मन्दीमा ठूलो लगानीको माग, बीमा कम्पनीको हकप्रद सेयरमा अझै २२ अर्ब थप्नुपर्ने
काठमाडौं । ‘वाणिज्य बैंकको पुँजी २ अर्बबाट ८ अर्ब बनाउँदा हकप्रद सेयर भर्नका लागि लिएको कर्जा सेयरधनीहरूले अहिलेसम्म पनि तिर्न सकेका छैनन्’ एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले अनौपचारिक कुराकानीमा भन्दै थिए । नियामक नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्न निर्देशन दिएपछि धमाधम हकप्रद सेयर जारी गर्दा लगानीकर्ताहरूले ऋण लिएर सेयर खरिद गरेका थिए । तर, त्यो बेला लिएको ऋण अहिलेसम्म पनि चुक्ता गर्न नसकेको ती सीईओले भनाइ छ । हो, यतिबेला बीमा कम्पनीहरूको नियामक नेपाल बीमा प्राधिकरणले पनि बीमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्न निर्देशन दिएपछि आधा दर्जन बीमा कम्पनीले हकप्रद सेयरको माध्यमबाट तोकिएको पुँजी पुर्याउने गृहकार्य गरिरहेका छन् । मर्जर र बोनस सेयरको माध्यमबाट पुँजी वृद्धि सीमा पूरा नभएपछि बीमा कम्पनीहरू धमाधम हकप्रद सेयरको तयारी गरिरहेका हुन् । तर, अर्थतन्त्र सुस्ताएको बेला एकैपटक यति धेरै कम्पनीको हकप्रद आउने भएपछि लगानीकर्ताहरू पैसाको जोहो कसरी गर्ने भन्ने विषयमा चिन्तित बनेका छन् । दर्जनौं बीमा कम्पनीले हकप्रद सेयर जारी गर्ने भएपछि सेयरधनीहरू फेरी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने तयारी गरिरहेको लगानीकर्ताहरू बताउँछन् । बीमा कम्पनीहरूले हकप्रद सेयरमा करिब २१ अर्ब ६० करोड रुपैयाँ लगानी गर्नु पर्ने भएकाे छ । जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपाल, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स, एशियन लाइफ, सन नेपाल लाइफ, सूर्यज्योति लाइफले हकप्रद सेयर निष्काशन गरेर पुँजी पुर्याउने तयारीमा छन् । जसमध्ये एलआईसी नेपालले ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गरेर ५ अर्ब रुपैयाँ पुँजी पुर्याउने भएको छ । कम्पनीको हालको पुँजी २ अर्ब ६५ करोड रुपैयाँ छ । अब कम्पनीले सेयरधनीहरूबाट २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ संकलन गर्ने भएको हो । प्रभु महालक्ष्मी लाइफको पुँजी ४ अर्ब २९ करोड रुपैयाँको १७ प्रतिशत हकप्रद सेयर जारी गरेर ५ अर्ब २ करोडभन्दा पुँजी पुग्ने देखिन्छ । अब कम्पनीका सेयरधनीहरूले ७३ करोड ३ लाख २० हजार रुपैयाँ जोहो गर्नु पर्ने हुन्छ । यस्तै, सन नेपाल लाइफले २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड रुपैयाँ छ । अब लगानीकर्ताहरूबाट १ अर्ब ६ करोड रुपैयाँ बढी रुपैयाँ संकलन गर्नु पर्ने देखिन्छ । एशियन लाइफको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँको ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीले साधारण सभाबाट पारित गरिसकेको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोडभन्दा बढी पुग्छ । यस आधारमा कम्पनीले सेयरधनीहरूबाट १ अर्ब ३२ करोड ५२ लाख रुपैयाँ उठाउन खोजेको छ । सानिमा रिलायन्स लाइफले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति पाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । स्वीकृत २० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी अर्ब बढी अर्थात ५ अर्ब २ करोड ८ लाख रुपैयाँ पुग्ने छ । सूर्यज्योति लाइफको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ छ । कम्पनीले १० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब नाघ्ने छ । मर्जरमा नगएको नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्नेछ । सो अनुसार कम्पनीले हकप्रद सेयर जारी गरेमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ नाघ्ने छ । सानिमा जीआईसीले २५ प्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृति पाएको छ । हाल २ अर्ब रहेको कम्पनीको चुक्ता पुँजी २५ प्रतिशत हकप्रदपछि २ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । यूनाईटेड अजोडले ३२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति पाएको छ । हालको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ छ । स्वीकृति ३२ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हाल १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ६६ प्रतिशत हकप्रद पछि २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्ने छ । यी माथिका बीमा कम्पनीका सेयरधनीहरूले ठूलो रकम जोहो गर्नु पर्ने देखिन्छ । अझै प्राधिकरणले पुनर्बीमा कम्पनीलाई पनि पुँजी वृद्धि गर्न निर्देशन दिएपछि संस्थापक लगानीकर्ताहरूलाइ टाउको दुखाइको विषय बनेको छ । हिमालयन रिइन्स्योरेन्सले २० अर्ब पुँजी पुर्याउन ८० प्रतिशत अर्थात् १० सेयर बराबर ८ सेयर अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कानश गर्नेछ । नेपाल पुर्नबीमा कम्पनीका लागि पनि करिब ४ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कानश गर्नुपर्ने छ । बीमा कम्पनीका लगानीकर्ताहरू पैसाको जोहो गर्न दौडधुप गरिरहेका छन् । साथै जलविद्युत कम्पनीहरूले पनि हकप्रद सेयर जारी गरिरहेका छन् ।
