अथेन्टिक नेतृत्वको खोजी
मुलुक सञ्चालन र व्यवस्थापनको शिरमा हुन्छ- नेतृत्व । नेतृत्वको सक्षमता, सबलता र सशक्तताको परिणामबाट मात्र अपेक्षित लाभ र प्रतिफल हासिल हुने गर्दछन् । एक असल नेतृत्वको विकासको लागि लामो समय खर्चिनु र पर्खिनु पर्ने हुन्छ । चालक जति गतिशील बन्दै गयो देशले त्यति नै लामो दूरीको यात्रा तय गर्न सक्छ । चालक जति नै भिजनरी बन्दै गयो मुलुकमा त्यति नै विकासको भिजिबिलिटी देखिँदै जान्छ । नेपालमा लोकतन्त्रको उदयपछि नेतृत्व सधैं अस्थिर र फेरबदल बन्दै गएको छ । देशको विकास र समृद्धिको लागि राजनीनिक नेतृत्व नै मूल पुँजी हो । प्रशासनिक नेतृत्वले एसिस्ट मात्र गर्ने हो । सबै विषय राजनीतिक नेतृत्वको छत्रछायामा हुर्केका हुन्छन् । राजनीतिक नेतृत्व जति संग्लो र कञ्चन हुँदै गयो राज्यका अरू प्रशासनिक, विभागीय र सांगठनिक नेतृत्व त्यति नै स्वच्छ र सक्षम हुँदै जान्छन् । जब राजनीतिक नेतृत्व मैलो हुन्छ, तब अरू अंग पनि त्यस्तै काला, अनुदार र कुरूप देखिन्छन् । कुनै राजनीतिक दलसँग कार्यकर्ता, जनमत र संगठनको बलियो पकट भएर मात्र हुँदैन, त्यसलाई सिनर्जीको रूपमा क्यास गर्न सक्ने प्रखर नेतृत्वको अपरिहार्यता चाहिन्छ । यस प्रकारका नेतृत्वमा स्पष्ट भिजन, दर्शन र योजना चाहिन्छ । नेतृत्व केवल संगठनको अगुवा मात्र होइन । संगठनको कुकल रणनीतिकार, कृटनीतिज्ञ, योजनाकार र मुलुक बनाउने कार्ययोजनाको शिल्पकार हो । हामी असल नेतृत्वको सधैं खोजी गर्दछौं । त्यसले सधैं दिशा र मार्ग प्रदान गर्दछ भन्ने विश्वास गर्दछौं । नेतृत्वसँग क्वालिटी हुन्छ । ताकत हुन्छ । उसले जनमत र मासलाई सही परिचालन गरेर नतिजा दिन सक्छ । जब नेतृत्वले मासलाई र प्राप्त जनमतलाई मुलुक निर्माणका खर्च गर्दछ तब राष्ट्रले न्याय प्राप्त गर्दछ । विकास प्राप्त गर्दछ । समृद्धिको भोग मेट्न पाउँछ । जब उक्त जनमतलाई सीमित वर्ग र समुदायको निमित्त खर्च गर्दछ भने त्यसले सीमित व्यक्तिलाई फाइदा र मुलुकलाई अहित गर्दछ । विश्व जगतमा नेतृत्वको सफलता र असफलताको कारण मुलुकले मुहार फेरेका छन् । कुरूप बनाएका छन् । नेतृत्वले गति लिँदा देशले प्वाँख फेरेर नयाँ उडान भरेका छन् । नयाँ गन्तव्य भेटाएका छन् । नयाँ क्षितिजमा पुगेका छन् । नयाँ मुलुक बनाएका छन् । मलेसिया एसियाको औद्योगिक राष्ट्रको रूपमा बढिरहेको छ । सायद त्यहाँ मोहम्द महाथिरेले चौबीस वर्ष शासन नगरेको भए आजको मलेसिया बन्ने थिएन । लिक्वान नभएको भए सायद सिँगारिएको सिंगापुर हुने थिएन । नेतृत्व बलियो र कमजोर हुँदा अभियान कसरी कायापलट हुन्छ भन्ने केही अन्तर्राष्ट्रिय दृष्टान्त हेरौं । पेरुमा कम्युनिष्ट पार्टी (साइनिङ पाथ)का अध्यक्ष एवं पेरु क्रान्तिका नेता गोन्जालाको नेतृत्वमा सन् १९८१ बाट सुरु भएको युद्धले