नातेदारको खातामा ३२ करोड भुक्तानी गरेपछि बीमा कम्पनीका पूर्व अध्यक्षलाई मृत्युदण्ड
काठमाडौँ । चाइना लाइफ इन्स्योरेन्स ग्रुपका अध्यक्ष तथा पार्टीको पूर्व प्रमुख वाङ बिनलाई घूस लिएको र विदेशमा बचत लुकाएको अभियोगमा मङ्गलबार दुई वर्षको जेलपछि मृत्युदण्डको सजाय कार्यान्वयन हुने फैसला गरेको छ । दुई वर्षको जेल सजायपछि वाङको मृत्युदण्डलाई कानुनबमोजिम आजीवन कारावासमा परिणत गर्न सकिने छ तर थप कटौती वा छुट प्रदान गरिने छैन । पूर्वी चीनको शान्दोङ प्रान्तको जिनानस्थित ‘इन्टरमिडिएट पिपुल्स कोर्ट’ले उक्त फैसला सुनाएको हो । सन् १९९७ देखि २०२१ को बीचमा वाङले विभिन्न वित्तीय संस्थामा आफ्नो ओहदाको फाइदा उठाउँदै अरूका लागि फाइदा लिन खोजेको र बदलामा उनले ३२ करोड ५० लाख युआन (करिब चार करोड ५० लाख अमेरिकी डलर) बराबरको पैसा र बहुमूल्य सामान प्रत्यक्ष वा आफ्ना नातेदारमार्फत् गैरकानुनी रूपमा लिएको स्वीकार गरेका थिए । उनलाई सन् २०१२ को जनवरीदेखि हङकङमा आफ्ना नातेदारले खोलेको खातामा पाँच करोड ६४ लाख २० हजार युआन बराबरको विदेशी मुद्रा जम्मा गरेको र बचत लुकाएको अभियोगमा दोषी ठहर गरिएको अदालतले जनाएको छ । फैसलाबमोजिम प्रतिवादीलाई आजीवन राजनीतिक अधिकारबाट बञ्चित गरिएको र निजको व्यक्तिगत सम्पत्ति जफत गरिएको छ । दुई वर्षको जेल सजायपछि वाङको मृत्युदण्डलाई कानुनबमोजिम आजीवन कारावासमा परिणत गर्न सकिने छ तर थप कटौती वा छुट प्रदान गरिने छैन । एजेन्सी
सर्भेयरको लाइसेन्स परीक्षा अनलाइनबाटै, शुल्क नबिल बैंकमा जम्मा गर्नुपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट तालिम लिएका सर्भेयरहरुको लाइसेन्स परीक्षा अनलाइनबाट हुने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै सर्भेयरहरुको परीक्षा असोज २ गते अनलाइनबाट हुने जानकारी गराएको हो । उक्त परीक्षा बिहान ११ बजेदेखि हुने छ । प्राधिकरणका अनुसार परीक्षा दिने सर्भेयरहरुले भदौ ३० गतेसम्म रजिस्टर गरिसक्नु पर्ने छ । र, रजिष्टर भएको व्यक्तिहरुको नाम भदौ ३१ गते सार्वजनिक हुने प्राधिकरणले जानकारी गराएको छ । उक्त परीक्षाको लागि सर्भेयरहरुले पाँच सय रुपैयाँ दस्तुर बैंक खातामा जम्मा गर्नुपर्ने हुन्छ । जसको लागि नबिल बैंकको खाता नं. ०११००१३०११००१ मा र नाममा नेपाल इन्स्योरेन्स अथोरिटी लेख्नुपर्ने प्राधिकरणले जानकारी गराएको छ ।
एलआईसी नेपालले लाभांश नदिने
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले सेयरधनीलाई लाभांश नदिने भएको छ । भदौ २५ गते साँझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुनैपनि लाभांश नपाउने भएका छन् । साथै, कम्पनीले उक्त आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाहका विवरणहरु स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणमा पेश गरिसकेको छ ।