आईएमई लाइफ इन्स्योरेन्सले सातवटै प्रदेशमा गर्यो स्वास्थ्य शिविर
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा सातवटै प्रदेशमा मंगलबार वृहत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको अनुसार उक्त स्वास्थ्य शिविरमा १३ सय २ जना सर्वसाधारणले स्वास्थ्य जाँच गराएका छन् । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले पाँचौ वर्ष पुरा भएको अवसरमा सामाजिक उत्तरदायित्व अनुरुप सातवटा प्रदेशका विभिन्न आठ स्थानमा स्वास्थ्य शिविर कार्यक्रम गरेका बताए । कम्पनीले सुनसरी चक्रघट्टिमा आँखा शिविर, बाराको कलैयामा दन्त शिविर, चितवनको नारायणघाटमा पाठेघरको मुखको क्यान्सर शिविर, मजुङको सोतिपसलमा जनरल स्वास्थ्य जाँच शिविर, गुल्मी र बाँकेको राप्ती सोनारीमा आँखा शिविर, सुर्खेतको गुमीमा महिला स्वास्थ्य शिविर र कैलालीस्थित टिकापुर नारायणपुरमा पनि जनरल स्वास्थ्य जाँच शिविर संचालन गरेको थियो । यस अघि कम्पनीले गत शुक्रवार मुलुकभर गरेको रक्तदान कार्यक्रममा ५७१ जनाले रक्तदान गरेका थिए । त्यस्तै शनिबार गरिएको अभिकर्ता तालिममा सहभागी ७४८ जनालाई तालिम दिई प्रमाणपत्र पनि वितरण गरिएको थियो । २०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा आएको आईएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।
आइएमई जनरल इन्स्योरेन्सद्वारा विपन्न क्यान्सरका बिरामीको उपचारको लागि साढे २ लाख सहयोग
काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्सले क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग गरेकाे छ । कम्पनीले कमजाेर आर्थिक स्थिति भएका क्यान्सर रोगीकाे नि:शुल्क उपचार गरिरहेकाे नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई साढे २ लाख रुपैयाँ सहयाेग गरेकाे हाे । बुधबार कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई साे रकम बराबरकाे चेक हस्तान्तरण गरे । सिइओ रेग्मीले हस्पिटलले गर्दै आएकाे पुण्यकाे काममा आइएमई जनरल इन्स्योरेन्स संलग्न हुन पाउँदा खुशी भएकाे बताए ।
नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न
काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ४ दिने वार्षिक बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीकाे सभापतित्वमा आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटो बारे छलफल गर्नसम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको थियो । सम्मेलनमा कर्मचारीहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले के एफ ए बिजनेश स्कूलका संस्थापक तथा कार्यकारी अध्यक्ष रेष्टा झा, सोही संस्थाका सिइओ तथा ट्रेनिङ डाइरेकटर किशलय झा र एकेडेमिक तथा कन्सलटिङ डाइरेक्टर ज्यास्मिन हाडा बज्राचार्यले सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए । आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्ने पाँच शाखा कार्यालय लगाएत वार्षिक लक्ष्य पुरा गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान गरेका थिए ।