१७ वर्षमा एशियन लाइफ, उत्कृष्ट बीमा सेवा प्रवाह

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरी सत्रौंं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको हो । १७ औं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले २०८० चैत्र १५ गतेदेखि चैत्र २१ गतेसम्म देशभर संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विविध कार्यक्रमहरु आयोजना गरिएको छ । वार्षिकोत्सवको अवसरमा रक्तदान जीवन दान भन्ने नारालाई आत्मसाथ गर्दै बुधबार मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा कम्पनीको प्रधान कार्यालयका साथै काठमाण्डौं उपत्यकाभित्रका शाखा, उपशाखाका कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि समेत ७० जनाले रक्तदान गरेका छन् । वार्षिकोत्सवका अवसरमा चैत्र १७ गते काठमाडौं उपत्यकाभित्रका कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको थियो । साथै देशभरका ८० वटा शाखा,उपशाखा कार्यालयहरुमार्फत् वृद्धाआश्रम, सामुदायीक विद्यालय, अनाथालय तथा सामाजिक संघ संस्थाहरुलाई शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर लगायत जिन्सी सामाग्री वितरण गरेका छन् । वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले एशियन लाईफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा १६ वर्षदेखि निरन्तर सहयोग पुर्याउँदै आएका सम्पूर्णमा हार्दिक आभार व्यक्त गरे । उनले जीवन उत्कृष्ट बीमा सेवा प्रवाह गर्दै बीमित र शेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्नका लागी कम्पनी प्रतिबद्ध रहेको व्यक्त गरे । यस कम्पनीको चालू आ.व. २०८०/८१ को फागुनसम्ममा जीवन बीमाकोष ४१ अर्ब ३० करोड रुपैयाँ र कूल बीमाशुल्क रु. ४९ अर्ब रहेको छ । कूल लगानी ४६ अर्ब १० करोड रुपैयाँ छ । यसैगरी चालू आर्थिक वर्ष २०८०/z८१ को फागुन मसान्तसम्ममा कूल बीमाशुल्क ५ अर्ब १५ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीमा १२ लाख ८२ हजार सकृय बीमालेख छन् । ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ (सूचीकृत हुन बाँकी बोनश शेयर समेत) करोड चुक्ता पूँजी रहेको कम्पनीले निकट भविष्यमै ४२ प्रतिशत  हकप्रद शेयर जारी गर्ने भएको छ ।

बम्पर लाभांश घोषणा गरेको सूर्यज्योतिको सर्वाधिक कारोबार, सेयर मूल्य पनि बढ्यो

काठमाडौं । बुधबारको सेयर बजारमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । बम्पर लाभांश घोषणा गरेसँगै कम्पनीको सेयर कारोबारमा उछाल आएको हो । कम्पनीले बुधबार मात्रै सेयरधनीलाई कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । त्यसको सकारात्मक प्रभाव दोश्रो बजारमा देखिएको हो । बजारमा कम्पनीको २५ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अन्य कम्पनीको तुलनामा बढी हो । कारोबार मात्रै नभई कम्पनीको सेयर मूल्य पनि बढेको छ । कम्पनीको सेयर मूल्य ६.७४ प्रतिशतले बढेर प्रतिकित्ता ५१८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३२.७० रुपैयाँले बढी हो । यससँगै कम्पनीको घोषित लाभांशले लगानीकर्ताहरु कम्पनीको सेयरमा आकर्षित भएको बुझिने जानकारहरु बताउँछन् । इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस र २४.७४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । समग्रमा बुधबारको बजार तीव्र उतारचढावकाबीच नेप्से परिसूचक ३.४३ अंंकले घटेर २००६.७८ बिन्दुमा बन्द भएको छ । सेयर कारोबार भने अघिल्लो दिनको तुलनामा बढेको छ । बुधबारको बजारमा २ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा तीन लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः १०, ९.९७ र ९.९१ प्रतिशतले बढेका छन् । बुधबार जीवन बीमा, लघुवित्त र म्यूचुअल फण्ड समूह बढेका छन् भने बाँकी समूह घटेका छन् ।

सूर्यज्योति लाइफले ३५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस र २४.७४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । चैत २० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । जसलाई नेपाल बीमा प्राधिकरणले स्वीकृत तथा कम्पनीको साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ५४ रुपैयाँ छ । १०.२६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ नाघ्ने छ ।