नेको इन्स्योरेन्सले गर्यो अस्पताललाई आर्थिक सहयोग
काठमाडौं । नेको इन्स्योरेन्सले सिरहाको धागढीमाई नगरपालिकामा रहेको महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताललाई आर्थिक सहयोग गरेको छ । कम्पनीले साे अस्पताललाई ११ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । अस्पतालको भवन भारतीय राजदूतावासको सहयोगमा निर्माण भएको थियो । तर, मेडिकल उपकरण र औषधि लगायतका सामाग्रीहरुको अभाव रहेको हुँदा मधेशका महिलाहरुको प्रसुती सेवा तथा बालबालिकाको उपचारमा सहयोग पुगोस् भन्ने सोचका साथ उक्त सहयोग उपलब्ध गराएको कम्पनीले जनाएको छ । साे सहयोग कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेका हुन् ।
सिटिजन र सन नेपाल लाइफले प्रिमियममा आईपीओ जारी गर्ने, प्रतिकित्ता कसको कति ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले असार १९ गते एकैदिन दुबै जीवन बीमा कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको हो । दुई कम्पनीमध्ये सिटिजन लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी अर्थात २ अर्ब ६६ करोड ४० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप १४४ प्रिमियममा (अर्थात प्रतिकित्ता २४४ रुपैयाँमा) एक करोड १२ लाख ५० हजार कित्ता सेयर जारी गर्ने भएको छ । जसमध्ये ५ लाख ६२ हजार ५०० कित्ता सेयर कम्पनीको कर्मचारीलाई छुट्याइएको छ । इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब २२ करोड ७६ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । बोर्डले इन्स्योरेन्सलाई अंकित मूल्य एक सय रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर सेयर बिक्री गर्न अनुमति दिएको हो । यससँगै कम्पनीले प्रतिकित्ता २३९ रुपैयाँमा ९६ लाख कित्ता सेयर निष्काशन गर्ने छ । कूल कित्तामध्ये सन नेपालले ४ लाख ८० हजार कित्ता सेयर कर्मचारीलाई छुट्याएको छ । त्यस्तै, इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग रहेको छ । सिटिजन लाइफको तुलनामा सन नेपाल लाइफको आईपीओ सस्तो देखिएको छ । सन नेपालको आईपीओ प्रतिकित्ता ५ रुपैयाँले सस्तो छ ।
आईएमई लाइफले बिहीबारदेखि आईपीओ बिक्री गर्दै, १० कित्ताका लागि कति जोहो गर्ने ?
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बिहीबार (असार २१ गते) देखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरि बाँडफाँट गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा सामूहिक लगानी कोष, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले छिटोमा असार २५ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता आवेदन दिने हो भने २ हजार ३६९.१० रुपैयाँको जोहो गर्नु पर्नेछ । यदि कम्पनीको आईपीओमा अधिकतम १० हजार कित्ता खरिद गर्ने हो भने २३ लाख ६९ हजार १ सय रुपैयाँको जम्मा गर्नु पर्ने देखिन्छ ।