गाउँदेखि सहर घेर्ने रणनीतिमा पेरुलाई हल्लाइदियो तर सन् १९९२ मा उनै गोन्जालो पक्राउ परेपछि आन्दोलन कमजोर भयो । अन्नत गोन्जालाको जेलमा नै निधन भयो । क्रान्ति दिशाहिन र अर्थहिन बन्यो हजारौं मान्छेको ज्यान गयो । उपलब्धी शून्य भयो । पेरुमा गोन्जालो सकिएपछि कम्युनिष्ट आन्दोलन नै धरापमा पर्यो । सायद हिटलर र मुसोलिन नभएको भए दोस्रो विश्वयुद्ध नहुन सक्थ्यो । दोस्रो विश्वयुद्ध नभएको भए विश्वको स्वरूप अर्को हुन सक्थ्यो । छिमेकी मुलुक भारतमा जति प्रयास गर्दा पनि कम्युनिष्ट पार्टीले आकार र स्वरूप ग्रहण गर्न सकेको देखिँदैन । त्यहाँ एक पछि अर्को नेतृत्व समाप्त हुँदै गएपछि अभियान पनि समाप्त हुँदै गएको जस्तो देखिन्छ । पुँजीवादी देशहरूको बीचबाट समाजवादी व्यवस्थाको नमुना प्रस्तुत गरेको क्युवामा फेड्रेल फिडेल क्यास्ट्रोको नेतृत्वको भूमिका महत्त्वपूर्ण रहेको देखिन्छ । दक्षिण अफ्रिकामा नेल्सन मण्डेला जन्मिएकै कारण अधिकारको विस्तार र वैधानिकरण बन्दै गएको गएको तथ्य निर्विवाद नै हो । बर्मामा प्रजातन्त्रको भिल्को झोस्ने र सैनिक शासन झक्झक्याउने काम सायद आङसाङ सुकी नभएको भए जीवन्त सैनिक शासन हुने थियो । प्रजातन्त्रको छोटो बिसौनीपछि म्यान्मारको शासन फेरि सैनिक खोपीमा पुग्यो । अलकायदाका संस्थापक ओसामा बिन लादेनको हत्या पछि अलकायदा तहसनहस भयो । यति कमजोर भयो कि फेरि उठ्ने हिम्मत गरेको छैन । अबु बक्र अल–बगदादी हत्यापछि आइएसआइएसको राप नै पत्तासाप भयो । रुसमा मिखाइल गोर्भाचोभको अवसानपछि बलियो सोभियत युनियन नै सकियो । यी प्रकरणले के जाउँछन् भने देश बनाउने कुराको मूल कडी नै नेतृत्वसँग उभिएको हुन्छ । आजको जस्तो लोकतान्त्रिक दुनियाँमा नेतृत्वको जन्म कसलाई दिने भन्ने कुरा जनताको गर्भमा रहेको छ । नेतृत्वको माथि मूल प्रश्नको निरूपण नेतृत्वको विकासबाट नै हुन्छ । हामी कहिलेकाँही राजनीति पार्टीमा कोही व्यक्ति नेतृत्वमा हुनु र नहुनुको अर्थ सरल रेखाको आधारमा विश्लेषण गर्न खोज्छौं । वास्तविक रूपमा त्यसो हुँदैन । र होइन पनि । नेतृत्वको प्रश्न कहिलेकाँही बिजगणीतिय र कहिलेकाँही ज्यामितीय हिसाबले बुझ्नुपर्ने हुन्छ । नेपालमा मूल राजनीतिक पार्टीको नेतृत्वको अधिकांश समय पार्टी विवाद मिलाउने खर्च भएको देखिन्छ । जनादेश अनुरूपका कार्यदिशा र कार्यभार पुरा गर्नुपर्नेमा पार्टी कार्यकर्ता मिलाउनमा नै मुख्य समय खर्चिँदा पक्कै नतिजा प्रभावित भएको छ । हरेक राजनीतिक पार्टीका मुल नेतृत्व प्रश्न नै प्रश्नले घेरिएका छन् । पार्टी विवादको आन्तरिक कलह बोकेर सरकार सञ्चालन गर्नुपर्ने बाध्यताबाट नेतृत्व मुक्त हुन सकेको देखिँदैन । जनताले दिएको जनादेश बासी हुने बेलासम्म पार्टी सुद्दढ हुने सकेका देखिँदैनन् । निर्वाचित दल अर्को निर्वाचन