सेञ्चुरी कमर्सियल बैंक र नर्भिक इन्टरनेशनल हस्पिटलबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नर्भिक इन्टरनेशनल हस्पिटलबीच बैंकका ग्राहकहरु, शेयरधनी तथा कर्मचारीहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका काम. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण दावरले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सेञ्चुरी प्रिमियम बचत र सेञ्चुरी प्लाटिनम बचत क्रेडिट कार्ड, शेयरधनीहरु त्था कर्मचारीहरुले १० प्रतिशतसम्म प्याथोलोजी, रेडियोलेजी, मेम्मोग्राम, सर्जरी र कार्रदियाकनंन इन्भेसिभ जाँचमा छूट पाउनेछन् । साथै, बेड चार्जमा ५ प्रतिशत छुट पनि पाउनेछन् ।

लगानीयोग्य पुँजी अभाव भएपछि बैंक पैसा लिन ग्राहकको दैलोमा

म्याग्दी । जिल्लामा रहेका बैंकका शाखामा लगानीयोग्य पुँजीको अभाव देखिएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेपको दर घटेको र कर्जा लगानीको माग बढेकाले बचतकर्ता खोज्न बैंकले घरदैलो गर्न थालेका हुन् । विप्रेषणमा आश्रित जिल्लाको अर्थतन्त्रमा विप्रेषण घट्न थालेपछि बैंकहरूमा तरलता अभाव देखिन थालेको गण्डकी विकास बैंकका बेनी शाखा प्रबन्धक कुमार ढुङ्गानाले बताए।“विप्रेषण घटेको र सरकारी खर्च अपेक्षाकृत नहुँदा बजारमा तरलता अभाव भएको हो”, उहाँले भने, “निक्षेप संकलनमा लक्ष्य पूरा गर्न सहकारीका बजार प्रतिनिधिको भन्दा धेरै दौडधुप छ ।” बेनीस्थित विभिन्न बैंकका १८ वटा शाखाले चालू आवको पहिलो छ महिनामा २ अर्ब ३२ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २८ करोड २० लाख रुपैयाँ कर्जा लगानी भएको जनाएका छन् । यो निक्षेप संकलनभन्दा ४१ प्रतिशतले बढी हो । बैंकमा जम्मा भएको निक्षेप संकलन लक्ष्यको ४० प्रतिशतको हाराहारी रहेको बैंकहरूले जनाएका छन् । राष्ट्रिय वाणिज्य बैंकमा असार मसान्तमा १५ करोड निक्षेप रहेकामा पुस मसान्तसम्ममा उल्टो ऋणात्मक भएर १२ करोड ९५ लाख रुपैयाँमा खुम्चिएको छ । कृषि विकास बैंकको अवस्था पनि उस्तै छ । विप्रेषणको अधिकांश रकम खाद्यान्न र विलासी उपभोग्य क्षेत्रमा खर्च हुने गरेको छ । नेपालीको प्रमुख श्रम गन्तव्य खाडी मुलुक कतारको समस्याका कारण घटेको विप्रेषण जापान, अस्टे«लियालगायत देशमा अध्ययनका लागि जाने विद्यार्थीमार्फत फिर्ता हुने क्रम बढेकाले जिल्लामा तरलताको अभाव भएको गरिमा विकास बैंकका बेनी शाखा प्रबन्धक कमल ढुङ्गानाले जानकारी दिए । जिल्लामा रहेका सबै बैंकको पहिलो कर्जा लगानी फेन्सी पसल, किराना पसल, गाडी र व्यक्तिगत ऋणमा गरेको अवस्था छ । कुनै पनि बैंकले ठूलो लगानी भएको औद्योगिक एवं व्यावसायिक क्षेत्रमा लगानी गरेका छैनन् । एकाध बैंकले कृषि, घर निर्माण, ठेक्कापट्टा र शैक्षिक कर्जामा लगानी गरेका छन् । कृषि क्षेत्रमा लगानी गरिएको भनिए पनि जिल्लामा व्यावसायिक कृषि फार्म नगन्य संख्यामा छन् । “स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास गतिविधि बढ्ने र अर्थतन्त्र चलायमान हुने अपेक्षा विपरीत सरकारी बजेट कम भयो । विप्रेषणबाट आएको रकम पनि बैंकको च्यानलमा नआई बाहिरिएपछि वित्तीय प्रणाली प्रभावित भएको हो”, माछापुच्छ्े बैंकका शाखा प्रबन्धक श्रीधर ढुंगानाले भने, “वित्तीय साक्षरता न्यून र सानो बजारमा सीमित ग्राहक तानातानको अवस्था छ ।” जिल्लामा भित्रिने विप्रेषणमध्ये बचेको रकम जिल्लाबाट पोखरा, चितवन र विदेशतर्फ पलायन भएकाले बैंकमा निक्षेप घटेको हो । बैंकको ब्याजभन्दा बचत तथा ऋण सहकारीले बढी ब्याज दिने भएकाले बचतकर्ता बैंकमा भन्दा सहकारीतर्फ आकर्षित छन् । सहकारीबाट कर्जा लिनसमेत सजिलो हुने भएकाले साना व्यवसायी बैंकको पहुँचमा छैनन् । म्याग्दी बहुमुखी क्याम्पसको अर्थशास्त्र विषयका प्रध्यापक भोलानाथ घिमिरेले तरलता अभावको समस्या समाधानका लागि सरकारी निकायले पूँजीगत खर्च वृद्धिसँगै वैदेशिक रोजगारीमार्फत भित्रिने विप्रेषणलाई जिल्लामै उत्पादनशील क्षेत्रमा परिचालन हुने वातावरण बनाउनुपर्ने बताउछन् । रासस

