सिटिजन्स बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैकास्योरेन्स सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत राजनसिंह भण्डारी र नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट नेपाल इन्स्योरेन्सको निर्जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवाहरु लिन सक्नेछन् । यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा निर्जीवनबीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल ६७ वटा शाखा, ६५ वटा एटीएम काउन्टर र ९९ वटा शाखा रहित बैकिङ्ग सेवाबाट आधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

रिलायन्स फाइनान्सको ६ लाख ५२ हजार कित्ता सेयर लिलामीमा, साधारण सेयरको मूल्य १०० नजिक पुगेपछि संस्थापक सेयर बिकेन

काठमाडौं । रिलाइन्स फाइनान्सको ६ लाख ५२ हजार ९४० कित्ता सेयर लिलामीमा आएको छ । त्यसमध्ये ५ लाख ४२ हजार ३१४ कित्ता संस्थापक सेयर रहेको छ भने १ लाख १० हजार ६२६ कित्ता साधारण सेयर छ । फाइनान्सको भित्री अवस्था विग्रेकोले संस्थापकहरु मध्ये धेरैले हकप्रद सेयर खरिदको लागि आवेदन नगरेको बताइएको छ । साथै साधारण सेयर मूल्य १०० रुपैयाँ नजिक पुगेकोले संस्थापकले सेयर नकिनेको हुनसक्ने जनाईएको छ । यस फाइनान्सको सोमबार सेयर प्रतिकित्ता १२१ रुपैयाँमा कारोबार भएको छ । सामान्यतय साधारण सेयरको मूल्य भन्दा आधा मूल्यमा संस्थापक सेयर किनबेच हुने गरेको छ । फाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले उक्त सेयर लिलामीमा राखेको छ । फाइनान्सले गत मंसिरमा हकप्रद सेयर निष्काशन गरेकोमा आवेदन नपरेको सेयर लिलामीमा राखेको जनाएको छ ।

ग्लोबल आइएमई बैंकको ७८औँ शाखारहित बैकिङ्ग सेवा सर्लाहीको चौलिखामा

काठमाडौं । ग्लोबल आइएमई बैंकले मङ्गलबारदेखि सर्लाही जिल्लाको चौलिखामा ७८औँ शाखारहित बैकिङ्ग सेवा शुरु गरेको छ । उक्त शाखारहित बैकिङ्ग सेवाकोे ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार देवकोटाले एक समारोहका बीच उद्घाटन गरेका थिए । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय विजयकुमार शाह कानुलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यो क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो । बैंकले हालसम्म १२० वटा शाखा, १२८ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७८ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दे आइरहेको छ ।