नहुँदासम्म सिधा रूपमा जनताप्रति केन्द्रित हुन्छन् । जनताले आफ्नै प्रतिनिधिलाई खुला रूपमा भेट्न, प्रश्न गर्न र गुनासो गर्न स्वतः पाउँछन् । पार्टीका कार्यकर्तालाई होइन, जनप्रतिनिधिलाई सिधा प्रश्न गर्न र सुझावको लागि जनतालाई ढोका सधै खुल्ला राख्नु पर्दछ । नेतृत्वको गतिशीलताको सिद्धान्त आधारभूत सिद्धान्त हो । जनमतबाट अस्वीकृति र वैधानकिता प्राप्त नभएको नेतृत्वको स्वेच्छारी हुन्छ । नेतृत्व समयको बहावसँगै बग्न सक्नु पर्दछ । नेपाल बनाउने आजको प्रश्न नेतृत्वसँग जोडिएको छ । आज पनि नेपालको मुख्य प्रश्न नेतृत्वकै वरिपरि घुमिरहेको छ । एक कर्मठ नेतृत्वको खोजी र विकासको लागि लगातार अभ्यास र प्रयास भए पनि सफलता हात परिसकेको छैन । २०६४ सालमा झण्डै दुई तिहाईको जनमत प्राप्त गरेको माओवादीलाई प्राप्त जनमतको मूल मियो नै देश बनाउने नेतृत्वको खोजी हो । उसले त्यसलाई क्यास गर्न सकेन । विसं २०७४ सालमा देशका दुई ठुला कम्युनिष्ट पार्टी एमाले र माओवादी मिलेर जेट विमान नै निर्माण भयो । चालक दुई भए । त्यो विमान पनि नेपाली राजनीतिको आकाशमा सफलतापूर्वक अवतरण हुन नसकी दुर्घटना भयो । त्यो मत पनि नेतृत्वको स्थायित्व र स्थिरिताको लागि नै थियो । विमान दुर्घटना भएपछि विकासको यात्रा अलपत्र नै भयो । पटक–पटक आन्दोलन, हडताल र आवाजको खोजी राजा रजौटा बनाउन होइन, जनतालाई शासनको अन्तिम शक्ति र शासन सञ्चालनमा जनताको आधिपत्य स्थापित गर्नु नै हो । वर्तमान समय युवापुस्ता जेनजीले गरेको सडक प्रदर्शन पनि इथिकल नेतृत्वको खोजी हो । संसारमा लोकतान्त्रिक नेतृत्वको विकास आवधिक निर्वाचन नै हो । योभन्दा अर्को उत्तम विकल्प वर्तमान विश्वमा पाइँदैन । जनता जति बलिया भए नेतृत्व त्यति नै बलियो जन्मिन्छ । जनता चेतनाको हिसाबले कमजोर बन्दै गए कमसल नेतृत्व जन्मिन्छ । कुपोषित विचारले जन्माएको नेतृत्व सधैं रोगी हुन्छ । संसारमा हुने हरेक देशका चुनावले नयाँ नेता जन्माउने, नेतृत्वलाई अनुमोदन गर्ने र स्थापित गर्ने गर्दछन् । हाम्रो जस्तो आफ्नै पार्टीका कार्यकर्ता र सीमित वर्गको पहुँचमा सीमित राजनीतिक नेतृत्व परीक्षण कालक्रमसँगै फरक स्वरूपले हुँदै गएको छ । आगामी चुनाव सूचना प्रविधिसँग हुर्केको पिँढीले पक्कै नेतृत्वको सही परीक्षण गर्न सक्छ । जन्मिँदै विश्व हत्केलामा देखेको पिँढीले विकासको शिरा र धमनी देखेको छ । अनुभूत गरेको छ । त्यसले प्रदान गर्ने नेतृत्व अपेक्षा गरे भन्दा फरक हुन सक्छ, त्यसको पूर्वानुमान र स्वीकार गर्न कार्यकर्ताको बीचमा घेरिएको मूल नेतृत्वले सहजै अनुमान नगर्न सक्छ । पार्टी नेतृत्वको विकासको मूल सर्त नै आन्तरिक लोकतन्त्र सुदृढ गर्नु हो । कार्यकर्ताले नै प्रश्न गर्न नपाउने पार्टीहरूमा जनताले गुनासो र प्रश्न गर्न पाउनु टाढाको कुरा