यसको व्याख्या गछौं ।’ बीमा कम्पनीहरुलाई परेको द्विविधाबारे आफू पूर्ण जानकार नभएको उनले बताए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले कम्पनीले सामूहिक रुपमा स्वास्थ्य र दुर्घटना बीमा गराउँदा पनि भ्याट लागू नहुने बताए । ‘यस्तो बीमा विगतमा जीवन बीमा कम्पनीमा गर्नेले भ्याट तिर्नु पर्दैन थियो । अब निर्जीवन बीमा कम्पनीबाट गराउँदा पनि भ्याट छुट पाइन्छ’ उनले भने । यस्तो हुन्छ हिसाव कर्मचारीको बीमा गराउँदा लाग्ने बीमा शुल्क सम्बन्धित कम्पनीले तिर्ने गर्छ । बीमा कम्पनीले पनि कम्पनीको नाममा बीमा लेख जारी गर्छ र कम्पनीकै नाममा विल जारी गर्छ । कर्मचारीलाई स्वास्थ्य बीमा र दुर्घटना बीमा सुविधा दिने कम्पनीहरु प्रया भ्याटमा दर्ता हुने गरेका छन् । यस्ता कम्पनीहरुले खरिद गर्दा तिरेको भ्याट रकम बिक्री गर्दा उठाएको भ्याट रकममा कट्टा गरी कर कार्यालयमा भुक्तानी गर्छन । त्यसैले कर्मचारीको बीमा गराउने कम्पनीको लागि भ्याट छुट हुनु र नहुनुमा कुनै लाभ वा हानी हुन्न । मात्र, सरकारीले राजश्व गुमाउने जानकारहरु बताउँछन् ।