ग्लोबल आइएमइ बैंकमा १० बैंक तथा फाइनान्स मर्ज, पूँजी ८ अर्ब नाघ्यो
काठमाडौं, १४ असोज । ग्लोबल आइएमई बैंकले राष्ट्रिय स्तरको रिलायबल डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ । १४ असोजमा भएको समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र रिलायबल डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष राधेश्याम अग्रवालले हस्ताक्षर गरेका हुन् । दुवै बैंकबीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाही ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको ग्लोबल आइएमइ बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा विगत १० वर्षदेखि कारोबार गर्दै आईरहेको रिलायबल डेभलपमेन्ट बैंकको चुक्ता पूजी ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ । रिलायबल डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी ८ अर्व रुपैयाँ भन्दा बढी हुनेछ । एक्विजिसन पछि ग्लोबल आइएमइ बैंकको निक्षेप ८८ अर्व रुपैयाँ, कर्जा लगानी ७४ अर्व रुपैयाँ र १ सय ११ वटा शाखा कार्यालय पुग्नेछन् । एक्विजिसन पश्चात नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप निजी क्षेत्रको वाणिज्य बैंकहरुमा कुल चुक्ता पुजी ८ अर्व रुपैयाँ पुग्ने यो बैक दोस्रो हुनेछ । ग्लोबल आईएमई बैंकले यसअघि प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति गरेको छ । यस्तो सहमति गत १ असारमा भएको हो । यो एक्विजिसनको प्रकृयामा रहेको छ । यस भन्दा पहिला साविक कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससंग सफलता पूर्वक मर्जर सम्पन्न गरि सकेको छ भने रिलायबल फाइनान्स लि., शुभ लक्ष्मी फाइनान्स, नेपाल कञ्जुरम डेभलपमेण्ट बैंक लि.सँग मर्जर भै रिलायबल डेभलपमेण्ट बैंक लिमिटेड कायम भएकाले यो एक्विजिसन सम्पन्न भए पछि १०वटा बैंक वित्तीय संस्था मर्जर÷एक्विजिसन भै बनेको पहिलो बैंक हुने छ ।
हिमालयन बैंकको ६४ लाख कित्ता हकप्रद सेयर आउँदै, धितोपत्र बोर्डले दियो निष्काशन अनुमति
काठमाडौं, १४ असोज । हिमालयन बैंकले हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ । बैंकले ७ कित्ता बराबर एक कित्ताको अनुपातमा ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद सेयर निष्काशनको अनुमति पाएको हो । नेपाल धितोपत्र बोर्डले असोज १२ गते हिमालयन बैंकलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो । बैंकले लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । हिमालयन बैंकले गत आर्थिक बर्षको असार मसान्तसम्ममा एक अर्ब ९१ करोड नाफा कमाएको थियो । चार अर्ब ४९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ३७ करोड रहेको छ । बैंकको प्रति सेयर आम्दानी ४२ रुपैंयाँ ५८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १९७ रुपैंयाँ २५ पैसा रहेको छ ।
खगेन्द्र नव जीवन विद्यालयलाई भिबोर सोसाइटीको सहयोग, खनालले गरे प्रतिभा जेहेन्दार छात्रवृति घोषणा
काठमाडौं, १४ असोज । भिबोर सोसाइटी डेभलपमेण्ट बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खगेन्द्र नव जीवन विशेष माध्यमिक विद्यालयलाई एक थान साउण्ड सिस्टम उपलब्ध गराएको छ । अपाङ्ग, बिपन्न तथा सामाजिक आर्थिक दृष्ठिले पीछडिएका बालबालिकाहरु पढ्दै आएको खगेन्द्र नव जीवन विशेष माध्यमिक विद्यालय जोरपाटीलाई बैंकले उक्त सहयोग गरेको हो । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले प्रतिभा स्मृतिकोषले प्रत्येक वर्ष यस विद्याललयमा अध्ययन गर्ने ‘प्रतिभा जेहेन्दार छात्रवृति’ पुस्रकार प्रदान गर्ने घोषण गरेको छन् । उनका स्वर्गिय छोरी प्रतिभाको सम्झनामा स्थापित उक्त पुरस्कार २५ हजार रुपैयाँको हुनेछ ।