हो । प्रश्नहरूले उत्तरदायित्त्व खोज्छन् । जवाफ माग्छन् । हिसाब खोज्छन् । प्रश्नलाई जति सम्बोधन गर्दै गयो पार्टी नेतृत्व त्यति नै उत्तरदायित्त्व र जनप्रिय हुँदै जाने राजनीतिक सिद्धान्त हो। फेरि पनि मुलुक हाँक्ने चालक नै राजनीतिक नेतृत्व हो । देशको विकास र अविकासको धेरथोर भार सबैले बोक्नुपर्ने भएता पनि मुख्य भार आज पनि मूल नेतृत्व नै भोग्नुपर्ने राजनीतिक विधिशास्त्रीय मान्यता हो । नेतृत्वको वर्तमान अवधारणाले लोकप्रिय नेतृत्व मात्रै होइन। अथेन्टिक नेतृत्व समेत खोजिरहेको छ । अथेन्टिक नेतृत्वले नै वर्तमानका प्रश्नहरूको उत्तर लिपिबद्ध गर्ने काम गर्दछ । वर्तमान विश्वको समकालीन नेतृत्वलाई प्रश्नबाट बाहिरिने छुट छैन । हिजो जवाफ दिए हुन्थ्यो जवाफदेहिता चाहिँदैनथियो । हिजो उत्तर दिए हुन्थ्यो आज उत्तरदायित्व निर्वाह नगरे हुन्थ्यो । हिजो वचन दिए हुन्थ्यो आज पूरा गर्नु पर्दछ । उत्तर दिने प्रणालीको विकासले पक्कै नेतृत्वलाई बलियो नै बनाउँछ । कमजोर बनाउँदैन । राजनीतिक नेतृत्व जब आफ्नो भातृ संगठन, कार्यकर्ता र शुभचिन्तकबाट घेरिन्छ । उक्त घेराभन्दा बाहिरको दृष्य देख्दैन वा देख्न खोज्दैन त्यसपछि पतनको बाटो सुरु हुन्छ । हाम्रोमा राजनीतिक दलका मुख्य नेतालाई सामान्य मानिसले भेट्न सक्दैनन् । नागरिकका जनजीविकाका विषय देख्ने भिजिबिलिटी कमजोर हुन्छ र सम्पर्क विच्छेद हुन्छ । अहिलेको राजनीतिक दलको मुख्य समस्या नै यही हो । शासन सञ्चालनसँग कहिलेकाँही जनादेश हुँदाहुँदै पनि बर्हिगमनको बाटो सुखद हुँदैन । समयले लोकतान्त्रिक पद्धति अनुरूप स्थापित सरकारको पनि दुःखद पतन गराउने गर्दछ । नेपालमा जेनजी युवाहरूको प्रदर्शनले पनि लोकतान्त्रिक विधि र प्रक्रिया बमोजिम स्थापित सरकारलाई दुई दिनमा नै परास्त गरे । सन् २०२४ मा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि जननिर्वाचित कार्यकारी हुन् तर, विद्यार्थी आन्दोलनले उनले देश छोडेर हिँड्नु पर्ने अवस्था आयो । सन् २०२२ मा श्रीलंकामा आर्थिक संकटको कारण भएको आन्दोलनको कारण राष्ट्रपति गोटाबया राजापाक्षे देश नै छोड्नु पर्यो । त्यसकारण नेतृत्वको मौका सधैं आउँदैन । आउँदा देशलाई शिख र झण्डालाई काँधमा राखेर कार्य गर्ने नेतृत्व हुनु पर्दछ । कोही कसैको दबाब र प्रभावमा नपरी सिधा रुपमा जनतासँग झुक्ने नेतृत्वको कद बढ्न जान्छ । परिवर्तनको लय समाउने मार्ग तयार हुन्छ । वर्तमान नेतृत्वले हार्यो की जित्यो भन्दा पनि देशले कति जित्छ भन्ने प्रश्न नै मुख्य प्रश्न हो ।
के बालेनले पार्टी खोल्लान् ?
