दक्ष जनशक्ति उत्पादन, सदुपयोग र उत्पादकत्व
राष्ट्रको सर्वाङ्गीण क्षेत्रको द्रुत दिगो विकासका लागि दक्ष जनशक्तिको निकै ठूलो भूमिका हुन्छ । समृद्धि हासिल गर्ने सबैभन्दा महत्त्वपूर्ण पूर्वाधार दक्ष जनशक्ति हो जसबिना अन्य पूर्वाधार निर्माण सम्भव छैन । उर्वर दक्ष जनशक्तिको सही सदुपयोग हुन सकेमात्रै छोटो समयमा देशको रूपान्तरण सम्भव छ । हाम्रो देशमा अथाह स्रोत सम्पदा छ । जडीबुटी तथा कृषि उत्पादनमा क्रान्ति गर्न र उद्योगधन्दाको लागि आवश्यक पर्ने जमिन पनि छ । विकास गर्नको लागि पुँजीको पनि खासै कमी छैन । तर दक्ष जनशक्तिको अभावका साथै उपलब्ध जनशक्तिको सही व्यवस्थापन र सदुपयोग हुन नसक्दा राष्ट्रले समृद्धि हासिल गर्न सकेको छैन । देशमा सिर्जनशीलता र रोजगारीको वातावरण नहुँदा उपलब्ध उर्वरशील जनशक्ति विदेश पलायन भइरहेको छ । दक्ष र सिर्जनात्मक जनशक्तिको अभाव तथा शोषक र विध्वंशक शक्तिको अधिकताले देशको समृद्धि हुन सक्दैन । दक्ष जनशक्ति राष्ट्र विकासको आधार स्तम्भ भएकाले राज्यले यसमा ठूलो लगानी गर्नुपर्छ । उद्योग, व्यापार, व्यवसाय, व्यवस्थापन वा अन्य पूर्वाधार निर्माण आदिमा हामी ठूलो धनराशि खर्च गर्छौं । तर सम्बन्धित क्षेत्रको विशिष्ट सैद्धान्तिक तथा व्यावहारिक ज्ञान बिनाको अर्थ लगानीबाट आशातित प्रगति हासिल गर्न सक्दैनौं । वित्तीय वा रणनीतिक व्यवस्थापन, ठूला पूर्वाधार निर्माण आयोजना, जलविद्युत आयोजना वा देशको मुहार परिवर्तन गर्न सक्ने आयोजनाहरू, विज्ञान प्रविधि सम्बन्धी कार्यहरू तथा सामान्य प्राविधिक आदि काममा विदेशी दक्ष जनशक्तिको भर पर्नुपर्ने स्थिति छ । पैसाको कमीले देशको विकास हुन नसकेको भन्ने हामीमा गलत धारणा छ । सकारात्मक सिर्जनात्मक सोच तथा हामीसँग भएको अमूल्य मणि चिन्ने र सदुपयोग गर्ने ज्ञानको अभावले हामी धनी बन्न नसकेका हौं । हाम्रोजस्तो अथाह स्रोत सम्पदाको भण्डार विश्वका अन्य देशमा सायद दुर्लभ नै होला । सकारात्मक सोच, नेतृत्वको दृढ इच्छा शक्ति, जनउत्तरदायी शासन प्रणाली, राष्ट्रको स्रोत सम्पदा अनुसार उपयुक्त नीति र दक्ष जनशक्ति आदिको सही सम्मिश्रण र सदुपयोग हुने हो भने हाम्रो देश एक दशक भित्रमा विश्वकै नमूना विकसित देश बन्न सक्छ । सन १९७०–८० को दशकमा आर्थिक रूपले जर्जर भइरहेको भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले विदेशमा रहेका भारतीय दक्ष नागरिकहरुलाई राष्ट्रको विकास निर्माणमा योगदान गर्न आह्वान गरेकी थिइन् । मनमोहन सिंहको नेतृत्वमा अर्थतन्त्र सुधारको काम थालनी भएको थियो । फलस्वरूप १९९० को दशकदेखि राजनैतिक अस्थिरताका बाबजुद पनि इन्डियाको अर्थतन्त्रले गति लिएको थियो । हामीहरूले पनि विदेशमा छरिएर रहेका नेपाली दक्ष तथा अर्धदक्ष जनशक्तिलाई ससम्मान भित्र्याएर तिनीहरूको दक्षताको उपयोग गरी सबै नेपालीहरूलाई दक्ष बनाउने महान कार्यको थालनी गर्नुपर्छ । थप जनशक्ति आवश्यक परेमा दक्ष विदेशीलाई भाडामा ल्याएर भए पनि देश विकास कार्यमा पछाडि पर्नु हुँदैन । जलस्रोतको समूचित उपयोग, बहुमूल्य जडीबुटी, कृषिका साथै अति उपयोगी मूल्यवान प्राकृतिक धातुहरू र ग्यासहरूको व्यावसायिक उत्पादन गर्न सकिने हो भने नेपालको समृद्धिलाई