अर्बौं खर्च हुने निर्वाचन प्रणाली र अबको विकल्प
देशमा महँगी, भ्रष्टाचार, अत्याचार र अन्य सामाजिक अपराध बढाउने विभिन्न कारण मध्ये अहिले प्रचलनमा रहेको निर्वाचन प्रणालीको भद्दा ढाँचा र खर्चिलो असुरक्षित शैली एक मुख्य कारक तत्व हो । उम्मेदवारको टिकट खरिद बिक्री, मत खरिद तथा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न मोटो रकमको खेल, निर्वाचनमा खटिने कार्यकर्ताहरुलाई प्रतिस्पर्धी उम्मेदवारका कार्यकर्ताभन्दा सेवा, सुविधा, खानपिन र तडकभडकमा बढी खर्च गर्नुपर्ने बाध्यताले प्रत्येक निर्वाचनमा उम्मेदवारहरुको निकै ठूलो रकम खर्च हुने गरेको छ । निर्वाचनमा खटिने कर्मचारी, मतदानस्थल तथा मतपत्रको सुरक्षा र निर्वाचनसंग सम्बन्धित प्राविधिक तथा प्रशासनिक व्यवस्थापन लगायत कारणले हालको निर्वाचन प्रणाली राज्यको लागि पनि निकै महँगो हुँदै गएको छ । अधिकांश उँमेदवारहरुद्वारा निर्वाचन खर्च ऋण वा विभिन्न सम्झौता गरेर उठाइन्छ, केही सहयोग सम्बन्धित पार्टीबाट हुन्छ भने केही रकम चन्दा वा विभिन्न अवैध सॉठगॉठबाट उठाइन्छ । निर्वाचनमा विजयी हुने उम्मेदवारहरुले सरकारका विभिन्न संयन्त्रबाट भ्रष्टाचार गरी सो रकम उठाउँछन् । आगामी निर्वाचन पनि आफ्नो पक्षमा पार्न अवैध किसिमले राज्यका विभिन्न निकायबाट ठूलो रकम आर्जन गरिन्छ । पराजित हुने उम्मेदवारहरुले पार्टीगत वा व्यक्तिगत माध्यमबाट विभिन्न तरिकाले सरकारका संयन्त्र वा ठेक्कापट्टाहरुबाट सो रकम सहज स्पमा असूल गर्छन् । केहीले त गुण्डा डनको शैली अपनाएर पनि निर्वाचनमा भएको खर्च असूली गर्छन् । व्यक्तिगत वा पार्टीगत पहुँच नभएका र गुण्डागर्दी पनि गर्न नसक्ने पराजित सोझा इमान्दार उम्मेदवारहरुले आफ्नो सम्पत्ति बेचेर निर्वाचनमा लागेको ऋण भुक्तान गर्छन् । तर, सम्पत्ति पनि नभएका निम्न स्तरका सोझासाझा उम्मेदवारहरुले त आत्महत्याको बाटो समेत रोज्ने गरेको पाइन्छ । निवार्चनका क्रममा विभिन्न माध्यमबाट उठेको चन्दा रकमले जनतामाथि महँगीको भार थपिन्छ अर्थात् प्रत्येक निर्वाचनले महँगी बढाइरहेको छ । जनताहरुबाट संकलित बजेट देश विकास तथा जनहितमा सदुपयोग गरिनुपर्नेमा परम्परागत निर्वाचन प्रणालीका कारण राज्यको निकै ठूलो रकम प्रत्येक पटक हुने निर्वाचनमा अनावश्यक रुपमा स्वाहा भइरहेको छ । जनताको जीवनस्तर खस्किनुको साथै देशको अवस्था नाजुक हुनुमा बेढङ्गको परम्परागत निर्वाचन प्रणाली पनि एउटा मुख्य कारकको रुपमा रहेको छ । यस्तो अवस्थाको अन्त्यका लागि निर्वाचन प्रणालीमा यथाशीघ्र परिवर्तन आवश्यक छ । सामाजिक अपराध र भ्रष्टाचारलाई प्रश्रय नदिने, वालिग मताधिकारका आधारमा सबै नेपाली नागरिकहरुले विश्वको जुनसुकै स्थानबाट पनि सजिलै मतदान गर्न सक्ने र निर्वाचनकै विषयमा कसैलाई चन्दाको भार थप्न आवश्यक नपर्ने स्मार्ट निर्वाचन प्रणालीको व्यवस्था हुनुपर्छ । देशमाथि आर्थिक बोझ नपर्ने, निकै किफायति, शान्तिपूर्ण, छरितो र प्रभावकारी अनलाइन मतदान प्रणाली आजको अपरिहार्यता हो । निश्चित मापदण्ड र कार्यविधि बनाएर विश्वसनीय निर्वाचन एप मार्फत स्मार्ट निर्वाचन प्रणाली अपनाउन सकिन्छ । फेस डिटेक्शन, फिंगर आइडी, सिटिजनशीप आइडी, विदेशमा रहेकाहरुलाई पासपोर्ट आइडी, सिटिजनशीप आइडी लगायत कुनै पनि विषयलाई आधार बनाएर स्मार्ट तरिकाले निर्वाचन गराउन सकिन्छ । विश्वसनीय अनलाइन प्रणालीबाट यसरी निर्वाचन गरिँदा अर्काको नामबाट मतदान वा दोहोरो मतदान वा मत संख्यामा बदमासी गरेर मत परिणाम परिवर्तन गर्न नसकिने भएकाले बढी भरपर्दो हुन्छ । यसबाट समय तथा श्रमको बचत हुनुका साथै निर्वाचनका क्रममा (निर्वाचन आयोग, दल तथा उमेदवारहरुबाट) हुने अर्बौं रकम पनि जोगाउन सकिन्छ । स्मार्ट अनलाइन निर्वाचन प्रणाली अपनाउँदा विभिन्न व्यक्ति तथा समूहहरुको अनावश्यक