सांग्रिला बैंक र एपोलो हस्पीटलबीच संझौता, बैंकका सेयरधनी, ग्राहक र कर्मचारीलाई १० प्रतिशत छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र एपोलो हस्पीटल ईन्डीयाबीच सेवा आदान प्रदान बिषयमा संझौता भएको छ । मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल र एपोलो हस्पीटलका तर्फबाट प्रबन्ध निर्देशक अशोक बाजपाईले हस्ताक्षर गरेका छन् । यो सम्झौता पछि एपोलो हस्पीटलमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, शेयरधनी कर्मचारी र तिनका परिवारले सेबा लिदाँ उक्त सेवाहरुमा १० प्रतिशत सम्म छुट प्रदान गरिने द्विपक्षिय सहमति भएको हो । सम्झौता अनुरुप विकास बैंकका ३ लाख भन्दा बढी ग्राहकहरु, १५ हजार भन्दा बढी शेयरधनीहरु, ४ सय भन्दा बढी कर्मचारीहरु र तिनका परिवारहरुले सर्वसुलभ तरिकाबाट गुणस्तरीय स्वास्थ्य सेवा लिन सक्नेछन । उक्त सेवा लिनको लागि ग्राहकहरुले विकास बैंकले प्रदान गर्ने भिसा डेबिट कार्ड लिएको हुनु पर्नेछ । एपोलो हस्पीटलका प्रबन्ध निर्देशक अशोक बाजपाईका अनुसार हस्पीटलको काठमाडौं स्थित सूचना केन्द्रबाट सेवाग्राहीले हस्पीटलसँग सिधैं समन्वय गर्न सक्ने र उपचारको लागि जानु पर्दाको अवस्थामा ग्राहकले अग्रिम सयम लिएको खण्डमा ग्राहकलाई बिमानस्थलबाट हस्पीटल वा होटल सम्मको यातायातको सुविधा हस्पीटलले नै प्रदान र होटलको पनि सुविधा प्रदान गर्ने सहमति भएको छ । नेपालका धेरै उच्च पदस्थ व्यक्तिहरुले एपोलो हस्पीटलबाट सेवा लिईसकेको प्रबन्ध निर्देशक अशोक बाजपाईले बताए । कार्यक्रममा बोल्दै सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा. रविन्द्र प्रसाद श्रेष्ठले यो सम्झौता विकास बैंकको सक्रियतामा भएको र यसले विकास बैंकका ग्राहकलाई मात्र नभई सम्पूर्ण नेपालीहरुलाई भारतमा स्वास्थ्य सेवा लिनको लागि सहज हुने बताए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकका ग्राहकलाई नेपाल मेडिसिटी हस्पिटलमा विशेष छुट

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई थप सुविधा दिने उद्देश्यले नेपाल मेडिसिटी हस्पिटलबीच व्यापारिक साझेदारीका विषयमा सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुस र नेपाल मेडिसिटी हस्पिटलका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, बैंकका प्राथमिकता प्राप्त ग्राहकहरुलाई विशेष ‘मेडिसिटी प्राइभी प्रोग्राम’ को निशुल्क सदस्यता उपलब्ध गराइनेछ । सदस्यता प्राप्त गर्नेले मेडिसिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छूट तथा निशुल्क पहिलो स्वास्थ्य परामर्श, टेली–परामर्श, स्वास्थ्यमा पहुँचसम्बन्धि कुराकानी एवं सचेतता जाँच जस्ता सेवा पाउनेछन् । बैंकले आफ्ना प्राथमिकता प्राप्त ग्राहक एवं डेबिट र क्रेडिट कार्ड ग्राहकहरुका लागि सेवा उपलब्ध गराउन हस्पिटलसँग समझदारी गरेको हो । मेडिसिटीले नेपालमैं पहिलोपटक प्रिमियम मेडिकल प्याकेज ‘अभिभावकप्रति समर्पित’ सार्वजानिक गर्दैछ । बैंकको हस्पिटलसँगको रणनीतिक साझेदारीअन्तर्गत, बैंकका ‘सिल्भर जेनेरेसन’ (विशेष ग्राहक) र उनका अभिभावकहरुलाई विशेष हेरचाहको प्याकेज सेवा निशुल्क प्रदान गरिनेछ । बैंकका प्राथमिकता प्राप्त ग्राहकहरुले पनि ‘अभिभावकप्रति समर्पित’ प्याकेजमा ६० प्रतिशतभन्दा बढीको छुट पाउनेछन् । सम्झौताअनुसार बैंकको डेबिट र क्रेडिट कार्ड लिएकाहरुले समेत हस्पिटलले प्रदान गर्ने सेवामा ७ प्रतिशतको छुट पाउनेछन् । यद्यपि, औषधि, उपभोग्य वस्तु, प्रत्यारोपण सामाग्री एवं चिकित्सकको परामर्श शुल्कमा भने यो छुट नपाइने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आरम्भ माइक्रोफाइनान्सको आईपीओ आजदेखि बिक्रीखुला, १ हजार कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) आज मंगलबारदेखि बिक्री खुला भएको छ । संस्थाको  १ सय रुपैयाँ अंकित मूल्यका २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आईपीओ निष्कासन भएको हो । आईपीओ निष्कासन बन्द छिटोमा फागुन २१ र ढिलोमा २९ गते हुने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम ५० देखि बढीमा १ हजार कित्ता आईपीको लागि दरखास्त दिन पाइने छ । कुल निष्कासनको ३ प्रतिशत अर्थात ८ लाख ८ हजार २० रुपैयाँ बराबरको ८ हजार ८२० कित्ता कर्मचारी र सामूहिक लगानी कोषका लागि कुल निष्कासनको ५ प्रतिशत अर्थात १४ लाख ७० हजार रुपैयाँ बराबरको १४ हजार ७ सय कित्ता छुट्टाइएको छ । आईपीओ निष्कासपछि संस्थाको चुक्तापुँजी ६ करोड रुपैयाँ हुने छ । संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ । संस्थाको आईपीओ अनलाईन वा बैंक तथा वित्तीय संस्था दुबैमा गएर भर्न सकिने छ । धितोपत्र बोर्डले पुस २० गते आईपीओ निष्कासन गर्न आरम्भलाई अनुमति दिएको थियो ।