कसैले रोक्न सक्दैन । तर देशमा विद्यमान प्राकृतिक श्रोत सम्पदाको आवश्यक अध्ययन अनुसन्धान, त्यसमा आधारित वस्तुहरूको उत्पादन तथा प्रशोधनका लागि आवश्यक दक्ष जनशक्तिको चरम अभाव छ । विदेशमै वा स्वदेशमै अध्ययन गरेका केही सीमित क्षेत्रका सीमित जनशक्तिको विज्ञताको पनि खासै उपयोग गर्न सकिएको छैन । जल सम्पदामा ब्राजिल विश्वमै उत्कृष्ट देश भए पनि त्यसको समूचित उपयोग हुन नसक्दा खासै प्रगति गर्न सकेको छैन । नाइजेरियासँग पनि अथाह प्राकृतिक सम्पदा छ तर पनि देशको अवस्था गतिलो छैन । हाम्रो छिमेकी देश चीनले चमत्कारिक प्रगति गर्नुको आधार नै सिर्जनात्मक सोच, नेतृत्वको दृढ इच्छाशक्ति र उच्च मनोवलका साथ काम गर्ने पर्याप्त दक्ष जनशक्तिको समूचित व्यवस्थापन हो । उर्वर जमीन, जंगल, जडीबुटी, जलस्रोतका साथै जमिनको गर्भमा रहेका बहुमूल्य खनिज सम्पदा आदिका दृष्टिले हाम्रो देश कुवेरको अलकापुरी भए पनि विदेशबाटै आयात गरिएका खाद्यान्न, लुगाफाटो र आवश्यकीय सामग्रीहरूबाट गुजारा गर्नु परेको अवस्था छ । दलका जिम्मेवार व्यक्तिहरू वा नेतृत्व तहमा रहेकाहरूका अनुत्पादक गैरजिम्मेवार बोली व्यवहारले देशको उन्नति हुँदैन । असक्षम, अयोग्य र अदूरदर्शी भ्रष्ट शासन प्रणाली र अव्यावसायिक शिक्षा प्रणालीका कारण शैक्षिक संस्थाहरूबाट बर्सेनि उत्पादन हुने लाखौं जनशक्तिहरू बेरोजगार भइरहेका छन् । अर्थात शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने अखडा भएका छन् । विकास र विनाशको मुख्य कारक तत्व नै मानिस भएकाले साँच्चै विकास गर्न चाहने हो भने मरुभूमि पनि रंगीचंगी सुन्दर उद्यान बन्न सक्छ । विकासको स्पष्ट खाका कोरेर पर्याप्त दक्ष जनशक्तिको उत्पादन र उपयोग गर्नुपर्छ । देशको रूपान्तरणका लागि तयार पारिएको स्पष्ट कार्ययोजना अनुसार नतिजामूलक जिम्मेवारीसहित जनशक्तिको समूचित व्यवस्थापन गर्ने हो भने नेपाल विश्वकै लोभ लाग्दो रोजगारदाता देश बन्न सक्छ र नेपालको प्रगति पनि सगरमाथा झै विश्वमै सर्वोच्च हुनेमा कुनै शंका गर्नु पर्दैन । विद्यमान स्रोत सम्पदाहरूमा आधारित सैद्धान्तिक र प्राविधिक व्यावसायिक ज्ञान प्रदान गर्नेरगराउने कार्यको थालनी यथाशीघ्र गरिनुपर्छ । विसं २०४६ को प्रजातन्त्र पुनर्बहाली पश्चात सीएमए, एचए, फार्मासिष्ट आदि जनशक्ति उत्पादन गर्ने प्रााविधिक शिक्षालयहरू खुले झैं अब आर्थिक भू(विज्ञान, खानी अनुसन्धान, उत्पादन र प्रशोधन, जलविद्युत उत्पादन र वितरण प्रणाली, वैज्ञानिक धन्वन्तरी आयुर्वेद, व्यावहारिक कृषि उत्पादन र वन तथा वन पैदावार आदि क्षेत्रका दक्ष जनशक्ति उत्पादनका लागि पढाइ तथा व्यावसायिक तालिम नेपालमा यथासक्य छिटो शुरु गर्नुपर्छ । नेपाली अध्येता आफै वा नेपालमा अध्ययन अनुमति प्राप्त विदेशीहरूको सहकार्यमा गरिने अध्ययन अनुसन्धानका क्रममा संकलित भू(भौतिक नमूनाहरू सम्बन्धित अध्ययन संस्थाको जिम्मेवारी र सिफारिशमा विदेशका आधुनिक प्रयोगशालामा परीक्षणका लागि सोझै पठाउने व्यवस्था गर्नुपर्छ । यसरी निकासी हुने नमूनाहरूको प्रयोगशाला परीक्षणको नतिजा नेपालस्थित सम्बन्धित शैक्षिक संस्थालाई जानकारी दिने व्यवस्था पनि हुनुपर्छ । व्यावसायिक सम्भाव्यता परीक्षणको लागि नमूनाहरू