हिंसात्मक गतिविधि वा झडपको अवस्थाबाट पनि मुक्ति मिल्छ । देशमा दुर्गति निम्त्याउने परम्परागत निर्वाचन प्रणालीको उत्तम विकल्प स्मार्ट अनलाइन निर्वाचन प्रणाली हो । समयावधि अगावै छिटोछिटो हुने निर्वाचन र परम्परागत खर्चिलो निर्वाचन प्रणालीका कारण देश चुर्लुम्म डुब्ने गरी निर्वाचन आयोग, दल तथा उमेदवारहरुद्वारा हुने खर्बौं रकमको विनाशलाई जोगाउन निर्वाचन आयोगले यथाशीघ्र स्मार्ट निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छ । अब प्रत्येक नागरिकको व्यक्तिगत, पारिवारिक र सम्पत्तिसहितको विस्तृत परिचय प्रणाली अपनाउनु पर्छ, जुन निर्वाचन प्रणालीदेखि रोजगार, बैंक, मालपोत तथा राज्यका धेरै क्षेत्रमा काम लाग्ने हुन्छ । विद्यमान नागरिक एपमा पनि यी सेवा, सुविधा र विशेषताहरु थप्न सकिन्छ । विज्ञान प्रविधिको कुराले मात्र आफै परिवर्तन आउँदैन यसलाई जीवनका हरेक आयामहरुमा आत्मसाथ गर्न सक्नुपर्छ तब मात्र चमत्कारिक परिवर्तनको अनुभव गर्न सकिन्छ । मतदानको आधुनिक अनलाइन प्रविधिले निर्वाचनको समयमा उमेदवारहरू पनि गाउँगाउँ बस्तीबस्तीमा गइरहनु पर्दैन । उहाँहरुको विस्तृत विवरणसहित समाज विकासका लागि उहाँका एजेन्डाहरु र लक्ष हासिल गर्ने तरिकाको बारेमा निर्वाचन आयोगले नै अनलाइन सञ्चार माध्यमबाट प्रचारप्रसार गरिदिने व्यवस्था मिलाउनु पर्छ । आधुनिक प्रविधि मार्फत हुने मतदानमा निर्वाचन आयोगले पनि भौतिक रुपमा फिल्डमा नगई अनलाइनबाटै निर्वाचनका सबै कामहरु फत्ते गर्न सक्छ । त्यसैले निर्वाचन आयोग प्रविधिसँग अपडेट भई यथाशीघ्र समार्ट प्रणाली अपनाएर राज्यको सबै तहका सबै किसिमका निर्वाचनमा हुने ठूलो व्ययभार र मुठभेडबाट देशलाई जोगाउने काममा लाग्नुपर्छ । समानुपातिक निर्वाचन प्रणाली अनुसार छनौट हुने अधिकांश जनप्रतिनिधिहरु दल र दलका प्रभावशाली नेताहरुका अन्धभक्त समर्थक हुन्छन् । आफ्नो काम, कर्तव्य र जिम्मेवारी बोध नभएका त्यस्ता लठैत जनप्रतिनिधिहरुको साथ समर्थनमा दलका नेताहरुको मनपरीले देशमा अराजकता बढ्ने गरेको छ । समानुपातिक निर्वाचन प्रणालीमा दलका प्रभावशाली नेताहरुको दयाकृपाबाट छनौट हुने जनप्रतिनिधिहरु जनता प्रति भन्दा पनि दल र दलका प्रभावशाली नेताहरुप्रति उत्तरदायी हुन्छन् । जनताप्रति अनुत्तरदायी यस्तो निर्वाचन प्रणालीको व्यवस्था हटाएर प्रत्यक्ष स्मार्ट निर्वाचन प्रणाली मात्र अवलम्बन गरिनु उपयुक्त हुन्छ । स्थानीय निकाय र प्रतिनिधि सभामा अल्पसंख्यक जातिको प्रतिनिधित्व हुने गरी मनोनयनको व्यवस्था गर्न सकिन्छ । यसको साथै राष्ट्रलाई विशेष योगदान पु¥याएका व्यक्तिहरु र विकासको स्पष्ट योजना भएका जम्मा १० जना व्यक्तिहरुलाई मनोनित गरी प्रतिनिधि सभामा रहने विशेष व्यवस्था गर्न सकिन्छ । पालिकाहरुमा पनि सोही अनुसारको केही प्रावधान राख्न सकिन्छ । (लेखक पर्यटन व्यवसायी हुन् ।)
बाल्यकालको तिहार : टीका, कौडा र भैलोको बहार
बाल्यकालमा तिहार आउनु निकै खुसीको विषय हुन्थ्यो । दशैंको उल्लासमय वातावरणपछि तिहारको प्रतीक्षा लामो अनुभव हुन्थ्यो । घर वरिपरि सयपत्री, मखमली लागायतका दर्जनौं फूलले घरलाई बगैंचा बनाएका हुन्थे । सुन्तला, कागती, मौसम, अमिलो, भोगटे लटरम्म फलेका हुन्थे । सुन्तलाको रुख चढेर वा लठ्ठीले हानेर रोजी सुन्तला झार्दै खाँदै गर्थ्याैं । बिहानदेखि बेलुकासम्म दर्जनौं सुन्तला खाइन्थ्यो त्यसैले कागती, भोगटे तथा मौसमलाई भाउ दिनुपर्ने अवस्था थिएन । दिउँसो अमिलो साँधेर ट्वाक्क पिरो मिसाएर खान्थ्यौं अनि रगत बढ्छ भनेर टन्न पानी खान्थ्यौं । गाई पुज्ने औंशीको दिन लामो बाबियोको डोरीमा फूल, पिपलको पात, आँपको पात, रोटी आदि जोडेर लामो तोरन बाँध्ने चलन थियो । तोरनले बाटो वा खोलो कटाउने चलन थियो । एकपटक तोरनको डोरी समाएर रुखमा पुग्ने दुस्साहस