निक्षेप तथा कर्जा सुरक्षण कोषको चुक्ता पुँजी १० अर्ब पुग्ने, अर्थ मन्त्रालयले र राष्ट्रले पुँजी थपिदिने
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको चुक्ता पुँजी १० अर्ब पुग्ने भएको छ । विश्व बैंकले कोष जोखिमपूर्ण व्यवसाय गर्ने संस्था भएकोले चुक्ता पुँजी १० अर्ब पुर्याउन प्रतिवद्ध गराएको थियो । सोही प्रतिवद्धता पुरा गर्न सरकारले कोषको चुक्ता पुँजी १० अर्ब पुर्याउने निर्णय गरेको हो । यहि जुलाई ११ गतेसम्म नेपालले कोषको चुक्ता पुँजी बढाएर १० अर्ब पुर्याउने प्रतिवद्धता विश्व बैंक समक्ष गरेको थियो । हाल कोषको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ रहेको छ । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपालले विश्व बैंकसँग चुक्ता पुर्याउन गरेको प्रतिवद्धता जनाएको मितिको ठिक चार दिन अघि मन्त्रीपरिषदको निर्णय सार्वजनिक गरेका हुन् । सो प्रतिवद्धता पुरा गर्न अर्थ मन्त्रालयले एक अर्ब ८० करोड रूपैयाँ र नेपाल राष्ट्र बंैकबाट २० करोड प्रदान गर्ने भएका छन् । कोष निक्षेप तथा कर्जा सुरक्षण गर्ने जोखिमपूर्ण व्यवसाय गर्ने संस्था भएकोले विश्व बैंकले कोषको पुँजी बढाउन सुझाएको थियो,’ कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले भने ‘साधारणतया निक्षेप सुरक्षणको ५ प्रतिशत कोषको चुक्ता पुँजी हुुनुपर्ने भन्ने व्यवस्था छ । हाल कोषमा ६ खर्बभन्दा बढी निक्षेप र २५ अर्ब कर्जा सुरक्षण भएको मिश्रले बताए । कोषले चालु आवमा आफ्नो नाफा बढाएर करिब दुई अर्ब पुर्याउने भएको छ ।
सनराइज बैंकको १० लाख कित्ता ऋणपत्र सूचीकृत
काठमाडौँ । सनराइज बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लि. बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु. १००० कायम भएको सनराइज बैंक लिमिटेडको १० लाख कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा नेपाल स्टक एक्सचेन्ज लि. का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले हस्ताक्षर गरेका छन् ।
ठमेल र झम्सिखेलमा कुमारी बैंकको शाखा बिस्तार
काठमाडौँ । कुमारी बैंक लिमिटेडले असार २६ गते एकैदिन काठमाडौँ उपत्यकामा दुई नयाँ शाखा बिस्तार गरेको छ । ललितपुरको झम्सिखेल र काठमाडौँको ठमेलको (छायाँदेवी कम्प्लेक्स) मा शाखा उद्घाटन गरेको हो । ठमेलमा बैंकका सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबरा तथा ठमेल पर्यटन बोर्डका अध्यक्ष प्रकाश नरसिंह राणाले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । यसैगरी, झम्सिखेलमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा बैंकका अध्यक्ष राणाले शाखा उद्घाटन गरे । उक्त शाखा विस्तारपछि कुमारी बैंकको देशव्यापी शाखा सञ्जाल संख्या ९६ पुगेको छ ।