सिटिजन्स म्युचअल फण्डको आइतबार बाँडफाँड, १७ हजार आवेदकले ८२ करोड पाए

काठमाडौं । सिटिजन्स बैंकले ल्याएको सिटिजन्स म्युचअल फण्ड १ को आइतबार बाँडफाँड भएको छ ।१७ हजार आवेदकलाई ८२ करोड रुपैयाँको सिटिजन्स फण्ड बाँडफाँड भएको हो । प्रति एकाई १० रुपैयाँ दरको १ अर्ब रुपैयाँको १० करोड कित्ता फण्ड निष्कासन भएको थियो । निष्कासन भएको मध्ये १८ करोडको बिक्री नभएको सीबीआईएलले जनाएको छ । लगानीकर्तालाई वार्षिक २२ प्रतिशत भन्दा बढी लाभांश दिने सीबीआईएलले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रवर्धन र सीबीआइएल आयोजना व्यवस्थापक रहेको म्युचअल फण्डले आउदो ७ वर्षमा औसत २२.३ प्रतिशत लाभांश दिने भएको हो । म्युचअल फण्डले पहिलो वर्ष ७.४, दोसो वर्ष १७, तेस्रो वर्ष १५.१८, चौथो वर्ष २०, पाँचौ वर्ष १९.८५, छैठौ वर्ष ३८.५ र सातौ वर्ष ३८.२ प्रतिशत प्रतिफल दिने छ । म्युचअल फण्डले पहिलो वर्ष २ करोड ३७ लाख २६ हजार रुपैयाँ नगद लाभांश दिने छ । त्यसपछि दोस्रो वर्ष २ करोड ९८ लाख, तेस्रो वर्ष ४ करोड ९ लाख, चौथो वर्ष ९ करोड १ लाख पाँचौ वर्ष ४ करोड २१ लाख, छैठौ वर्ष १८ करोड ९९ लाख र सातौ वर्ष बढेर २५करोड ३७ लाख रुपैयाँ लाभांश दिने सीबीआईएलले जनाएको छ ।