निकासी गर्नुपर्ने भएमा सम्बन्धित निकायले आवश्यक सिफारिश गर्न सक्छ । अन्तर्राष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादनका लागि दक्ष विषय शिक्षक तथा प्रशिक्षक, आधुनिक प्रविधियुक्त आवश्यक यन्त्र उपकरणसहितको साधन सम्पन्न प्रयोगशाला तथा नतिजामुखी व्यावहारिक अध्ययनको व्यवस्था गर्नुपर्छ । अध्ययनरत जनशक्तिलाई कार्यानुभवको निमित्त सम्बन्धित क्षेत्रमा इन्टर्नशीपको व्यवस्था हुनुपर्छ । कार्य सम्पादनका आधारमा कार्यरत क्षेत्रका प्रशिक्षकद्वारा उचित मूल्यांकन गरेर अध्ययनरत संस्थालाई जानकारी गराउने व्यवस्था गर्नुपर्छ । देशमा उत्पादित सबै किसिमका आवश्यक दक्ष जनशक्तिको उपयोग गर्नुका साथै आवश्यक परेमा निश्चित अवधिका लागि विदेशी दक्ष जनशक्ति भाडामा लिएर भए पनि विकासको यज्ञमा होमिने हो भने छोटो अवधिमा देशको कायापलट हुनेछ । उन्नति प्रगतिका लागि आवश्यक सबै स्रोतरसाधन र दक्ष जनशक्ति उपलब्ध भए पनि त्यसको सही सम्मीश्रण र सदुपयोग हुन सकेन भने राम्रो नतिजा हासिल गर्न सकिँदैन । उपलब्ध जनशक्तिको सर्वोत्तम सदुपयोग गर्न सकियो भने मात्र उत्पादकत्वमा ज्यामितीय अभिवृद्धि हासिल गर्न सकिन्छ । आ(आफ्ना स्वार्थका लागि यहाँ कृषि विज्ञलाई वन विभागमा तथा वित्त विज्ञलाई जनशक्ति व्यवस्थापनमा पदस्थापन गर्ने गरिन्छ । त्यसैगरी निम्न तहको कर्मचारीलाई उच्च तहको दक्ष कर्मचारीभन्दा माथि पदस्थापन गर्ने कार्यलाई यहाँ सामान्य मानिन्छ । कर्मचारी संघरसंगठनका पदाधिकारीहरूले काम नगरे पनि इमान्दारीका साथ खटेर काम गर्ने कर्मचारीभन्दा अघि पदोन्नति हुने वा इच्छित ठाउँमा सरुवा गर्ने परिपाटी व्याप्त छ । पैसाको आडमा नियुक्ति, सरुवा, बढुवा आदिको दुष्चक्र पनि व्याप्त छ जसले गर्दा विद्यमान दक्ष जनशक्तिले पनि आफ्नो कार्य दक्षताको भरपूर उपयोग गर्न नसकी उत्पादकत्वमा ह्रास आइरहेको छ । उत्पादकत्वको अभिवृद्धिका लागि कार्यदक्षता बढाउनुका साथै उपलब्ध जनशक्तिको सही पदस्थापन, सही जिम्मेवारी र सही व्यवस्थापन अति महत्त्वपूर्ण हुन्छ । व्यवस्थापनको सिद्धान्तअनुसार अधिकतम उत्पादकत्व हासिल गर्नका लागि सही व्यक्ति, सही ठाउँमा, सही पदमा, सही समय र सही वातावरणमा पदस्थापन वा व्यवस्थापन गरिनुपर्छ । यो सिद्धान्तअनुसार जनशक्तिको समूचित व्यवस्थापन हुने हो भने अहिलेकै विद्यमान जनशक्तिबाट पनि निकै राम्रो नतिजा हासिल गर्न सकिन्छ । ऊर्जाशील युवायुवतीहरूलाई विदेशिनबाट रोकेर दक्षता र कार्यकुशलतामा अभिवृद्धि गरी तिनीहरुको श्रम स्वदेशमै सदुपयोग गर्नुपर्छ । देशको समृद्धिका लागि विदेशिएका जनशक्तिलाई आह्वान गरी राज्यले आवश्यक प्रभावकारी संयन्त्र बनाउनु पर्छ । नेतृत्वले सबै किसिमका जनशक्तिको भरपूर उपयोग गरेर यथाशीघ्र देशको चमत्कारिक रूपान्तरण गर्नुपर्छ । (लेखक पर्यटन व्यवसायी हुन्)
मुटु र दाँतको दुस्मन चिनी
