एलआईसी नेपालको डेपुटी सीईओमा ए. दत्ता नियुक्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) (एलआईसी नेपाल) को नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओमा) ए. दत्ता  नियुक्त भएका छन् । इन्स्योरेन्स सञ्चालक समितिको मंसिर १९ गते मंगलबार बसेको बैठकले ए. दत्तलाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार निवर्तमान नायब प्रमुख कार्यकारी अधिकृत टी वर्णवालको कार्यकाल पुरा भई भारतको मुम्बाई सरुवा भएपछि सो स्थानमा दत्तालाई एलआईसी अफ इण्डियाले चयन गरी पठाएको हो । दत्ता एलआईसी अफ इण्डियाको कोलकतास्थित डिभिजनमा माइक्रो, बैंकास्योरेन्स एण्ड अल्टरनेट च्यानलको चिफ म्यानेजर पदमा थिए । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृतको दत्ताले गणितमा स्नातक तथा एशोसियट एक्चुअरीको शैक्षिक योग्यता प्राप्त गरेको कम्पनी सचिव सुदर्शन गिरीले जानकारी दिएका छन् ।

रिलायबल नेपाल लाइफले सार्वजनिक गर्यो नयाँ बोनस दर, अधिकतम ७५ रुपैयाँसम्म दिने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८०सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७९/८०को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट मंसिर २२ गते स्वीकृत भई बीमालेखहरूमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । रिलायबल सावधिक जीवन बीमालेखमा कम्पनीले ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६२ रुपैयाँ बोनसदर तोकेको छ । २० वर्ष वा सो भन्दा माथिको लागि सावधिक जीवन बीमालेख गर्नेलाई प्रतिहजार ७० रुपैयाँ बोनस दिने भएको हो । कम्पनीका अनुसार ५ वर्षदेखि ९ वर्ष अवधिसम्मका ४२ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ७६ वटा र १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका २८९ वटा र २० वर्ष माथि अवधिका १९२ वटा बीमालेख बिक्री गरेको छ । लघु सावधिक जीवन बीमालेख योजनाको सबै बीमा अवधिमा प्रतिहजार ३० रुपैयाँ बोनस दर निर्धारण गरेको छ । साथै, कम्पनीले यस योजनाका ३ हजार ३४६ वटा बीमालेख बिक्री गरेको छ । यस्तै, रिलायबल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी) योजनाको सबै बीमा अवधिमा प्रतिहजार २५ रुपैयाँ बोनस दर तोकेको छ । कम्पनीले यो योजनाअन्तर्गत १ हजार ४९६ बीमालेख बिक्री गरेको छ । यस्तै, रिलायबल सुलभ जीवन बीमालेख तथा सुलभ बाल जीवन बीमालेख प्लस योजनामा कम्पनीले ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २४ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार २८ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३२ रुपैयाँ र २० वर्ष वा सो भन्दा माथिको प्रतिहजार ४० रुपैयाँ बोनस दिने भएको हो । कम्पनीका अनुसार यस योजना अन्तर्गत ५ वर्षदेखि ९ वर्ष अवधिका १८३ वटा, १० वर्षदेखि १४ वर्ष अवधिका १ हजार ८६५ वटा र १५ वर्षदेखि १९ वर्ष अवधिका ३४ हजार ६१० वटा र २० वर्ष माथि अवधिका १६ हजार ३६५ वटा बीमालेख बिक्री गरेको छ । यस्तै, रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख)मा कम्पनीले ५ वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६२ रुपैयाँ र २० वर्ष वा सो भन्दा माथि अवधिको लागि प्रतिहजार ६५ रुपैयाँ बोनस प्रदान गर्ने भएको हो । कम्पनीका अनुसार यस योजना अन्तर्गत ५ वर्षदेखि १४ वर्ष अवधिका १०८ वटा र १५ वर्षदेखि १९ वर्ष अवधिका ४८६ वटा र २० वर्ष माथि अवधिका १०७ वटा बीमालेख बिक्री गरेको छ । यस्तै, सावधिक तथा आजीवन बीमा योजनामा कम्पनीले ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३० रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा माथिको प्रतिहजार ५० रुपैयाँ बोनस दिने भएको हो । कम्पनीका अनुसार यस योजना अन्तर्गत ५ वर्षदेखि ९ वर्ष