मर्जरबाट सकारात्मक परिणाम देखिएको प्राधिकरणको निष्कर्ष, कर छुट नपाएको कम्पनीहरुको गुनासो
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मर्जरपछि कम्पनीहरुमा सकारात्मक परिणाम देखिन थालेका बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा बुधबार काठमाडौंमा आयोजित मर्जर भएका बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा उनले मर्जर पश्चात कम्पनीहरुका सकारात्मक परिणामहरु देखिन थालेका बताएका हुन् । ‘मर्जर भएका बीमा कम्पनीहरूको जोखिम बहन गर्ने क्षमता बढेको छ, लगानीका लागि पर्याप्त पूँजी भएको छ, मर्जरबाट बीमा क्षेत्रमा सकारात्मक प्रभाव परेको छ,’ उनले भने । उनले काठमाडौं उपत्यकामा मात्र केन्द्रित नभई सबै प्रदेश र स्थानीय तहहरूसम्म पुगेर बीमा व्यवसाय विस्तार गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । अध्यक्ष सिलवालले पूँजीको अधिकतम् सदुपयोग हुनेगरी अघि बढ्न निर्देशन पनि दिए । ‘बीमा कम्पनीहरूको आफ्नै खालको व्यवसायिक रणनीति हुनुपर्छ, बीमा व्यवसायलाई स्वच्छ, स्थीर, दिगो र नाफामूलक बनाउनुपर्छ, बीमा गर्न नागरिकहरू बीमा कम्पनी खोज्दै आउने नभई कम्पनीहरू नै नागरिककोमा जानुपर्छ, कम्पनीहरू व्यवसायिक किसिमले अघि बढ्नुपर्छ,’ उनले भने । बीमा कम्पनीहरूमा रहेको रकम नागरिकको भएकाले बीमा कम्पनीहरू नागरिकहरूप्रति जवाफदेही हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरूले परम्परागत बीमालेख मात्र बिक्री गरेर हुँदैन, बीमालेखलाई भूगोल र बजारले खोजे अनुरूप परिमार्जन गर्नुपर्छ, राष्ट्र निर्माणमा योगदान पुग्ने गरी लगानी निर्देशिका बमोजिम लगानी विविधीकरण गर्नुपर्छ, बजारमा विश्वसनीयता बढाउन सुशासन आवश्यक भएकाले त्यसमा ध्यान दिनुपर्छ, बीमा कम्पनीको समग्र जिम्मेवारी संचालक समितिको हो, संचालक समितिले कम्पनीका क्रियाकलापहरूको निगरानी गर्नुपर्छ ।’ अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले प्राधिकरणमा पठाउनुपर्ने विवरणहरू समयमा नै पठाउन, शाखा उपशाखाको व्यवस्थापन गर्दा पर्याप्त अध्ययन गर्न, ऐन, नियम र निर्देशिका बमोजिम काम गर्न, दण्ड तथा जरिवाना गर्नुपर्ने अवस्था आउन नदिन र न्यूनतम कागजातका आधारमा सहजरूपमा दाबी भुक्तानी गर्न बीमकहरूको ध्यानाकर्षण गराए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणले पूँजी वृद्धिको निर्णय गरेपश्चात् बीमा कम्पनीहरू पूँजी पु¥याउन स्वतःस्फुर्तरूपमा मर्जरमा गएको उल्लेख गर्दै कम्पनीहरूले तोकिएको अवधिभित्र पूँजी पु¥याउनुपर्ने र त्यसका लागि सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताए । कार्यकारी निर्देशक पौडेलले बीमा कम्पनीहरूको मर्जरपश्चात् विशेषगरी कर्मचारीहरूका सम्बन्धमा गुनासाहरू आएकाले त्यस्ता गुनासाहरू आन्तरिकरूपमै समाधान गर्न र कर्मचारीहरूलाई मर्का नपार्न तथा प्रदेश कार्यालयहरूलाई नमूनाका रूपमा संचालन गर्न निर्देशन दिए । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुङ्गेल (अधिकारी) ले प्राधिकरणमा बीमा कम्पनीहरूबाट पेश भएका प्रस्तावहरू तत्कालै स्वीकृत हुने गरेको र प्रोडक्ट कोडिङ सम्बन्धी कार्य भइरहेको जानकारी दिइन् । कार्यक्रममा मर्जर भएका बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूले मर्जरपश्चात्को अवस्थाका बारेमा मिश्रित धारणा राखे । त्यस क्रममा केही बीमा कम्पनीका तर्फबाट मर्जरपश्चात् निर्देशिका बमोजिम कर्मचारीहरूको व्यवस्थापन गरेको, कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याएको, मर्जरबाट ठूलो समस्या नआएको र साना साना समस्याहरू आफै समाधान गरी अगाडि बढेको लगायतका धारणा राखिएको थियो । यसैगरी, केही बीमा कम्पनीहरूका तर्फबाट मर्र्जरपछि मानव स्रोत व्यवस्थापनमा बढी समस्या देखिएको, पूँजी वृद्धिको तुलनामा व्यवसाय नबढेको, बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बुझाउन र शाखा तथा उपशाखा व्यवस्थापन गर्न थप समय आवश्यक परेको, मर्जरपश्चात् कर छूट लगायतका सहुलियत पाउन बाँकी रहेको लगायतका गुनासाहरू राखेका थिए ।
नेपाल पुनर्बीमाको सेयर बिक्री नभएपछि मूल्य घटाएर बेच्दै विशाल ग्रुप
