एनआईसी एशियाको कम्पनी सचिवमा दिपेन कार्की नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंकको कम्पनी सचिवमा दिपेन कार्की नियुक्त भएका छन् । गत माघ १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कार्कीलाई कम्पनीको सचिव पदमा नियुक्त गरेको हो । नवनियुक्त कार्कीले सचिवमा नियुक्त भएकै दिनदेखि कम्पनी सचिवको कार्यभार सम्हालिसकेका छन् ।

सेञ्चुरी बैंकको सीईओमा तुलसीराम गौतम नियुक्त

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा तुलसीराम गौतम नियुक्त भएका छन् । फागुन ३० गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले गौतमलाई कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ गौतमले २०७५ वैशाख १९ गतेदेखी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने छन् । गौतम अनुभवि बैंकरको रुपमा परिचित व्यक्तित्व हुन् । नेपाल बैंकबाट बैंकिङ्ग सेवा शुरु गरेका गौतमले उक्त कम्पनीमा १३ वर्ष काम गरेका थिए । त्यसपश्चात उनले नेपाल इण्डोसुइज बैंकमा ७ वर्ष, नेपाल एसबीआई बैंकमा कर्जा प्रमुख भई १० वर्ष र माछापुच्छ्रे बैंकमा सीईओको पदमा ४ वर्ष पूरा गरेका हुन् । गौतमले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङ्ग र वित्त विषयमा स्नातकोत्तर गरेका छन् । उनको अनुभव तथा नेतृत्वमा सेञ्चुरी बैंकले नेपालको बैंकिङ्ग जगतमा विशिष्ट पहिचान बनाउँदै अगाडी बढ्ने बैंकको विश्वास छ ।            

४० मेगावाटको सुपर न्यादी आयोजनामा ६ बैंकको सवा ५ अर्ब लगानी, ३ वर्षमा बिजुली बल्ने

काठमाडौं । सिउरी न्यादी पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनामा ६ बैंकले ऋण लगानी गर्ने भएका छन् । एनएमबी बैंकको अगुवाइमा प्रभु बैंक, मेगा बैंक, सेञ्चुरी कमर्शियल बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र कुमारी बैंकले ५ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । आयोजनाको प्रवर्द्धक सिउरी न्यादी पावर बैंकबीच बुधबार लगानी सम्झौतामा हस्ताक्षर भएको छ । ७ अर्ब लगानीमा निर्माण हुने आयोजनामा ६ बैंकले ५ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने छन् । यो कुल लगानीको ७५ प्रतिशत हो । १ अर्ब ७५ करोड स्वपुँजी लगानी हुने छ । ङाडी ग्रुप पावर कम्पनी लिमिटेड मुख्य प्रवर्द्धक रहनेछ । आयोजनाको गत जेठ १९ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ । आयोजना २०७७ सालभित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ । आयोजनाको बाँध तथा विद्युतगृह बाँहुनडाँडा गाविसमा निर्माण हुनेछ । आयोजनाबाट वार्षिक २३ करोड ५७ लाख युनिट बिजुली उत्पादन हुनेछ । उत्पादित विद्युत आयोजनास्थल बाहुनडाँडादेखि ११ किलोमिटर दूरीको तारी खुना १३२ केभी सबस्टेसनमा जोडिनेछ ।