सगरमाथा इन्स्योरेन्स कम्पनी २५ वर्षमा प्रवेश

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी आजबाट २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले वर्तमान अवस्थाका कारण देशभरका ७३ वटै कार्यालयमा एकसाथ केककाटी वार्षिक उत्सव मनाएको छ । यही अवसरमा कम्पनीले प्रधान कार्यालयमा राखेको रक्तदान कार्यक्रममा ४९ जना रक्तदाताले रक्तदान गरेका छन् । २५ औं वार्षिकउत्सवको उपलक्ष्यमा नेपालभरी छरिएका शाखा मार्फत सामाजिक उत्तरदायित्व तथा बीमा जनचेतनाका विविध कार्यक्रमहरु आयोजना गरिने कम्पनिले जनाएको छ । कम्पनीकोे चुक्तापुंजी हाल रु. १ अरब १२ लाख २२ हजार पुगेको छ । आ.व. २०७६/०७७ को अषाढ मसान्तमा १ लाख ९४ हजार १ सय ७४ बीमालेख बिक्री गरी रु. २ अरब १९ करोड ४७ लाख ७६ हजार बीमाशुल्क संकलन गरेको छ । त्यसै गरी आ.व. २०७६/०७७ मा रु १ अरब २ करोड दाबी भुक्तानी गरिएको छ । कम्पनीबाट उपलब्ध हुने बीमा लेखहरुलाई क्रमश डिजिटलाईज गर्दै डिजिटल युगमा प्रवेश गर्ने लक्ष्य रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले जानकारी दिए ।