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्री नभएपछि विशाल ग्रुपले दोस्रो पटक संस्थापक बिक्रीमा राखेको छ । विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन खोजिरहेको छ । तर, उक्त सेयर बिक्री नभएपछि पुनः लिलामीमा राखेको हो । यसअघि कम्पनीले गत असोज ८ गतेदेखि असोज १४ गतेसम्म १० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । तर, उक्त समयमा ५ लाख कित्ता सेयर मात्रै बिक्री भएको देखिन्छ । विशाल ग्रुपले आज कात्तिक १६ गतेदेखि कात्तिक २० गतेसम्म ५ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । साथै, उक्त सेयरको मूल्य पनि घटाएर बोलकबोलमा राखेको हो । ग्रुपले प्रतिकित्ता न्यूनतम २७७ रुपैयाँमा बिक्रीमा राखेको हो । यसअघि उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकेको थियो । कम्पनीको उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले कात्तिक २० गतेसम्म निवेदन पेश गर्नु पर्नेछ । कम्पनीको सेयर विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले खरिद गर्न सक्ने बताइएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सद्वारा एक दिवसीय विजनेश रिभ्यू मिट सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय विजनेश रिभ्यू मिट सम्पन्न भएको छ । “पराक्रमी गति आक्रामक निती” नाराका साथ काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८०/८१ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो । यस कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले देश आर्थिक मन्दी बाट गुज्रीरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लागेका सम्पूर्ण प्रगतिका सहयात्रिहरुलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गरेका थिए । नेपाल लाइफ आफैमा जीवन बीमा क्षेत्रमा गौरवशालि इतिहास बोकेको स्थापित ब्रान्ड रहेको बताए । अहिलेको विषम परिस्थितिमा यस कम्पनीले जीवन बीमा बजारको २७ प्रतिशत बजार हिस्सा ओगटदै बजारको लिडरको रूपमा आफुलाई स्थापित गराउन योगदान पुर्याउनु हुने सबैको मुक्तकण्ठले प्रसंशा गरे । विभिन्न परिस्थितिबाट गुज्रिदै र त्यसबाट पाठ लिदै आजको अवस्थामा आएको यस कम्पनीले बीमा बजारलाई मार्गनिर्देश गर्न पनि भूमिका निर्वाह गर्नुपर्ने कुरा बताए । यस कम्पनीको सेल्स टिम तथा अभिकर्ता अत्यन्तै अनुभवी र परिपक्क भएको कारण आहिलेको विषम अवस्थामा पनि कम्पनीले उत्कृष्ट व्यापार गर्नेमा आफु विश्वस्त रहेको बताए । यस सशक्त सेल्स टिमले आगामी दिनमा अथक मेहनत र परिश्रम गर्दै जीवन बीमाको बजारीकरण, सचेतना तथा बीमा बजारको विकाश र बीमाको पहँुचलाई आम नागरिक बीच पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । कार्यक्रमामा बाल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कर्मचारी तथा अभिकर्ताहरुलाई चालु आ.ब. को पहिलो त्रैयमासको कार्यसम्पादनको लागि धन्यवाद र चालु आ.ब. को व्यापार लक्ष्य पुरा गर्न दत्तचित्त भई कार्य गर्न आव्हान गरे । कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति डिजिटलाइजेशनको कार्य थालनी गरिसकेको बताए । निकट भविष्यमा बीमितहरुले यस कम्पनीद्वारा प्रदान गरिने सेवाहरु प्राप्त गर्न शाखा धाउन पर्ने अवस्थाको अन्त्य हुने र बीमितहरुले घरै बसी बसी सम्पूर्ण सेवा थप छिटोछरितो चुस्त र दुरुस्त तवरले प्राप्त गर्ने कुरा बताए । कार्यक्रममा नेशनल सेल्स हेड, सेल्स सँग सम्बन्धित विभागीय प्रमुखहरु तथा प्रादेशिक प्रमुखहरुले आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरे । कम्पनीको उच्च व्यवस्थापनद्वारा दिईएको मार्गदर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्त चित्त भई जीवन बीमा बजारको बजारीकरण तथा बीमाको पहुँचलाई बढाई यस कम्पनीको लेजेशीलाई निरन्तरता प्रदान गर्न कुनै कसर बाँकि नराखी कार्यसम्पादन गर्न सम्पूर्ण नेपाल लाइफकर्मी तयार रहेको कुरा नेशनल सेल्स हेड उमापति पोखरेलले बताए । समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले हाल सम्मको उपलब्धिका लागि सबैलाई धन्यबाद ज्ञापन गरे । साथै जीवन बीमा बजारको हिस्सालाई थप बृहत बनाउनका निम्ति आग्रह गरे । नेपाल लाइफ मार्केट लिडर भएको कारण यस कम्पनीको जिम्मेवारी पनि अधिक रहेको र सोलाई मनन गर्दै कार्यसम्पादन गर्न सबैमा अनुरोध गरे ।