२६.२६ अर्बको निर्जीवन बीमा व्यवसाय, सर्वाधिक प्रिमियम उठाउनेमा शिखर अग्रस्थानमै
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा निर्जीवन बीमा कम्पनीहरूले २६ अर्ब रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागनु मसान्तसम्म तीन वटा लघुबीमासहित १७ वटा निर्जीवन बीमा कम्पनीहरूले १९ लाख ६२ हजार २४ वटा बीमालेख बिक्री गरेर २६ अर्ब २६ करोड ८४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् । यस अवधिमा सबैभन्दा धेरै व्यवसाय शिखर इन्स्योरेन्स कम्पनीले गरेको छ । यस कम्पनीले २ लाख ८ हजार २४५ वटा बीमालेख बिक्री गरेर ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ लाख ९६ हजार ५६५ वटा बीमालेख बिक्री गरेवापत ३ अर्ब ४ करोड ३१ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ लाख ३ हजार ५६५ वटा बीमालेख बेचेर २ अर्ब ५६ करोड ११ लाख रुपैयाँको व्यवसाय गरेको प्राधिकरणले जनाएको छ । यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ लाख ६२ हजार ३५४ वटा बीमालेख बित्री गरेर २ अर्ब ३० करोड २३ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ लाख २ हजार ८५२ वटा बीमालेख बिक्री गरेर २ अर्ब ११ करोड ९१ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ लाख ६६ हजार १८९ वटा बीमालेख बिक्रीवापत २ अर्ब ८ करोड ९१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्सले १ लाख ४१ हजार ७६९ वटा बीमालेख बिक्री गरेर १ अर्ब ७४ करोड ६९ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ लाख ३२ हजार १६७ वटा बीमालेख बिक्री गरेर १ अर्ब ६२ करोड ७ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले १ लाख ३ हजार ४७ वटा बीमालेख बिक्री गरेर १ अर्ब ५६ करोड १३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यस्तै, राष्ट्रिय बीमा कम्पनीले १ लाख ३४ हजार ४४७ वटा बीमालेख बिक्री गरेर १ अर्ब २६ करोड २० लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ८१ हजार २०६ वटा बीमालेख बिक्री गरेर १ अर्ब २० करोड १७ लाख रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले २८ हजार २७३ वटा बीमालेख बिक्री वापत १ अर्ब १८ करोड २४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् । यस्तै, नेपाल इन्स्योरेन्सले १ लाख ३२ हजार ५५२ वटा बीमालेख बिक्री गरेर ९९ करोड ४७ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले २३ हजार ४३५ वटा बीमालेख बिक्री गरेर ७६ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । साथै यस अवधिमा नेपाल माइक्रो, प्रोटेक्टिभ माइक्रो र स्टार माइक्रोले ४५ हजार ३५८ वटा बीमालेख बिक्री गरेर १० करोड ३३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । जसमध्ये नेपाल माइक्रोले २६ हजार २४३ वटा बीमालेख बिक्री गरेर ४ करोड ९० लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले ९ हजार १५० वटा बीमालेख बिक्री गरेर ३ लाख ४८ हजार रुपैयाँ र स्टार माइक्रोले ९ हजार ९६५ वटा बीमालेख बिक्री गरेर १ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
सिटिजन लाइफको ‘लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स’ सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुइ दिने ‘लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स २०२४’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम पोखरा स्थीत, रुपाकोट रिसोर्टमा सम्पन्न गरिएको थियो । लेभल अप कार्यक्रमको मुख्य उद्देश्य यस कम्पनीमा आवद्ध रही कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल उत्कृष्ट शाखा प्रमुखहरुलाई सम्मान गर्नुका साथै आउदो समयका लागि आवश्यक व्यापर रणनीतिहरु बारे छलफल गरेका थिए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम र शाखा प्रमुखहरु गरी ६० जना को सहभागिता रहेको थियो । कम्पनीको सम्पूर्ण व्यवस्थापन टिमले अझै मिहेनत र लगनका साथ काम गर्न उपस्थित सम्पूर्ण शाखा प्रमुखहरुलाइ प्रेरित गरेका थिए । यस्तो किसिमको कार्यक्रमले कर्मचारीहरुलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अप्नाएर आफ्नो टिमलाई अझै सबल र प्रतिसपर्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ । कर्मचारीहरुलाई नियमित दिनचर्या भन्दा नयाँ र फरक तरिकाले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने देखिन्छ ।