कहिले आउँछ मौद्रिक नीति ? राष्ट्र बैंक भन्छ-‘अन्तिम तयारी हुँदैछ’

काठमाडौं । अन्य आर्थिक वर्षमा भन्दा फरक ढंगबाट प्रस्तुत गर्ने भनिएको यस वर्षको मौद्रिक नीति कहिले आउँछ भन्ने टुंगो अझैसम्म लागेको छैन । बिग मर्जरदेखि ट्रष्ट रिसिट(टिआर)मा लोन नदिने, अनुत्पादक क्षेत्रलाई कस्दै उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने गरी ल्याउन लागिएको यस वर्षको मौद्रिक नीति सार्वजनिक गर्न के कारणले ढिला हुँदै गएको छ ? यसबारेमा मंगलबारसम्म राष्ट्र बैंकले स्पष्ट पारेको छैन । अर्थमन्त्री खतिवडाले चालू आवमा ८.५ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशत मूल्य वृद्धिको सिमाभित्र रहेर मौद्रिक नीति ल्याउन निर्देशन दिएका थिए । राष्ट्र बैंकले सोही अनुसारको मौद्रिक नीति तयार पारेको छ । गर्भनर खतिवडाले पनि सरकारले ल्याएको बजेटलाई सघाउने, वित्तीय स्थायित्व कायम गर्ने, मुद्रालाई बढी भन्दा बढी परिचालन गर्ने गरी मौद्रिक नीति आउने बताएका थिए । सामान्य तय साउन पहिलो साता र देश संघीयतामा गएपछि बजेट जेठ १५ मै आउन थालेपछि असार अन्तिममा ल्याउने गरिएको मौद्रिक नीति यस वर्ष भने ढिला भएको हो । यस वर्षको मौद्रिक नीतिको तयारी अन्तिम चरणमा पुगेको छ । गत शनिबार राष्ट्र बैंक संचालक समितिको बैठकले गरेका संशोधनका विषयमा अनुसन्धान विभागले कार्य सम्पादन गरिसकेको छ । विभागका अनुसार मौद्रिक नीति अन्तिम चरणमा पुगिसकेको छ । बिग मर्जरका विषयलाई लिएर बैंकिङ क्षेत्रमा आएको तरङ्गलाई सेलाउन नदिन राष्ट्र बैंकले फोर्स फूल्ली मर्जरलाई थाति राखेर मर्जरलाई प्रोत्साहित गर्ने हिसावले यस विषयलाई अगाडि बढाउने भएको छ । यद्यपि राष्ट्र बैंक बोर्ड बैठकले अनुमोदन भने गर्न बाँकी रहेको विभागले बताएको छ । राष्ट्र बैंक बोर्ड बैठकले स्वीकृति प्रदान गरेको भोलि या पर्सी पल्टसम्म मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । तर, बोर्ड बैठकले कहिले स्वीकृति दिन्छ त्यो स्पष्ट भइसकेको छैन । बैंकको संख्या धेरै भएकोमा सबै सहमत भएपनि बिग मर्जर कतिको प्रभावकारी बन्न सक्छ भन्ने विषयमा भने राष्ट्र बैंकसँग कुनै ठोस आधार छैनन् । नेपाली अर्थतन्त्र अनुसार ठूला बैंकको संख्या धेरै भएको अन्तर्राष्ट्रिय वित्तीय संस्थाले पनि सुझाव दिँदै आएका छन् । यसकै कारणले राष्ट्र बैंकलाई नियमन गर्न समेत अप्ठ्यारो परेको छ । यद्यपी सोमबार बस्ने भनेको राष्ट्र बैंक संचालक समितिको बैठक मंगबारसम्म बस्न सकेको छैन । आज यतिबेलासम्म पनि बैठक कति बजे बस्ने भनी टुंगो लागेको छैन,’ राष्ट्र बैंक स्रोतले भन्यो । बैठकले मौद्रिक नीति स्वीकृत गरेपछि होटल बुकिङ गर्नुपर्ने हुन्छ । अहिलेसम्म होटल बुकिङ पनि भएको छैन ।

