बाढीपीडितका लागि नेपाल एसबिआई बैंकको १ करोड ३१ लाख सहयोग
काठमाडौं । नेपाल एसबिआई बैंकले भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गतको रकम र कर्मचारीहरूको स्वेच्छिक योगदानसमेत जोडेर उक्त सहयोग उपलब्ध गराएको जनाएको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविन मुनि बज्राचार्य तथा नेपाल सरकारका उच्च तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकले विपद्को कठिन घडीमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै राहत र पुनःस्थापनामा योगदान पुर्याउने उद्देश्यले सहयोग गरेको जनाएको छ । नेपाल एसबिआई बैंकले प्राकृतिक विपद्बाट प्रभावित समुदायको पुनरुत्थान, पुनःस्थापना र समग्र कल्याणका लागि आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । बैंकले विगत ३३ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ सेवा, सात प्रादेशिक कार्यालय, १२७ एटीएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
बाढीले कार्यालय बगाएपछि त्रिशुलीमा नयाँ घर खोज्दै कृषि विकास बैंक
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले नुवाकोटको त्रिशुली शाखाका लागि नयाँ कार्यालय भवन भाडामा लिने भएको छ । बैंकको त्रिशुली शाखा नुवाकोटको विदुर नगरपालिका–१, ढुंगे बजारमा सञ्चालन हुँदै आएको थियो । तर, भदौ १० गते आएको बाढीले कार्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि कार्यालय सञ्चालन गर्न नसक्ने अवस्था आएको बैंकले जनाएको छ । बैंकले व्यवसायिक तथा व्यापारिक क्षेत्रमा रहेको पक्की भवन वा फ्ल्याट कम्तीमा १० वर्ष वा सोभन्दा बढी अवधिका लागि भाडामा लिन लागेको हो । प्रस्तावित भवन नुवाकोटको विदुर नगरपालिका क्षेत्रअन्तर्गत विदुर वा बट्टार बजारको मुख्य बजार क्षेत्रमा हुनुपर्नेछ । बैंकका अनुसार भाडामा लिइने भवनको क्षेत्रफल २ हजार ५०० देखि ३ हजार वर्गफिटसम्म हुनुपर्नेछ । मूल सडकमा रहेको, एउटै तल्लामा भएको, पर्याप्त पार्किङ सुविधा तथा एटीएम राख्ने स्थान भएको भवनलाई प्राथमिकता दिइने बैंकले जनाएको छ । त्यस्तै, भवन भूकम्प प्रतिरोधी आरसीसी फ्रेम स्ट्रक्चरमा निर्माण भएको तथा सम्बन्धित निकायबाट नक्सा पास गरी निर्माण सम्पन्न भएको हुनुपर्नेछ । भवनमा पानी, विद्युत्, टेलिफोन तथा इन्टरनेटको सुविधा उपलब्ध हुनुपर्ने बैंकले जनाएको छ । बैंकले आवश्यकताअनुसार भवनको भित्री संरचनामा परिवर्तन गर्नुपर्ने भएमा घरधनीले त्यसका लागि मञ्जुरी दिनुपर्ने जनाएको छ । साथै, घरधनीले बैंकको मापदण्डअनुसार भल्ट रुम, एटीएम राख्ने स्थान, भुइँमा टायल वा मार्बल, शौचालयलगायत स्थिर संरचना निर्माण गरी दिनुपर्नेछ । बैंकले घर वा फ्ल्याट भाडामा दिन इच्छुक घरधनीबाट सिलबन्दी प्रस्ताव आह्वान गरेको छ । घरधनीले आफूले लिन चाहेको मासिक घरभाडा रकम अंक र अक्षर दुवैमा स्पष्ट उल्लेख गर्नुपर्नेछ । घरभाडा रकममा नियमानुसार कर कट्टी गरी बाँकी रकम प्रत्येक महिनाको अन्त्यमा घरधनीलाई भुक्तानी गरिने बैंकले जनाएको छ ।
प्रभु बैंकले कालिमाटी र लिङ्करोड शाखा बन्द गर्दै
काठमाडौं । प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा रहेका दुई शाखा कार्यालय एक–आपसमा समायोजन गर्ने भएको छ । बैंकले कालिमाटी र लिङ्करोड वीरगन्ज शाखा समायोजन गर्न लागेको जनाएको हो । बैंकका अनुसार काठमाडौंको कालिमाटी शाखा टेकु शाखामा समायोजन हुनेछ । कालिमाटी शाखा र टेकु शाखाबीचको दूरी करिब ३०० मिटर रहेको बैंकले जनाएको छ । समायोजनपछि कालिमाटी शाखाका ग्राहकले टेकु शाखाबाट सम्पूर्ण बैंकिङ सेवा लिन सक्नेछन् । त्यस्तै, पर्साको लिङ्करोड वीरगन्ज शाखा वीरगन्ज शाखामा समायोजन हुने भएको छ । यी दुई शाखाबीचको दूरी करिब १.५ किलोमिटर रहेको बैंकले जनाएको छ । समायोजनपछि लिङ्करोड वीरगन्ज शाखाका ग्राहकले वीरगन्ज शाखाबाट बैंकिङ सेवा लिन सक्नेछन् । बैंकले दुवै शाखा मंसिर २४ गतेदेखि समायोजन गरी कारोबार सञ्चालन गर्ने जनाएको छ । यसैबीच, समायोजन हुने शाखा कार्यालयमा रहेका फर्निचर, फिक्चर, उपकरण तथा लिजहोल्ड इम्प्रुभमेन्टलगायतका सम्पत्ति हाल जुन अवस्थामा छन्, सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएको छ। बैंकका अनुसार उक्त स्थानमा शाखा कार्यालय सञ्चालन गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदनसहित सम्पर्क गर्न सक्नेछन् ।