गरिमा विकास बैंकको नाफा १८ कराेड, निष्क्रिय कर्जा घटेर ०.४७ प्रतिशतमा

  काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा गरिमा विकास बैंकको खुदनाफा बढेको छ । गत पुससम्म बैंकले १८ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १५ करोड ९५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशको वित्तीय विवरणअनुसार बैंकको निष्क्रिय कर्जा घटेर ०.४७ प्रतिशतमा झरेको छ । गत असारमा बैंकको यस्तो कर्जा १ प्रतिशत थियो । बैंकको निक्षेप लागत बढेर ८.१४ प्रतिशत पुगेको छ । गत असारमा बैंकको लागत ७.९५ प्रतिशत थियो । बैंकको सीडी रेसियो ७७.३४, आधार ब्याजदर ११.६३ र कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ६ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २५ पैसा छ । समीक्षा अवधिमा बैंकले १७ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै १५ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोषमा ४६ करोड ९९ लाख रुपैयाँ छ । बैंकको चुक्तापँुजी बढेर २ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको संस्थापक हकप्रद लिलाम हुदै, बोलपत्र पेश गर्ने अन्तिम दिन माघ २६

काठमाडौं । कम्युनिटी डेभलपमेन्ट बैंकको संस्थापक हकप्रद सेयर लिलाम हुने भएको छ । बैंकको ३ लाख ७० हजार २४३ कित्ता हकप्रद लिलाम हुन लागेको हो । आउदो माघ २६ गते हकप्रद लिमामी हुने बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल लिमिटेडले जनाएको छ । बैंकले चुक्तापुँजी बढाउन असोज ६ गतेदेखि कात्तिक २९ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरेकोमा बिक्री नभएको संस्थापक सेयर लिलाम हुन लागेको हो । बोलपत्रका लागि एनआईबीएलको लाजिम्पाट काठमाडौं, ललितपुरको लगनखेल र पोखराको चिप्लेढुङामा आवेदन बुझाउन सकिने छ । यस्तै बैंकको केन्द्रीय कार्यलय बुटवल तथा सबै शाखा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ र धनगढीमा पनि आवेदन संकलन केन्द्र रहेको एनआईबीएलले जनाएको छ ।

सिद्धार्थ बैंकले एकैदिन खोल्यो ४ नयाँ शाखा, गठ्ठाघर शाखाको स्थानान्तरण

काठमाडौं । सिद्धार्थ बैंकले एकैदिन ४ वटा नयाँ शाखा स्थापना गरेको छ । बैंकले आइतबार मात्रै सुनसरीको गढि गाउँपालिका, काभ्रेको रोसी गाउँपालिका, रुपन्देहिको मर्चवारी गाउँपालिका र तनहुको देवघाट गाउँपालिकामा नयाँ शाखा स्थापना गरेको हो । यी शाखाहरु मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको नीति निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ । त्यस्तै यी शाखाहरुबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । साथै, यी शाखाहरुबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ । बैंकले निकट भविष्यमा नै बैंकिङ्ग पुहँच नपुगेका अन्य थप १० गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्ने योजना बनाएको छ । विभिन्न नयाँ शाखाहरुको स्थापनाका साथै बैंकले गठ्ठाघर शाखालाई गठ्ठाघरमै अवस्थित नयाँ आधुनिकतम भवनमा स्थानान्तरण गरेको छ । बैंकले छिटो, सरल र सहज बैंकिङ्ग सेवा ग्राहक समक्ष पुर्याउने उद्देश्यले उक्त शाखाको स्थानान्तरण गरेको हो । आइतबार एक कार्यक्रमकाबीच बैंकको प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले उक्त शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन गरेका हुन् । हालै सञ्चालनमा आएका शाखाहरु सहित बैंकले देशभर ३ एक्स्टेन्सन् काउन्टर, ८६ वटा शाखा, १०५ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी पीओएस् मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को पुस मसान्तसम्म बैंकले कुल निक्षेप ८५ अर्ब ५७ करोड रुपैयाँ र कर्जा लगानी ७६ अर्ब ९५ करोड रुपैयाँ गरेको छ ।