पुनर्बीमा कम्पनीका लगानीकर्ताले लाभांश नपाउने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले लाभांश नपाउने भएका छन् । लगानीकर्ताले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लाभांश नपाउने भएका हुन् । साउन ८ गते साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश तथा बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो । पुनर्बीमा व्यवसाय(व्यवस्थापन तथा संचालन) सम्बन्धि निर्देशिका अनुसार कम्तिमा ५ वर्षसम्म मुनाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा राख्नु पर्ने भएकाले कम्पनीले उक्त निर्णय भएको हो । ‘पुनर्बीमकले आफ्नो व्यवसाय गर्दा बचत भएको रकम कम्तिमा ५ वर्षसम्म मुनाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा राख्नु पर्नेछ ।’- निर्देशिकामा उल्लेख छ ।
बाढी पहिरोले तर्साउदै बीमा कम्पनीलाई, प्रमुख कार्यकारी अधिकृत भन्छन्- निन्द्रा लाग्नै छोड्यो
काठमाडौ । देशभर बाढी पहिरोको जोखीम बढी रहदा निर्जीवन बीमा कम्पनीहरुले मनसुन अभिषाप सावित भएको प्रतिक्रिया दिएका छन् । कोरोना महामारी (कोभिड-१९) का कारण उत्पन्न परिस्थितिसँग जुधिरहेका बीमा कम्पनीहरुले प्राकृतिक विपत्तिको कारण अर्काे प्रकारको चुनौति थपिएको बताएका हुन् । बाढी पहिरोको कारण बीमा कम्पनीहरुलाई दैनिक दाबी बढिरहेको छ । वर्षाको समयमा विगतका वर्षहरुमा पनि यस्तो प्रकारको दाबी पर्ने गरेको थियो । तर कम्पनीहरुले विगतका वर्षहरुमा आफूहरुलाई दाबी भुक्तानी गर्न खासै गाह्रो नभएपनि यसपाली भने कठिन भएको बताए । नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काका अनुसार मनसुनमा परेका दाबीले बीमा कम्पनीहरुलाई अफ्ठयारो बनाएको छ । ‘हामीले विगतका वर्षमा पनि दाबी भुक्तानी त दिदै आएका थियौं, अहिले कोरोना महामारीको जोखिम र असर कायमै रहदा बाढी पहिरोले निर्जीवन बीमा क्षेत्रमा मनसुन अभिषाप बनेर आएको छ’, प्रमुख कार्यकारी अधिकृत खड्काले विकासन्यूजसँग भने । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार वर्षाको समयमा पानीले प्रत्यक्ष भेट्ने क्षेत्रहरुबाट पनि धेरै दाबी आउने गरेको छ । ‘हाम्रो कम्पनीमा पनि ८, १० वटा जति दाबी परिसकेको छ, वर्षाको समयमा बाटो, पुल तथा इन्जिनियरिङ्ग गरिएका ठाउँहरु खतरामा हुने भएकाले वर्षाको पत्यक्ष असर त्यस्ता ठाउँमा पर्ने गर्छ र बीमाा कम्पनी दाबी आउने गर्छ’, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने । अहिले देशभर बाढी पहिरोकोे जोखिम बढ्दो छ । सोही बाढी, पहिरोकै कारण कैयौ जनताहरु चिन्तित हुने तथा रातभर जागै रहने गर्दै आएका छन् । ठिक यही समयमा यता एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले मंगलबार आफ्नो फेसबुक वालमा एउटा स्ट्याटस पोस्ट गरेका छन् । ‘नदीमा बाढी आउने पिरले रात भरी नसुत्न नदी किनारमा घर हुन पर्ने रहनेछ । इन्स्योरेन्समा जागिर खाए पुग्ने रहेछ,’ प्रमुख कार्यकारी अधिकृत गौतमले लेखेका छन् । यता नारायणी नदीको बहाब४४ वर्षकै उच्च भएको छ । सप्तोकोशीले नदीले पनि आफ्नो खतराको घेरा नाघिसकेको अवस्था छ । अहिले देशै भरका खोलानालामा पानीको सतहमा वृद्धी भएको छ । नेपाल नदीनालामा धनी राष्ट्र हो । वर्षभरी देशको परिचयका रुपमा स्थापित हुने जलस्रोतले वर्षाको सिजनामा भने अधिकांशलाई दुःख समेत दिने गरेको छ । मौसमविदहरु थप २,४ दिन देशको विभिन्न भुमागमा भारी वर्षा हुन सक्ने अनुमान गर्दै आएका छन् । बाढीको चिन्ता खोलाको किनारमा घर हुनेलाई मात्र नभई बीमा कम्पनीहरुलाईपनि परेको देखिन्छ । वर्षाको समयमा कन्ट्रयाक्टर अल रिस्क, सम्पत्ती, कृषि तथा बाली र मोटर बीमामा बढी दाबी पर्ने गर्छ ।