बीमा क्षेत्रलाई आर्थिक वर्ष २०७७/७८: यस्ता छन् कार्य योजना

काठमाडौं । बीमा समितिले आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्य योजना तय गरेको छ । समितिले भवन निर्माण गर्नेदेखि दाबी-भुक्तानीलाई सहज बनाउने कार्य योजना पास गरेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार चालु आर्थिक वर्षमा बीमा दाबी-भुक्तानीलाई सरल र सहज बनाउदै बीमितको आवश्यकता अनुसार समग्र उद्योगले काम गर्दै जानेछ । ‘हामीले कार्य योजना तयार गरेका छौं, समग्र बीमा क्षेत्रको हित हुने हिसाबले हामीले काम गर्नेछाैं, बीमाको दाबी-भुक्तानीलाई अझै छिटो छरितो बनाउने हाम्रो प्रयास यस आर्थिक वर्षमा पूरा हुनेछ’, बीमा समितिका कार्यकारी निर्देशक पौडेलले विकासन्यूजसँग भने । यस्तो छ समितिको कार्य योजनाः भवन निर्माण गर्ने चालु आर्थिक वर्षमा बीमा समितिले भवन निर्माण गर्ने भएको छ । समितिले भवन निमार्णको प्रक्रिया शुभारम्भ हुने जानकारी दिएको हो ।  उक्त भवनको निर्माण प्रकृया अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निर्देशन प्राप्त भएपश्चात अघि बढ्ने जनाएको छ । कार्यविधि संसोधन तथा तयार गर्ने कार्य विधि संसोधन तथा तयारको सन्दर्भमा बीमा समितिले मस्यौदा तयार गर्ने छ । यस्तै, सरोकारवालासँग छलफल गर्ने तथा स्विकृत गर्ने जनाएको छ । निर्देशिका संशोधन तथा तयार पार्ने चालु आर्थिक वर्ष भित्र बीमा समितिले जीवन बीमकको बीमांकीय मूल्याङ्कन सम्बन्धि निर्देशिका संशोधन गर्नेछ । यस्तै, जीवन बीमा अन्तर्गत विभिन्न बीमालेख सम्बन्धी मार्ग दर्शन तयार गर्नेछ । बाली तथा पशुपन्छी बीमा निर्देशिका संशोधन हुनेछ । जीवन र निर्जीवन बीमकको पूनर्बीमा निर्देशिकामा परिमार्जन हुनेछ । बीमकको आन्तरिक लेखा परिक्षण सम्बन्धी निर्देशिका परिमार्जन हुनेछ । बीमा कम्पनीको संस्थापक सेयर कारोवार सम्बन्धी निर्देशिका संशोधन हुनेछ । बाली तथा पशुपन्छी बीमालेखहरु तयार गर्ने बाली तथा पशुपन्छी बीमा अन्तर्गत सम्बन्धित निकायबाट माग भए बमोजिम बीमालेखहरु तयार हुनेछ । बाली तथा पशुपन्छी बीमा अन्तर्गत हाल कायम रहेका बीमालेखहरु आवश्यकता अनुसार संशोधन हुनेछ । यस्तै, लघु निर्जीवन बीमा अन्तर्गत दुर्घटना, स्वास्थ्य, घातक रोग र अन्य आवश्यक बीमालेखहरु तयार गर्ने बीमा समिले जनाएको छ । रणनीतिक योजना (२०२१-२०२५) तयार गर्ने बीमा समितिको आवद्यिक रणनीतिक योजना तयार हुनेछ । बीमा सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने प्रदेश सरकार स्थानीय सरकार, कृषक, विद्यार्थी लगायत बीमा क्षेत्रका सरोकारवालासँग अन्तक्रिया तथा छलफलहरु हुनेछ ।  समितिले जनचेतना अभिवृद्धि गर्ने उदेश्यले सरोकारवाला पहिचान गर्ने, अन्तक्रिया गर्ने, अभिलेखिकरण गर्ने काम सम्पन्न गर्नेछ । बीमा विषयलाई पाठ्यक्रममा समावेश गर्न पहल गर्ने बीमा विषयलाई माध्यमिक, स्नातक र स्नाकोत्तर तहको पाठ्यक्रममा समावेश गर्न पहल हुनेछ । समितिको वार्षिक कार्यक्रम बीमा समितिले वार्षिक उत्सवसको अवसरका कार्यक्रम संचालन गर्दै आएको छ । सो कार्यक्रमले निरन्तरता पाउनेछ । समितिका कर्मचारीको क्षमता अभिवृद्धि गर्ने बीमा समितिका कर्मचारीको क्षमता अभिवृद्धी गर्न जोखिममा आधारित सुपरीवेक्षण सम्बन्धी तालिम संचालन हुनेछ । यस्तै, नेपाल वित्तीय प्रतिवेदन मान सम्बन्धी तालिम दिइने छ । समितिको वार्षिक कार्यक्रमको समिक्षा गर्ने बीमा समितिले आफ्नो अर्ध-वार्षिक तथा वार्षिक कार्यक्रमको समिक्षा गर्दै आएको छ । उक्त समिक्षाले चालु आर्थिक वर्षमा समेत निरन्तरता पाउनेछ । बीमा सम्बन्धी विषयहरुमा विशेष अध्ययन/अनुसन्धान गर्ने नोवल कोरोना भईरस कोभिड १९ ले बीमा क्षेत्रमा पारेको प्रभाव सम्बन्धी अध्ययन हुनेछ । यस्तै, क्षेत्रगत रुपमा समेत बीमाको प्रभाव बारे अध्ययन गरिने छ । बीमा समितिको व्यवस्थापन सूचना प्रणाली स्तरीकृत गर्ने बीमा नियमन, लेखा प्रणाली, मानव संशाधन अभिलेख व्यवस्थापन, सम्बन्धि सफ्टवेर तयार हुनेछ । तथ्याङ्क भण्डारणका लागि सर्भर खरिद गर्नेका काम हुनेछ । स्थलगत निरीक्षण गर्ने जीवन बीमकहरुको एएमएल, सिएफटी विषेश स्थलगत निरीक्षण हुनेछ । यस्तै, जीवन, निर्जीवन तथा पूनर्बीमा गर्ने कम्पनीको समष्टिगत स्थलगत निरीक्षण हुनेछ । कोरोना बीमा कार्यन्वयन १ लाख रुपैयाँसम्मको सामूहिक कोरोना बीमा गर्दा लाग्ने वार्षिक शुल्कमा सरकारले ५० प्रतिशत अनुदान दिनेछ । यस्तै, आगामी वषएकालागि अस्थायी र करार लगायत सबै राष्ट्र सेवकको १ लाखसम्मको कोरोना बीमा निःशुल्क हुने व्यवस्थाको कार्यन्वयन हुनेछ । कृषि लघु उद्यम कृषि र लघु उद्यम व्यवसायमा बीमाको पहुँच अभिवृद्धी गर्न बीमा दाबी भुक्तानी प्रकृयालाई सहज र सरल बनाइनेछ । यस्तै, घुम्त्ती बीमा कार्यक्रमको संचालन हुनेछ । कोरोना महामारीका कारण संचालनमा आउन नसकेका उद्योग प्रतिष्ठान एवम् यातायातको साधनको बीमा पोलिसीको म्याद लक डाउनको अवधिसम्म थप गर्ने व्यवस्था हुनेछ ।

अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड आज ३ बजे

काठमाडौं । अजोड इन्स्योरेन्सको साधारण सेयर(आईपीओ) आज (साउन २ गते) बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार उक्त सेयर आज दिउँसो ३ बजे बाँडफाँड हुने भएको हो । इन्स्योरेन्सले सेयर निष्काशन बन्द गरेको ४ दिनमै बाँडफाँड गर्न लागेको हो । उक्त सेयरको निष्काशन बन्द गत असार २९ गते भएको थियो । माग गरेभन्दा बढी आवेदन परेपछि संस्थाले छिटो मितिमा सेयर निष्काशन बन्द गरेको हो । एनआईबीएल एस क्यापिटलका अनुसार उक्त आईपीओमा ४ लाख ८४ हजार ४९८ योग्य आवेदनमार्फत १ करोड ७२ लाख १५ हजार ४९० कित्ता सेयर माग भएको छ । जसमध्ये गोलाप्रथाबाट २ लाख ७३ हजारले १० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी २ लाख ११ हजार ४ सय ९८ आवेदकको हात खाली हुने छ । कम्पनीले बिहीबार(असार २५ गते)बाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा राखेको हो । जसमध्ये ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । र, बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणमा बिक्रीमा राखिएको थियाे । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन(सेयर भर्न) सक्ने व्यवस्था रहेकाे थियाे । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।