गर्दा भाइ किशोर झन्डै भीरमा लडेको थियो । सानोमा एकदम सुरो थियो किशोर । कागतीहार तथा कुकुर तिहारमा त्यति ठूलो रौनक हुन्थेन । माला लगाएका, चामलको पिठोको सेतो रंग लगाएका कुकुर यत्रतत्र देखिन्थे । तीहारको बेला जुवा खेलेको हेर्न खुब रमाइलो लाग्थ्यो । किशोर भाइ र म खोजी खोजी जुवा खेल्ने ठाउँमा जान्थ्यौं । त्यसो त किशोरले बाटोमा गाई कि त्रिशुल लुकीलुकी खेल्थ्यो । प्रायः जित्थ्यो पनि । हामीलाई तास खेलेको पटक्कै मन पर्दैनथ्यो किनकी हामीले तास खेल्न जानेका थिएनौं । कौडा खेल्नु तिहारको ठूलो आकर्षण हुन्थ्यो । तिहारको सुरुसुरुमा लुकेर खेल्ने गर्थे भने यमपंचक सुरु भएपछि ७ दिन ७ रात अर्थात एकादशीबाट तिहारको टीकाको रातिसम्म खुलमखुला जुवा खेल्न पाइन्थ्यो । आँगनमा गुन्द्री, मान्द्रो, दरि, काम्लो आदि बिछ्याएर कौडा खेल्ने चलन थियो । नाम त भन्न मिलेन, गाउँका नामुद जुवाडेमा दाइ, भिनाजु, काका, सर लगायत हुन्थे । दुर्लभ रुपमा बुवा पनि खेल्नुहुन्थ्यो । कौडामा तिर्की, चौका, पंजा र छक्का दाउ हुन्थे । ४ जना खेल्थे, १०(१५ जना च्याके थाप्न बसेका हुन्थे भने १५-२० जना जुवा हेर्न बसेका हुन्थे । जुवा खेलाउने घरमा सेलरोटी पकाएको मगमग बासना आउँथ्यो । खेल्ने व्यक्तिलाई ल यति हान् भन्दै ५०, १०० रूपियाँको दाउ राख्थे भने च्याके थाप्नेले ‘ ल मेरो यति हान्नु ’ भन्दै आफूले छानेको दाउमा पैसा राख्थे । आफ्नो दाउका कौडा ठाडा भए भने मार्यो... भन्दै बाँकी ३ तिरका पैसा सोहोर्थे र च्याँखे थापेका व्यक्तिलाई अनुपात अनुसार फाइदा दिन्थे । लगातार ३ पटक मार्यो भने थर्किको पैसा भनेर जुवा खेलाउनेलाई पैसा दिनुपथ्र्यो । कहिलेकाँही ७(८ पटक दाउ पथ्र्यो र त्यहाँ बसेका टाट पल्टिने अवस्था आउँथ्यो । यसरी जितेका मान्छेले थर्की, मैन्टोल, चिया आदिको पैसा जुवा खेलाउनेलाई दिन्थे भने जुवा हेर्न बसेकाले जितौरीको आशा गर्थे । अलिअलि जितौरी बाँडेर जुवाडे अर्को जुवाको खालमा जान्थे । कुनै कुनै व्यक्तिले ३-४ पटक लगातार जितेपछि पछि हारिन्छ भनेर जुवाको खालबाट बाहिर निस्कन्थे । यस्तो गर्न पाइन्न भन्दै हारेका व्यक्तिहरूसँग झगडा गर्थे अनि खेल्न बाध्य गराउँथे । अधिकांश जुवाडेहरुको ‘ मार्यो... अनि इस् मारिस् ’ भनिरहँदा स्वर सुकेर सासले बोल्नुपर्ने अवस्थाका हुन्थे । त्यतिबेला देउराली, गैंडा तथा याक चुरोट थिए । फिल्टर चुरोट याक मात्र थियो । कौडा खेल्दै, याक चुरोट तान्दै गरेको देख्दा लोभ लाग्दथ्यो । सामान्य व्यक्तिले देउराली र मध्यम व्यक्तिले गैंडा चुरोट तान्थे । जुवा खेल्ने रातभर खेल्थे । बुवाआमाले म र किशोरलाई राति जुवा हेर्न जान निषेध गर्नुभएको थियो । कहिलेकाँही ठूला मान्छेसंग जान्थ्यौं अनि मैन्टोलको उज्यालोमा जुवा हेथ्र्यों । खाल खालि भएको बेला हामी पनि खेल्थ्यौं । म चौका र पंजा दाउ पाए मात्र खेल्थें । त्यो बेला पैसा हुदैनथ्यो । बढीमा ५ – १० रुपियाँ राखेर खेलिन्थ्यो । कहिलेकाँही ५० – १०० रुपियाँ जित्दा पनि संसार जितेजस्तो लाग्थ्यो । बहिनीहरुलाई जितौरी दिइन्थ्यो । आज जितेको पैसा भोलि हारिन्थ्यो । जुवामा खेल्नेको होइन खेलाउनेको मात्र जित हुन्छ । जुवा ठूलो नशा हुँदोरहेछ । अझ त्यसमा रक्सी मिसिएपछि निमको रुखमा चढेको करेलोजस्तै हुँदोरहेछ । आफुसंग भएको सम्पूर्ण पैसा हारेपछि एकदम महँगो ब्याजमा सापटी मागेर खेल्नु सामान्य थियो । त्यो पनि हारेपछि हातमा लगाएको ‘ घडी तथा औंठी हान् ‘ भन्दै दाउमा राख्थे । रातको घनत्वसंगै केहि जुवाडेले खेत हारेको, घर हारेको, घोंडा हारेको, खेत बन्धकीमा राखेको, आफ्नो श्रीमती तथा छोरीका गहना हारेको तथा आफ्नो पसलसमेत हारेको नमिठो खबर बिहान सुनिन्थ्यो । खतरनाक रुपमा जुवा खेल्ने जुवाडेको परिवार रातदिन तनावमा रहन्थे । उनीहरुको लागि तीहार हार