यूनाइटेड अजोडको १०.८० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि माघ २२ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा आज माघ २१ गतेसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् । इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९’८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँको १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद गरी कूल १०.८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले ३०औँ वार्षिक साधारण सभा फागुन ७ गते अनमोल ब्याङ्क्वेट शंखमूल काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । सभाले बोनस सेयर वितरणपश्चात् जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्रको नियमावली संशोधन गर्नेछ । संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समितिको गठन गर्नेछ । साथै, संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
सन नेपाल लाइफले गर्याे ३५.३९ करोड नाफा, जीवन बीमा कोष साढे ६ अर्ब
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ३२ करोड ८४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ३९ लाख रुपैयाँ नाफा गरेको थियो । पुस मसान्तसम्म कम्पनीले १ अर्ब ७७ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको पुसमा कम्पनीले १ अर्ब ९६ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । ६ महिनाको अवधिमा कम्पनीले ५४ करोड ६५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ८४ लाख रुपैयाँ दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ, सेयर प्रिमियममा १ अर्ब २६ करोड रुपैयाँ, जीवन बीमा कोष ६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २०.५२ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १८७.०४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.०९ गुणा रहेको छ ।
नेशनल लाईफको लुम्बिनी लक्जरी टुर र रानीमहल भ्रमण
काठमाडौं । कम्पनीको मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुको उत्साहजनक उपस्थितिमा कम्पनीले लुम्बिनी लक्जरी टुरअन्तर्गत नेपालको प्रसिद्ध स्थल लुम्बिनी र पाल्पाको रानी महल भ्रमण गराएको छ । कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरु र देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ४०० जनाभन्दा बढी वरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । सो अवसरमा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतीराज कँडेलको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियोे । उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडलले यस्ता भ्रमण कार्यक्रमबाट देशका विभिन्न क्षेत्रका अभिकर्ताहरुबीच एकआपसमा अन्तरक्रिया पनि हुने र मनोरञ्जन पनि प्राप्त हुनुका साथै अभिकर्ता समूहको दक्षता अभिबृद्धिमा समेत प्रत्यक्ष लाभ पुग्ने भएको हुँदा कम्पनीले यस प्रकारको अभिकर्ता योजना ल्याएको र अभिकर्ताहरुको उत्साहजनक उपस्थितिले योजना अत्यन्तै सफल भएको महशुस गरिएको बताए । कार्यक्रमका सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै बजार विभाग प्रमुख विवेक शर्माले तोकिएको व्यवसायिक लक्ष्य पूरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्रस्थानमा पुर्याउन अभिकर्ताहरुको अत्यन्तै महत्वपूर्ण भूमिका हुने भएको हुँदा अभिकर्ता समूहको सल्लाह सुझावमा नै कम्पनीले योजना जारी गर्ने बताए । एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले सञ्चालन गरेको सो कार्यक्रमका सहभागी अभिकर्ताहरुले नेपालको प्रसिद्धस्थल लुम्विनी र पाल्पाको ऐतिहासिक रानीमहल भ्रमण गर्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार प्रकट गरेका थिए ।