५० प्रतिशत प्रिमियम छुटमा कोरोना बीमा गराउँदै अजोड इन्स्याेरेन्स

काभ्रे । कोरोना सङ्क्रमणको उच्च जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाका पाँच वडाले ५० प्रतिशत छुट गराउँदै स्थानीयवासीको स्वास्थ्य बीमा गरिरहेका छन् । वडाका बासिन्दाको स्वास्थ्य सुरक्षामा चासो राख्दै ती वडाले हाल ‘कोरोना बीमा’का लागि सिफारिस दिन थालेका हुन् । हाल नगरका २, ३, ४, ५ र ९ नम्बर वडाले ५० प्रतिशत प्रिमियम रकममा स्थानीयवासीको बीमा गर्न सोमबारदेखि सिफारिस गर्न थालेका हुन् । कोरोना बीमाका लागि एक लाख रुपैयाँको बिमाङ्क रकम बराबर ६ सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ तर वडा कार्यालयको सिफारिसमा ५० प्रतिशत छुट अर्थात् ३ सय रुपैयाँ प्रिमियम तिरेपछि स्थानीयवासीको कोरोना बीमा हुने वडा नं ४ का वडाध्यक्ष सुन्दर लामाले बताए । “बीमा कम्पनीले नै प्रिमियम रकममा ५० प्रतिशत छुट गरिदिएको हो, यसका लागि वडाले सिफारिस गर्नुपर्ने नियम बनाइएको छ”, लामाले भने । उनका अनुसार वडाका बासिन्दाले कोरोना बीमा गर्न चाहेको बताएपछि वडाले सिफारिस गर्नेछ र वडाको सिफारिस ल्याएका स्थानीयवासीको बीमा कम्पनीले प्रिमियम रकममा ५० प्रतिशत छुटसहित बीमा गर्नेछन् । सोमबार आफ्नो वडाको ११ जनाको सिफारिस गरिएको लामाले बताए । लामाका अनुसार बीमित वडाका बासिन्दामा कोरोना सङ्क्रमण पुष्टि भएपछि एक लाख रुपैयाँ बीमा रकम पाउनेछन् । उनले आफ्नो वडाका १२८ एकल महिलाको पनि कोरोना बीमा गराइदिने योजना बनाएका छन् । “मैले व्यक्तिगत खर्चमा उहाँहरुको बीमा गराउन थालेको छु, एकल महिलाको पहिचान भइसकेको छ, अब बीमा प्रक्रिया थाल्नेछु”, उनले भने । उनले बीमा कम्पनीको ५० प्रतिशत प्रिमियम रकम छुटमै एकल महिलाको समेत बीमा गराइने बताए । स्थानीय रञ्जन लामिछानेले पाँचखालका केही वडाले ५० प्रतिशत छुटमा वडाका बासिन्दाको बीमा गर्न शुरु गरेकोमा खुशी हुँदै सबै नगरका वडाले यो अभियान थाल्नुपर्ने बताए । बीमा कम्पनी अजोड इन्स्याेरेन्सले हाल पाँचखालका पाँच वडाका बासिन्दाको ५० प्रतिशत प्रिमियम छुटमा कोरोना बीमा गर्न थालेको हो । बीमा कम्पनीको नियमानुसार कोरोना बीमाअन्तर्गत पिसीआर परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएपछि एक लाख रूपैयाँ बीमा रकम प्रदान गर्ने नियम छ । यसका लागि ६ सय रूपैयाँ प्रिमियम रकम तिर्नुपर्छ । स्वास्थ्यप्रति सचेत गराउँदै वडाका बासिन्दाको स्वास्थ्य सुरक्षाका लागि छुटमा कोरोना बीमा गराउन थालिएको पाँचखाल–२ का वडाध्यक्ष हरि खतिवडाले बताए । “अतिविपन्नलाई यसले निकै राहत पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने । उनले प्रारम्भिक चरणमा वडाका बासिन्दामा बीमाबारे सचेत गराई बीमाका लागि प्रेरित गरिने बताए । पाँचखाल नगरमा हालसम्म ८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । काभ्रेपलाञ्चोकमा हालसम्म २७५ जनामा कोरोना सङ्क्रमण भएको छ । यसमध्ये एक पुरुष र एक महिलाको मृत्यु भइसकेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार हाल सङ्क्रमितमध्ये १०३ उपचारपछि घर फर्किएको र १७० जना अस्पताललगायत विभिन्न स्थानको आइसोलेसनमा उपचाररत छन् । रासस

रिलायबल नेपाल लाइफ ईन्स्याेरेन्स चौंथो वर्षमा प्रवेश

काठमाडाैं । रिलायबल नेपाल लाइफ ईन्स्याेरेन्स साेमबारदेखि तेस्रो वर्ष पुरा गरी चौंथो वर्षमा प्रवेश गरेको छ । कम्पनिले वार्षिकोत्सवको अवसरमा संस्थालाई यस उचाईमा ल्याउनका लागी प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक तथा कर्मचारीमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा रहिरहने कुरा व्यक्त गरेकाे छ। कम्पनिले हालसम्म १७ वटा बीमा याेजनाहरु ल्याएकाे छ भने गत आर्थिक वर्षमा कम्पनिले १ अर्ब ६० कराेड बीमा संकलन गरेकाे थियाे । हाल संस्थाले आफ्ना ८३ वटा शाखा कायालयहरु मार्फत सेवा दिइरहेकाे छ ।

ज्योति लाईफको बोनस दर न्युनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म

काठमाडौं । ज्योती लाईफ ईन्स्योरेन्सले बोनस दर निर्धारण गरेको छ । कम्पनिले अषाढ मसान्त सम्ममा जारी भएका मुनाफामा सारिक हुने बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म घोषणा गरेको हो । कम्पनिले सावधिक जीवन बीमालेखका लागि ९ वर्ष सम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपैयाँ बोनश दर तोकेको छ । साथै कम्पनिले सावधिक तथा आजीवन जीवन बीमालेखका लागि ९ वर्ष सम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखमा ७५ रुपैयाँ बोनश दर तोकेको छ । त्यस्तै अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनश दर तोकेको कम्पनीले जनाएको छ ।