मात्र हुन्थ्यो । टिका लगाउने दिनमा समेत जुवा खेल्नेहरु भूमिगत खालमा हुँदा उनीहरुका दिदीबहिनी रोएर तीहार बिताउँथे । *** लक्ष्मीपुजाको दिन कौसी, क्याम्पा, पालिको माथि, घरको ढोका, घरबाहिरको पर्खाल आदि ठाउँमा दर्जनौं दियो बाल्नुहुन्थ्यो बुवाआमाले । हामीले पनि दियो राख्ने रहर गर्थ्याैं । हाम्रो घरबाट पारि झलमल्ल देखिने माइला साहुको घर, धनार्जी, खयरठाँटी, बुल्म, इश्मा, अम्मरपुर, अर्जे आदिबाट पनि हाम्रो घरका दियो देखेका होलान् भनेर कल्पना गथ्र्यौं । त्यो बेला मैनबत्ती, बिद्युत थिएन । गोबर्धन पुजाको दिन गाईको गोबरमा फूल, पात, चामलको पिठोको बसुधारा तथा टिका लगाएर सिंगार्ने चलन थियो । त्यो दिन बुवाआमाले तिहारका रोटी पकाउनुहुन्थ्यो । ठकने रोटी, सेल, फिनी, अर्सा, अनारसा, बटुक, फुलौरा, पपरा, झिलंगा लगायतका बिबिध रोटी पकाइन्थ्यो । मलाइ ठकने रोटी, फिनी तथा खुदो मिसाएर बनाएको अनारसा बिशेष लाग्थ्यो । बुवाआमाले झालमै पाकेर पटपटी फुटेका राता राता र काला काला मादल जत्रा काँक्रा काटेर अचार बनाउनुहुन्थ्यो । हामीले भने भित्रको अमिलो गुदी खान्थ्यौं अनि कांक्राका बियाँ जम्मा गथ्र्यौं । कांक्राका बियाँ खायो भने पेटमा काँक्रो उम्रिन्छ अनि फल्छ भन्ने शंका लाग्थ्यो । *** लक्ष्मीपूजादेखि साँझमा भैलो तथा देउसी खेल्ने चलन थियो । हाम्रो गाउँ धुर्कोटमा पुरुषले भैलो खेल्थे भने महिलाले देउसी खेल्थे । धेरैजसो केटाकेटीको टिममा मादल हुदैनथ्यो । भट्याउने, पैसा माग्ने, भनेजति पैसा पाए प्रशंशा गर्ने तथा थोरै पैसा पाए गाली गर्दै जाने गर्दथे । भैलो कथानक रुपमा भट्याउने चलन थियो । कथा यस्तो हुन्थ्यो – सूर्य भगवानका छोराछोरीमध्ये यमराज यमलोकमा थिए भने यमुना पृथ्वीलोकमा थिइन् । बहिनीको निम्तोलाई स्वीकार गरेर यमराज पृथ्वीमा ५ दिनसम्म बसेको हुँदा त्यो समयलाई यमपन्चक भनिन्छ । बहिनी यमुनाकहाँ टिका लगाउँ यमराज जाँदा कालिनागले बाटो छेकिन् । यमराजले कालिनागलाई म बहिनीको हातको टिका लगाएर आउंछु अनि मलाइ खालास् भनेर बाचा गरेर अघिं बढे । त्यसपछि पाटेबाघले यमराजको बाटो छेक्यो । यमराजले पाटेबाघलाई पनि त्यहि बाचा गरे । यमुनाले टिका लगाएर दाइका सत्रु नाश हुन् भनेर ओखर फोडिन् । त्यसपछि यमराजलाई यमुनाले नडराई जानुहोस् दाइ, मैले तपाईंका सत्रु फोंडे भनेपछि यमराज घोडा लिएर फर्किए । बाटोमा पाटेबाघ मरेको देखे अनि कालीनाग पनि मरेको देखे । यसरी यमराज सकुशल घर पुगे । पाताललोकमा रहेका बली महाराजले दश दिक्पाललाई ५ दिनको लागि पृथ्वीमा पठाएका हुन्छन् । त्यसैले हामी त्यसै आएनौँ बली राजाले पठाएका भन्ने प्रसंग समेत जोडेर देउसीभैलो कथानक बनाउने गथ्र्यौं । भैलो र देउसीमा बाल्यकालमा म र किशोर भाइ पनि भैलो खेल्न जान्थ्यौं । हाम्रो टिममा मित्रहरु लालबहादुर कुँवर, दीपक भण्डारी, अनन्त भण्डारी, तुलसी भण्डारी, महेन्द्र भण्डारी, किशोर, कृष्ण, खिमा भाइ, भुवन दाइ, केशब, टिका, धनिश्वर, शिब, मुरारी, शैलेन्द्र लगायतका हुन्थ्यौं । हामीले पालोसंगै भट्याउने गथ्र्यौं । धेरैजसोले एक, दुइ रूपियाँ दिन्थे । कुनै व्यक्तिले पांचको नयाँ नोट दियो भने झुपडीलाई पनि हामीले भन्थ्यौं – यो घर कत्रो ? सिंहदरवार जत्रो । तर हामीले सिंहदरवार देखेका थिएनौं । दाइहरुसंग भैलो खेल्दा उहाँहरुले पैसा जम्मा गर्नुहुन्थ्यो । रातभर खेल्दा पनि हाम्रो भागमा १-२ रुपियाँ मात्र आउंथ्यो । बाठा दाइहरु ! त्यो पैसा मैले आमालाई दिन्थें भने भाइले गाइ कि त्रिशुल खेलेर हार्थ्याे वा पिपलगेडी तथा राता मिठाइ किनेर खान्थ्यो । तिहारको टिकाको दिन सबैभन्दा विशेष लाग्थ्यो । बिहानै काफलपानी गएर नुहाएर आएपछि किशोर र म गलैंचामा बस्थ्यौं । बिमिरो, पात, दियो, रोटी लगायत ग्रह फाल्ने भनेर आमाले बाटोको छेउँमा राख्नुहुन्थ्यो