सर्वाधिक नाफा कमाउने नेपाल लाइफलाई पछ्याउँदै सन नेपाल, तेश्रोमा सूर्यज्योति

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा ३ अर्ब १० करोड रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । जुन गत वर्षको तुलनामा १७४.१३ प्रतिशतले बढी हो । कम्पनीहरुले आर्थिक वर्ष २०७८/७८ को पुस मसान्तसम्ममा १ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएका थिए । कम्पनीहरुले सार्वजनिक गरेका दोश्रो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा सञ्चालित १८ वटै कम्पनीहरु नाफामै छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा बढी नाफा कमाउने कम्पनीको सूचीमा अग्रस्थानमै छ । कम्पनीले समीक्षा अवधिमा नाफामा २३७.९८ प्रतिशत वृद्धि गरी ४४ करोड १० लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, नेपाल लाइफलाई पछ्याउँदै सन नेपाल लाइफ सबैभन्दा बढी नाफा कमाउने कम्पनीको दोश्रो स्थानमा पर्न सफल भएको छ । कम्पनीले ६ महिनाको अवधिमा ३५ करोड ३९ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । गत वर्ष ८ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा ३४०.९० प्रतिशतले बढाएको छ । र, प्रतिशतको आधारमा कम्पनी नाफा वृद्धिमा अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी आक्रामक देखिएको छ । त्यसैगरी, साविकको सूर्या लाइफ र ज्योति लाइफ मर्ज भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स पनि नाफामा आक्रामक नै देखिएको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार इन्स्योरेन्सले २८ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, रिलायन्स लाइफ र प्रभु लाइफले एक वर्षको अवधिमा शतप्रतिशतभन्दा नाफा कमाएका छन् । रिलायन्सले ११९.३५ प्रतिशत र प्रभु लाइफले १०७.१९ प्रतिशत बढी नाफा आर्जन गरेको देखिएको छ । समीक्षा अवधिमा प्राइम लाइफ इन्स्योरेन्सको नाफा सबैभन्दा कम प्रतिशत अर्थात ०.२५ प्रतिशतले बढेको छ । गत वर्ष १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको प्रभु लाइफले चालु आवको पुससम्ममा १७ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । रकमको आधारमा सबैभन्दा कम नाफा आर्जन गर्नेको सूचीमा राष्ट्रिय बीमा संस्थान छ । सरकारी स्वामित्व रहेको यो कम्पनीले साउनदेखि पुससम्ममा १ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत वर्षको भन्दा १९.५३ प्रतिशतले बढी हो । गत आवको पुससम्ममा बीमा संस्थानले ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाडौं । आइतबारदेखि दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सका आधाभूत सेयरधनीको कारोबार रोक्का गरिदिएको हो । यी दुई कम्पनी एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर) मा जाने प्रयोजनको लागि नेप्सले आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गरेको हो । मर्जरमा जानको लागि दुई कम्पनीले गत माघ २७ गते नै समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

खुद बीमाशुल्क सामान्य बढ्दा शिखर इन्स्योरेन्सको नाफा २४ करोड

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ०.९५ प्रतिशत घटेर २४ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खुद बीमाशुल्क १.०९ प्रतिशत बढेर ७७ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७६ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्म कम्पनीको खुद दावी भुक्तानी ६.६० प्रतिशत बढेर ४२ करोड ४९ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड ८६ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट १३ करोड १७ लाख रुपैयाँ र पुनर्बीमा कमिशन वापत ३४ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ३० प्रतिशत बढेर २ अर्ब २८ करोड ६० लाख रुपैयाँ, जगेडा कोष १६.८० प्रतिशत बढेर ८१ करोड ७५ हजार रुपैयाँ, बीमा कोष ८.१४ प्रतिशत बढेर १ अर्ब ५३ करोड १९ लाख रुपैयाँ र महाविपत्ती कोष १३ करोड ८ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २१.०६ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २१५.२१ रुपैयाँ पैसा र मूल्य आम्दानी अनुपात ४३.४९ गुणा रहेको छ ।