नेपाली राजनीतिक परिप्रेक्ष्यमा नयाँ लहरको उदय भइरहेको छ । जसमा स्वतन्त्र उम्मेदवार र वैकल्पिक भनिएका पार्टीहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । बालेन्द्र शाह, सुमना श्रेष्ठ, रवि लामिछाने र कुलमान घिसिङजस्ता नामहरूले नेपाली जनमानसमा नयाँ आशा र विचारहरूको सञ्चार गरेका छन् । यी व्यक्तिहरूले परम्परागत राजनीतिक दलहरूको कमजोरीलाई चुनौती दिँदै आफ्नो स्वतन्त्र दृष्टिकोण र नेतृत्वमा भविष्यको सम्भावना प्रस्तुत गरिरहेको मान्न सकिन्छ । तर यी नयाँ शक्तिहरूको सफलताको मूल्याङ्कन अझै पनि अनिश्चित छ । र यसले आगामी छ महिनामा जनमतलाई कसरी आकार दिनेछ भन्ने कुरामा राजनीतिक विश्लेषकहरूले चासो राखेका छन् । बालेनले पार्टी खोल्लान् ? काठमाडौंको पछिल्लो राजनीतिक सन्दर्भमा बालेन्द्र शाहको राजनीतिक यात्रा थप चर्चामा आएको छ । स्वतन्त्र उम्मेदवारको रूपमा उठेर महानगरको मेयर जितेका बालेनले हालसम्म पार्टी खोल्ने सम्भावनाबारे पक्का कुरा भने गरेका छैनन् । यसले गर्दा उनको भविष्यको योजनाबारे विभिन्न प्रयासहरू चलिरहेका छन् । बजारमा बालेनले पार्टी खोल्ने हल्ला चले पनि त्यो सम्भावना धेरै कम देखिन्छ । वर्तमान अवस्थामा उनले स्वतन्त्र उम्मेदवारको रूपमा राजनीतिक दृष्टिकोण प्रस्तुत गरिरहेका छन् । र यसबाट उनले महत्त्वपूर्ण प्रभाव पनि पारिसकेका छन् । यद्यपि राजनीतिक वातावरण परिवर्तनशील छ र कसरी परिस्थितिहरूको विकास हुन्छ भन्ने कुरा भविष्यको निर्णयमा निर्भर रहने तथ्यलाई भने हामीले बिर्सनु हुँदैन । यदि उनले पार्टी खोले भने त्यसले उनको वर्तमान स्वतन्त्र छविमा असर पुर्याउने पक्का छ । पार्टीको ढाँचामा फस्नु भनेको शक्तिको विभाजन र संस्थागत बोझको सामना गर्नु हो । यसैले बालेनको पार्टी खोल्ने सम्भावना अहिलेको अवस्थामा न्यून देखिन्छ । सुमना श्रेष्ठको पार्टी परित्याग अवसरवाद या असहमति ? सुमना श्रेष्ठको पार्टी छोड्ने निर्णयलाई पनि ध्यान दिइएको देखिन्छ । केही समय अघिमात्र उनले पार्टीसँगै अगाडि बढ्ने इच्छा व्यक्त गरेकी थिइन् । तर के कारणले अचानक उनले पार्टी छाड्ने निर्णय गरिन् भन्ने कुराले चासो उत्पन्न गरेको छ । अहिले चर्चा भइरहेको कारण भने उनको पार्टी भित्रको असहमति र राजनीतिक असहजता हो । सुमना आफ्नो विचारमा स्वतन्त्र रहन चाहने हुनाले पार्टी छाडेर नयाँ मार्ग अपनाउन खोजेकी हुन् । यसले उनलाई अवसरवादी भन्ने आरोपको सामना गराएको छ । तथापि, उनलाई स्वतन्त्र रहन चाहने र पार्टीको संरचनामा बन्धन गर्न नचाहने पक्षले उनको निर्णयलाई समर्थन पनि गर्न सक्छ । कुलमान घिसिङ र ६ महिना अग्निपरीक्षाको परिप्रेक्ष्य कुलमान घिसिङको नाम सार्वजनिक ऊर्जा सुधारको क्षेत्रका एक चर्चित नामको रूपमा आएको छ । यद्यपि उनले प्रत्यक्ष राजनीतिमा अझै प्रवेश गरेका छैनन्। तर, अन्तरिम सरकारमा उनको सहभागिताले नयाँ शक्ति र वैकल्पिक राजनीतिक धारलाई बल दिने उद्देश्य रहेको बताइएको छ । सरकारमा उनको सहभागिताले आगामी चुनावी लहर र