अनि हाम्रो अगाडि कलश, दियो, फूल, दुबो, आँपका पात, पिपलका पात, प्रसाद, अगरबत्ती लगायतका पुजा सामग्री राख्नुहुन्थ्यो । यसरी दियो पुजन, गणेश प्रार्थना, कलश पुजन, अष्टचिरन्जीवीको पुजा, बिमिरा ९ ब्योरों ० को पुजा तथा यमराजको पुजन गरेर दैलोमा ओंखर राखेर ढुंगाले घजम्म ओखर फोड्ने अनि त्यता फर्केर नहेर्ने गर्नुहुन्थ्यो । हाम्रा सत्रु त कोहि पनि थिएनन् तै पनि आमाले बहिनीहरु सरिता र अमृतालाई घरको मूल ढोकाका ओखर फोड्न लगाउनु हुन्थ्यो । त्यसपछि बहिनीहरुले तेलको घेराले हामीलाई छेक्थे । मैले सोंच्थे – यति सानो तेलको घेरा नाघ्न नसक्ने कस्तो जेमराज होला ? पछि यहि बिषयमा सोंच्थे – यमराज अनुशाशित रहेछ । घेरा नाघ्न सकेपनि उसले नियम पालना गर्दोरहेछ । त्यसपछि बहिनीहरुले कपालमा तथा कानमा तेल लगाउने, काइयोंले कपाल कोरिदिने तथा दही खुवाउने गर्थे । बहिनीहरु साना थिए । त्यसैले आमाले चामलको पिठो बहिनीहरुको बुढी औंलामा राखेर हाम्रो निधारमा सेतो धर्को बनाउनुहुन्थ्यो अनि बहिनीका अन्य औंला वा अगरबत्तीमा सप्तरंगी टिका बसाल्न सहयोग गर्नुहुन्थ्यो । त्यसपछि बहिनीहरुले सयपत्री, मखमली तथा हजारी फूलका माला लगाइदिन्थे । मखमली फूलको पगरी तथा ढाकाको टोपी लगाइदिन्थे । किशोर र म हेराहेर गरेर हाँस्थ्यौं, मख्ख पथ्र्यों । बुवाले बहिनीहरुलाई दिर्घायु, आरोग्य तथा यशको आशिर्बाद देऊ भन्नुहुन्थ्यो । टिका तथा माला लगाएपछि ठूला चिउरीका पातका टपरीमा अघिंल्लो दिन पकाएका सेलरोटीका परिकार, अचार, फलफूल, नरिबल, मिश्री, दहि आदि हाम्रो अगाडि राखिदिन्थे । हामीले बुवाले दिनुभएका पैसा दक्षिणाको रुपमा बहिनीलाई दिन्थ्यौं अनि ढोग गथ्र्यौं । त्यसपछि आफ्नो भागका मिठा कुरा खाएर बाँकी पछिको लागि राख्थ्यौं । कुनै वर्ष बुवाको दिदीको घरमा गएर टिका लगाउँथ्यौं । फुपुले हामीलाई असाध्यै माया गर्नुहुन्थ्यो । जबर्जस्ती थपेर खाना खुवाउनुहुन्थ्यो । गतबर्ष उहाँको निधनले हाम्रो एउटा स्तम्भ भाँचिएको महशुष गरेका छौं । तीहार सकिएपछि सुरुसुरुमा त खासै फरक पर्दैनथ्यो । तर पढ्न आएदेखि भने अब काठमाडौं जानुपर्छ भनेर मन निकै खल्लो हुन्थ्यो । तीहारको टिकापछि पुर्णिमासम्म ठूला मान्छेहरुको भैलो सुरु हुन्थ्यो । आफ्रको टोली तथा बुल्मको टोली मुख्य थिए । मादल, झ्याली र मुरली बजाउंदै उनीहरु कहिलेकाँही आधा रातमा खेल्न आउंथे । आँखा मिच्दै उठेर क्याम्पाबाट भैलो हेथ्र्यों । पुरुष तथा महिलाको भेषमा पनि पुरुष नै हुन्थे । पुरुषको भेषमा आउनेले सेतो फेटा, रातिमा पनि कालो चस्मा, माला तथा खुकुरी भएको टोपी लगाएका हुन्थे । उनीहरुले मादल, झ्याली तथा बाँसुरी बोकेका हुन्थे । महिलाको भेष धारण गरेका पुरुषले रातो फेटा बाँधेका तथा हातमा रुमाल समाएका हुन्थे । मादल एबम अन्य बाजासहित १२-१५ जनाको टोली आउंथ्यो । उनीहरु पहिले भैलो खेल्थे अनि मारुनी नाच नाच्ने गर्दथे । कतिपय टोलीले बाँसुरीले भट्याउने तथा अरु सबैले भैलो भन्थे । कुनै समुहले कथानक भैलो भट्याउँथे । भट्याउने काम सकिएपछि पहिले बिस्तारै बिस्तारै नाचगान हुन्थ्यो भने नाचगानको गति तीब्र हुँदै गर्दा बस्दै र उठ्दै र मादल ठोक्दै धुलो उडाउँथे । बाजाको उत्कर्षमा हेर्दै रिंगटा लाग्ने शैलीमा फनफनी नाच्दथे । उनीहरुका गीत यस्ता हुन्थे - आयौं महाराजै हजुरको नामै सुनी ए हजुरको नामै सुनी, हजुरको नामै सुनी आयौं माहाराजै... पूर्वको मादले पश्चिमैको मारुले समयमै होइ जाउँला भेट सम्झिरहे मारुले समयमै होइजाला भेट ढुकुरले ल्यायो समिचार, तिम्रा मनको गुनासो ए नानी नबोलेको भयो दिन चार (मादलेहरु र मारुलेहरु नाच्ने र अरुले उभिएर गीत झिक्ने, त्यहि गीत नाच्नेले गाउँदै नाच्दै गर्ने ) आ... शिरै लाउनै शिर्फुला परेवालाई सुहायो, भूल पर्यो परेवा भूल पर्यो परेवा, भूल पर्यो