सिभिल बैंकले कर्जाको व्याज १८ प्रतिशत पुर्यायो, सनराइज बैंकले बेसरेट लुकायो

काठमाडौं । सिभिल बैंकले कर्जाको व्याज १८ प्रतिशतसम्म पुर्याएको छ । बैंकले ओभरड्राफ्ट कार्ड कर्जाको व्याज १८ प्रतिशत तोकेको छ । असार मसान्तमा बैंकको बेसरेट ११.११ प्रतिशत पुगेको छ । बेस रेटमा ६.८९ प्रतिशत व्याज थपेर ओभरड्राफ्ट कार्डको कर्जा १८ प्रतिशत तोकेको हो । सेवा शुल्क जोड्दा ऋणिले करिव १९ प्रतिशत व्याज तिर्नुपर्छ । सिभिल बैंकबाट ऋण लिँदा धेरै कर्जामा सेवा शुल्कसहित कर्जाको व्याज १८ प्रतिशत हुने भएको छ । व्यवसायिक सवारी तथा हेविइक्वीप्टमेन्टहरु किन्नको लागि बैंकले दिने सवारी कर्जाको व्याज १७.११ प्रतिशत छोकिएको छ । सेवा शुल्क जोड्दा १८ प्रतिशत नाघ्नेछ । निजी कार किन्नभने १६.११ प्रतिशत व्याज तिर्नु पर्नेछ । त्यसमा सेवा शुल्क जोडिनेछ । २०७२ सालमा भएको नाडा अटो शोको वेलामा सिभिल बैंकले स्कोडा ब्राण्डको कार किन्न ४.९९ प्रतिशत व्याजमा अटो कर्जा दिएको थियो । त्यतिबेला भन्दा अहिले सवारी किन्दा सवारी कर्जाको झण्डै ३५० प्रतिशत वृद्धि भएको छ । सिभिल बैंकबाट घर जग्गा किन्ने कर्जा, सुन धितो राखेर लिने कर्जा, शिक्षा कर्जा, व्यक्तिगत कर्जा, सेयर कर्जाको व्याज पनि करिव १७ प्रतिशत पर्ने भएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार विपन्न वर्गलाई दिनुपर्ने कर्जा, लघुवित्तहरुले लिने कर्जाहरुको व्याज भने ७ प्रतिशतभन्दा कम तोकिएको छ । यस बैंकले निक्षेपकर्तालाई ६.५० प्रतिशतदेखि ९.२५ प्रतिशत व्याज दिने जनाएको छ । सनराइज बैंकले भने निक्षेपकर्तालाई दिने व्याज घटाएको छ । यस बैंकले बचत खातामा ४ देखि ६ प्रतिशत व्याज दिने भएको छ भने मुद्दतिमा ७ देखि ९.२५ प्रतिशतसम्म व्याज दिने भएको छ । यस बैंकले बेसरेट लुकाएर कर्जाको व्याजदर अस्पष्ट रुपमा सार्वजनिक गरेको छ । अधिकांश कर्जामा बसेरेटमा ६ प्रतिशत जोडर व्याज लिने जनाएको छ । तर बेस रेट नखुलाएको कुन कर्जा लिँदा कति व्याज तिर्नु पर्ने हो सर्वसाधारणले जानकारी लिन सक्दैनन् ।

बिकेन हिमालयन बैंकको ऋणपत्र, साउन ३१ गतेसम्म समय थप

काठमाडौँ । हिमालयन बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुलाको समय थप गरिएको छ । तोकिएको समय भित्र सर्वसाधारणले पर्याप्त आवेदन नदिएपछि समय गरिएको हो । सात वर्ष अवधि तथा वार्षिक १० प्रतिशत ब्याजदर भएको प्रति डिबेन्चर रु. १००० अंकित ३० लाख कित्ता मध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कूल १ अर्ब २० करोड ऋण पूँजी रकम साउन २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको थियो । तर यो समय अवधि भित्र उक्त डिबेन्चर बिक्री हुन नसकेको हो । यता, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले सर्वसाधारण आवेदकहरुको सुबिधालाई मध्येनजर गर्दै उक्त निष्काशनको बिक्री अवधि साउन ३१ गतेसम्म कायम गरिएको जनाएको छ । उक्त ऋणपत्र न्यूनतम २५ र अधिकतम सम्पूर्ण कित्तामा आवेदन दिन सकिने बिक्री प्रबन्धक लक्ष्मी क्यापिलले जनाएको छ ।