राजनीतिक परिप्रेक्ष्यमा नयाँ दिशाको संकेत दिए गर्न सक्छ । आगामी ६ महिनामा कुलमानको वास्तविक कार्यक्षमता र नेतृत्व क्षमताले यसमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गर्न सकिन्छ। रास्वपाको भविष्य र रवि लामिछानेको नेतृत्व रास्वपाको नेतृत्व गर्दै रवि लामिछानेले पार्टी गठन गरेर राजनीतिक क्षेत्रमा नयाँ लहर ल्याएका छन्। । अहिले पनि उनी सहरी क्षेत्रका युवा र महिला वर्गमा आशा र विश्वासको प्रतीक बनेका छन् । पार्टीको भविष्य अब रास्वपा र रवि लामिछानेको नेतृत्व, संगठन निर्माण र निर्णय क्षमता माथि निर्भर गर्नेछ । आगामी ६ महिनामा यो सब स्पष्ट हुनेछ । स्वतन्त्र उम्मेदवार र वैकल्पिक शक्तिहरूको प्रभाव नेपाली राजनीति अहिले एक नयाँ मोडमा प्रवेश गरिरहेको छ । परम्परागत दलहरूको सवालमा जनतामा निराशा देखिएको छ । यसैको विकल्पस्वरूप स्वतन्त्र उम्मेदवार र वैकल्पिक शक्तिहरू जस्तै बालेन, रवि, हर्क र गोपीहरूले आमजनतामा आशा जगाउँदैछन् । तथापि यस नयाँ लहरको प्रभावकारिता अझै पनि संगठन र सहकार्यको अभावमा चुनौतीपूर्ण छ । भविष्यको राजनीतिक परिप्रेक्ष्यमा यी स्वतन्त्र उम्मेदवारहरूको प्रभाव र एकता कसरी उभिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुनेछ ।
प्रताडित मिलेनियल पुस्ता, बधाई जेनजी
यो समय जेनेरेसन जेटको हो । अहिले उनीहरूकै चर्चा छ । यो हामी मिलेनियलहरूका लागि धेरै खुशी र अलिअलि चुनौती पनि हो । सर्वप्रथम हामीभन्दा पछिल्लो पुस्ताको यो साहस र सुरताका लागि बधाई भन्न चाहन्छु । पछिल्लो पुस्ताको वीरतालाई बधाई भन्दै म मेरो पुस्ताका अलिअलि दुःखका अलिअलि प्रताडना र सम्भावनाका कुरा गर्न चाहन्छु । वि.सं २०४० सालदेखि २०५२ सालसम्म जन्मिएको मेरो पुस्ता जसलाई आज जेनेरेसन वाई वा मिलेनियल भनेर चिनिन्छ । यो एउटा यस्तो पुस्ता हो– जसले निरन्तर राजनीतिक, सामाजिक, आर्थिक र मनोवैज्ञानिक तनावको सामना गर्दै आफ्नो जीवन अगाडि बढाइरहेको छ । यो पुस्ताले भोगेको जीवन बाल्यकालदेखि युवावस्था र अबको परिपक्व अवस्थासम्मको यात्रा संघर्ष, त्याग, बलिदान र अपेक्षाको कथा हो । तर, विडम्बना यो पुस्ताले त्यागको भारी जति ठूलो बोकेको छ, प्राप्तिको सूची त्यत्तिकै न्यून छ । यो पुस्ताले जे प्राप्तिका लागि लड्यो ती आदर्शहरू अझै अधुरै छन् । यस पुस्ताका जेष्ठ सदस्यहरू पञ्चायती शासनको अन्त्यतिर जन्मिएका थिए । जुन समय अभिव्यक्ति स्वतन्त्रता नियन्त्रणमा थियो । नागरिक स्वतन्त्रता दमित थियो । कान्छा सदस्यहरू भने माओवादी सशस्त्र युद्ध सुरु हुँदै गर्दा जन्मिए । जुन समय देश पूर्णतया राजनीतिक अन्यौलमा थियो । बाल्यकालमै युद्ध, हत्या, विस्थापन र त्रासदी यिनको चेतनामा गढ्यो । समाचारपत्रहरूमा रक्तपातका तस्बिर, रेडियोमा बम विस्फोटका खबर, घरका