परेवा हो फर्की हेर परेवा गाजलु आँखै भूल पर्यो परेवा... नाकै लाउने नथिया, कानै लाउने कुण्डलु (गर्रा नाच्ने – मुरलीको धुनमा एउटा मादले र एउटा मारुले बिस्तारैबाट छिटोछिटो पहिले उभिएर त्यसपछि बसेर अनि सुतेर नाच्ने) शिरै लाउने शिरफूला यसै राजैले बेची खायो यसैमा राजाको आशा मलाइ छैन चलिजाउँ माइतीको देश नाकै लाउने नथिया, कानै लाउने कुण्डलु गलै लाउनी हैकलु, यसै राजैले बेची खायो (राजै आफ्नो श्रीमान) भैलो सकिएपछि जति धेरै पैसा दिएपनि निकै बार्गेनिंग गरेर अधिकतम पैसा लिने प्रयास गर्दथे । पैसा दिंदा सुपोमा चामल, सेलरोटी, फलफुल, दियो आदि राखेर दिने चलन थियो । आधारातमा भैलो खेल्न आउँदा तथा बार्गेनिंग गर्दा अलिअलि नरमाइलो लाग्थ्यो । तर उनीहरुको भैलो र नाच बेजोड हुन्थ्यो । दक्षिणा पाएपछि उनीहरुले नाच्दै यसरी आशिक दिन्थे ( कांसझैँ फुली गए, बाँसझैं नुही गए, यो घरमा लक्ष्मीले बास गरुन, पन्च भाइले दिएको आशिक भरिपूर्ण भैयो जाओस् । पहिले भैलो तथा तीहार गीत धार्मिक एबम सांस्कृतिक बिशेषताको हुन्थ्यो भने पछि सामाजिक तथा राजनैतिक मुद्दा पनि भैलोको बिषय बन्न थाले । त्यस्तै पहिले महिलाको भेषमा पुरुष खेल्थे भने पछि महिला नै खेल्न थाले । पहिले साना केटीहरुमात्र देउसु रे खेल्थे भने पछि बयस्का पनि देउसु रे खेल्न थाले । त्यस्तै पहिले भैलो र देउसी खेलेपछि उठेको पैसाले पिकनिक जाने चलन थियो भने पछि सामाजिक कार्यको लागि पैसा उठाउने अभियानको रुपमा देउसीभैलो खेल्न थालियो । जसले दिन्छ मुठी, उसको सुनको गुठी जसले दिन्छ मानो, उसको सुनको छानो जसले दिन्छ पाथी, उसको सुनको छाती जसले दिन्छ मुरी, उसको सुनको धुरी भैलिनी आइन् आँगन, गुन्यूचोली माग न हे औंशीबार, गाईतिहार भैलो । हामी त्यसै आएनौँ, बली राजाले पठाको... भैलोमा यो भट्याउँदा म एकदम कन्फ्युज हुन्थें । मुरी दिए, सुनको धुरी मात्रै तर मानो दिए सुनको छानो भनेपछि मानो दिंदा फाइदा हुँदोरहेछ भन्ने लाग्थ्यो । अझ मुठी दियोभने सुनको गुठी पाउँदा धेरै फाइदा हुँदोरहेछ भन्ने लाग्थ्यो । यो अंकगणित नबुझेर म अलमल हुन्थें ।
गुलियो कति खाने ?
यतिबेला हामी तिहार पर्व मनाइरहेका छौँ । तिहारमा हामीले पकाउने सेल रोटी, फिनी, अर्सा, अनारसा, झिलंगी आदि घ्यू वा तेलमा पकाउने भएकाले त्यसमा स्वभावतः चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ । अहिले सेल रोटी वा अन्य परिकारहरु घरमा पकाउने भन्दा पनि बजारबाट खरिद गर्ने चलन सुरु भएको छ भने सेल रोटीको ठाउँमा अन्य मिठाईंसमेत प्रयोग गर्न थालिएको छ । उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल, मोटोपना, हृदयघात, मस्तिष्कघात, थाइरोइड, क्यान्सरजस्ता जटिल स्वास्थ्य समस्याहरूको शुरुआत ‘इन्सुलिन रेजिन्स्टेन्ट सिन्ड्रोम’ हो र यो गुलियो धेरै खाँदा उत्पन्न हुन्छ । त्यसैले चाडवाडको बेला धेरै परिकारमा गुलियोको प्रयोग हुने हुँदा शरिरमा चिनीको मात्रा बढ्न गई कोलेस्टेरोल बढाउँछ, रक्तचाप/मधुमेह/अम्लपित्त आदिको समस्या ल्याउन सक्दछ । हाम्रो समाजमा एउटा प्रचलित भनाइ छ– ‘रातो राम्रो गुलियो मीठो ।’ सबैलाई मीठो खान मन पर्छ । धेरैलाई गुलियो खानेकुरा मीठो लाग्छ । मीठो भनेकै गुलियो हो भन्ने धेरैजनाको बुझाइ पाइन्छ । स्वास्थ्यका दृष्टिकोणले गुलियो खानेकुरा कति लाभदायी छ र यो कति खाने भन्ने बारे यहाँ सङ्क्षेपमा वर्णन गर्ने प्रयास गरिएको छ । ‘गुलियो’ एउटा स्वाद हो । यो स्वाद चिनी मिसिएका खानेकुरामा पाइन्छ । प्राकृतिक स्रोतबाट बनेको चिनी फलफूल, तरकारी र अन्नहरूमा पाइन्छ । उद्योगहरूले उत्पादन गर्ने चिनी कृत्रिम हो र यो धेरै प्रकारको हुन्छ । मीठो स्वाद दिनका लागि हामीले चिया, कफी, दूध, सर्बत, रोटी, मिठाईलगायत धेरै खानेकुराहरूमा चिनी मिसाउने गर्दछौँ । उद्योगहरूले