चिनी खान जति गुलियो छ, उति नै स्वास्थ्यका लागि पनि हानिकारक छ । चिनी हाम्रो भान्छादेखि पूजाआजामा पनि प्रयोग हुने गर्दछ । भनिन्छ, चिनी धेरै खायो भने तीतो हुन्छ । स्वादमा मात्र होइन, यसले हाम्रो स्वास्थ्यमा पार्ने असरका दृष्टिले पनि उपयुक्त छैन । चिनीको प्रयोग धेरै वर्षअघिदेखि हुँदै आएको छ । करिब २५ सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु भयो र विस्तारै चीन, पश्चिम अफ्रिका, ब्राजिल हुँदै विश्वभर फैलियो । प्रारम्भमा चिनी उत्पादन गर्नु खर्चिलो हुने भएकाले धेरै महँगो पर्थ्यो र धनी मानिसहरूले मात्र चिनी प्रयोग गर्न सक्थे । राजा–महाराजालाई अन्य सुन र चाँदीका गहनाजस्तै गरेर चिनीलाई उपहारस्वरुप दिइने चलन थियो । जब संसारका विभिन्न ठाउँमा चिनीको उत्पादन हुन थाल्यो, तब आम मानिसले पनि यसको प्रयोग गर्न थाले । सन् १८८५ बाट चिनीको प्रयोग कोकाकोलामार्फत सुरु भयो । त्योबेला कोकलाई ‘ब्रेन टनिक’ अर्थात् मस्तिष्क तीक्ष्ण पार्ने वस्तु भनेर गलत प्रचार गरिएको थियो । चिनी बनाउने कम्पनीले मानव शरीरमा चाहिने ऊर्जा ग्लुकोजले दिन्छ र चिनी खाएपछि शरीरमा ग्लुकोज पुग्छ । शरीरमा स्फूर्ति आउँछ । अर्थात् जति खायो उति राम्रो भनेर प्रचारप्रसार गरे । तर जिब्रोको स्वादका लागि सेवन गरेको चिनी हानिकारक छ, यसले क्षणिक उत्तेजना दिए पनि दीर्घकालीन रुपमा भने मानव स्वास्थ्यमा असर पुर्याउँछ । सन् १९२८ मा ‘चिनी स्वस्थकर’ भनेर विज्ञापन नै सुरु भयो । गर्मीको समय सर्बतमा जाडोमा पेयपदार्थमा चिनी हालेर खाँदा रोग–प्रतिरोधात्मक शक्ति बढ्छ भनेर भ्रामक प्रचार गरियो । यस्तो विज्ञापनबाट प्रेरित भएर अमेरिकामा चिनीको प्रयोग बढ्न थाल्यो । विस्तारै त्यहाँ मोटोपन पनि बढ्न थाल्यो । चिनी कम्पनीहरुले अनुसन्धानकर्ता र स्वास्थ्यकर्मीलाई पैसाले गोजी भरिदिई ‘चिनी स्वस्थकर छ’ भनेर अनुसन्धानको निचोड निकाल्न लगाए र धेरै प्रचारप्रसार गरे । तर जनस्वास्थ्य विज्ञहरुले चिनीको खराबीको बारेमा बोल्न थाले । जब २०औं शताब्दीमा अमेरिकामा मधुमेह, फ्याटी लिभर, कब्जियत, अल्सर, ग्यास्ट्राइटिस र मोटोपन बढ्न थाल्यो र अस्पतालमा अनेक समस्या लिएर मानिसहरु आउन थाले, तब मात्र जनस्वास्थ्य विज्ञले भनेको कुुरामा विश्व समुदायले विश्वास गर्न थाले । चिनीले मानिसको मोटोपन बढाउने, मधुमेह गराउने र मुटुरोग लाग्ने भएकाले यसको प्रयोग कम गर्न विश्व स्वास्थ्य सङ्गठनले बोल्न आवश्यक छ’ भनेर केही जनस्वास्थ्य विज्ञहरूले सन् २००२ मा सुझाव दिएका थिए । त्यसपछि सो सङ्गठनले ‘हामीले खानाबाट प्रत्येक दिन प्राप्त गर्ने क्यालोरी (शक्ति) मध्ये १० प्रतिशतभन्दा बढी चिनीबाट लिनु हुँदैन’ भन्यो । अर्थात् हामीले लिने शक्तिको स्रोतमध्ये चिनी १० प्रतिशतभन्दा कम नै हुनुपर्छ र ९० प्रतिशत अन्य खानाको स्रोतबाट प्राप्त गर्नुपर्छ । यो कुरा प्रकाशमा आएपछि विशेषगरी अमेरिकाका चिनी उत्पादन गर्ने ठूला कम्पनीहरूले ‘विश्व स्वास्थ्य सङ्गठनले जनतामा भ्रम फैलायो’ भनेर आक्रोश पोखे । उनीहरूले विश्व स्वास्थ्य सङ्गठनलाई दिने सहयोग कटौती गर्ने निर्णय पनि गरे । साथै ती कम्पनीले अमेरिकाको सिनेटमा प्रभाव पारेर ‘चिनीले खराबी गर्ने कुरा प्रचार गरेमा विश्व स्वास्थ्य सङ्गठनलाई अमेरिकाबाट दिँदै आएको आर्थिक सहयोग रोकिदिने धम्की पनि दिन लगाए । चिनी उत्पादक कम्पनीहरूले भनेका थिए, ‘हामीले खानाबाट प्राप्त गर्ने दैनिक क्यालोरीमध्ये २५ प्रतिशतसम्म चिनीबाट प्राप्त गर्दा पनि हुन्छ ।’ तर जनस्वास्थ्य विज्ञहरूले यो कुरालाई अस्वीकार गरे र धेरै चिनीको उपभोगबाट जनस्वास्थ्यमा हुने हानिका बारेमा आम जनतालाई निरन्तर जागरूक गर्न प्रयत्न गरे । चिनीले मानिसको स्वास्थ्यमा कसरी खराबी गर्छ भन्ने विषयमा सन् १९७२ मा नै डा जोन युड्किनले ‘विषालु सेतो चिनी’ नामक अनुसन्धानात्मक पुस्तक प्रकाशित गरेका थिए । तर उनको यो अनुसन्धान र अनुभवलाई अमेरिकाका चिनी र चिनीजन्य गुलियो पदार्थ उत्पादन गर्ने कम्पनीले हावामा उडाउने कार्य गरेका थिए । साथै अपवाह फैलाउने कार्य हो भनेर विरोध पनि जनाएका थिए । तर हाम्रो भान्सामा दिनहुँ प्रयोग हुने यस्तो सेतो चिनी एक प्रकारकोे मन्द विष नै हो । कतिपय मानिसहरु ‘सेतो चिनी’ राम्रो होइन तर ‘खैरो चिनी’ चाहिँ स्वस्थकर हो भन्ने ठान्दछन् । वास्तवमा यो कुरा बिल्कुलै सही होइन । प्रारम्भमा चिनीका बारेमा लेख्ने अनुसन्धानकर्ताले मुसामा चिनीको विभिन्न तरिकाले प्रयोग गरेर अध्ययन गरेका थिए । सो शोध अध्ययनअनुसार चिनी प्रयोग गरिएका मुसाहरुमा मुटुरोग, बिर्सने रोग र बाथको रोग बढेको पाइयो । चिनीले मानिसमा पनि विभिन्न किसिमका रोग उत्पन्न गर्ने कुरा अनुभव र अनुसन्धानले सिद्ध गरिसकेको छ । परम्परागत भोजनशैलीमा परिवर्तन भएकाले चिनीको उपभोग धेरै भएको पाइन्छ । हामी बिहान उठेदेखि बेलुकासम्म अनेक तरिकाले चिनी उपभोग गर्छौं । उदाहरणको लागि चिया, दूध, केक, कुल्फी, विस्कुट, पाउरोटी आदिमा चिनी प्रशस्त प्रयोग भएको पाइछ । चाडबाड र देवीदेवताका प्रसादको रुपमा त झन् चिनीको मात्रा धेरै प्रयोग हुन्छ । केटाकेटीको बिहान र दिउँसोको खाजामा पनि धेरै चिनीको प्रयोग हुने भएकाले नेपाली केटाकेटीमा दाँतसम्बन्धी समस्या उच्च छ । उच्च रक्तचाप, मोटोपन, मधुमेहजस्ता समस्याहरुको एउटा प्रमुख कारकको रुपमा चिनी रहेको प्रमाणित भएको धेरै भइसकेको छ तर पनि हामी यसतर्फ त्यति सचेत भइरहेका छैनौँ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०१४ मा ‘वयष्कलाई दैनिक पाँच चम्चाभन्दा बढी र बालबालिकालाई तीन चम्चाभन्दा बढी चिनी खान नदिनु भने पनि अहिले हाम्रो भोजनमा त्योभन्दा निकै बढी मात्रामा चिनी प्रयोग भएको पाइन्छ । सस, बिस्कुट, चाउचाउ आदि गुलियो जस्तो नलाग्ने खानामा पनि चिनी मिसाइएको हुन्छ । त्यस्तै गरी बट्टाबन्द र प्याकेटबन्द गरेको मासु, सुप, स्वस्थकर नास्ता भनिएका बट्टाका बजारे भोजन (जस्तो– मुसेली, कर्नफ्लोर) मा पनि चिनी मिसिएको हुन्छ । तर प्रायः यो कुरा हामी वास्ता नै गर्दैनौँ, चिनी भएको थाहा नै नपाई हामी त्यसको उपभोग गरिरहेका हुन्छौँ । त्यसैगरी, हर्लिक्स, बोर्नभिटा, भिभा आदि पेयपदार्थ, लस्सी, कोक, फन्टा, पेप्सी, डिउ, मेरिन्डा, एपी, सर्बत, लस्सी आदि चिसा पेयपदार्थहरुमा अधिकमात्रामा चिनी मिश्रण हुन्छ । चिनी भएको वस्तु खाएपछि यसले दाँतको इनामेल गालेर दाँतमा प्वाल पार्छ । बच्चाको आहारा जस्तो–बोतलबन्द दूध तथा पेय पदार्थहरुमा मिसाइएको गुलियो पदार्थले उनीहरुको कलिलो दाँतमा गम्भीर असर गरेको हुन्छ । तर बच्चाका अभिभावक यस्ता खानामा भएको चिनीले बच्चालाई नोक्सानी गर्छ भन्ने बारेमा अनभिज्ञ छन् । नेपालको सन्दर्भमा कुरा गर्दा मिठाईहरु, गुँदपाक, पुष्टकारी, केक, आइसक्रिम, सेल, मालपुवा आदिमा पनि ठूलो मात्रामा चिनी मिसाइएको हुन्छ र