आइएमई लाइफले डाक्यो सातौं वार्षिक साधारण सभा, यस्ता छन् एजेन्डा
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ २८ गते वार्षिक साधारण सभा डाकेको छ । जेठ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७औं वार्षिक साधारण सभा डाकेको हो । सभा आम्रपाली ब्यांकेट क्याटरिङ एन्ड इभेन्ट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । बोनस सेयरपछि पुँजी वृद्धि हुने भन्दै सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि तयार गरिएको छ । साथै, कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने जनाएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि पनि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गरिनेछ । कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ १४ गते बुक क्लोज गर्ने जनाएको छ ।
नेपाल इन्स्योरेन्सको विशेष साधारण सभा आज, ४० प्रतिशत हकप्रद प्रस्ताव पारित हुने
काठमाडौं । हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्न नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे विशेष साधारण सभा आज बस्दैछ । सभा बिहान ११ बजे नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा सुरु हुनेछ । सभाले कम्पनीले हाल कायम जारी तथा चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात १० सेयरबापत ४ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते बुक क्लोज गरिसकेको छ । वैशाख २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भाग लिन पाउनेछन् ।
नेपाल लाइफ क्यापिटलको सीईओमा मनिष घिमिरे नियुक्त
काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१औं बैठकको निर्णयअनुसार घिमिरेलाई चार वर्षका लागि नियुक्त गरिएको हो । घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजी बजारमा एक दशकभन्दा लामो अनुभव रहेको छ । नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआईसी एशिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेष्टमेन्टमा गरी १० वर्षभन्दा बढी समय कार्यसम्पादन गरेका छन् । घिमिरेले एफसीसीए साथै काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसुम) बाट इएमबीए पनि गरेका छन् । घिमिरेको विभिन्न इन्भेष्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ उत्पादनहरू जस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फण्ड, इश्यू म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवाहरू प्रोडक्ट डिजाइन र सञ्चालनमा विज्ञता रहेको छ ।