बजार माग बढाउने नीति ल्याउन उद्योग परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको छ । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले गभर्नर विश्वनाथ पौडेललाई उक्त सुझाव हस्तान्तरण गरेका हुन् । परिसंघले बाह्य क्षेत्रका समष्टिगत सूचकहरू सन्तोषजनक रहे पनि आन्तरिक आर्थिक गतिविधि लामो समयदेखि सुस्त रहेको अवस्थालाई ध्यानमा राख्दै त्यसलाई चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । आगामी मौद्रिक नीतिलाई बजार माग वृद्धि, नीतिगत सुधार र केन्द्रीय बैंकको संरचनागत सुधारमा केन्द्रित गर्न परिसंघले सुझाव दिएको छ । साथै, निर्देशित कर्जाको सीमा चरणबद्ध रूपमा घटाउने, कार्यशील पूँजीसम्बन्धी मार्गदर्शन क्षेत्रगत आधारमा लागू गर्ने, ब्याजदर निर्धारण प्रणालीलाई आधुनिकीकरण गर्ने तथा धितोयुक्त कर्जाको वर्गीकरण र कालोसूचीकरणको समयसीमा पुनरावलोकन गर्नुपर्ने सुझाव दिएको छ । यस्तै, सरकारको इन्टरप्राइज फ्यासिलिटीसँग आबद्ध स्टार्टअपहरूका लागि विशेष कर्जा सुविधा स्थापना गर्न र राष्ट्र बैंकभित्र अधिकारसम्पन्न मौद्रिक नीति समिति गठन गर्नुपर्ने विषय पनि परिसंघले उठाएको छ । अध्यक्ष पाण्डेले बजार माग तथा लगानीकर्ताको आत्मविश्वास उकास्ने खालको मौद्रिक नीतिको अपेक्षा गरिएको बताए । सुझाव ग्रहण गर्दै गभर्नर पौडेलले आगामी मौद्रिक नीति ब्याजदर स्थिरता र वित्तीय प्रणालीको सुदृढीकरणमा केन्द्रित हुने उल्लेख गरे। निजी क्षेत्र अर्थतन्त्रको प्रमुख चालक भएको भन्दै लगानी र आर्थिक गतिविधि प्रवर्द्धनका लागि नियामक निकाय र उद्योग क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताए । कार्यक्रममा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, गभर्निङ काउन्सिल सदस्य शशिकान्त अग्रवाल तथा बैंक तथा वित्तीय समिति सभापति वरुण कुमार तोदीलगायतको उपस्थिति रहेको थियो ।

कामना सेवा विकास बैंकद्वारा झापाको दुर्गा माविलाई कुलर र ब्रेल पेपर सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले झापाको बिर्तामोड नगरपालिका–९ स्थित श्री दुर्गा माध्यमिक विद्यालय लाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको छ । बैंकको बिर्तामोड शाखामार्फत आयोजित कार्यक्रममा कोशी प्रदेश प्रमुख खिम लाल भुसालले विद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । दृष्टिविहीन छात्रावासका विद्यार्थीहरूको आवश्यकता मध्यनजर गर्दै बैंकले सहयोग प्रदान गरेको जनाएको छ । प्रदान गरिएको कुलरले गर्मी मौसममा छात्रावासभित्रको तापक्रम सन्तुलित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ भने ब्रेल पेपर दृष्टिविहीन विद्यार्थीहरूको पठनपाठनका लागि अत्यावश्यक सामग्रीका रूपमा उपयोग हुने अपेक्षा गरिएको छ । विद्यालयका प्रधानाध्यापक सापकोटाले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यसले दृष्टिविहीन विद्यार्थीहरूको अध्ययन तथा छात्रावास व्यवस्थापनमा महत्वपूर्ण टेवा पुग्ने बताए । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भुसालले शिक्षा क्षेत्रको विकास र समुदायको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

बैंकिङ कसुर मुद्दाका फरार २ जना पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–९ का ५६ वर्षीय माधव श्रेष्ठ तथा तनहुँ भानु नगरपालिका–८ का ४३ वर्षीय रामचन्द्र अधिकारी रहेका प्रहरी उपरीक्षक थापा क्षेत्रीले जानकारी दिए । उनका अनुसार उच्च अदालत पाटनको २०७९ माघ २९ गतेको फैसलाले उक्त मुद्दामा बिगोबापत दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका माधवलाई टोखा नगरपालिका–९ तथा  जिल्ला अदालत काठमाडौंको २०८२ साउन ११ गतेको फैसलाले उक्त मुद्दामा बिगोबापत एक महिना १५ दिन कैद सजाय र दुई लाख २५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका रामचन्द्रलाई काठमाडौं महानगरपालिका–१६ बालाजुबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले बताए  ।