त्यसलाई हामीले अन्धाधुन्ध रुपमा प्रयोग गरिरहेका छौँ । एक लिटर हलुका पेयमा औसत १४ चम्चा चिनी राखिएको हुन्छ । यसबारेमा हामीले कहिल्यै विचार गरेका हुँदैनौँ । तर खाँदा त्यति गुलियो नलागे पनि यसमा भएको अत्यधिक चिनीले हाम्रो स्वास्थमा प्रतिकूल असर पारिरहेको हुन्छ । अङ्ग्रेजीमा सुगर भनिने चिनीका माल्टोज, फुल्टोज, ल्याक्टोज आदि अनेक रुपाकारहरु छन् । कतिपय फलफूलको बट्टामा ‘सुगर फ्रि’ भनेर लेखिएको हुन्छ । तर माल्टोज, फुल्टोज, सुक्रोज आदि स्वरुपमा चिनी रहेको हुन्छ र हामी नजानेर यसको उपभोग गरिरहेका हुन्छौँ । मकैबाट पनि चिनी बनाइन्छ । विशेषगरी चकलेट, कुकिज बिस्कुट बनाउँदा यसको प्रयोग गरिन्छ । यस्तो प्रकारको गुलियो पदार्थ र पेयले कोलेस्टेरोल (खराब बोसो) को मात्रा बढाउँछ । खराब बोसो बढेपछि यो मुटुका धमनीका भित्ताहरुमा लेउजस्तै टाँसिन पुग्दछ । यसकारण धमनीहरु साँघुुरिने वा कडा हुने जटिलता उत्पन्न हुन थाल्छ । यसो हुनेबित्तिकै मुटुका मांसपेशीहरुमा धमनीबाट रगत, अक्सिजन र पोषक तत्व आवश्यकमात्रामा पुग्न सक्दैन । अनि मुटुका मांसपेशीहरु मर्दछन् र हृदयाघात निम्तिन्छ । त्यसैगरी शरीरलाई आवश्यक नपरेको चिनी चिल्लो पदार्थ या बोसोमा परिणत हुन्छ । यसैकारण मुटु तथा रक्तनलीमा अवरोध पुग्छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभुषण उपाध्यायका अनुसार गुलियो ज्यादै खाँदा डायविटिजको जोखिम बढ्छ । चिनी, सख्खर हालेका वस्तुबाहेक सुगर फ्रि कोक, जुस, मह आदि जुनसुकै रुपमा खाए पनि चिनी चिनी (सुगर वा गुलियो वस्तु) नै हो । जसरी खाँदा पनि यदि चिनीको मात्रा बढी छ भने त्यसले असर गर्छ । ‘सुगर फ्री’ भनिएको वस्तु वास्तवमा ‘सुगर फ्री’ हुँदैन । स्याक्रिन हालिएको चिया या अन्य पेयपदार्थ स्वास्थ्यका लागि झनै भयानक हुन्छन् । यसले मुटुलाई बिगार्छ । रासस (लेखक जनस्वास्थ्य तथा पोषणविद् हुन्)
देश रूपान्तरणका लागि सरकार र नागरिकका कर्तव्यहरू
सर्वसाधारण नागरिकहरूलाई गाँस, बास र कपासको व्यवस्थापनमै धौधौ छ भने रोग लागेमा सामान्य औषधी उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्था छ । समृद्धि त आकाशको फल भयो तर सर्वसाधारण नागरिकहरुलाई रातदिन जीउ घोटिने गरी मेहनत गर्दा पनि जीविका चलाउन गाह्रो छ । शासकहरूले भने अनावश्यक गफ छाँटेर, जनतालाई ढाँटेर, लुटेर, दुःख दिएर तथा राज्यशक्तिको दम्भ देखाएर विलासी जीवनशैली अपनाएको तीतो यथार्थ ताजै छ । हाम्रो देशमा स्वावलम्वीहरू दुब्लाउने र परजीवीहरू मोटाउने बिडम्बनाक छ । लुट, हत्या, हिंशा र जनधनको क्षतिको कारक पनि राज्य नै देखिएको छ । राज्यले आङ्खनो न्यूनतम कर्तव्य पनि पूरा नगरे पछि समाजमा विभिन्न किसिमका विकृति, विसंगति तथा अस्थिर वातावरणको सिर्जना भएको छ । देशको समुन्नति र जनताको जीवनस्तर अभिवृद्धिका निम्ति भनेर व्यवस्थाहरू बदलिए पनि शासकहरूको कार्यशैली बदलिएन । सोचमा सकारात्मक परिवर्तन भएन । शासकहरू राष्ट्र, राष्ट्रियताको खिल्ली उडाउँदै विदेशीका दलाल भई आफ्नो देश, नागरिक र अर्थतन्त्रमाथि प्रहार गर्ने दुष्कर्म गर्न थाले । तिनीहरूमा देशप्रति सामान्य कर्तव्यबोध पनि देखिदैन । जनताहरूबाट जोरजुलुम गरी कर असुलेर शासक