उत्पादन गर्ने तयारी खानेकुराहरू जस्तै– बिस्कुट, केक, कुकिज आदि र बोतलमा बन्द गरिएका पेय पदार्थहरू जस्तै–कोक, फ्यान्टाहरूमा धेरै मात्रामा चिनी मिसाइएको हुन्छ । यस्ता गुलिया खानेकुराहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् । चिनी कार्बोहाइड्रेट्स समूहको खाद्यपदार्थभित्र पर्दछ । चिनीका विभिन्न रूप र नामहरू छन् । ती हुन्– ग्लुकोज, फ्रुक्टोज, सुक्रोज, डेक्सट्रोज, ल्याक्टोज, गालाक्टोज, माल्टोज, सेलुलोज आदि । यिनीहरूमध्ये ग्लुकोज, फ्रुक्टोज र गालाक्टोज अलि हलुका र साधारण प्रकृतिका चिनीहरू हुन्, जसलाई मोनोस्याकाराइड भनिन्छ । यिनीहरू सजिलै पानीमा घुलिन्छन् र यिनीहरूबाट तुरुन्तै ऊर्जा प्राप्त हुन्छ । अलि गह्रुङ्गा र जटिल प्रकृतिका चिनीहरूको समूहमा सुक्रोज, ल्याक्टोज, माल्टोज, सेलुलोज, स्टार्च आदि पर्दछन् । यिनीहरू दुई वा सोभन्दा बढी मोनोस्याकाराइड मिलेर बनेका हुन्छन् । जस्तै– ग्लुकोज र फ्रुक्टोज मिलेर सुक्रोज बन्दछ । ग्लुकोज र गालाक्टोज मिलेर ल्याक्टोज बन्दछ । यस्तै प्रकारले दुईवटा ग्लुकोज मिलेर माल्टोज बन्दछ । यी जटिल चिनीहरू हाम्रो शरीरभित्र पाचनरसको असरबाट ग्लुकोजमा टुक्रिन्छन् । मह, फलफूल र तरकारी प्राकृतिक चिनीका महत्ववपूर्ण स्रोतहरू हुन् । उखुमा सुक्रोज हुन्छ । उखुलाई पेलेर यसबाट निस्किएको रसलाई प्रशोधन गरी उद्योगहरूले चिनीको उत्पादन गर्दछन्, जुन टेबल चिनीको रूपमा सबैको घर–घरमा पुग्दछ । यो चिनीलाई चिया, रोटी, मिठाई, पेयपदार्थ आदिमा मिसाई मीठो मानेर खाइन्छ । ल्याक्टोज यस्तो चिनी हो, जुन वनस्पतिबाट निकाल्न सकिदैन । यो दूधमा मात्र पाइन्छ । विश्वमा मान्छेले अत्यन्तै ठूलो मात्रामा चिनीको खपत गर्दछन् । एउटा व्यक्तिले बर्सेनि सरदर २४ किलो चिनी खपत गर्दछ । अमेरिकीहरूले यसको दोब्बर मात्रामा अर्थात् बर्सेनि ५० किलोसम्म चिनीको खपत गर्दछन् । धेरै मात्रामा चिनीको उपभोग गर्नाले मोटोपना, मधुमेह, मुटुरोगजस्ता स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छन् । विश्वमा चिनी नखाने कुनै जात, वर्ग, लिङ्ग छैन । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार प्रत्येक व्यक्तिले आफूलाई आवश्यक दैनिक ऊर्जा (क्यालोरी) को पाँच प्रतिशतसम्म मात्र चिनीको उपभोग गर्नुपर्दछ । यो भनेको दुई हजार क्यालोरी ऊर्जा चाहिने व्यक्तिले एक सय क्यालोरीसम्म ऊर्जा दिने मात्रामा चिनी खानुपर्छ । एक ग्राम चिनीले चार क्यालोरी ऊर्जा दिन्छ । २५ ग्राम चिनीले एक सय क्यालोरी ऊर्जा दिन्छ । २५ ग्राम भनेको पाँच चिया चम्चा हो । यस प्रकार दुई हजार क्यालोरी ऊर्जा बराबरको खाना खाने व्यक्तिले दैनिक पाँच चिया चम्चासम्म मात्र चिनीको उपभोग गर्नु स्वास्थ्यवद्र्धक मानिन्छ । यसभन्दा बढी चिनीले विभिन्न रोग उत्पन्न गराउन सक्छ । हामीले एक कप चियामा दुई चम्चा चिनी हाल्छौँ । दिनमा ४–५ कप चिया खाँदा ८–१० चम्चा चिनी हुन जान्छ । पाँच सय मिलिलिटरको मझौला कोकाकोलामा १२ चम्चा चिनी हुन्छ । आधा कप आइसक्रिममा पाँच चम्चा चिनी हुन्छ । एउटा रसवरी वा लालमोहनमा चार चम्चा चिनी हुन्छ । यस प्रकार हामीले सजिलै बुझ्न सक्छौँ कि विचार नगरी खाने हो भने हामीले आवश्यकभन्दा धेरै गुणा बढी मात्रामा चिनी खाइराखेका हुन्छौँ । यसैको एउटा नतिजा हो नसर्ने रोगहरू जस्तै– अति मोटोपना, मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मानसिक रोग आदि बढ्दै जानु । चिनी, पाचन प्रणाली र इन्सुलिन खानाको रूपमा मुखभित्र पसेपछि विभिन्न पाचनरस (इन्जाइम) को असरबाट जटिल चिनी साधारण चिनीहरूमा टुक्रिन्छन् । ल्याक्टोजलाई ल्याक्टाजले, माल्टोजलाई माल्टाजले र सुक्रोजलाई सुक्राजले टुक्र्याइदिन्छ । यिनीहरूबाट शरीरमा ग्लुकोज, फ्रुक्टोज र गालाक्टोज बन्दछन्, जसले ऊर्जा