अवधिसम्मका ६६ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका २६१ र १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ३ हजार ७१३ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मका १ हजार ४१२ वटा र २५ वर्ष माथि अवधिका ६७ वटा बीमालेख बिक्री गरेको छ । यस्तै, रिलायबल समुन्नती जीवन बीमा योजनाको सबै बीमा अवधिमा प्रतिहजार २० रुपैयाँ बोनस वितरण गर्नेछ । साथै, कम्पनीले यस योजनाका १३ हजार ९०९ वटा बीमालेख जारी गरेको छ । रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा कम्पनीले १०, १२ र १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ र १६, १८ र २० वर्ष अवधिसम्मको लागि प्रतिहजार ५५ रुपैयाँ बोनस दर निर्धारण गररेको छ । यसयोजना अन्तर्गत कम्पनीले १०, १२ र १५ वर्ष अवधिसम्मका ७ वटा, र १६, १८ र २० वर्ष अवधिसम्मका ५७ वटा बीमालेख बिक्री गरेको कम्पनीले जनाएको छ । कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।  

२० लाख कित्ता सेयर बेच्दै हिमालयन एभरेष्ट, किन धमाधम बाहिरिँदै छन् नेपाल रिका संस्थापक ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले नेपाल रिइन्स्योरेन्स कम्पनीमा रहेको सेयर बिक्री गर्ने भएकाे छ । कम्पनीले रिन्स्योरेन्समा रहेको आफ्नो सेयर बिक्री गरेर अन्य क्षेत्रमा लगानी गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीले नेपाल रिमा भएको आफ्नो कूल स्वामित्वको केही प्रतिशत सेयर बिक्री गरेर अन्य क्षेत्रमा लगानी गर्ने योजना बनाएको स्रोतले बताएको छ । स्रोतका अनुसार कम्पनीले २० लाख कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको हो । ‘क्यास फ्लो मिलाउन सेयर बिक्री गर्न लागिएको हो, कम्पनीसँग नेपाल रिइन्स्योरेन्सको ४०/५० लाख कित्ता सेयर छ, एउटै ठाउँमा धेरै सेयर राखेर प्रयोग हुँदैन, त्यसैले लगानी विविधिकरण गर्न खोजेको हो,’ कम्पनी सचिव ध्रुव प्रसाद न्यौपानेले भने, ‘अन्य कुन क्षेत्रमा लगानी गर्ने भनेर एकिन निर्णय भएको छैन तर लगानी एउटै ठाउँमा धेरै भएकाले त्यो बेचेर अन्य क्षेत्रमा लगानी गर्न खोजिएको हो ।’ उनका अनुसार जुन क्षेत्रबाट लगानीको अवसर आउँछ सोही क्षेत्रमा लगानी गर्ने योजना कम्पनीकाे छ । २० लाख कित्ता सेयर बिक्री गर्न स्वीकृतिका लागि पुनर्बीमा कम्पनीमा पत्र पठाएको कम्पनी सचिव न्यौपानेले बताए । नेपाल रिइन्स्योरेन्स स्रोतका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई सेयर बिक्रीका लागि स्वीकृति दिइसकेको छ । साथै, नेपाल बीमा प्राधिकरणले समेत अनुमति दिएको स्रोतको भनाइ छ । अब कम्पनीले अर्काे साताभित्र उक्त सेयर बिक्रीका लागि सूचना आह्वान गर्नेछ । कम्पनीको बिक्री गर्न लागेको उक्त सेयरको मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ । नेपाल रिइन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदनका अनुसार साविक हिमालयन जनरलको १८ लाख ८५ हजार १६५ कित्ता र साविक एभरेष्ट इन्स्योरेन्सको १८ लाख ८५ हजार १६५ कित्ता सेयर गरी कूल ३७ लाख ७० हजार ३३१ कित्ता सेयर स्वामित्व छ । रिइन्स्योरेन्सले बोनस सेयर वितरण गरेको हुँदा उक्त सेयर संख्या वृद्धि भएको हुन सक्छ । बिहीबार मात्रै रिइन्स्योरेन्सबाट नेपाल इन्स्योरेन्स र विशाल ग्रुपले सेयर बिक्री गरेका थिए । नेपाल इन्स्योरेन्सले १९ लाख ७९ हजार ४२४ कित्ता सेयर र विशाल ग्रुपले १० लाख कित्ता सेयर बिक्री गरेको हो । यस्तै, प्रभु इन्स्योरेन्सले पनि १९ लाख ७९ हजार ४२४ कित्ता सेयर बोलकबोल मार्फत् बिक्रीमा राखेको छ । नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले पुँजी वृद्धिका लागि सेयर बिक्री गर्न लागेका हुन् । रिइन्स्योरेन्सको सेयर बिक्री गर्ने हिमालयन एभरेष्ट इन्स्योरेन्स चौथों कम्पनी हो ।