प्रशासकहरुलाई पोस्ने, तिनका परिवार, इष्टमित्र सहितको सेवा, सुविधा र सुरक्षा गर्ने तथा सार्वजनिक सम्पत्ति हडप्ने र हिनामिना गर्ने अपराध गरिन्छ । तर कर तिर्ने नागरिकहरुलाई भने विभिन्न तरिकाले दुःख पीडा दिने नै राज्यको कर्तव्य भएको जस्तो देखिन्छ। राज्य नेतृत्व र प्रशासन संयन्त्र नै कर्तव्य त्यागेर गैरजिम्मेवार गतिविधिमा संलग्न भए पछि नागरिकको जीवनस्तरमा अभिवृद्धि र देश विकास कसरी हुन्छ ? यहाँ आफूले गर्नुपर्ने काममा राज्यले ध्यान नदिने तर नगर्नु पर्ने कामहरूमा भने पूरै राज्यशक्ति र स्रोत लगाएको पाइन्छ । अर्थात राज्यले आफूले गर्नुपर्ने बाहेकका सबै काममा ध्यान दिन थाले पछि देशको उन्नति कसरी हुन्छ ? राज्य सञ्चालन गर्नेहरूले जनताको घरघरमा गएर काम गरिदिनु पर्दैन । योग्यता, क्षमता, कार्यदक्षता, सीपका आधारमा नियमानुसार हुने नियुक्ति, सरुवा, बढुवामा राज्य नेतृत्वले हात हाल्न जरुरी छैन । नियमानुसारको योग्यता, क्षमता, मापदण्ड र कार्य सम्पादनका आधारमा दिइने ठेक्कापट्टामा राज्य नेतृत्व तथा राजनैतिक दलहरुको संलग्नता आवश्यक पर्दैन । राज्यले स्मार्ट प्रणाली अपनाएर देशका सीमारेखा सहित राष्ट्रिय श्रोत, सम्पदा र नागरिकहरूको स्पष्ट तथ्याङ्क राख्नुपर्छ । आफ्नो सीमा सुरक्षा, राष्ट्रिय स्रोत सम्पदाहरू तथा सार्वजनिक सम्पत्तिको सुरक्षा, नागरिकको जीउधनको सुरक्षा, देशमा सुशासन, शान्ति सुव्यवस्था र काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ । जीवनोपयोगी शिक्षा र रोजगारका स्थायी अवसरहरुको सिर्जना, नागरिकहरूका आधारभूत आवश्यकताहरूको परिपूर्ति, उपयुक्त नीति नियम तथा आवश्यक सुविधा र सुरक्षा मापदण्ड अनुसारको पूर्वाधार निर्माण, सुरक्षित दीगो औद्योगिक, व्यावसायिक र लगानीको वातावरण निर्माण, निष्पक्ष र छरितो स्मार्ट न्याय प्रणालीको व्यवस्था, राष्ट्रिय स्रोत सम्पदाको समूचित उपयोग र विकास निर्माणको खाका कोर्ने काम राज्यले गर्नैपर्ने कर्तव्यहरू हुन् । राज्यले जिम्मेवारपूर्वक आफ्ना कर्तव्यहरू निभाएको भए सायद हाम्रो देशको विकासले समृद्धिको शिखर छोएको हुन्थ्यो र विश्व परिदृश्यमा यसको हैसियत निकै माथि हुन सक्थ्यो । देशको रूपान्तरणका लागि राज्यले आफ्ना कर्तत्वहरूको बोध गर्दै ती कर्तव्यहरू प्रभावकारी रूपले पूरा गर्न राज्यशक्ति र स्रोतको पूर्ण सदुपयोग हुने व्यवस्था गर्नैपर्छ । नागरिक कर्तव्य शान्तिपूर्ण मानवीय जीवनशैली अपनाउनु, सिर्जनात्मक तथा स्वावलम्वी भई विकास निर्माणका काममा लाग्नु, बाँचौ र बचाऔंको सिद्धान्त बमोजिम काम गर्नु, कुनै पनि कारणले हिंसात्मक तथा ध्वंसात्मक गतिविधिमा संलग्न नहुनु, राष्ट्र र राष्ट्रियताको रक्षा गर्नु, व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको सुरक्षा र सामाजिक शान्तिका लागि राज्यलाई सहयोग गर्नु, देश विकासका काममा राज्यलाई साथ सहयोग दिनु र राज्यका नीति नियमहरूको पालना गर्नु आदि प्रत्येक नागरिकका कर्तव्यहरू हुन् । विश्वका अधिकांश विकसित मुलुकका संविधानमा नागरिकका कर्तव्य र सीमाहरू उल्लेख गरिएको पाइन्छ । तर हाम्रो देशको विद्यमान संविधानमा त्यस सम्बन्धी व्यवस्था भएको देखिएन । कर तिर्नु र नियम कानुन पालन गर्नु