प्रदान गर्दछन् । अन्तिममा गएर गालाक्टोज पनि ग्लुकोजकै रूपमा परिवर्तन हुन्छन्, जुन शरीरले ऊर्जाको रूपमा प्रयोग गर्छ । प्रयोग नभएको ग्लुकोज, फ्रुक्टोज र गालाक्टोज कलेजो र मांसपेशीमा सञ्चित भएर रहन्छन् । यिनीहरू अत्यधिक मात्रामा जम्मा भएमा बोसोमा परिवर्तन भई पेट र अन्य भागहरूमा जम्मा हुन्छन् । ग्लुकोजलाई ऊर्जामा परिवर्तन गर्न इन्सुलिन नामक हर्मोनको आवश्यकता पर्दछ । इन्सुलिनले ग्लुकोजलाई कोशिकाभित्र पठाउन मद्दत गर्छ, जहाँ ग्लुकोजबाट ऊर्जा उपन्न हुन्छ । इन्सुलिन भएन भने ग्लुकोज कोशिकाभित्र पस्न सक्दैन र रगतमै जम्मा भइरहन्छ । ग्लुकोजको मात्रा रगतमा बढ्दै जाने रोगलाई मधुमेह भनिन्छ । चिनीको लतको जोखिम रक्सी र चुरोटमा जस्तै चिनी, गुलियो खानेकुराहरू र प्रशोधित कार्बोहाइड्रेट्सयुक्त खानेकुराहरूमा पनि लत बस्छ । गुलियो वा कार्बोहाइड्रेट्स धेरै भएको खानेकुरा खाने बानी परेपछि त्यो खाइराख्न मन लाग्छ । चकलेट, आलु, केक, आइसक्रिम, बिस्कुट आदि खाने बानी परेपछि यसमा लत बस्छ । यस्तो लत हिजोआजका बालबालिका र युवायुवतीहरूमध्ये धेरैमा बसेको देखिन्छ । लत बसेको खानेकुरा छिन्–छिन्मा खाइराख्न मन लाग्छ । यस्तो लतले शारीरिक तथा मानसिक दुवै प्रकारको स्वास्थ्य समस्या उत्पन्न गराउँछ । गुलियो खानेबित्तिकै यसलाई पचाउन शरीरमा इन्सुलिन निस्किन्छ । छिन् छिन्मा खाने बानीले इन्सुलिन पनि छिटो–छिटो निस्किनुपर्ने हुन्छ । यसो हुँदा शरीरमा धेरै मात्रामा इन्सुलिन जम्मा हुन पुग्छ र यसको काम गर्ने क्षमता कमजोर भएर जान्छ । इन्सुलिन थाक्छ । यसै समयमा तनावको हर्मोन अर्थात् कोर्टिजोल उत्पादन हुन्छ । गुलियो खाने बानीले तनाव उत्पन्न गराउँछ र पछि गएर मान्छे डिप्रेसनको सिकार हुन सक्छ । चिनी र स्वास्थ्य समस्याहरू के हुन सक्छन् ? गुलियो खानेकुरा खानै हुँदैन भन्ने होइन । स्वस्थ व्यक्तिले ठीक मात्रामा खाँदा गुलियोले खासै बेफाइदा गर्दैन । हाम्रो खानामा कार्बोहाइड्रेट्स बढी हुन्छ । हामीले दुई छाक भात खान्छौँ । यसैबाट प्रशस्त मात्रामा शरीरलाई चाहिने ग्लुकोज र ऊर्जा प्राप्त हुन्छ । यसमाथि थप गुलियो खाना वा चिनी खायो भने शरीरलाई चाहिनेभन्दा बढी ऊर्जा जम्मा हुन्छ, जसका कारण मोटोपना बढ्छ । आवश्यकभन्दा बढी क्यालोरी खाने गर्यो भने मोटोपना, मधुमेह, मुटुरोग, क्यान्सर, दाँतका रोगहरू, कलेजोमा बोसो जम्ने, मानसिक तनाव, डिप्रेसन जस्ता स्वास्थ्य समस्याहरू उत्पन्न हुने सम्भावना बढेर जान्छ । शरीरलाई आवश्यकभन्दा बढी क्यालोरी दिने खाना नखाने र आहारलाई सबै थरीका पौष्टिक तङ्खवहरूसहितको सन्तुलित बनाउने प्रयास सबैले गर्नुपर्छ । मोटोपना घटाउनका लागि गुलियो खान छोड्नुपर्छ । यस्तै प्रकारले मधुमेह रोगबाट पीडितहरूले पनि क्यालोरीको हिसाब गरेर कम कार्बोहाइड्रेट्सयुक्त खाना खानु उचित हुन्छ । मुटुरोगीहरूका लागि चिल्लोभन्दा गुलियो खाना बढी हानिकारक हुन्छ । धेरै मानिसलाई चिल्लो पदार्थ रक्तनलीमा गएर जम्छ र हृदयघात हुन्छ भन्ने भ्रम भएको पाइन्छ । वास्तवमा भन्ने हो भने धेरै गुलियो खाएर यसबाट शरीरभित्र बन्ने बोसोले हृदयघातको सम्भावनालाई बढाउँछ । खानामा भएको खराब चिल्लो (ट्रान्स फ्याट) ले अवश्य हानि गर्दछ तर असल चिल्लो (घिउ, दूध, दही, माछा, मासु) आदि ठीक मात्रामा खाँदा स्वास्थ्यलाई फाइदा गर्छ । यस कारण भनेको हो– घिउ खान डराउनु पर्दैन, बरु चिनी खान डराउनुपर्दछ । हिजोआज धेरैलाई नसर्ने रोगहरूको समस्या छ । गुलियो र प्रशोधित कार्बोहाइड्रेट्स धेरै भएको खाना खाएमा रोग लाग्ने सम्भावना बढ्छ । स्वस्थ रहन सन्तुलित भोजन लिनुका साथै चिनी मिसाइएको र प्रशोधन गरिएको कार्बोहाइड्रेट्सयुक्त खाना सकेसम्म कम मात्रामा उपभोग गर्नुपर्दछ । रासस (लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्)