प्राइम लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकासोरेन्स सम्झौता

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक लिमिटेड बिच बैंकासोरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्राइमलाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवंर क्षेत्रीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापश्चात प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु जनता बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् । हाल प्राइम लाइफ इन्स्योरेन्सले १६० प्रतिशत हकप्रद सेयर जारी गरिरहेको छ । कम्पनीको आगामी चैत १४ गते एघारौं वार्षिक साधारण सभाबाट पारित भए पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ । हकप्रद पश्चात कायम भएको उक्त पुँजीमा कम्पनीले १२.५ प्रतिशतका दरले बोनस सेयर दिने निर्णय गरेको छ ।

एनआईसी एशियाको ‘धनवर्षा मुद्दती खाता’ र ‘समुन्नतिप्लस बचत खाता’ बन्द हुँदै, चैत २ गतेसम्म मात्र खाता खोल्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले हाल सञ्चालन गरिरहेको ‘धनवर्षा मुद्दती खाता’ र ‘समुन्नतिप्लस बचत खाता’ योजना बन्द हुने भएको छ । बैंकले गत फागुन ११ गतेदेखि सञ्चालनमा ल्याएको उक्त दुई योजनाहरु आगामी चैत २ गतेदेखि बन्द गर्न लागेको हो । बैंकले नेपाल बैंकर्स संघसँग सहमति गरेपछि उक्त अधिकतम ब्याज दिने योजना बन्द गर्न लागेको हो । बैंकले धनवर्षा मुद्दती खातामा वार्षिक १२ प्रतिशत ब्याज र समुन्नतिप्लस बचत खातामा १० प्रतिशत ब्याज दिँदै आएको थियो । मंगलबार बैंकद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो योजनाले आमजनतामा अत्यन्त लोकप्रियता हासिल गरेको थियो । तर विगत केहि दिनयता नेपाल बैंकर्स संघ र यस बैंकबीच ब्याजदर सम्बन्धी विविध विषयहरुमा देखिएको असमझदारीले हामीले यो योजना शुक्रबारदेखि बन्द गर्दै छौं ।’ साथै, समग्र अर्थतन्त्रको सर्वाङ्गिण हित हुने गरी हल गर्दै जाने बैंकले जनाएको छ । त्यस्तै, जनउत्तरदायीएवं जिम्मेवार संस्थाको हैसियतले विभिन्न मतान्तरकाबीच वर्तमानको असहज परिस्थिती र आवश्यकता समेतलाई मध्यनजर गर्दै यस बैंकले उक्त निर्णय गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

माछापुच्छ्रे बैंकले ल्यायो ६ प्रतिशत ब्याज दिने स्मार्ट बचत खाता, साथमा स्मार्ट सुविधा निःशुल्क

काठमाडौं । माछापुच्छ्रे बैंकले आकर्षक सुबिधा सहितको ‘एमबीएल स्मार्ट बचत’ खाता संचालनमा ल्याएको छ । उक्त खातामा न्युनतम ५ हजार रूपैयाँ बचतमा बैंकले ६ प्रतिशत ब्याज दिने भएकाे छ । बैंक नै नगई इलेक्ट्रोनिक माध्यमबाटै बैंक खाता सञ्चालन गर्न ग्राहकलाई प्रोत्साहित गर्ने उद्देश्यले बैंकले स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो । उक्त खातामार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्त गर्नेछन् । स्मार्ट सुविधाअन्तर्गत ग्राहकहरुले ईन्टरनेट बैकिङ्ग सुविधा, एमबिएल मोबाइलमनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर सुविधा, सि–आश्वा सुविधा, अन्तर शाखा कारोबार सुबिधा र लकर सुबिधा पर्नेछन् ।उक्त खाता खोलेपछि ग्राहकहरुले अब घरमै बसी आफ्नो बचतलाई मुद्दतीमा रुपान्तर समेत गर्न सक्ने बैंकले जनाएको छ । हाल बैंकले ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट बैंकिङ्ग सुबिधा दिईरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।