अभिभावकका चिन्तित अनुहार यी सबैले जेन वाइको बाल मनोविज्ञानमा गहिरो प्रभाव पारेको छ । २०५८ सालमा घटेको राजदरबार हत्याकाण्डले त झनै यिनको जीवनमा ठूलो घाउ थप्यो । राजारानी र राजपरिवारको सामूहिक हत्या जस्तो अकल्पनीय घटनाले समग्र राष्ट्रलाई स्तब्ध बनायो । बाल्यकालमै यस्ता राष्ट्रिय शोकको साक्षी हुनुपर्दा यो पुस्ताको मानसपटलमा गहिरो निराशा र असुरक्षा स्थापित भएको जगजाहेर छ । देश कता जाँदैछ, अब के हुन्छ भन्ने अन्योल उनीहरूको जीवनको अभिन्न हिस्सा बन्यो । त्यसपछिका दिनहरू पनि यिनको लागि सहज भएनन् । सशस्त्रयुद्ध चर्किँदै गयो । गाउँहरू रित्तिँदै गए, सहरहरू डरले सुनसान बन्दै गए । कतिपयले विद्रोही बन्ने विकल्प रोजे, कतिपयले सन्नाटा समाउँदै शान्तिको प्रतीक्षा गरे । २०६२/६३ को आन्दोलनले युद्धको अन्त्य गर्यो । गणतन्त्र आयो, संविधान जारी भयो । परिवर्तन आए, तर जीवनमा गुणात्मक परिवर्तन भने आयो भन्न सकिएन । जेनजीले अझै ठूलो पारिवारिक जिम्मेवारी बोक्न बाँकी छ । यो पुस्तामा देशप्रतिको माया प्रचुर छ । भ्रष्टाचारप्रति शून्य सहनशीलता छ । विधि र प्रक्रियाप्रति आस्था छ । तर, यी मागहरू पूरा गर्न परिपक्व नेतृत्व आवश्यक छ जसका लागि मिलेनियल पुस्ताभन्दा उपयुक्त अर्को पुस्ता छैन । यो पुस्ताले आफ्नो जीवनको सबैभन्दा ऊर्जावान समय दश वर्षको संक्रमणकालमा बितायो । जुन समय यिनले समाजमा योगदान दिन सक्थे, त्यही समय राजनीतिक अन्योल र अस्थिरताले हरण गर्यो । पढेलेखेका, सक्षम, दूरदर्शी युवाहरू घामपानी, लाठी, गाली सहँदै सडकमा उत्रिए । तर, जब परिस्थिति सामान्य हुँदै गयो, राजनीति फेरि पुरानै ढर्रामा फर्कियो । यिनले शिक्षा अवश्य पाए । राम्रो अङ्क ल्याएर उत्तीर्ण भए । कतिपयले विदेशमा पढे, कतिपयले यहीँ सर्टिफिकेट बटुले । तर, त्यो शैक्षिक पूँजीको मूल्याङ्कन हुन सकेन । सार्वजनिक सेवा क्षेत्रमा निष्पक्षता हरायो । पहुँच, सिफारिस, घुसबिनाको नियुक्ति दुर्लभ बन्यो । योग्यताभन्दा बढी, चिनजान र सत्ता समीकरणले अवसर निर्धारण गर्न थाल्यो । त्यसैले हजारौं सक्षम युवाहरू विदेशिएका छन् । उनीहरू देश फर्किने सपना बोक्छन्, तर त्यो सपना पुनः दोहोरिन सक्दैन भन्ने गहिरो यथार्थसँग पनि उनीहरू अवगत छन् । यस पुस्ताको अर्को विशेषता भनेको राजनीतिक चेतनाले भरिपूर्ण हुनु हो । बाल्यकालमै आन्दोलन, नाराबाजी, ब्यानर र पोस्टर देखेका यिनले राजनीति केबल सत्ता लिने होइन, समाज परिवर्तन गर्ने माध्यम हो भन्ने माने । पार्टीप्रति आस्था राख्नु, विचारमा विश्वास गर्नु, सक्रिय रूपमा भाग लिनु यिनीहरूका लागि गौरवको कुरा थियो । तर आज जब यिनीहरू पार्टीमा सक्रिय हुन्छन् वा पार्टीका नीतिलाई समर्थन गर्छन्, तब उनीहरूलाई ‘झोले’, ‘मण्डले’, ‘हनुमान’ जस्ता शब्दले