मन्दिर पुननिर्माणमा इन्भेस्टमेन्ट बैंकको सहयोग, जापानले पनि साढे एक करोड
काठमाडौं, १७ असोज । नेपाल इन्भेस्टमेन्ट बैंकले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका परिसरमा रहेको गोपीनाथ तथा जगन्नाथ मन्दिर पुनःनिर्माणका लागि एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । गत वर्षको विनाशकारी भूकम्पले आंशिक रुपमा क्षति भएको ती ऐतिहासिक मन्दिर हाल जापान सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले पुनःनिर्माण गरिराखेको छ । युनेस्कोद्वारा सोमबार आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले बैंकले काठमाडौं उपत्यकाका भूकम्पबाट क्षति पु¥याएका पुरातात्विक स्थलको पुनःनिर्माणमा सहयोग गरेको जानकारी दिए । जापान सरकारले भूकम्पका क्षति भएका सम्पदा पुनःनिर्माण सहयोग कार्यक्रमअन्तर्गत युनेस्कोलाई एक करोड ५० लाख रुपैयाँ सहयोग गरिसकेको छ । कार्यक्रममा नेपालका लागि जापानी राजदूत माससी ओगावाले भूकम्पले क्षति भएका काठमाडौं उपत्यकाका सम्पदा पुनःनिर्माणमा थप सहयोग गर्ने जानकारी दिए । पुरातत्व विभाग, विश्व सम्पदा संरक्षण शाखाका प्रमुख सुरेश श्रेष्ठले भूकम्पले क्षति भएका सम्पदाको पुनःनिर्माणमा विभागले कार्ययोजनासहित काम गरेको जानकारी दिए । रासस
ज्योति विकास बैंकमा ५ सय भाडाका प्रमोटर, अपारदर्शी रुपमा सेयर कारोवार गर्ने तयारी
काठमाडौं, १७ असोज । ज्योति विकास बैंकको प्रमोटर सेयरको कारोवार अपारदर्शी ढंगले गर्ने प्रयास गरिएको छ । केही प्रमोटरले आफ्नो नाममा भएको प्रमोटर सेयर विक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सुचना प्रकाशित गरेपनि पहिला नै तय भएका प्रमोटर वाहेकका ब्यक्तिलाई सो सेयर विक्री गर्ने प्रयोजनको लागि सुचना प्रकाशित गरेको स्रोतले जानकारी दिएको छ । बैंकले सार्वजनिक सुचना प्रकाशित गरेर केही प्रमोटरले प्रमोटर सेयर विक्री गर्न लागेको जानकारी दिएको छ । यस्तो सेयर प्रमोटरलाई नै विक्री गर्ने र प्रमोटरले खरिद नगरेको अवस्थामा सर्वसाधारणलाई विक्री गर्ने गरी सुचना प्रकाशित गरिएको छ । यस्तो सुचना प्रकाशित गरिए पनि बैंक भित्र अर्कै तयारी भएको स्रोतले जानकारी दिएको छ । बैंक स्थापना गर्दा नेपाल विद्युत प्राधिकरणका ५ सय कर्मचारीले ‘ट्याक्स क्लियरेन्स’ को प्रमाणपत्र बुझाउन नसकेपछि भाडाका प्रमोटर राखिएको र अहिले तिनै वास्तविक प्रमोटरलाई सेयर नामसारी गर्ने प्रयोजनले यस्तो सुचना प्रकाशित गरिएको स्रोतले जानकारी दियो । बैंकले प्रकाशित गरेको सार्वजनिक सुचना । ‘बैंक स्थापना हुदा प्राधिकरणका करिब ५ सय कर्मचारीले ‘ट्याक्स क्लियरेन्स’ प्रमाणपत्र दिन नसकेका कारण प्रमोटर बन्न सक्नु भएको थिएन, अहिले उहाँहरुले यस्तो प्रमाण ल्याउनु भएको छ, अब वास्तविक लगानीकर्ताको नाममा सेयर नामसारी गर्ने प्रयोजनको लागि यो सुचना प्रकाशित गरिएको हो,’ बैंकस्रोतले विकासन्युजसँग भन्यो । यो सुचना प्रक्रिया पुर्याउनको लागि मात्र भएको पनि स्रोतको दाबी छ । ज्योति विकास बैंकमा प्राधिकरणका १ हजार ७ सय कर्मचारी प्रमोटर सेयरधनी रहेका छन् । तर ५ सय कर्मचारीले ट्याक्स क्लियरेन्सको प्रमाणपत्र पेश गर्न नसकेपछि यस्तो प्रमाण भएका ब्यक्तिको नाममा सेयर हालेको र सो सेयर पछि प्रक्रिया पूरा गरेर जसले पैसा हालेको हो उसैको नाममा नामसारी गरिदिने आन्तरिक कागज पनि गरिएको स्रोतको भनाइ छ । पहिलाको यही सहमति कार्यान्वयन गर्ने गराउने गरी बैंक संचालक समितिले सुचना प्रकाशित गर्ने निर्णय गरेको हो । अहिलेसम्म करिब १२ जना प्रमोटरले सेयर विक्री गर्ने सुचना बैंकलाई दिइसकेका छन् । बैंक स्रोतका अनुसार करिब १ लाख कित्ता प्रमोटर सेयरको भाडाका प्रमोटर रहेका छन् । यी सवै सेयर पालैपाले नामसारी गरिसक्ने गरी प्रक्रिया अगाडि बढाइएको स्रोतको भनाइ छ ।
लक्ष्मी बैंकले प्रोफेसनल दियालो विकास बैंक अक्वाएर गर्ने, शतप्रतिशत हकप्रद सेयर पनि
काठमाडौं, १७ असोज । लक्ष्मी बैंकले प्रोफेसनल दियालो विकास बैंक अक्वाएर गर्ने भएको छ । असोज १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले प्रोफेसनल दियालो विकास बैंकलाई अक्वाएर गर्ने निर्णय गर्दै कात्तिक ७ गते आयोजना हुने बिशेष साधारण सभामा बिशेष प्रस्ताव लैजान लागेको हो । हाल लक्ष्मी बैंकको चुक्ता पूँजी ३ अर्ब ४ करोड रुपैंयाँ रहेको छ । लक्ष्मी बैंकले २४ करोड चुक्ता पूँजी रहेको प्रोफेसनल दियालो विकास बैंक अक्वाएर गर्न लागेको हो । अक्वाएरपछि लक्ष्मी बैंकको पुँजी ३ अर्ब २७ करोड पुग्नेछ । हाल नेप्सेमा लक्ष्मी बैंकको सेयरको मूल्य प्रति कित्ता ८९० रुपैंयाँ रहेको छ भने प्रोफेसनल दियालोको प्रतिकित्ता सेयर मूल्य ३७७ रुपैंयाँ रहेको छ । लक्ष्मी बैंकले दियालोलाई अक्वाएर गरेपछि हुने पूँजीको शतप्रतिशत अर्थात एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय समेत सोही बिशेष सधारण सभाबाट गर्नेछ । लक्ष्मी बैंकको जगेडा कोषमा २ अर्ब ६० करोड रुपैंयाँ रहेको छ भने प्रोफेसनल दियालोको जगेडा कोषमा ६ करोड रुपैंयाँ रहेको छ । लक्ष्मी बैंकले गत आर्थिक बर्षमा ६७ करोड नाफा कमाएको थियो भने दिलायोले ३ करोड नाफा कमाएको थियो ।