वाणिज्य बैंकहरूबाट १ वर्षमा चार खर्ब ५ अर्ब कर्जा प्रवाह
काठमाडौं । चालु आवका जेठसम्म २८ वटा वाणिज्य बैंकहरूले चार खर्ब पाँच अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकले गएको आवमा साउनदेखि जेठसम्मको ११ महिनाको अवधिमा तीन खर्ब ९७ अर्ब कर्जा प्रवाह गरेका थिए । चालु आवको यो अवधिका गरेको कर्जा प्रवाह गएको आवको भन्दा आठ अर्बले बढी हो । २८ वटा वाणिज्य बैंकहरूले चालु आवको यो अवधिसम्म कुल २४ खर्ब ६८ अर्ब कर्जा प्रवाह गरेका छन् । गएको आवको अन्त्यमा यस्तो कर्जा प्रवाह २१ खर्ब ११ अर्ब थियो । आर्थिक वर्ष २०७२/७३ मा १३ खर्ब ८६ अर्ब कुल कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले कर्जा चार वर्षमा १० खर्ब ८२ अर्बले बढेर कर्जा बढेर पौने २५ खर्ब पुगेको हो । विभिन्न बैंकहरूबाट प्राप्त जानकारी अनुसार बैंकहरूले यो अवधिमा पुँजी तीन गुणाले बढाएर आठ अर्ब पुर्याएका छन् । अर्थात दुई अर्बको चुक्ता पुँजी बढेर आठ अर्ब पुगेको छ । पुँजी बढेको अनुपातमा कर्जा प्रवाह भने बढ्न सकेको छैन । चालु आवको असोजमा ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने भदौमा दैनिक दुई अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । माघ दैनिक साढे एक अर्ब रुपैयाँ कर्जा प्रवाह भएको बैंकहरूको तथ्यांक छ । चालु आवको यो अवधिमा बैंकले चार खर्ब २३ अर्ब निक्षेप संकलन गरेका छन् । चालु आवको जेठ महिनामा बैंकहरूले ५१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । वैशाखमा बैंकहरूले ५ अर्ब रुपैयाँमात्रै निक्षेप संकलन गरेका थिए भने चैत महिनमा २९ अर्ब रुपैयाँ संकलन गरेका थिए । गएको आवको अन्त्यसम्म वाणिज्य बैकहरूमा कुल २३ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । मंसिर महिनामा वाणिज्य बैंकहरूले सबैभन्दा बढी ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । भदौ महिनामा ४७ अर्ब र कार्तिकमा ४३ अर्ब निक्षेप संकलन भएको छ ।
पर्वतको डिमुवामा कामना सेवाकोे शाखा बिस्तार
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लाको मोदी गाउँपालिका ६ स्थित डिमुवामा असार २५ गते ९२औ शाखा बिस्तार गरेको छ । मोदी गाउँ पालिकाका अध्यक्षा प्रेम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा र गाउँ पालिकाका उपाध्यक्ष सेती महत र वडा अध्यक्ष विमल लामिछाने, बैंकका संचालक चतुराखर अधिकारी तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाको उपस्थितिमा उक्त शाखाको कारोबार शुभारम्भ गरिएको हो ।
राष्ट्रिय बीमा कम्पनी र मुक्तिनाथबीच ब्यवसाय आदान प्रदान गर्ने सम्झौता
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच असार २२ गते एक आपसका ब्यवसाय आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार कम्पनीले बैंक सम्बन्धी कार्य गर्नको लागि मुक्तिनाथ विकास बैंकलाई प्राथमिकता दिने तथा बैंकले आफ्नो सम्पत्ति तथा दायित्वको बीमा गर्दा राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई प्राथमिकता दिने बताइएको छ । सम्झौतामा बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन् ।