होच्याइन्छ । यसो भए पनि यो पुस्ता अझै पनि देश, समाज र लोकतन्त्रप्रति समर्पित छ । राजतन्त्र हटाउनु, गणतन्त्र स्थापना गर्नु, संविधान निर्माण गर्नु यी सबै आन्दोलनहरूमा यो पुस्ताको श्रम, आँसु र पसिना मिसिएको छ । परिवर्तनको बीउ रोप्ने यही पुस्ता हो । यद्यपि फल भने अरूले खाइरहेका छन् । अब यो पुस्ता जीवनको जिम्मेवारीको चरम बिन्दुमा पुगेको छ । एकातिर वृद्ध बाबुआमाको सेवा, अर्कोतिर छोराछोरीको शिक्षा–दीक्षा, स्वास्थ्य, सुरक्षा सबै बोझ यही पुस्ताकै काँधमा छ । तर, उसका पहिचान, करिअर र सपना भने अझै अधुरै छन् । यति ठूलो जिम्मेवारीका बीच पनि यो पुस्ता अझै केही गर्न सक्छु भन्ने विश्वासमा बाँचेको छ । यिनको जीवन एउटा यस्तो जहाज हो, जुन कुहिरोमा हराएको छ न स्पष्ट गन्तव्य देखिन्छ, न पछाडि फर्किन सकिन्छ, न सुरक्षित ल्यान्डिङ नै सजिलो छ । तर यिनीहरू अझै प्रयासरत छन्, लागिरहेकै छन् गन्तव्य खोजिरहेकै छन् । अब प्रश्न उठ्छ नेतृत्व कसले लिने ? पुराना पुस्ता थाकिसके, थलिइसके । नयाँ पुस्ता अझै परिपक्व छैन, व्यवहारिक ज्ञानको अभाव छ । यो पुस्ताले नै अबको सामाजिक र राजनीतिक नेतृत्व सम्हाल्नुपर्छ । किनभने यो पुस्तासँग चार प्रमुख कुरा छन् । ती हुन्– अनुभव, शिक्षा, ऊर्जा र उत्तरदायित्वको भावना । यिनले विगत देखेका छन् । भविष्य निर्माण गर्ने सामर्थ्य राख्छन् । यिनले जनता र नेताबीचको अन्तर बुझेका छन् । सत्ताको स्वाद र कर्तव्यको मूल्य बुझेका छन् । त्यसैले यिनीहरूबाट अपेक्षा गर्न सकिन्छ– इमानदार नेतृत्व, व्यवहारिक नीति र जनमुखी कार्यशैलीको । जेनजी अहिलेको पुस्ता हो, जसले अझै ठूलो पारिवारिक जिम्मेवारी बोक्न थालेको छैन । यो पुस्तामा देशप्रतिको माया प्रचुर छ । भ्रष्टाचारप्रति शून्य सहनशीलता छ । विधि र प्रक्रियाप्रति आस्था छ । तर, यी मागहरू पूरा गर्न परिपक्व नेतृत्व आवश्यक छ जसका लागि मिलेनियल पुस्ताभन्दा उपयुक्त अर्को पुस्ता छैन । सारांशमा भन्नुपर्दा मिलेनियल नै नेपालको सबैभन्दा प्रताडित र खारिएको पुस्ता हो । यो पुस्ताले बाल्यकालमा शान्ति पाएन । युवावस्थामा अवसर पाएन । अहिले जिम्मेवारीको भारी त बोकेको छ नै, अपमान पनि यही पुस्ताले सहेको छ । यो पुस्ता कुनै अन्धविश्वासमा होइन, तिक्त यथार्थताको घाममा पोलिएर आफै खारिएका छ । आफ्नो सुझबुझ र आदर्शले अबको नेतृत्वका लागि समेत तयार छ । अब समय आएको छ– नेतृत्व फेर्ने होइन, पुस्ता फेर्ने । यदि आज यो पुस्ता अघि सरेन भने भोलिको इतिहासले लेख्नेछ सबैभन्दा धेरै गुमाएको, तर सबैभन्दा कम लडेको पुस्ता भनेर । यदि यो पुस्ता नेतृत्वमा आयो भने इमान्दारी र दूरदर्शिताका साथ समाजको नेतृत्व गर्यो भने भोलिको इतिहासले गर्वका साथ लेख्नेछ ‘सबैभन्दा प्रताडित पुस्ता जसले देशलाई उज्यालोमा पु¥यायो ।’