मात्रै नागरिकको कर्तव्य देखिन्छ । यहाँ कसैले पनि सुरक्षामा ध्यान दिइएको पाइँदैन । दिनहुँ पासो थापे जसरी दुर्घटनाहरू हुन्छन्, गाडीहरू तोडफोड हुन्छन्, सार्वजनिक यातायात अवरुद्ध हुन्छ र सबैलाई समस्या पर्छ । लापरवाहीले पशुपंक्षीदेखि मानिससम्म सडक दुर्घटनामा मर्छन् । त्यसको बदलामा गाडी तोडफोडका साथै यातायात अवरुद्ध गरिन्छ । दुर्घटनामा घाइते वा जनधन क्षतिको विषय आफैमा दुःखलाग्दो भए पनि यातायातका साधन तोेडफोड वा सार्वजनिक यातायात अवरुद्ध गरिनु त्यसको समाधान होइन । मानवीय क्षतिपूर्ति असम्भव भए पनि परिवारको पीडामा मलम लगाउने कार्य बीमा कम्पनीबाट शीघ्र र सहज रूपमा हुने व्यवस्था गरिनुपर्छ । सुरक्षित सडक पूर्वाधार निर्माणका साथै सडक सुरक्षा, दुर्घटना, तोडफोड, क्षतिपूर्ति तथा यातायात संचालन सम्बन्धी स्पष्ट कानुन बनाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ । यहाँ विभिन्न बहानामा कहिले कुनै समूह वा दलले, कहिले कुनै दलका भातृ संगठनले त कहिले धार्मिक तथा साम्प्रदायिक भीडले हत्या, हिंसा गर्नुका साथै व्यक्तिगत÷सार्वजनिक सम्पत्तिको क्षति गर्छन् । तिनीहरूको विध्वंशक गतिविधिबाट धेरै ठूलो जनधनको क्षति भई राष्ट्रलाई निकै ठूलो घाटा भइरहेको छ । सिर्जना र निर्माणका नाममा सियो बनाउन नसक्नेहरूबाट नोक्सान भने सारा सम्पत्ति बिक्री गरे पनि पूर्ति हुन नसक्ने खालको हुन्छ । कसैको उक्साहटमा विभिन्न अराजक समूह तथा राजनैतिक दलका अराजनैतिक गतिविधिले देशको अवस्था दिन प्रतिदिन नाजुक हुँदै गइरहेको छ । तिनीहरूकै देखासिकी गर्दै समाजमा अरूले पनि त्यस्तै विध्वंसक गतिविधिहरू मच्चाइरहेको दर्दनाक अवस्था छ । जुनसुकै कारणले भए पनि हडताल, विध्वंसक गतिविधि, हत्या, हिंसा, तोडफोड, व्यक्तिगत वा राष्ट्रिय सम्पत्तिकोे क्षति जघन्य अपराध हो । कुनै पनि बहानामा गरिने क्षतिलाई क्षमादान गर्न हुँदैन र सकिँदैन पनि । विभिन्न कारणले विभिन्न पक्षबाट हुने गरेको क्षतिलाई नजर अन्दाज गर्दा एकातिर त्यसले नागरिक र राज्यलाई सिधै क्षति पु¥याएर देशलाई निकै पछाडि धकेलेको छ । अर्कोतर्फ प्रायशः हुने गरेका विध्वंसक गतिविधिले यस्ता अपराधिक कुकर्म गर्न हौस्याएको छ जसको डरले गर्दा यहॉ जो कोही विकासप्रेमी, स्वावलम्वी, कर्मठ, उद्यमी, व्यवसायी, साधारण नागरिक, लगानीकर्ता यहॉ जाखिम लिएर लगानीको साहस गर्न सक्दैन । फलस्वरूप देशको विद्यमान पू‘जी पलायन भई देशको अवस्था झनझन नाजुक हुने खतरा बढ्न सक्छ । त्यसैले आङ्खनो इज्जत, जीउ, धन वा व्यक्तिगत÷सार्वजनिक सम्पत्ति सुरक्षार्थ आकस्मिक परिस्थितिजन्य क्षति बाहेक अन्य जुनसुकै बहानामा हुने हत्या, हिंसा वा क्षतिको उचित आर्थिक क्षतिपूर्ति अनिवार्य रुपमा सम्बन्धित पक्षबाटै गर्ने व्यवस्था गरिनुपर्छ । लाखौं करोडौंको क्षतिपूर्ति गर्नुपर्ने भए पछि जनधनको क्षति हुने गरी कोही पनि ध्वंसात्मक गतिविधिमा संलग्न हुने साहस गर्दैन । तसर्थ राज्यको शान्ति अमनचयन, विकास र समृद्धिका लागि राज्य तथा नागरिकले गर्नैपर्ने कर्तव्यहरु र अपराधलाई प्रश्रय हुने गरी गर्न नहुने कामका सीमाहरु पनि निर्धारण गरी राज्य र नागरिकद्वारा कडाइका साथ परिपालन गर्नु/गराउनु अपरिहार्य हुन्छ ।