एक वर्षमा जीवन बीमा बजारः बीमालेखका आधारमा २६ प्रतिशत र शुल्कका आधारमा ३३ प्रतिशतले बढ्यो
काठमाडौं । एक वर्षमा जीवन बीमा बजार जीवन बीमालेखका आधारमा २६ प्रतिशतले बढेको छ । बीमाशुल्क संकलनका आधारमा भने ३३ प्रतिशतले बढेको छ । कम्पनीहरुले जारी गर्ने बीमालेख तथा बीमाशुल्क संकलन जस्ता परिसूचकको आधारमा जीवन बीमा बजार बढेको पाइएको हो । बीमा समितिका अनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा ५६ लाख ७७ हजार जीवन बीमालेख जारी भएका थिए । आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कम्पनीहरुले जारी गरेको जीवन बीमालेखको संख्या ७१ लाख ९६ हजार पुगेको छ । बीमालेख संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २६.७५ प्रतिशतले बढेको हो । ३३ प्रतिशतले बढ्यो बीमाशुल्क जीवन बीमाशुल्क ३२.८४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा बीमाशुल्क ७१ अर्ब ४ करोड रुपैयाँ रहेको थियो भने गत आर्थिक वर्षको अन्त्यमा ९४ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । घट्यो बैदेशिक रोजगार बीमालेख बैदेशिक रोजगार बीमालेख भने १० प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा १६ लाख ५० हजार रहेको बैदेशिक रोजगार बीमालेख गत आर्थिक वर्षको अन्त्यमा भने १३ लाख ८१ हजारमा सिमित हुन पुगेको छ । यस्तै, कुल जीवन बीमालेख संख्या १७ प्रतिशतले बढेको छ । समितिका अनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा ७३ लाख २८ हजार रहेको कुल जीवन बीमालेख संख्या गत आर्थिक वर्षको अन्त्यमा ८५ लाख ७७ हजार पुगेको छ । ६ प्रतिशतले बढ्यो निर्जीवन बीमा शुल्क निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क ६.३३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा २४ अर्ब ३२ करोड रुपैयाँ रहेको निर्जीवन बीमाशुल्क गत आर्थिक वर्षको अन्त्यमा २५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । ४ प्रतिशतले बढ्यो बीमाको दायरामा आउने जनसंख्या आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्मका बीमाको दायरामा आएको जनसंख्या १८ प्रतिशत थियो । गत आर्थिक वर्षको अन्त्यसम्म बीमाको दायरामा आएको जनसंख्या २२ प्रतिशत पुगेको छ । बीमाको दायरामा आएको जनसंख्या एक वर्षमा ४ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शाखा कार्यालय ८ प्रतिशतले बढ्यो गत आर्थिक वर्षको अन्त्यसम्ममा बीमा कम्पनीहरुको शाखा संजाल संख्या ८ प्रतिशतले वृद्धि हुन पुगेको छ । आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा बीमा कम्पनीहरुको कार्यालय संख्या २ हजार ५ सय २३ रहेको थियो । गत आर्थिक वर्षको अन्त्यमा बीमा कम्पनीहरुको कार्यालय संख्या २ हजार ७ सय ४२ पुगेको छ । ७ प्रतिशत बढे कर्मचारी बीमा कम्पनीहरुमा काम गर्ने कर्मचारीको संख्या ७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा बीमा कम्पनीहरुको कर्मचारी संख्या ९ हजार ४ सय ८६ रहेको थियो । गत आर्थिक वर्षको अन्त्यमा कर्मचारी संख्या १० हजार २ सय ३६ पुगेको छ ।