२० प्रतिशतले घट्यो पोलिसी सरेन्डर, सबैभन्दा बढी प्रभु लाइफको (कुनको कति ?)
काठमाडौं । निरन्तर बढीरहेको बीमा पोलिसी सरेन्डर दर जेठमा भने एकाएक घटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो एक महिनामै साढे २० प्रतिशतले सरेन्डर दर घटेको हो । गत बैंशाखमा एक अर्ब ३० करोड रुपैयाँ बराबरको सरेन्डर भएकोमा जेठमा घटेर एक अर्ब ३ करोड रुपैेयाँमा झरेको छ । जुन प्रतिशतको आधारमा २०.६१ प्रतिशतले घटी हो । गत चैतको तुलनामा बैशाखमा १०.८८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा जम्मा ६ वटा कम्पनीमा सरेन्डर रकम घटेको छ भने बाँकीको बढेको छ । सबैभन्दा बढी सरेन्डर रकम घट्नेको सूचीमा क्रमशः प्रभु लाइफ, एशियन लाइफ, हिमालयन लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), महालक्ष्मी लाइफ र आइएमई लाइफ रहेका छन् । प्रतिशतको आधारमा मेटलाइफको सबैभन्दा बढी प्रतिशतले बीमा सरेन्डर बढेको छ । कम्पनीका बीमितले बैशाखको तुलनामा ७१.६१ प्रतिशत बढी अर्थात ५ करोड ४९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् । रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितले बढी रकमको पोलिसी त्यागेका छन् । कम्पनीका बीमितले जेठमा मात्रै ४३ करोड ३९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका हुन् । त्यस्तै, सबैभन्दा कम रकमको पोलिसी सरेन्डर गर्नेको सूचीमा सन नेपाल लाइफ रहेको छ । इन्स्योरेन्सको एक महिनामा ३९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ ।
नेपालका वित्तीय क्षेत्रका नियामक प्रमुखहरु क्यानडामा
काठमाडौं । वित्तीय क्षेत्रका नियामक प्रमुखहरु क्यानडा गएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा २८ सदस्यीय टोली क्यानडा गएका हुन् । जसमा राष्ट्र बैंकका गभर्नर अधिकारी, बैंक सुपरिवेक्षण विभाग प्रमुख देव कुमार ढकाल, वित्तीय अनुसन्धान इकाइका प्रमुख दीर्घ बहादुर रावल रहेका छन् । त्यस्तै, प्रधानमन्त्री कार्यालयका सचिव उदयराज सापकोटा, सहसचिव, कानुन मन्त्रालयका सचिव धनराज ज्ञवाली, अर्थ मन्त्रालयका सहसचिव, महान्यायाधिवक्ता कार्यालयका उपमहान्यायाधिवक्ता, केन्द्रीय अनुसन्धान विभागका प्रतिनिधि, सम्पति शुद्धीकरण विभागका प्रतिनिधि, फैसला कार्यान्वयन इकाइका प्रतिनिधि रहेका छन् । त्यसैगरी, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल प्रहरीका प्रतिनिधिसहित परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरु पनि उक्त टोलीमा छन् । श्रोतका अनुसार नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रे लिष्टमा पर्नबाट बचाउन उक्त टोली क्यानडा गएको हो । जहाँ फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) को मूल्यांकन समूहसँग छलफल हुने छ । उक्त टोली एक साताको लागि क्यानडा गएको हो ।
नेपाल बैंकर्स र जीवन बीमक संघबीच सम्झौता, नीतिगत तहका विषयमा अध्ययन अनुसन्धान गर्ने
काठमाडौं । नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के. सी. तथा जीवन बीमक संघ नेपालका तर्फबाट संघका अध्यक्ष पोषक राज पौडेलले हस्ताक्षर गरेका छन् । यस सम्झौताले बैंक तथा बीमा क्षेत्रबीच आपसी समन्वय स्थापना गरी एक आपसमा तथ्याङ्कहरु, सूचना तथा जानकारीहरु आदान प्रदान गर्ने, नीतिगत तहका विषयहरुमा अध्ययन अनुसन्धान गर्ने तथा पारस्पारिक लाभका विषयहरुको पहिचान गरी अघि बढ्ने लक्ष लिएको छ ।