सनराइज बैंक सञ्चालकको बैठक भत्ता ६६ प्रतिशतसम्म बढ्यो, कसले कति पाउँछन् ?
काठमाडौं । सनराइज बैंक सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा करिब ६६ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गरी अध्यक्षको प्रतिबैठक भत्ता ६६ प्रतिशत र सञ्चालकको ६० प्रतिशतले बढेको जानकारी गराएको छ । जुन शुक्रबार सम्पन्न बैंकको १२औ वार्षिक साधारणसभाले पनि पारित गरिसकेको छ । प्रतिवेदन अनुसार, समितिको बैठकमा उपस्थित भए वापत बैंकका अध्यक्ष मोतीलाल दुगडले प्रतिबैठक भत्ता २० हजार रुपैयाँ पाउने भएका छन् । त्यस्तै, बैंकका सञ्चालकहरुले बैठकमा उपस्थित जनाएवापत प्रतिबैठक भत्ता १६ हजार रुपैयाँ पाउने भएका छन् । यस अघि बैंकका अध्यक्षले प्रतिबैठक भत्ता १२ हजार र सञ्चालकले १० हजार रुपैयाँ बुझि लिँदै आएका थिए । प्रतिशतका आधारमा अध्यक्षको प्रतिबैठक भत्ता गत आर्थिक वर्षको तुलनामा ६६ प्रतिशत र सञ्चालकको प्रतिबैठक भत्ता ६० प्रतिशतले बढेको हो । हाल बैंकको सञ्चालकमा संस्थापक समूहबाट ई. बच्छराज तातेड र मालचन्द दुगड रहेका छन् भने सर्वसाधारण समूहतर्फबाट ई. शैलेन्द्र गुरागाई, शारदा शर्मा पुडासैनी र दीपक नेपाल रहेका छन् । त्यस्तै, स्वतन्त्र संचालकमा ओमकृष्ण जोशी र कम्पनी सचिवमा ईश्वर कुमार पाठक रहेका छन् । गत आर्थिक वर्षमा बैंकका सञ्चालकले बैठक भत्ता बापत कुल १७ लाख ४४ हजार रुपैयाँ पाएका थिए । उक्त रकम आयकर ऐन अनुसार श्रोतमा करकट्टी गरी दिइएको बैंकको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, तत्कालिन कार्यकारी प्रमुख रत्नराज बज्राचार्यले तलब तथा भत्ता स्वरुप वार्षिक एक करोड २७ लाख २८ हजार रुपैयाँ लिएका थिए । त्यसैगरी, व्यवस्थापन तहका पदाधिकारीहरुले पारिश्रमिक तथा भत्ता सुविधा १२ करोड ७३ लाख ९२ हजार रुपैयाँ भुक्तानी लिएका छन् । बैंकले कर्मचारी सदस्य बाहेक संयोजक र सदस्यलाई प्रतिबैठक भक्ता १० हजार रुपैयाँ दिँदै आएको छ । आर्थिक वर्ष २०७५/७६ मा समितिकोे बैठक ९ पटक बसेको थियो । कम्पनी संयोजकमा ओमकृष्ण जोशी र सदस्यमा शारदा शर्मा पुडासैनी रहेका छन् । त्यस्तै, अन्य सुविधामा पनि वृद्धि भएको छ । स्वदेशमा दैनिक भत्ता एक हजार भएकोमा बढेर तीन हजार रुपैयाँ पुगेको छ । भारतमा दैनिक भत्ता भारतिय एक हजार भएकोमा बढेर तीन हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, भारत बाहेक अन्य विदेशी मुलुकमा दैनिक भत्ता अमेरिकी डलर १०० रुपैयाँबाट ३०० रुपैयाँ पुगेको छ । हालसम्म एनआईसी एशिया, सिटिजन्स, कुमारी, माछापुच्छ्रे, सानिमा, बैंकअफ काठमाण्डू, सिद्धार्थ र सनराइज बैंकले गत वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गरिसकेका छन् । प्रतिवेदन अनुसार उक्त बैंकमध्ये सनराइज बैंकले आफ्ना सञ्चालकलाई सबैभन्दा बढी प्रतिबैठक भत्ता उपलब्ध गराउने भएकाे छ । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यभार जनकशर्मा पौड्यालले सम्हालेका छन् । त्यस्तै नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी, नायव महाप्रबन्धकमा अपछ कुमार यादव र रविन नेपाल रहेका छन् भने सहायक महाप्रबन्धकमा सर्बेन्द्र मिश्र रहेका छन् ।
सांग्रिलाले वार्षिकोत्सवको अवसरमा गर्यो प्रभातफेरी
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १५ औं बर्ष सफलतापूूर्वक पूरा गरी १६औं बर्षमा प्रवेश गरेको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट शुरु भएको प्रभातफेरी नक्साल भगवती हुँदै कमलपपोखरी, कमलादी गणेशस्थान, घण्टाघर, रानीपोखरी दरबारमार्ग, नागपोखरी, गैरीधारा हुँदै पुनः केन्द्रीय कार्यालय बालुवाटार आई सम्पन्न भएको थियो । ‘सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बंैकिङ्ग पहुँच’ भन्ने मूल नारालाई मनन् गरी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । बार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिगतका वर्षहरुमा जस्तै ‘रक्तदान–जीवनदान’ भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाडौंमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । वार्षिक उत्सवकै अवसरमा आइतबार बिहान ८ बजे नेपालगञ्ज क्षेत्रीय कार्यालय तथा गल्छी शाखा कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिनुका साथै बैंकको सातवटै प्रदेश कार्यालयबाट सरसफाई लगायतका विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।
पूर्वाधार विकास बैंकले ब्याज आम्दानीबाट कर्मचारीलाई बोनस बाँडन नपाउने
काठमाडौं । पूर्वाधार विकास बैंकले अब निक्षेपको ब्याज आम्दानीबाट कर्मचारीलाई बोनस बाँडन नपाउने भएको छ । बाणिज्य बैंकहरुमा निक्षेप राखेर ब्याज आम्दानी गर्ने सो ब्याज आम्दानीबाट प्राप्त रकम बोनसको रुपमा बाड्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो । राष्ट्र बैंकले नेपाल पूर्वाधार विकास बैंक सम्बन्धी निर्देशनलाई संसोधन गर्दै बाणिज्य बैंकहरुमा निक्षेप राखेर ब्याज खाने व्यवस्था परिमार्जन गरेको हो । राष्ट्र बैंकले पुरानो निर्देशिका संसोधन गर्दै स्थापनाको २ वर्षपछि मात्रै संस्थापक सेयरधनी नरहेको वाणिज्य बैंकहरुमा ब्याज आम्दानी हुने गरी खाता खोल्न पाउने व्यवस्था गरेको छ । यसअघि पूर्वाधार विकास बैंकले स्थापनाको एक वर्ष पुरा भएपछि आफू संस्थापक सेयरधनी नरहेको वाणिज्य बैंकहरुमा मुद्दती निक्षेपमा खोलेर १ अर्बसम्म निक्षेप राख्न पाउने व्यवस्था थियो ।